हिमाली बस्तीको मुहार फेरीन्दै

आईतवार ०४ आषाढ, २०७४   |   वातावरण र विकास

Print This   |   Font Size + -

हिमाली बस्तीको मुहार फेरीन्दै

फक्तालुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका छेतेन वालुङ शेर्पा मौवाटारको गोठमा जन्मिए । चौंरी र याकसँगै हुर्किए । गाउँकै महेन्द्र प्राथमिक विद्यालयमा कखरा सिकेका उनले सदरमुकामको भानु जन माविबाट एसएलसी गरे । गाउँ फर्किए । छेतेनका सन्तानले भने त्यो कहर भोग्नु परेन । गोठमा होइन, बस्तीमै जन्म लिए । 

सुत्केरी हुनुअघि आफ्नै उपस्थितिमा पत्नीलाई स्वास्थ्य जाँच गराएको छेतेनले बताए । उनले तीन दिन पैदल हिँडेर सदरमुकाम फुङलिङमा रहेको जिल्ला अस्पताल पुगेरसमेत भिडियो एक्सरे गराएका थिए । ‘एक दिनको पैदल दूरीमा रहेको लेलेप स्वास्थ्य चौकीमा दुई महिनामा एकपटक र्पुयाएर गर्भ जाँच गराएँ,’ उनले भने, ‘हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आउला कि भनेर काठमाडौंमा रहेका आफन्तकोमा तीन लाख रुपैयाँ जम्मा गरेको थिएँ, तर डाक्टरले नर्मल छ । आत्तिनु पर्दैन भनेकाले गाउँमै राखें ।’

हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आउला कि भनेर काठमाडौंमा रहेका आफन्तकोमा तीन लाख रुपैयाँ जम्मा गरेको थिएँ

अहिले छेतेनको परिवारमा मात्र यस्तो परिवर्तन आएको होइन । सिंगो गाउँ नै फेरिएको छ । यो वर्षमात्रै आधा दर्जन बढी गर्भवती हुन सदरमुकाम फुङलिङ आए । याङदे वालुङ भोटे र छाङजे वालुङ शेर्पालाई त हेलिकप्टर चार्टर गरेर ओलाङचुङगोला र याङमाबाट सीधै काठमाडौं लगियो । स्वास्थ्यकर्मीले दिएको समयभन्दा अगावै पेट दुख्ने र रगत बग्ने लगायतका समस्या भएपछि परिवार र गाउँलेले ३ लाख ५० हजार रुपैयाँ खर्च गरेर हेलिकप्टर झिकाएका थिए ।

नुपु वालुङ शेर्पाले पछिल्ला दिनमा समुदाय सचेत र सक्रिय भएको बताए । स्वास्थ्यमा मात्रै नभएर शिक्षामा पनि परिवर्तन आएको छ । सबै बालबालिका विद्यालय जान्छन् । ओलाङचुङगोलामा कक्षा ५ सम्मको एउटा आधारभूत विद्यालय छ । त्यसपछि छिमेकी गाउँमा पढ्न जानुपर्छ । यहाँका अधिकांशले एसएलसीसम्म अध्ययन गरेका छन् । उच्च शिक्षा पढ्ने पनि बढेका छन् । धेरैले त आफ्ना सन्ततिले अंग्रेजी भाषा जानून् भनेर सदरमुकामका बोर्डिङ स्कुलमा पढ्न पठाएका छन् ।

यहाँका विद्यालयमा अक्षर चिनेपछि अभिभावकले आफ्ना छोराछोरीलाई सदरमुकाम फुङलिङ, काठमाडौं र भारतको दार्जि्लिङतिर पढ्न पठाउँछन् । छोरालाई दार्जि्लिङ र छोरीलाइ सदरमुकामको मेची सेन्टमेरिज बोर्डिङमा पढाउँदै गरेकी डोङगा वालुङ शेर्पाले भनिन्, ‘यहाँ (गाउँ) को स्कुल ६ महिनामात्रै लाग्छ ।’ हिउँ, वर्षा र झरीले गर्दा नानीहरूले बाह्रै महिना पढ्न पाउँदैनन् । ‘अबको समयमा पनि नपढाएर के गर्नु, त्यसैले बाहिर पठाएकी छु,’ उनले भनिन् । उनका श्रीमान्ले गोठ स्याहार्छन् । उनी गलैंचा बुन्छिन् । त्यसको आम्दानीले छोराछोरीको शिक्षामा लगानी गरेका छन् । 

हामीले पनि केही न केही पढ्यौं, जान्यौं, बाहिर घुमफिर र्गयौं । त्यसले पनि परिवर्तन आयो,’ ।

लेलेपको घुन्सा र याङमाका बस्तीहरूमा पनि यस्तै परिवर्तन छ । ‘पाँचरसात वर्षअघिसम्म घुन्सा आधारभूत विद्यालयमा शिक्षकहरू पालो मिलाएर आउँथे,’ घुन्साका हिमाली चुङदाले भने, ‘अहिले शिक्षकहरूले अनिवार्य १० देखि ४ बजेसम्म विद्यालय लगाउनुपर्छ ।’ अभिभावकले बालबालिका गोठमा राख्न पाउँदैनन् । विद्यालयमा राख्नुपर्छ । त्यसका लागि विद्यालयमा आवासीय सुविधा व्यवस्था गरिएको छ । सामाजिक काममा पनि हिमाली बस्तीका बासिन्दा संगठित भएर लागेका छन् । देश–विदेशमा रहेका आफन्तलाई हारगुहार गर्दै तिब्बत जोड्ने सडकलाई गति दिएका छन् । नेपाल–चीनको सिमाना टिप्ताला भन्ज्याङदेखि ओलाङचुङगोला सम्मको ११ किलोमिटर सडक निर्माणको काम भइसकेको छ ।

अव १० किलोमिटर ट्रयाक खुल्दा गोलाको बस्तीसम्म सडकले जोडिन्छ । नजिकैको सिसेवा खोलाबाट साना जलविद्युत् उत्पादन गरेका छन् । यसले गोलाको बस्तीलाई झिलिमिली बनाएको छ । घुन्सा र फलेका बासिन्दाले पनि साना जलविद्युत् उत्पादन गरेका छन् । ओलाङचुङगोला, याङमा र घुन्साका बासिन्दाले नेपाल टेलिकमबाट एनटिसेट लगेर टेलिफोन सेवा सञ्चालनमा ल्याएका छन् । यहाँ मोबाइल फोन लाग्दैन ।

यही फोनको माध्यमबाट सञ्चार सम्पर्क हुने गरेको छ । गोलाका स्थानीय टाँसी वालुङले मेची पहाडी, कञ्चनजंघा संरक्षण क्षेत्र र विश्व वन्यजन्तु कोष नेपालजस्ता संघसंस्थाले कार्यक्रम गर्ने, नयाँ मानिसको आवतजावत गराउने कार्य गरेसँगै चेतनाको विकास भएको बताए । ‘हामीले पनि केही न केही पढ्यौं, जान्यौं, बाहिर घुमफिर र्गयौं । त्यसले पनि परिवर्तन आयो,’ उनले भने, ‘यो क्षेत्रको पर्यटकीय विकासमा ध्यान दिन थालेका छौं ।’मेची पहाडीका तत्कालीन सामाजिक परिचालक माया गुरुङ १५ वर्षअघि यहाँ पुग्दा स्थानीय बासिन्दा बोल्न नै धक मान्ने गरेको अनुभव सुनाउँछिन् । ‘एक छिन बैठक गरौं भन्यो भने कति पैसा दिनुहुन्छ ? तपाईंहरूको कुरा किन सुन्नुर्पयो ? भन्ने जस्ता प्रश्न गर्थे,’ उनले भनिन्, ‘अहिले त त्यहाँ धेरै परिवर्तन भइसकेको रहेछ ।’

बस्दैनन् स्वास्थ्यकर्मी

ओलाङचुङगोला, याङमा, घुन्सा र फले जस्ता हिमाली बस्तीका बासिन्दाको चासो र चाहना स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी नियमित बसिदिऊन् भन्ने हो । सरकारले गोला र याङमामा स्वास्थ्य चौकी स्थापना पनि गरिदियो । घुन्सामा पनि प्राथमिक स्वास्थ्य केन्द्र खुलेको छ । स्वास्थ्यकर्मी भने नियमित बस्दैनन् । गोलामा रहेको स्वास्थ्य चौकीको बोर्ड मेटिइसकेको छ । कार्यालयभित्रको दराजमा औषधि राखेको छ । वितरण गर्ने स्वास्थ्यकर्मी भने छैनन् । 

‘महँगी धेरै भएकाले बस्न पनि समस्या छ ।

लिंखिमको सिंवा इलाका स्वास्थ्य कार्यालयबाट त्यहाँ पुगेका दुश्यन्त दाहालले दराजमा रहेको औषधि हेर्दा तिनको मिति गुज्रिसकेको भेटिएको बताए । यहाँ दुई महिनामा एकपटक ग्रामीण स्वास्थ्य कार्यकर्ता टेकबहादुर समाल आउँछन् । बच्चाहरूलाई खोप लगाउँछन् र फर्कन्छन् । लेलेपको इलाडाँडामा भेटिएका समालले आफू गाउँमा नियमित बस्न नसकेको स्विकारे । ‘यहाँ काम गर्न थालेको २८ वर्ष भयो । ६ जनाको दरबन्दी छ । कोही पनि बस्दैनन् । सबै जना बस्नुर्पयो नि,’ उनले भने, ‘महँगी धेरै भएकाले बस्न पनि समस्या छ ।’ ३३ हजार तलब पाउने उनी लेलेपमा नियमित बस्छन् । उनले अहिलेसम्म आएका अहेव कोही तीन महिना र कोही तीन दिन बसेर फर्केको बताए ।

कान्तीपुर दैनिक आन्नद गौतमले लेख्नुभएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook