थारु बस्तीमा चुनावको उत्साह

बुधवार ०७ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

थारु बस्तीमा चुनावको उत्साह


उम्मेदवारहरूले चुनावचिह्न पाएपछि थारू समुदायको बाहुल्य रहेको राप्ती–सोनारी गाउँपालिकामा चुनावी माहोल छाएको छ । पटक–पटक निर्वाचन मिति सर्दै आएकोमा चिह्नसहित दल र स्वतन्त्र उम्मेदवार बस्तीमा भोट माग्न पुगेपछि मतदाता उत्साहित भएका हुन् ।  राप्ती–सोनारी गाउँपालिका–३ का सन्तोष चौधरीले चुनावचिह्न नै पाइसकेपछि अब निर्वाचन हुनेमा ढुक्क भएको बताए । उनले भने, ‘पटक–पटक निर्वाचन सर्दै आएकोमा अन्योल थियो, अब भने ढुक्क भयौँ ।’ उम्मेदवारहरू पनि निर्वाचन चिह्न पाएपछि उत्साहित भएको उनले बताए ।

उम्मेदवारहरूले चुनावचिह्न पाएपछि थारू समुदायको बाहुल्य रहेको राप्ती–सोनारी गाउँपालिकामा चुनावी माहोल छाएको छ ।

मनोनयन दर्ता भएपछि उम्मेदवार र राजनीतिक दलका कार्यकर्ताले चुनावी अभियानलाई तीव्र पारेको राप्ती–सोनारी गाउँपालिका–६, मेहमानपुरका रमेशप्रसाद थारूले बताए । उनले राजनीतिक दलको घरदैलो र चुनावी अभियानले सर्वसाधारणलाई समेत तानेको बताए । ‘पूरै गाउँपालिका निर्वाचनमय बनेको छ,’ उनले भने, ‘पाटीपौवा र चोकमा निर्वाचनका विषयले स्थान पाइरहेका छन् ।’

प्रमुख दलबाट गाउँ प्रमुखका उम्मेदवार एकै वडाका

जनसंख्याका हिसाबले नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपछि राप्ती–सोनारी गाउँपालिका तेस्रो स्थानमा पर्छ । यस गाउँपालिकामा ३३ हजार ७५४ मतदाता छन् । यस गाउँपालिकामा ५० प्रतिशतभन्दा बढी मतदाता थारू समुदायका छन् ।  थारू ‘क्लस्टर’को रूपमा मानिने राप्ती–सोनारी गाउँपालिकाबाट ६ जना थारू समुदायका प्रतिनिधिले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् । अध्यक्षका उम्मेदवारमध्ये ३ जना एउटै वडाका छन् । निर्वाचन अधिकृतको कार्यालय राप्ती–सोनारीका निर्वाचन अधिकृत माधवप्रसाद शर्माका अनुसार अध्यक्षमा कांग्रेसबाट लाहुराम थारू, एमालेबाट तुलसीराम थारू र माओवादी केन्द्रका पट्टु थारू एउटै वडाका हुन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका ऋषिराम थारू पनि साविक बैजापुर गाविसकै हुन् भने नेकपा माक्र्सवादीका लौटन थारू साविक बिनौना गाविसका हुन् ।

थारू ‘क्लस्टर’को रूपमा मानिने राप्ती–सोनारी गाउँपालिकाबाट ६ जना थारू समुदायका प्रतिनिधिले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् । 

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका मोहनलाल थारू राप्ती–सोनारी गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् । धेरै थारू एउटै पदमा प्रतिस्पर्धा गर्दा भोट माग्न समस्या भएको एमालेबाट अध्यक्षका उम्मेदवार तुलसीराम थारूले बताए । उनले भने, ‘एउटै वडाबाट धेरैजना प्रतिस्पर्धी भएपछि समस्या हुँदो रहेछ, थारूको भोट बाँडिएर गैरथारूले जित्लान् भन्ने डर छ ।’ राप्रपाबाट साविक कचनापुर गाविसका पूर्वअध्यक्ष देवेन्द्रराज पौडेल र नयाँ शक्तिका हिक्मत विकले उम्मेदवारी दिएका छन् ।

मतदातालाई सकस

एकै वडाबाट ३ जनाले अध्यक्षका लागि उम्मेदवारी दिएपछि राप्ती–सोनारी गाउँपालिका–३ का मतदातालाई उम्मेदवार छान्न सकस भएको छ । विचार फरक भए पनि सबै उम्मेदवार आफन्त पर्ने भएकाले कसलाई भोट दिने भन्ने निक्र्योल गर्न कठिन भएको राप्ती–सोनारी गाउँपालिका–३, खैरहनीका शालिकराम थारूले बताए ।

उनले ३ जना उम्मेदवार एउटै वडा र ठाउँका भएकाले कसैको पक्षमा खुलेर लाग्न नसकेको बताए । ‘एउटाको पक्षमा लागेर बोल्दा अर्को रिसाउँछ, बरु चुप लागेर बस्न ठीक लाग्छ,’ उनले भने । लाहुराम, तुलसी र पट्टु थारूको घर एक–एक किलोमिटर दूरीमा पर्छ । प्रमुख ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रमुख पदमा एउटै वडाबाट उम्मेदवार बनाउँदा कांग्रेसका सक्रिय कार्यकर्ता रहेका सन्तोष चौधरी पनि हैरान भएका छन् । उनले सिद्धान्तका आधारमा नेपाली कांग्रेसको प्रचारमा लागे पनि अप्ठेरो महसुस हुने गरेको बताए । कांग्रेसका लाहुराम ठूलो बाबा, एमालेका तुलसीराम काका र माओवादी केन्द्रका पट्टु थारू फुपाजु साइनो परेकाले प्रचारमा निस्कँदा असजिलो महसुस हुने गरेको उनले बताए ।

सुखदुःखमा साथ दिनेलाई भोट

एकै समुदायकाबाट प्रमुख पदमा धेरैले उम्मेदवारी दिएपछि अलमलमा परेका राप्ती–सोनारी गाउँपालिकाका मतदाताले सक्षम र योग्य उम्मेदवार छान्ने बताएका छन् । हाम्रो भन्दा पनि राम्रो मान्छेलाई छानेर मतदान गर्ने राप्ती–सोनारी गाउँपालिका–६, गुलरी डाँडाका चिप्पर थारूले बताए । उनले केन्द्रसम्म पहुँच भएकालाई जिताएर पठाउने बताए । गाउँको विकास गर्ने र केन्द्रसम्म कुरा र्पुयाउन सक्नेलाई भोट दिएर जिताउने बताए । ‘उम्मेदवार बनेकाहरू सबै इष्टमित्र पर्छन्, तर सबैलाई भोट दिन सकिँदैन, एउटालाई मात्र दिन मिल्ने भएकाले सक्षम र योग्य व्यक्ति चयन गरेर मतदान गर्ने योजनामा छु,’ उनले भने ।

उम्मेदवार बनेकाहरू सबै इष्टमित्र पर्छन्, तर सबैलाई भोट दिन सकिँदैन

 

सोही ठाउँका भोजलाल थारूले पनि हाम्रो भन्दा राम्रो उम्मेदवारलाई भोट दिने बताए । विकासका योजना बनाउन सक्ने र केन्द्रीय सरकारसँग लबिङ गर्नसक्ने नेतालाई भोट दिने उनको भनाइ छ । ‘हाम्रो भोट सदुपयोग होस् भनेर सचेत भएका छौँ,’ भोजलालले भने । उनले गाउँपालिकामा आएको बजेट सदुपयोग गर्ने र सुखदुःखमा साथ दिने नेताको खोजीमा रहेको बताए ।
 
 नया पत्रिका दैनिकमा समाचार छापिएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook