झुमा लिम्बूले समातेको फरक बाटो सधैं चर्चामा

शुक्रवार १६ आषाढ, २०७४   |   कला र साहित्य

Print This   |   Font Size + -

झुमा लिम्बूले समातेको फरक बाटो सधैं चर्चामा

ताप्लेजुङे झुमा लिम्बूले समातेको फरक बाटो सधैं चर्चामा रहन्छ । सुगम संगीतको अभ्यास होस् अथवा किराँती धर्मशास्त्र मुन्धुममाथिको खोज ! तराईमा पाइने काठ–बाजा माथिको सोध होस् अथवा सुदूरपश्चिमको प्रचलित ठाडे भाकामाथिको वृत्तचित्र !

संगीतज्ञ अम्बर गुरुङबाट दीक्षित गायिका झुमा हिजोआज गीत–संगीतको अभ्यासभन्दा बढी यसभित्रको ‘मेलोडी’ र ‘रिदम’ सोधखोजमा लागेकी छन् । पछिल्लोपटक भने झुमा लमजुङको नालमा पुगिन् जहाँ सधैं चल्ने (बाह्रमासे) भन्दा अलग घाटु नाचगान–संगीत चल्छ, लगातार ५ दिन ५ रात । बुद्ध जयन्तीको अघिल्लो साँझबाट सुरु हुने यो विशेष घाटुभित्रको संगीत–स्रोतलाई झुमाले आफ्नो खोजबिनमा ल्याउने भएकी छन् ।

सुगम संगीतको अभ्यास होस् अथवा किराँती धर्मशास्त्र मुन्धुममाथिको खोज ! संगीतज्ञ अम्बर गुरुङबाट दीक्षित गायिका झुमा हिजोआज गीत–संगीतको अभ्यासभन्दा बढी यसभित्रको ‘मेलोडी’ र ‘रिदम’ सोधखोजमा लागेकी छन् ।

‘लगातारजसो झन्डै ५० घण्टा फिल्म खिच्ने काम भएको छ, तर यसबाट आधा घण्टाको ‘घाटुसरी’ निकाल्ने योजना छ,’ झुमाले सुनाइन्, ‘लोकसंगीत र संस्कृति कसरी अन्तरसम्बन्धित छ भन्ने झल्को दिने प्रयत्न यसपटक गरिएको छ ।’ झुमाका अनुसार घाटुसरीको संगीत लयमै नृत्यांगना बेहोस हुने र संगीतबाटै फेरि ब्युँझने शक्ति आफैंमा उल्कालाग्दो छ । ‘सतीघाटु’ मा लगातार २४ घण्टा आँखा चिम्लेर गरिने नाचगान पनि उस्तै बेजोडको छ । स्थानीय गुरुङ, मगर, दुरा जातिका बीचमा प्रचलित घाटु परम्परामा गुरुङ जातिले जोगाइराखेको विशिष्टता अझ उल्लेख्य छ, झुमाका अनुसार ।

झुमाका अनुसार घाटुसरीको संगीत लयमै नृत्यांगना बेहोस हुने र संगीतबाटै फेरि ब्युँझने शक्ति आफैंमा उल्कालाग्दो छ । ‘सतीघाटु’ मा लगातार २४ घण्टा आँखा चिम्लेर गरिने नाचगान पनि उस्तै बेजोडको छ ।

१५ वर्षअघि ताप्लेजुङको ढुंगेसाँघुबाट एसएलसी गरेर काठमाडौं आएकी झुमाका त्यसपछिका महिना र वर्षहरू एक प्रकारले प्रयोगशील रहिआएका छन् । संगीतज्ञ गुरु अम्बर गुरुङसँग झन्डै १० वर्षसम्म संगीत ज्ञान लिँदाको समयदेखि गणेश रसिक वा शान्ति ठटालजस्ता अग्रजसँग साथ–सहयोग लिँदै हिँडिरहेको अवस्थासम्म उनी आफूलाई ‘धन्य’ ठान्छिन् । यस बीचमा झुमाका ‘ए साइँला’ (२०६०), ‘अम्बर संगीत’ (२०७०) र ‘खासाम’ (२०७१) गीति एल्बम आइसकेका छन् तर, अहिलेलाई भने उनी संगीतको स्रोत र शक्तिले भरिएको डकुमेन्ट्री ‘घाटुसरी’ तिर तानिएकी छन् । 

‘यसपछि भने झापा, ताप्लेजुङ, तेह्रथुम, इलाम, सिक्किमलगायतका ठाउँमा पुगेर खिचिएको ‘मुन्धुम’ संगीतको डकुमेन्ट्रीमा काम गर्न थाल्नेछु,’ भानु जयन्तीका अवसर पारेर संगीत नाट्य एकेडेमीको साथ लागेर सिक्किममा गीत सुनाउन जाने तयारीमा रहेकी झुमाले थपिन्, ‘गीत गाएरै अथवा सुगम संगीतको कुरा गरेरै प्रोफेसनल (गरिखाने अर्थमा) हुन यहाँ निकै मुस्किल छ तर, आफूलाई लागेको र चित्त बुझ्ने काम गर्न भने धेरै सजिलो छ । यही कारण म मुन्धुमदेखि घाटुसरीसम्म लागिरहेकी हुन्छु ।’
नभन्दै मनले खाएको अवस्थामा झुमा बेलायतदेखि हङकङसम्मका सांगीतिक माहोलमा रमाउन पुगेकी हुन्छिन् । काठमाडौंमा सन्डे–सिनेमाकी दर्शक हुनेदेखि मण्डला थिएटरमा नाटकमा रमाउन अथवा मार्टिन चौतारीमा संगीत र संस्कृतिको अन्तरसम्बन्धमा विद्वत् प्रवचन दिन पनि उनको भ्याइनभ्याई छ । यस बीचमा पछिल्लो पुस्ताकी कलमजीवी सरला गौतमको शब्दमा झुमाले गाएको लोकभाकाको एउटा गीतले युट्युबमा राम्रै पकड जमाइरहेको छ । गीत पनि उस्तै छ, ‘जे पर्ला–पर्ला’ टाइपको– 

‘पानी पर्ला
असिना झर्ला
तिम्रो रुमालले 
मुख पुछ्नुपर्ला...’ 

कान्तिपुर दैनिकमा समाचार लेखिएको छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook