भाषिक हेजमनि र औपनिवेशिक मानसिकताबाट उन्मुक्ति

आईतवार ०४ जेष्ठ, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

निष्णु थिङ  

निष्णु थिङ  

काठमाडौं, नेपाल

भाषिक हेजमनि र औपनिवेशिक मानसिकताबाट उन्मुक्ति फोटोस्रोत : द काठमाडौ पोस्ट

एन्टोनियो ग्राम्सीले ‘प्रिजन नोट’मा लेखेअनुसार शासकहरुले शासितहरुमा पुनः शासित हुने मानसिकता निर्माण गर्नु हेजमनि हो । यो एकप्रकारले शासित हुन दिइने सहमति हो । शासकीय मनोवृत्तिलाई स्वीकार्न तयार हुनु हो । राज्यले नागरिकमा आफ्नो शासनको स्वीकृति निर्माण गर्ने कार्य हो । अर्काको भाषा सिक्न र सिकाउन आफ्नो मातृभाषा छाड्न तयार हुने मनस्थिति भाषिक हेजमनि हो । मातृभाषालाई कमसल, कमजोर, अर्थहीन ठान्ने, अरु नै प्रभुत्वशाली भाषालाई सबैथोक मान्ने विचार र मनोविज्ञानलाई यो लेखमा भाषिक हेजमनि भनेको हुँ । 

१६ वैशाख, २०७६ मा शिक्षा नीति तथा अभ्यास केन्द्रका साथीहरु, भाषाविद अमृत योन्जन र म सिन्धुलीको कर्णाली भनिने हरिहरपुरगढी गाँउपालिकाको शिक्षा परामर्श सभामा भाग लिन पुग्यौँ । हामी तामाङकै घरमा बास बसेका थियौँ । घरका दुईजना २–३ वर्षका नानीहरुसित मैले तामाङ भाषामा कुरा गर्ने प्रयास गरेँ । उनीहरुले मेरा कुरा बुझेनन् । ‘तिम्रो नाम के हो ?’ नेपालीमा सोधेँपछि उनीहरुले फटाफट जवाफ दिए । आफ्ना नानीहरुलाई तामाङ भाषा सिकाउनु कामकारी नभएको अभिभावकको विचार थियो । 

यो गैरनेपाली मातृभाषीहरुले जानीजानी आफ्नो भाषाको जरा काट्न शुरु गरेका छन् भन्ने एउटा उदाहरण हो । कुनै पनि भाषाको जग पुस्तान्तरमा हुन्छ । हजुरबा, बा र नाती पुस्ताको बीचमा संवाद भएमा मात्रै उक्त भाषा सुरक्षित हुन्छ । काठमाडौंमा मातृभाषा सरंक्षण र सवंद्धनको विषयमा हुने गरेका विचारगोष्ठीहरुमा प्रायः स्वयम नेपाली भाषा नै खतरामा रहेको तर्क अगाडि सारेर मन्त्रालयका कर्मचारीहरु, शिक्षाविदहरु र खसआर्य समुदायका साथीहरु मातृभाषाको मर्मलाई पन्छाउन र कम आँकलन गर्न अग्रसर भएको पाइन्छ । कतिपय अवस्थामा यो तर्क पनि जायज हुने गर्दछ । तर यो तर्क कुन नियतद्वारा निर्देशित छ भन्ने बुझ्न आवश्यक छ ।

गैरनेपाली मातृभाषीहरुले जानीजानी आफ्नो भाषाको जरा काट्न शुरु गरेका छन् भन्ने एउटा उदाहरण हो । कुनै पनि भाषाको जग पुस्तान्तरमा हुन्छ । हजुरबा, बा र नाती पुस्ताको बीचमा संवाद भएमा मात्रै उक्त भाषा सुरक्षित हुन्छ ।

पत्रपत्रिका र सञ्चार गृहमा यो विषयले प्राथमिकता पाइरहेको हुन्छ । साथी रुप बहादुर वि.क.ले यो विषयमा केही समय पहिले नागरिक दैनिकमा लेख लेखे । त्यसैगरि कान्तिपुर दैनिकमा एकजना शिक्षिकाको लेख प्रकाशित भयो । नेपालीे भाषाको प्रभुत्व र वर्चश्वले गर्दा अरु मातृभाषालाई सकंटापन्न बनाउदै लगिरहेको विषयले जति उनीहरुलाई पिरोलिरहेको छ, त्यसैगरी अहिले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्नेहरु पनि अग्रेंजीको दवदवाले आफ्ना भाषाले भोग्नु परेको पीडा खेप्न बाध्य छन् । केही समय अगाडि साहित्यकार कृष्ण धारावासी अमेरिकामा जाँदा भाषिक कारणले अप्ठेराहरु भोगेपछि नेपालमा मातृभाषा आन्दोलन र पहिचानको आन्दोलन किन भइरहेको छ भन्ने महसुस भएको सार्वजनिक गरे । 

शिक्षा परामर्श सभा 

हरिहरपुरगढी गाउँपालिकामा स्थानीय नेतृत्व निर्वाचित भएपछि यति लामो समयसम्म शिक्षा नीति बन्न सकेका थिएन । त्यसकै लागि २०७६ वैशाख १७ र १८ गते शिक्षा परामर्श सभा राखिएको थियो । सभामा प्रमुख अतिथि संघीय संसदका शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती मगर, शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यकारी निर्देशक टीका भट्टराई, मातृभाषामा आधारित वहुभाषिक शिक्षाको लागि भाषाविद अमृत योन्जन र समावेशी शिक्षा सम्बन्धमा मलाई निम्त्याइएको थियो । सभामा गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र अभिभावकहरु सबैको उपस्थिति थियो । सभा निकै उपयोगी र उचित ठहरियो । आगामी दिनमा उक्त गाउँपालिकाको शिक्षा नीति तथा कार्यक्रम तय गर्न सो सभाले निकै राम्रो भूमिका निर्वाह गरेको सबैले ठाने । त्यसप्रकारको सभा देशभरिका अरु स्थानीय सरकारले आयोजना गर्न आवश्यक छ । 
 

मातृभाषाप्रतिको वितृष्णा 

अहिलेसम्मको हाम्रो शिक्षाले मातृभाषाप्रति सम्मान र गौरवको भावना विकास गराउन सकेन । बरु निरन्तर हेय धारणाको निर्माण गरिरह्यो । विद्यालय परिसरमा विद्यार्थीले खसभाषा नजान्दा धेरै दुख पाए । भाषा नजानेकै कारणले कैयन् विभेदहरु खेप्दै कक्षा छाड्नु परेको धेरै दृष्टान्तहरु छन् । गतवर्ष कर्तव्य फाउण्डेशनले काठमाडौंमा ‘मातृभाषामा शिक्षा कार्यान्वयनको अवस्था, चुनौति र सम्भावनाहरु’ विषयक विचारगोष्ठी गरेको थियो । गोष्ठीमा फाउण्डेशनका  उपाध्यक्ष शक्ति लामाले रामेछापको एक तामाङ महिलाले पढाई छाड्नुको प्रसंग सुनाउनुभयो ।

‘एकदिन कक्षामा शिक्षकले सेतो चक देखाएर एउटा वाक्य बनाउन भन्यो । उनले, ‘चाक सेतो हुन्छ’ भनेर कालोपाटीमा लेखिन् । उनले सजाय पाइन् । अपमानित पनि भइन् । त्यसपछि उनको औपचारिक शिक्षामा बिराम लाग्यो ।

‘एकदिन कक्षामा शिक्षकले सेतो चक देखाएर एउटा वाक्य बनाउन भन्यो । उनले, ‘चाक सेतो हुन्छ’ भनेर कालोपाटीमा लेखिन् । उनले सजाय पाइन् । अपमानित पनि भइन् । त्यसपछि उनको औपचारिक शिक्षामा बिराम लाग्यो । तामाङ मातृभाषीको बोलीमा आकार आउने हुन्छ । जिब्रोले आकार उच्चारण गर्ने गर्छ । त्यसैले उनले चकलाई ‘चाक’ भन्न पुगिन् । बोलीको त्यो सवेंदनशील पक्ष शिक्षकले बुझेनन् । आफ्नो मातृभाषाको उपयोगिता नदेख्दा र नपाउँदा अहिलेको पुस्तामा त्यसप्रति वितृष्णा पैदा हुन भएको छ । त्यसमाथि अपमानित र दण्डित हुन पुगेपछि बाबुआमाले बच्चाहरुलाई मातृभाषा जानीजानी सिकाउदैनन् । नानीहरुले समेत सिक्न चाहदैनन् ।

मार्टिन चौतारीमा गत साल आयोजित शिक्षा सम्बन्धी एक अन्तरक्रियामा केहीले अग्रेंजीकरणको निकै बद्ख्वाई गरे । त्यसमा अमृत योन्जनले मातृभाषामा शिक्षाको आवश्यकतामा जोड दिँदा मेरो छेउमा बस्ने मित्रले ‘कन्जरभेटिभ’ आरोप लगाइरहेका थिए । उत्तरऔपनिवेशिकवादको अध्ययनमा डा.सञ्जीव उप्रेतीले आफ्नो पुस्तक सिद्धान्तका कुरामा ‘गर्मीको मौसममा झापा जाँदा अङ्ग्रेजी बोर्डिङ स्कुलका ससाना बालबालिकाहरु मधेसको खलखल पसिना आउने गर्मीमा टाई र कोट भिरेर जाँदै गरेको देखेँ । त्यस गरम मौसममा टाई र कोटको प्रयोग मूल्य शून्य थियो । टाईले घाँटी कस्सिएका ती साना बालबालिकाहरु ‘सभ्यता’को डोरी जबरजस्ती बाँधिएका भेडा–बाख्राझैँ देखिन्थे’ लेख्नु भयो । यसरी हाम्रो मन–मस्तिष्कलाई एकप्रकारले औपनिवेशिकरण गरिएको छ । नेपालीभाषीको सवालमा अग्रेंजीले र अरु मातृभाषाको हकमा नेपालीले त्यो काम गरिरहेको छ । त्यसो भएपछि हामीलाई आफ्नो भाषा, संस्कृति र सामाजिक–मूल्य मान्यताहरुप्रति वितृष्णा जाग्नु स्वभाविक हो । 

औपनिवेशिकताबाट मुक्ति 

लुइस अल्थुसरले आफना पुस्तक आइडिओलोजि एण्ड आइडिओलेजिकल स्टेट अपरटस मा इन्टरपेलेसन सिद्धान्तको बारेमा चर्चा गरेको छ । त्यसमा उनले राज्यले दमनका लागि अपनाउने दुृईवटा विधिशास्त्र एक, रिप्रेसिभ स्टेट अपरटस र दोस्रो, आइडिओजिकल स्टेट अपरटसको राम्रो व्याख्या गरेको छ । रिप्रेसिभ स्टेट अपरटस भन्नाले राज्यका पुलिस, सेना र निजामति जसले आफनो शासनलाई टिकाउन प्रत्यक्ष दमन गर्दछ र आइडिओजिकल स्टेट अपरटस भन्नाले पुलिस, सेनाले दमन गरेर मात्रै शासन सत्ता चलाउन सकिदैन त्यसको लागि विचारधारा चाहिन्छ । त्यो भनेको जनतालाई विचारधारात्मक रुपमा आफनो सत्ताको अनुकुल बनाउने हो । त्यो विद्यालय, कलेज, विश्वविद्यालय, पुस्तक, संस्कृति र साहित्यबाट गर्न सकिन्छ, जुन स्लो पोइजनिङ गर्दै लगेर जाने हो । यो कार्ल माक्र्सको ‘राज्य दमनकारी संयन्त्र’ संकथनको जगमा आएको थेसिस हुन् । यसलाई अल्थुसरले राम्रोसित वस्तुगत रुपमा ल्याएको हुन् । शासन सत्ता सञ्चालन गर्न पहिलो भन्दा दोस्रो चाहि निकै महत्वपूर्ण र दिगो हुन्छ भन्ने विद्धानहरुले सुझाएका छन् । त्यसरी शताब्दीयौं आइडिओजिकल स्टेट अपरटस लागु गर्दा जनताका मन–मस्तिष्क विषाक्त र औपनिवेशिकृत हुन गएको छ ।

भर्खरै पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लिम्बु, राई, तामाङ मातृभाषामा सञ्चालित बहुभाषिक शिक्षामाथि एकजना लिम्बुले उच्च अदालतमा मुद्धा हालेर बन्द गराए ।

आइडिओलोजिकल स्टेट अपरटसकै गहिरो प्रभावले गर्दा भाषिक हेजमनि स्थापित गराउँछ । त्यसले आफ्नै भाषाको विरुद्धमा समेत व्यक्तिलाई उभ्याउँछ । त्यसको ज्वलन्त उदाहरण भर्खरै पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लिम्बु, राई, तामाङ मातृभाषामा सञ्चालित बहुभाषिक शिक्षामाथि एकजना लिम्बुले उच्च अदालतमा मुद्धा हालेर बन्द गराए । अर्को कुरा सन् १८३२–३४ मा म्याकाउलेले ल्याएको शिक्षा ऐन मूलतः आफ्ना औपनिवेशिक मुलुकहरुमा शासन सत्ता कसरी टिकाउने र त्यसको लागि चाहिने आवश्यक जनशक्ति उत्पादन गर्ने हेतुले अभिप्रेरित थियो । यस्ता प्रकारका शिक्षाले हाम्रा मस्तिष्कलाई पनि औपनिवेशिकरण ग¥यो । नेपालको सन्दर्भमा राष्ट्रिय शिक्षा पद्धतिको योजना नै त्यस्तो शिक्षा हुन् जुन माथिका अल्थुसर र म्याकाउलेका नीति, विचार, नियत र उद्देश्यबाट ओतप्रोत थिए । फलस्वरुप नेपालका शिक्षा पद्धति औपनिवेशिक मनोदशाबाट निर्देशित छ । परिणाममा आफ्ना नानीहरुलाई मातृभाषाबाट वञ्चित गराउदै लैजाने र जानजान अर्को भाषा सिकाउने संस्कार विकास हुन गएको छ । त्यसैले अहिलेको शिक्षाबाट हाम्रा विषाक्त मन मस्तिष्कलाई शुद्धिकरण गर्नु पर्ने र औपनिवेशिकताबाट मुक्त गराउदै लैजानु पर्ने देखिन्छ । 

सारांश 

‘चुरि हाउ’, अर्थात् तामाङ भाषामा यता आउ भनेर बोलाउदा भागेका साना बालक देख्दा टीकाजीले भन्नु भयो, ‘यो कम हियर वाला होला, के आउनु छेउमा ?’ । अहिले गाउँ–गाउँमा नेपाली भाषाले अरु मातृभाषालाई विस्थापित गर्दै लगिरहेको छ । अंग्रेजी भाषाले खस नेपाली भाषालाई त्यही हविगतमा पु¥याउन थालेपछि बल्ल हिजोदेखिको एकभाषी मानसिकतामा थोरै चेत खुल्न थालेको जस्तो देखिन्छ । दुई दिनको परामर्श सभा सकेपछि फर्किने बेलाको भेटघाटमा मकवानपुर लिलादमारको श्री देवकी माध्यमिक विद्यालयमा इन्टर्न गरिरहेका बेल्जियम नागरिक रुमी र फ्लोर भेटिए । उनीहरुले आफ्नो देशका तीनवटा भाषा– डच, फ्रेन्च र जर्मनी पढ्नु पर्दोरहेछ । उनीहरु डच भएकोले आठवर्षसम्म मातृभाषामा शिक्षा, ९–१० वर्षको उमेरदेखि अँग्रेजी र १३–१४ देखि फ्रेन्च र जर्मनी पढ्नु पर्नेरहेछ । उनीहरु भन्दैथिए,  ‘नेपालका विद्यार्थीहरुले सानैदेखि अँग्रेजी सिक्दा रहेछन्, तर निकै कमजोर सिकाइ रहेछ’ । 

अहिले विभिन्न नाममा संघले स्थानीय सरकारको माध्यमिक तहसम्मको शिक्षाको अधिकार खोस्दै गइरहेको छ । त्यसले समावेशी र वहुभाषिक शिक्षा लागू हुन कठिनाइ भएको छ । कर्मचारी प्रशासनमा जकडिएको एकभाषी र एकल साँस्कृतिक मानसिकताले यसमा काम गरेको छ । 

दिगो विकास लक्ष्य सन् २०१६–२०३० को ४ नम्बर बुँदामा लेखिएको छ, ‘सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवर्धन गर्ने’ । नेपालले संयुक्त राष्ट्र संघसित प्रतिबद्धता गरेको यस नीति लागू गरेर मातृभाषामा आधारित वहुभाषिक शिक्षा सञ्चालन गर्न सकिएमा मातृभाषा शिक्षाको मार्गहरु खुल्दै जानेछ । यस दिशामा काम गर्ने हरिहरपुरगढीको प्रथम शिक्षा परामर्श सभाले इच्छा मात्रै देखाएन । १५ वटा विद्यालयहरुबाट मातृभाषामा पठनपाठन शुरु गर्ने घोषणा पनि ग¥यो । अरु ७५२ स्थानीय निकायले पनि यसतर्फ कदम चाल्न सके साना नानीहरुको बलियो संज्ञानात्मक जग निर्माण गर्दै मातृभाषाको जगेर्ना र विकास सम्भव हुनेछ । 

उपसंहार 

अहिले विभिन्न नाममा संघले स्थानीय सरकारको माध्यमिक तहसम्मको शिक्षाको अधिकार खोस्दै गइरहेको छ ।  सीमित वहुभाषिक तथा समावेशी शिक्षाको प्रावधान, नीतिहरुमाथि अतिक्रमण बढ्दो छ । स्थानीय निकायमा भएका कर्मचारी प्रशासन, कार्यकारी अधिकृत र शिक्षा विभाग प्रमुखले आनाकानी गरेर टार्ने र कार्यान्वयन हुन नदिने प्रवृत्ति मौलिदो छ । त्यसले समावेशी र वहुभाषिक शिक्षा लागू हुन कठिनाइ भएको छ । कर्मचारी प्रशासनमा जकडिएको एकभाषी र एकल साँस्कृतिक मानसिकताले यसमा काम गरेको छ । 


संघले संस्कृत भाषाको शिक्षा यसपालिदेखि लागू गर्ने नीति ल्यायो । नेपालका गैर खसनेपाली भाषीहरुमाथि पर्वते भाषाको बोझ त थियो । त्यसमाथि अर्को संस्कृत भाषाको भार पनि थपिदियो । अहिलेलाई ऐच्छिक भने पनि यसको निहितार्थ बुझ्न केही समय पर्खनै पर्छ । विगतमा यो भाषा अरुभाषीमाथि लादिएको कारणले पुनः लादिन्छ कि भन्ने शंका उत्पन्न गराएको छ । राज्यको यो कदम भाषिक हेजमनि र औपनिवेशिकता थोपर्ने सशक्त नियतबाहेक केही होइन । राज्यको यस्तो नीतिहरुप्रति उच्च सतर्कता अपनाउदै एकातिर विरोध जनाउनु पर्ने र अर्कातिर भाषिक हेजमनि र औपनिवेशिकताबाट जोगिन पर्नेछ भने आफनो मातृभाषाको जगेर्ना र समावेशी शिक्षाको लागि थप सघंर्ष गर्नु पर्ने दायित्व आइलागेको छ । भाषिक हेजमनि र औपनिवेशिक मानसिकताबाट त्यसरी नै उन्मुक्ति पाउन सकिन्छ ।           


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु निष्णु थिङ  

किताबहरु

Helping Hands

Like us on Facebook