वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा

शुक्रवार १६ श्रावण, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

गणेश राई

गणेश राई

काठमाडौ

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा

बाँसुरी लोक परम्परा

वाम्बुले राईहरूको सामाजिक जीवनमा असार र साउन महिनामा प्रकृति अर्थात् भगवान गुफा बस्छ भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल काट्नु हुँदैन । कपाल कोरेर भुइँमा झानु हुँदैन । किराती बाजाहरू बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा, यलम्बर (टुङबाजा), पिपिरी, पुङ, ढोल, झ्याम्टा आदि पर्दछन् ।

जब साउन १५ लाग्छ तब भगवान उपवास सकेर गुफाबाट बाहिर निस्किन्छन् भनिन्छ । त्यस दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्तकहरू नयाँ बनाएका र अघेनुसामू सिउरेर राखेका पुराना बाँसुरी झिेकर पाखापर्वत, खोलाशुंखला नै गुन्जायमान हुने गरी बजाउँछन् । वनपाखाभरि गाई, बाख्रा चराउँदै बाँसुरी, मुरली, बिनायो खिप्छन् । बनाउँछन् । अनि बजाउँछन् ।

वाम्बुले भाषामा बाँसुरीको धुन शब्दमा :
बास्दै ह्याँमु उङ ल्वाङ्मे 
(बस है फुपै म गएँ) 
नाठोचे लिम्साक उङ ब्लाङ्मे 
(अर्को वर्ष फर्केर म आउँछु)

दुधकोशी र सुनकोशी नदीको सँगम आसपासका बस्तीहरुमा सुनौं सुनौं लाग्ने सुमधुर तालमा कुर्लिङकुर्लिङ कुर्लिने बाँसुरीको धुन हो यो । मूलतः वाम्बुले मातृभाषामा अभिव्यक्ति कत्ति सुनौलो कथा छ, यसभित्र । 

बाँसुरीको धुनमा कुँदिएको यी शब्दमात्र होइनन्, सिंगो सामाजिक परम्पराको प्रतिनिधित्व गर्दछ । एक लोर्के ठिटोले बाँसुरीको भाकामा एक तरुनीवयसँग गरेको वाचाबन्धनको अभिव्यक्ति हो । ठिटो लाहुर जान कस्सिदैछ । उनले मनपराएकी प्रियसीलाई फकाउन बाँसुरीको भाकामै भनिरहेको छ– ‘बस है प्रिया, म हिंडें । अर्को साल फेरि फर्केर आउँछु, तिमी मलाई नै पर्खिराख ।’ 

बाँसुरी नै प्रेमिल अभिव्यक्ति किन ? भनेर प्रश्न उब्जिन्छ । स्वभाविक हो । उहिले उहिले गाउँघरमा धेरै पढेलेखेका हुन्नथे । केटाले पढ्न लेख्न सिकेको हुनसक्छ । तर छोरीचेलीलाई पढाउने चलन नै थिएन । छोरीलाई पढाए ‘बोक्सी हुन्छ’ भन्ने कुरुप धारणा थियो । यद्यपि उतिखेर पनि चेतनाले भरिपूर्णै हुन्थे, जति अहिलेका छौं । त्यसबखतमा केटाले केटीलाई जीवनसाथी बनाउने प्रस्ताव आफूले जानेको कलामार्फत् अभिव्यक्त गर्थे । पानीको फोका संसार देखेजस्तो एक बिम्बात्मक अभिव्यक्ति हुन्थ्यो ।

उहिले उहिले गाउँघरमा धेरै पढेलेखेका हुन्नथे । केटाले पढ्न लेख्न सिकेको हुनसक्छ । तर छोरीचेलीलाई पढाउने चलन नै थिएन ।त्यसबखतमा केटाले केटीलाई जीवनसाथी बनाउने प्रस्ताव आफूले जानेको कलामार्फत् अभिव्यक्त गर्थे ।

लोकजीवनको सौन्दर्य यसैमा छ । लाहुर जानु पर्ने बाध्यता एकातर्फ अर्कोतर्फ गाउँघरमै रहेकी प्रियसीलाई आफ्नै प्रतिक्षामा रहिरहोस् भन्ने मनोकांक्षाको अभिव्यक्ति या भनौं मनोतन्त्रको साधना नै बाँसुरी हो । चिठी लेखौं– पढेलेखेको छैन । लेखपढ जानेकै भएपनि ग्रामीण जीवनमा कुन हुलाकीले चिठीपत्र कसका हात र साथमा पारिदिने हुन् थाहा छैन । त्यसै पनि तरुनी–तन्नेरीबीचको अभिव्यक्ति हो । न टेलिफोन, न मोबाइल, न इन्टरनेट स्वतन्त्र जिन्दगीको अभिव्यक्तिको माध्यम नै बाँसुरी थियो, त्यो जमाना । 

मुरलीको भाका शब्दमा :

तिरीहुरी तिति माई मुरली, 
बाटैमा भेटें गाई कोरली
फापरको ढिंडो अरमले साग 
कति राम्रो मुरली सुमधुर राग... 

यी शब्द वाम्बुले राई समाजमै उब्जिएका हुन्, खोरिया बारीमा बालीनाली फलेझैं । वाम्बुले मातृभाषा मात्र बोल्नेले सायद खसकुरा सिक्दै गर्दाको क्षण र अंग्रेजी भन्ने बोली पनि मिसिएको जस्तो लाग्छ । शब्दका प्रत्येक पुन्जले त्यही ग्रामीण जीवनको कण–कण बोकेका छन् । बाँसुरी र मुरली उस्तै उस्तै लाग्ने तर बजाउने तरिका, भाका फरक फरक छन् । 


बाँसुरी र मुरलीको अर्थ अनि उखान

बाँसुरी : ओठमा राखी दाहिने कुमतिर फर्काई फुकेर बजाइने, छोटो, लामो र मझौला तीन थरी आकारका हुने, स्वपरिवर्तनका निम्ति छ–सातवटा छिद्र भएको र तिनमा पालैपालो औंलाले थुनेर वा छेकेर बजाइने बाँस, निगालो, काठ आदिबाट बनाइएको बाजा हो । 

वाम्बुले लोकजीवनमा उखान छ– ‘बजाउन जाने पो बच्छ मुरली, फकाउन जाने पो मान्छ तरुनी ।यसको अर्थ हो, बाँसुरी, मुरली तन्नेरीले बजाउँछ । त्यसबाट निस्किने स्वरलिपिले मानिसको मनमस्तिष्कमा आनन्द पैदा गर्छ । मान्छे मन्त्रमुग्ध तुल्याउँछ । मुरली बजाउन जान्ने तन्नेरीले तरुनी फकाउन सक्छ ।

मुरली : निगालो, बाँस वा काठद्वारा बनेको, लामो–छोटो विभिन्न प्रकारको हुने, औंला चाली विभिन्न स्वरमा फुकेर बनाइने एक बाजा । (नेपाली बृहत् शब्दकोश, ने.प्र.प्र., दसौं संस्करण २०७५)

वाम्बुले लोकजीवनमा उखान छ– ‘बजाउन जाने पो बच्छ मुरली, फकाउन जाने पो मान्छ तरुनी ।’ यो उखान हाम्रा पूर्वजहरूले सिर्जना गरेका हुन् । यसको अर्थ हो, बाँसुरी, मुरली तन्नेरीले बजाउँछ । त्यसबाट निस्किने स्वरलिपिले मानिसको मनमस्तिष्कमा आनन्द पैदा गर्छ । मान्छे मन्त्रमुग्ध तुल्याउँछ । मुरली बजाउन जान्ने तन्नेरीले तरुनी फकाउन सक्छ । त्यसैले बाँसुरी, मुरली आम नेपाली जनजीवनका निम्ति आनन्द दिलाउन बजाइने बाजा हुन् । 

वाम्बुले राई 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ ओखलढुंगा, खोटाङ तथा उदयपुर र प्रदेश–३ सिन्धुली जिल्ला दुधकोसी र सुनकोसी नदी संगम आसपासको भूगोल किरात वाम्बुले राईहरू मूलथलो हो । सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम, पाँचथर, सर्लाही, काठमाडौं उपत्यका, चितवन, तनहुँ, कास्की तथा बेलायतमा समेत वाम्बुले राईहरूको बसोबास रहेको छ । 

वाम्बुले राईको मातृभाषा, मुन्धुम संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यले २०५४ सालमा स्थापना भएको वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको कार्यालय महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्ती, ललितपुरमा रहेको छ । वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ । 

बाँसुरी दिवसको थालनी

वाम्बुले राईहरूको आफ्नै मौलिक थातथलो, रीतिथिति, लोकपरम्पराहरू रहेका छन् । सहरमा बस्नेलाई गाउँघरको सम्झनाले ब्युँताउँछ । विदेशमा बस्नेलाई स्वदेशको यादले सताउँछन् । त्यसैले गाउँघरमा बिर्सिदै गएको लोकपरम्परालाई सहरबाट पुनःउत्थान गर्न कामको थालनी वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले गर्दैआएको छ । 

सहरमा बस्नेलाई गाउँघरको सम्झनाले ब्युँताउँछ । विदेशमा बस्नेलाई स्वदेशको यादले सताउँछन् । त्यसैले गाउँघरमा बिर्सिदै गएको लोकपरम्परालाई सहरबाट पुनःउत्थान गर्न कामको थालनी वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले गर्दैआएको छ । 

यही क्रममा वाम्रास केन्द्रीय कार्यसमितिले काठमाडौं उपत्यकामा पहिलो पटक २०७४ साउन १५ गते बाँसुरी बजाउने र खिर खाने परम्पराको थालनी गरेको हो । यस दिनलाई ‘बाँसुरी दिवस’ भन्ने गरिएको छ । बिर्सिदै गएको परम्परालाई पुनःस्थापना गर्न यो दिवसलाई एक अवसरका रूपमा लिइएको छ । 

२०७४ सालदेखि वाम्रास सुनसरी जिल्ला कार्यसमितिले धरानमा वाम्बुले युवा (महिला र पुरुष)लाई तीन दिने बाँसुरी, बिनायो, मुर्चुङ्गा, मादल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै, ओखलढुंगाको हिलेपानी भन्ज्याङमा बाँसुरी दिवस मनाउने क्रम सुरु भएको र निरन्तर हुँदैआएको छ । 

राष्ट्रगानका रचयिता व्याकुल माइलाको अगुवाई र थुम्का सिद्धधाम पर्यटकीय विकास समितिको पहलमा लोकभाकाहरूको अनुसन्धान तथा हिलेपानी भन्ज्याङमा लोक सांस्कृतिक कार्यक्रमको चौथो शृंखला सम्पन्न भइसकेको छ । 

कोभिड–१९ ले गर्दा यो पटक सामुहिक भेटघाट गर्न सम्भव भएन । त्यसैले गर्दा २०७७ साउन १५ गते इन्डिजिनियस टेलिभिजनको माध्यमबाट देश, विदेशबाट सहभागी भएर प्रत्यक्ष प्रसारणमा सहभागी हुन पाएका छौं । स्वदेशमा ओखलढुंगाको हिलेपानी गाउँबाट, सुनसरीको धरान, काठमाडौं उपत्यका, बेलायत, दक्षिण कोरिया र मलेसियाबाट युवाहरू बाँसुरी बजाएर सहभागिता जनाउनु भएको छ ।

गर्वका साथ यत्ति भनौं– किराती लोकपम्पराको निरन्तरता, हाम्रो लोकसंस्कृति, हाम्रो शान ! हामी नै हाम्रो लोक परम्पराका संवाहक हौं । हामीले परम्परा जोगाउने हो । बजिरहोस् बाँसुरी । बजाइरहौं बाँसुरी ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook