मेरो गाउँको नाम किन फेरिन्छ ?

शुक्रवार २६ भाद्र, २०७७   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

डा. सुरेश तामाङ

डा. सुरेश तामाङ

संखुवासभा, नेपाल

मेरो गाउँको नाम किन फेरिन्छ ?

पूँजीवादी ब्यवस्थाको प्रभाव र आधुनिक विकासको नाममा तामाङ लगायत कतिपय आदिवासीहरुको ईतिहाँस र सांस्कृतिक पहिचान हराएर जाँदैछन । संघीयताको कार्यान्वयनसंगै प्रदेशको नामांकन र सीमांकनमा पनि विवादहरु कायमै छन् । तर कतिपय मेटिएका प्राचीन र पूख्यौली नामहरुको पूनउत्थान पनि हुँदैछन । अहिले यसबारे प्रशस्त वहसहरु चल्न थालेका छन् । अर्कातिरदेशभरका अधिकंश स्थानिय गाँउ तथा नगर पालीकाहरुको नाम पहिचान विरोधी, प्रायःमूलधार नेपाली र खसआर्य भाषामा रहेको देखिन्छ । उसैगरी विधालय, सामुदायिक वन उपभोक्ता समिति र सहकारी संस्थाहरुका नाम पनि भौगोलिक इतिहाँस र स्थानियता भन्दा बढि देवदेवी (धार्मिक) र पहिचान विपरित नै देखिन्छन् । उदाहारणका लागि लिम्बुवान क्षेत्र ताप्लेजुङको प्रशिद्ध किराँत धार्मिक स्थल मुकुमलुङलाई पाथीभरा नामाकरण भएदेखि मगर भाषाको रिडीलाई रुरुक्षेत्र अनि ब्याँसीहरुले भन्ने तिल्सीलाई आज कालापानी बनाइएको जस्ता कुराहरुमा अहिले समुदायको चासो बढेको छ । इतिहाँसमा पनि बेलायतीहरुले भारतलाई इन्डिया नाम राखेको र सिन्धु नदीलाई इन्दुस बनाइएको छ । 

आफ्नो थातथलो र पूर्खाको इतिहाँस सबै जातिका लागि प्यारो हुन्छ । यसैले नै समुदायको संस्कृति र सभ्यता परिष्कृत हुदै जाने हो ।

आफ्नो थातथलो र पूर्खाको इतिहाँस सबै जातिका लागि प्यारो हुन्छ । यसैले नै समुदायको संस्कृति र सभ्यता परिष्कृत हुदै जाने हो । उदाहरणका लागि तामाङ समाजमा आफ्नो चालचलन (रिमठिम), संस्कृति र संस्कारमा ब्यक्तिको पूख्र्यौली खोज्ने र त्यसको वर्णन गर्ने चलन छ । त्यसमा खासगरी ठुङसा (उत्पत्ति स्थल) र बाप्सा (शक्ति प्राप्त गरेको वा किपट) भूमिको महत्व रहेका कुरा मानवशास्त्री डा. मुक्तासिं तामाङ बताउनुहुन्छ । आफ्ना अग्रज पूर्खाहरुको उद्गम थलो र आवादी क्षेत्र खोज्ने यो प्रचलन अझै पनि कायम छ । यो कुरा तामाङ समाजका अग्रज तम्बा, लाप्तावा र बोम्बोहरुले बताउने गरेको र विभिन्न चाड, उत्सव वा साँस्कृतिक समारोहमा वाचन गर्ने वा लयबद्ध रुपमा गाउने गर्दछन् । यसरी तामाङ समाजमा ताम्बालाई इतिहाँसकार, कथाकार, गायक र प्रवत्ताका रुपमा लिइन्छ । तर आधुनिकताको कारणले अधिकांश तामाङ समाजमा ताम्बाको भूमिका हराउँदै गएकोमा अव खोजी गरिदै आएको अवस्था छ । सीमित संख्यामा रहेका ताम्बाका अनुसार यस पंत्तिकारका पूर्खाहरु भोटेकोशी पारी काभ्रेको भूम्लु सल्ले क्षेत्रबाट बसाँइसराइ गरी आएको मानिएको छ । आफु जन्मेको संखुवासभाको तुम्लिङटार सिरानमा रहेको वैधगाउँ र यस वरपरका केहि ठाउँहरुको नामसंग पनि तामाङका पूर्खाहरुको साइनो रहेको कुरा पुष्टि गर्ने केहि तथ्यहरु यहाँ पस्केकोछु । 

सरकारी श्रेस्ताको हिसावले भन्ने हो भने कसको नाममा जग्गा जमिन दर्ता भएको थियो त्यसबाट पनि कतिपय स्थान विशेषमा कस्का पूर्खाहरु बस्दथे भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । मेरो जन्मथलो वैधगाउँ वरिपरिका कतिपय जग्गाहरु तामाङलगायत केहि मगरको नाममा थिए भने अन्य केहि बाहुन (घिमिरे) तथा माझी र कुमाल दर्ता छन् । कतै राई दर्ता पनि रहेको बुझिन्छ । वैधगाउँका धेरैजसो जग्गा तामाङहरुको नाममा नै दर्ता भएका रहेछन् । जस्तै बागदल रानाको नाममा दर्ता भएकोले रानावारी र रानाखोरिया भएका छन् । मगर भाषामा भन्ज्याङलाई खावा भन्ने हुँदा अलि पर खावा पाखा पनि भएकोले त्यहाँ मगरहरुको पनि राम्रो उपस्थिती थियो भन्न सकिन्छ । हाल पनि केहि क्याप्छाकी र राना मगरका सन्तानहरु हाम्रो गाउँमा छँदैछन् । 

अर्को उदाहरणका लागि हाम्रो गाउँमाथि मुर्मीछाप (स्थानीयहरुले यसलाई मुरिमछाप भन्छन्) भन्ने ठाउँ आज पनि छ, जहाँ रहेका ठूला फाँट र चाक्ला बारीहरु आज पनि हाम्रैगाउँका पाख्रीन र मोक्तान थरका तामाङहरुको स्वामित्वमा रहेको छ । अर्को एउटा भोटेबारी नामको जग्गा अझै छ । संगै भोटेखोल्सा भन्ने सानो निरन्तर पानी नबग्ने सानो खोल्सा पनि छँदैछ ।हाम्रो अधिकांश जग्गा जमिनहरुका कागजातमा झाँक्री भोटे दर्ता उल्लेख छ, जो हाम्रो पूर्खा (जिजुबाजे) थिए । अरु केहि जमिनहरु सुझाव मुर्मी दर्ता हाल गंगाबहादुर काल्दन र जीतबहादुर काल्दनका परिवारहरुको स्वामित्वमा रहेको छ । त्यस्तै इन्द्रमान जजमान दर्ता रहेको जग्गा पनि आज उनकै सन्तान लप्टन योन्जनको परिवारले भोगचलन गरिराखेका छन् ।

हाम्रो गाउँमाथि मुर्मीछाप (स्थानीयहरुले यसलाई मुरिमछाप भन्छन्) भन्ने ठाउँ आज पनि छ, जहाँ रहेका ठूला फाँट र चाक्ला बारीहरु आज पनि हाम्रैगाउँका पाख्रीन र मोक्तान थरका तामाङहरुको स्वामित्वमा रहेको छ ।

हाम्रो गाउँमापछि भोजपुर सयालेबाट मुडुला कार्कीहरु र खाँदवारी मरुवाबाट घिमिरे (खत्री) परिवारहरु पनि आएका छन् । तर आदिकाल देखि नै कुमालहरुको बाहुल्यता रहेको तुम्लिङटार पुच्छर तिर भने बोहोरा, कटुवाल, भण्डारी, बस्नेत लगायत अन्य क्षेत्रीहरुको बाहुल्यता छ । त्यस्तै, अरुणपारी(भोजपुर जिल्ला अन्तर्गत) पनि तामाङहरु बसेको सहजै अनुमान गर्न सकिन्छ । जसमा भोटेटार र मठेटार रहेका छन् । यिनको नाम हेर्दा एकातिर भोटे भनेर तामाङहरुलाई बोलाउने गरेको पुरानो चलन रहेकोले भोटेटार रहेको बुझिन्छ । त्यस्तै तामाङ भाषामा भटमासलाई मठे भनिन्छ र धेरै मठे फल्ने पारिलो र चाक्लो जमिनको नाम मठेटार रहेको देखिन्छ । मठेटार भन्दा केहि मास्तिर दिङला, मुलपानी, साम्पाङ, चाम्लादाङ, चार्चा, खर्ताम्चा, खम्बुखा, ताँबु, दोभाने, कुलुङ, विरौटा लगायत भोजपुरका उत्तर पूर्वी इलाकामा धेरै तामाङ बस्तीहरु कायम छन् । त्यसैगरी सभाखोला पारी होक्से, वाना, कोक्सा, फापुङ, खाराङ, खाम्लिङ, पिप्लेटारमा पनि तामाङहरुको बाक्लो आवादी छ । खाँदवारी भन्दा अलि माथी पांमाको सिरमा भोटेबास र अझै उत्तर नुम, सडेक्मा, कारमाराङ, ओवाक, बैधे, सिप्रुङ भन्ने गाउँहरुमा अहिले पनि धेरै तामाङहरु बासोबास गर्छन । उत्तरी भेगमा राइ किराँत, गुरुङ, घले र भोटखोला क्षेत्रमा सिङसावा, नावा भोटे र शेर्पा जातीको बाक्लो बसोबाश देखिन्छ ।

हाम्रो आफ्नै पहिचानको खोजी गर्दा हाम्रो पूर्खा काभ्रेको सल्ले भुम्लूबाट बसाइ सरी आएकोे कुरा अग्रज ताम्बाहरु बताउनुहुन्छ । पाँचथरमा केही पुस्ता बसेपछि अरुण नदी तीरको समथर जमिन खोज्दै हालको संखुवासभाको तुम्लिङटार आई बसेको भन्ने मौखिक भनाइ रहेको छ । तामाङ लगायत अधिकांश आदिवासी समुह र समुदायमा लिखित इतिहाँस नभएको र मौखिक परम्परा कायम भएकोले यसलाई नै मान्न पर्ने बाध्यता छ । हाल सम्मको खोज, छलफल र अध्ययनबाट हाम्रा बाजे, बराजु, आखे म्हेमेहरुको बारेमा यो मात्र भन्न सकिन्छ । यसमा थप जानकारी र सूचनाका खोज्ने क्रम जारी छ । 

हाम्रा पूर्खाले कमाएको ख्याती र इतिहाँस मेटिने गरी मेरो घरनजिकैको चोकको स्थाननाम मुङलिङ भएको छ ।

वि.सं. १९५६ मा नै भोजपुर चरम्बी रयाँङ गाउँका तामाङ वैधहरुले धनकुटाका तत्कालीन बडाहाकिमका रानीहरुलाई विफर रोग लाग्दा सफल उपचार गरेकोले वैध उपाधी पाएको इतिहाँस छ (सन्तोष योन्जन, थर प्रथाको चलन, २०७५) । नेपाल सरकारको विफर उल्मुलन र उपचारमा हाम्रा गाउँका तामाङहरु समेत सामेल भएको प्रमाणहरु उपलब्ध छन् । हाम्रा गाउँका बयोवृद्ध श्री विष्णु बहादुर वैद्य र मेरो आफनै आप्पा लगायत त्यहाँका धेरै जनाको नागरिकताको प्रमाणपत्रमाा नै नामसंग वैद्य तामाङ भन्ने थर उल्लेख भएका छन् । त्यसैले हाम्रो गाउँलाई पनि वैद्यगाउँ भनिएको हो । 

आज संखुवासभाको केन्द्र तुम्लिङटारमा धेरै कुराहरु परिवर्तन भइसकेको छ । मोटरबाटो, विमानस्थल, हाटबजार, बोर्डिङ स्कुल, अस्पताल, पसल ब्यवसाय संगै शहरीकराण जारी छ । तर हाम्रा पूर्खाले कमाएको ख्याती र इतिहाँस मेटिने गरी मेरो घरनजिकैको चोकको स्थाननाम मुङलिङ भएको छ । अलि माथि अरुण उपत्याकाको दृश्यावलोकन गर्ने ठाउँको नयाँ नाम भेडेटार भएकोमा पनि दुःखित छु । स्थानिय समुदाय र खासगरी सचेत र शिक्षित युवाहरुले यस्ता विषयमा आवाज उठाउनुपर्छ ।साथै इतिहाँस र पहिचान बोकेका यी र यस्ता धरोहरको संरक्षणका खातिर काम गर्न आवश्यक देखिन्छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

Like us on Facebook