बजार विस्तारको राजनीति

आईतवार २८ भाद्र, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

निष्णु थिङ  

निष्णु थिङ  

काठमाडौं, नेपाल

बजार विस्तारको राजनीति

बजार साह्रै निर्मम र क्रुर हुन्छ । बजारको कुनै भावना हुदैन । बजार नाफामुखी हुने भएकोले नाफाको लागि यसले जे पनि गर्न सक्छ । बजारले जे पनि बेच्न मौका दिन्छ । बजारमा जे पनि बेच्न र किन्न पनि सकिन्छ, मात्रै बजारमा मोल लगाउनु गोजीमा दाम चाहियो । बजार सितिमिति प्राप्त गर्न सकिन्न । यसको लागि विश्वमा युद्धहरु भएका छन् । प्रथम विश्व युद्ध तत्कालिन जर्मन र बेलायतको बजार कब्जाको होडबाजीमा नै भएको थियो । कहाँको बजार कसले नियन्त्रण गर्ने, कब्जा गर्ने र बजारमा एकाधिकारवाद कायम गर्ने अनि त्यसमा अरुलाई छिर्न नदिने मुद्धा पेचिलो भएपछि प्रथम विश्व युद्ध(१९१४–१८) भएको थियो । बजार युद्धको निरन्तरतामा अमेरिकाले चीनियाँ कम्पनी हुवाईलाई गतवर्ष प्रतिबन्ध लगाएको थियो । अहिले विश्वमा अमेरिका र चीनको शीतयुद्ध बजारकै लागि भईरहेको कसैमा लुकेको छैन । त्यसैले यो लेखमा बजार विस्तारको राजनीतिलाई नेपालमा पछिल्लो चरण मदिरामाथि नियन्त्रण गर्ने नीति र कानूनी प्रश्नमाथि केन्द्रित भएर विमर्श गर्ने प्रयत्न गरिने छ । 

मदिरा नियन्त्रण 

मदिरा भन्नाले पेयपदार्थ बुझिन्छ । रक्सी,जाँड र नशाजन्य तरल पदार्थलाई मदिरा भनिन्छ । नेपालमा मदिरा नियन्त्रण सम्बन्धमा मदिरा नियन्त्रण ऐन–२०३३ लाई सशोंधन गर्ने कार्य गृह मन्त्रालयले गत वर्षदेखि थालनी गरेको छ । अहिले यस सम्बन्धी विधेयक गृह मन्त्रालयमा नै छ, यसको मस्यौदा टुगों लागेपछि यो विभिन्न मन्त्रालयको सैद्धान्तिक सहमति पछि संसदमा पेश गरिने छ । यसै सम्बन्धमा सर्वोच्च अदालतले मदिरा नियन्त्रण गर्नु पर्ने फैसला पनि सुनाएको थियो । 

प्रसगं एक 

एक दिन एउटा कार्यक्रममा बझाङको साथी भेट भएको थियो । कार्यक्रमको ‘समापन डिनर’ खाने बेलामा एउटै टेबलमा बस्यौँ । गफ गर्दै खाना बेलामा उनले एउटा घट्ना सुनाए, ‘बझाङको सदरमुकाम नजिक एउटा तामाङ गाँउ छ । त्यहाँका तामाङहरुले आफनो रैथाने ज्ञान प्रयोग गरेर मदिरा उत्पादन गर्ने काम गर्दै आएको उनले बताए । उनी प्रत्येक दिन बेलुका रक्सी खाने भएकोले त्यो गाँउमा गई साँझमा एक बोतल घरमा ल्याएर खाने गथ्र्यो रे । बोतलको पचास रुपैयाँ पर्ने भएकोले दिनभरिको दौडधुप र थकान पनि मेट्ने र मस्तको राति निद्रा पर्ने भएकोले उनी लगायत थुप्रै साथीहरु त्यहाँ शुद्ध अन्नको रक्सी खाना र लिन जाने गर्दथे ।

नेपालमा मदिरा नियन्त्रण सम्बन्धमा मदिरा नियन्त्रण ऐन–२०३३ लाई सशोंधन गर्ने कार्य गृह मन्त्रालयले गत वर्षदेखि थालनी गरेको छ ।

तर त्यो गाँउमा त्यहाँको जिल्ला प्रहरी कार्यालयको गिद्धे नजर प¥यो र त्यस गाँउमा प्रहरी छिरेर रक्सी पार्ने सबै भाडाकुँडा फुटाउने र त्यहाँका तामाङहरुलाई नियन्त्रण लिइ मुद्धा लगाउने काम गरे । प्रहरी प्रशासनले रक्सी उत्पादन गर्न प्रतिबन्ध लगाएसँगै त्यहाँ त्यो काम बन्द भयो । उनले दावी गरे अनुसार तर बजारमा रक्सीको कमी त भएन । बजारमा लेबलवाला वहुराष्ट्रिय कम्पनीको वियरहरु विभिन्न भेराइटीका छ्यालब्याल थिए । उनलाई साँझमा रक्सी खाएर सुत्नु पर्ने भएकोले बजारको रक्सी खानु पर्ने बाहेक अरु विकल्प नरहेकोले त्यही कम्पनीवाला बोतल किनेर खाना थाले । जबकि त्यस गाँउमा अन्नको रक्सी पचास रुपैयाँ बोतल पाइने अहिले हजार रुपैयाँको तिरेर खानु परेको छ ।’ 

प्रसगं दुई 

आहुतिका अनुसार जुनबेला जगं बहादुर राणा बेलायत भ्रमणमा गयो र आफनो खलकको शासन टिकाउन बेलायतीहरुलाई सहयोग मागे र बेलायतको शर्तहरु मान्न तयार भएर फर्के, त्यसैको श्रृखंलामा जब चन्द्र शमशेर १९८२–८३ तिर भ्रमणमा गइसकेपछि बेलायतीहरुको चारपाँचवटा शर्तहरु मानेर आए । पहिलो शर्त, नेपालमा फलामखानी र तामाखानी बन्द, दोस्रो शर्त, कपास खेती बन्द र तेस्रो शर्त, गाँजा खेती बन्द गरे । नेपालमा गाँजा प्रतिबन्ध लगाएको एक महिनापछि यहाँ चुरोट निशुल्कमा बाँड्न थाले । यसपछाडि के उद्धेश्य थियो भने चुरोटको बानी बसाल्नु थियो । नेपालमा गाँजाको प्रतिबन्ध तत्कालिन ब्रिटिश इन्डिया सरकारको स्वार्थ र निर्देशनमा भएको बताउनु हुन्छ । किनकि नेपालमा माथिका फलाम, तामा, सुतीको कपडा र चुरोट बेच्नु थियो, ब्रिटिश इन्डिया सरकारलाई । त्यही भयो, अन्ततः नेपाल उनीहरुको सुरक्षित पकेटको बजारमा परिणत भयो । 

प्रसगं तीन 

नेपालमा जनकपुर चुरोट कारखानाले राम्रो बजार लिएको थियो । त्यो सरकारी लगानीमा निर्मित सरकारी उद्योग थियो । सूर्य टोब्याको लगायत नीजि कम्पनीलाई आफनो आफनो चुरोट बेच्नु थियो, त्यसैले विभिन्न षडयन्त्र र राज्यलाई नै प्रयोग गरी त्यो कारखाना बन्द गराए । यसलाई नीतिगत भ्रष्टाचार भन्न सकिन्छ । 

प्रसगं चार 

नेपालमा उत्पादन हुने वनस्पति घ्यूँ कारखानाले उत्पादन गरेका घ्यूँ नेपाल र भारतमा निकै लोकप्रिय भयो । भारतमा यसले साह्रै राम्रो बजार लियो । भारतीय कम्पनीको घ्यूँ यहाँको घ्यूँको सामु सस्तोमा पनि नबिक्ने भयो । त्यसो हुदा हेटौँडामा रहेको सो उद्योगलाई कुनै पनि हालतमा बन्द नगरी आफनो बजार चौपट हुने स्थिति देखेपछि उनीहरु लागेर विभिन्न खेलहरु गरी अन्तमा बन्द नै गराए । 

नेपालको गरिबी 

नेपालको गरिबी यहाँको कुनै मालसामान उत्पादन नहुने र हामी कोरा उपभोक्ता हुने कारणले राज्य–सृजित समस्या हो । राज्य सञ्चालन गर्नेहरु कहिले बेलायतको इशारामा नाच्ने,कहिले भारत, अमेरिकाका लगायत बाह्य रिमोटमा राजनीतिक दलहरु सत्तामा पुग्न र टिक्न जे पनि गर्ने मनस्थितिले गर्दा नेपालमा राष्ट्रिय उद्योगहरु स्थापना नहुने र भइहाले पनि बन्द हुने । यस्ता कारणहरुले गर्दा नेपालको गरिबी, र बेरोजगारी चुलिएको हो । एक प्रकारले आफू सत्तामा टिकिरहन विदेशीको गुलामी गर्ने जुन प्रवृत्ति राणाकालमा शुरु भयो, त्यही सिलसिलामा आज हाम्रो नियति र हालत दयनीय, कमजोर हुन पुगेको हो । 

नेपालमा मतवाली 

जगं बहादुर राणाले निर्माण गरेको मुलुकी ऐनले नै हो, यहाँको आदिवासी जनजातिलाई मतवाली किटान गर्न शुरु गरेको थियो । मतवाली भन्नाले पेयपदार्थ प्रयोग गर्ने जाति वा समूह बुझिन्छ(डोर बहादुर विष्ट,विकास र भाग्यवाद) । उनको त्यो ऐनले मतवालीलाई पनि मासिन्य र नमासिन्य गरी दुई भागमा विभाजन गरे । यी दुवै मतवालीहरुको दैनिक जीवनमा पेयपदार्थ, मदिराको निकै महत्व रहन्छ ।

जन्मदेखि मरणसम्मको संस्कार र संस्कृतिमा मदिराको साँस्कृतिक प्रयोगको प्रचलन र अभ्यास रहेको यस्तो जाति र समुदायमा मदिरालाई नियन्त्रण गर्ने र बन्देज लाउने राज्यको कदमले के नकारात्मक असर पार्ला ? यस बारेमा विचार गर्नु पर्छ ।

जन्मदेखि मरणसम्मको संस्कार र संस्कृतिमा मदिराको साँस्कृतिक प्रयोगको प्रचलन र अभ्यास रहेको यस्तो जाति र समुदायमा मदिरालाई नियन्त्रण गर्ने र बन्देज लाउने राज्यको कदमले के नकारात्मक असर पार्ला ? यस बारेमा विचार गर्नु पर्छ । नेपालमा मदिरा उत्पादनसित यहाँका आदिवासी जनजातिको आफनो पुर्खौली ज्ञान र शीप जोडिएको छ । उनीहरुले उत्पादन गर्ने जाँड, रक्सी, निङार र मदिराजन्य तरलपदार्थले स्वास्थ्यलाई खासै नकारात्मक असर पार्दैन । बरु मदिरा खानपिनको उमेर र मात्राको तालमेल कसरी मिलाउने यसबारेमा चाहि चेतना विकास गर्नु पर्ने देखिन्छ । जसको कूल र पितृदेवतालाई नै मदिरा चढाउनु पर्ने हुन्छ, त्यस्ता जातिलाई राज्यले कसरी व्यवस्थापन गर्ने होला ? 

वर्तमान अवस्था 

अहिले नेपालका बजारहरुमा कोरियन र चीनियाँ छ्याङ, रक्सी र मदिराको उपस्थिति बढ्दै गएको देखिन्छ । अरु अगं्रेजी रक्सी, बियरहरुको एकलौटी बजार त छदैछ । तामाङ, गुरुङ र शेर्पाहरुले मनाउने ल्होसारहरुमा त्यस्ता कम्पनीका मदिराको बाक्लो उपस्थितिले यहाँको यी जातिमा निहित मदिरा उत्पादनको ज्ञान, शीप र प्रविधिलाई विस्थापन गर्ने र साथमा यहाँको पूँजी पनि लैजाने जोखिम बढेर गएको छ । मूलतः राणाकालदेखि शुरु भएको हामीलाई केवल उपभोक्ता बनाउने रणनीति वर्तमान लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा समेत झन आक्रमक ढगंले देखा परिरहेको छ । 

निष्कर्ष 

मदिरा नियन्त्रणको नीति केवल देशभित्रै स्थानीय स्तरमा उत्पादन गर्ने कार्यलाई निरुत्साहित गर्दै बन्द गर्ने र अरु वहुराष्ट्रिय कम्पनीको लेवलवाला बोतललाई खुल्ला छोड्ने हो भने यो त केवल तिनीहरुको बजार विस्तार र सुरक्षा बाहेक केही होइन । स्थानीय स्तरमा मदिरा उत्पादनलाई बन्द त गर्न सकिएला तर खानेहरुको मुख त बन्द गर्न सकिदैन । यस्तो अवस्थामा मेरा बझाङका मित्रले भनेजस्तै स्थानीय गाँउमा मदिरा उत्पादन बन्द गराएर प्रहरी प्रशासनले रक्सी कम्पनीको बजार विस्तार र सुरक्षा बाहेक अरु केही गरेको होइन । गाँउमा बन्द गरेपनि बजारमा मदिराको त कुनै कमी नै रहेन । बरु पचास रुपैयाँमा पाउने रक्सीको मोल एक हजार पुग्यो तैपनि गाँउको रक्सीमा पाउने स्वाद र स्वास्थ्यबद्र्धकता लेबलवाला रक्सीमा पाएन भन्ने उनको जिकिर थियो । उनले बताए अनुसार त्यसपछि त्यो गाँउका मानिसहरु रोजीरोटीको लागि बाहिर जाने, बसाँई सर्ने क्रमले चाँहि प्रमुखता र तीव्रता पायो ।

स्थानीय मदिरा उत्पादनलाई बन्द गर्ने र वहुराष्ट्रिय मदिरा कम्पनीको बजार विस्तार र सुरक्षाको लागि राज्यले काम गर्ने हो भने यो भन्दा जघन्य अपराध के हुन सक्ला र ?  

त्यसरी राज्यले स्थानीय रैथाने ज्ञान, शीप र प्रविधिलाई र ती गाँउलाई विस्थापन गर्ने कार्यमा खलनायकको बाहेक केही भूमिका निभाउन सकेन । विभिन्न कम्पनीहरुको स्वार्थमा(कमिशनको खेल हुन पनि सक्छ) परेर नीतिनिर्माता र राज्यसञ्चालकहरुले गर्ने यसप्रकारको कार्यले कालान्तरमा मुलुकलाई गम्भीर नकारात्मक असर पर्ने हुनाले केही सुझबुझ र विचारै नपु¥याई बजार विस्तारको मोहरा बन्न हुदैन । राष्ट्रिय हितका लागि सञ्चालित मिडियाहरुले पनि सतही समाचार र सस्तो लोकप्रियताको खेती गर्न हुदैन । पछिल्लो केही महिनामा मूलधारका सञ्चार माध्यमहरुले मदिरासम्बन्धी नकारात्मक मात्रै समाचारहरु बाहिर ल्याएका छन् ।

वास्तवमा गाँउघरमा बनाउने अन्न र मर्चाको मदिराले त्यस्तो हुदैन । बरु मदिरा उत्पादनमा प्रयोग गर्ने खाद, रासायनिक पदार्थहरुलाई बर्जित गरी परम्परागत उत्पादन प्रणाली र ज्ञान, शीपलाई प्रोत्साहन गर्न आवश्यक छ । गाँजा खेती बन्द गराएर तत्कालिन ब्रिटिश इन्डिया सरकारले आफनो चुरोटको एकलौटी बजार नेपाललाई बनाएको इतिहासबाट पाठ सिक्ने चेष्टा गरौँ । बरु हाम्रो मदिरा उत्पादनसम्बन्धी भएका रैथाने ज्ञान, शीप र प्रविधिलाई आधुनिकीकरण गरेर राज्यको लगानीमा मदिरा उत्पादन कम्पनी खोलेर वा गाँउमा उत्पादन हुने मदिरालाई सहकारीकरण मार्फत गुणस्तर कायम गरेर विश्व बजारमा निर्यात गरी अहिलेको सरकारले चाहेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त पो गर्न सकिन्छ कि ! अन्यथा, स्थानीय मदिरा उत्पादनलाई बन्द गर्ने र वहुराष्ट्रिय मदिरा कम्पनीको बजार विस्तार र सुरक्षाको लागि राज्यले काम गर्ने हो भने यो भन्दा जघन्य अपराध के हुन सक्ला र ?  


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook