आदिवासी जनजातिको पहिचानका लागि साँस्कृतिक चेतना अनिवार्य

मंगलवार ०७ पौष, २०७७   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

डा. युवराज लिम्बु

डा. युवराज लिम्बु

काठमाडौं, नेपाल

आदिवासी जनजातिको पहिचानका लागि साँस्कृतिक चेतना अनिवार्य

नेपाल जाति, भाषा, रितिरिवाज, भेषभुषा र संस्कारहरुले बिबिधतायुक्त बहुसांस्कृतिक देश हो । नेपालको नयाँ संविधानले सिद्धान्ततः बहुसंस्कृतिलाई स्वीकारेको छ  ।  सयौँ बर्षसम्म निरन्तर रुपले कायम रहेको एक जाति, एक भाषा र एक संस्कृतिको बर्चश्वताले रातारात संस्कृतिको बिबिधता र बहुलतालाई स्वीकार्न पुगेको भने होइन, यो सैद्धान्तिक धरातलको निर्माण हजारौँ न्यायप्रेमी र स्वभिमानी आदिवासी जनजाति, थारु, मधेशी लगायत तमाम स्वभिमानी नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण स्वीकार्य भएको हो । संघीय गणतन्त्र नेपालको घोषणा भएको एक दशकभन्दा पनि बढि भइसक्दा र संबिधानमा संस्कृतिक बहुलता र समावेशितालाई स्वीकार गरिएको भएता पनि यसको राजनैतिक कार्यान्वयनमा प्रसस्त त्रुटीहरु भइरहेका छन् । 

मानव जीवन र संस्कृति

राज्य संयन्त्रमा स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा अवैज्ञानिक र अशोभनीय राजनैतिक प्रवेश, संबैधानिक र कुटनैतिक निकायहरुमा राजनैतिक दलहरुको भागबण्डाका कारण सुशासन र समावेशिता पुरै ओझेलमा परेको छ । सामाजिक संञ्जालहरुमा जनताका असन्तुष्टिहरु छरपष्ट भएका छन् ।  नेपालको संविधानले जाति, भाषा, धर्म र परम्परामा बिविधतायुक्त बहुसंस्कृति (Pluralistic society) स्वीकार गरेको भए पनि आफ्नो परम्परागत मौलिक चाड पर्वहरुमा सार्वजनिक बिदा घोषणा गरियोस भन्दै आदिवासी, जनजातिहरुले सरकारलाई ज्ञापनपत्र बुझाउनु पर्ने अवस्था सिर्जना हुनु पक्कै पनि बहुसांस्कृतिक नेपालको लागि सुखद संन्देश होइन । अझै पनि तमाम आदिवासी, जनजाति, मधेशी र थारु लगायतले राज्यसँग मेरो भाषा पढाईदेउ अनि हाम्रो रितिरिवाज, परम्परा र संस्कृति यो हो भनेर सरकारलाई बारम्बार भनि रहनु पर्ने अवस्था सिर्जना हुनुले यस देशका तमाम बहुसंख्यामा रहेका आदिवासी जनजाति, थारु र मधेशीको मौलिक पहिचान र संस्कृति अझै पनि राज्यमा स्थापित हुन नसकेको तथ्य प्रष्ट हुन्छ । 

नेपालको संविधानले जाति, भाषा, धर्म र परम्परामा बिविधतायुक्त बहुसंस्कृति स्वीकार गरेको भए पनि आफ्नो परम्परागत मौलिक चाड पर्वहरुमा सार्वजनिक बिदा घोषणा गरियोस भन्दै आदिवासी, जनजातिहरुले सरकारलाई ज्ञापनपत्र बुझाउनु पर्ने अवस्था सिर्जना हुनु पक्कै पनि बहुसांस्कृतिक नेपालको लागि सुखद संन्देश होइन ।

मानव सभ्यता (Civilization) निर्माणमा संस्कृतिको (Culture) अविछिन्न भूमिका निर्बिबाद छ । संसारमा परिचित बिभिन्न सभ्यताहरुको निर्माणमा बिभिन्न संस्कृतिहरुको बिशेष भूमिका इतिहासले प्रष्ट्याईदिएको छ । उदाहरणका लागि जनजिब्रोमा अभ्यस्त यस संसारमा पूर्वीय संस्कृति र पूर्वीय सभ्यता साथै पश्चिमी संस्कृति र पश्चिमी सभ्यता शब्दको साथसाथै प्रयोगबाट संस्कृति र सभ्यता बीचको अविछिन्न सम्बन्ध सजिलैसँग बुझ्न सकिन्छ । भाषा, रहनसहन, भेषभुषा, रितिरिवाज अझ व्यवहारिक शब्दमा भन्ने हो भने लवाई खवाई लगायत दैनिक संस्कारहरु सिधै संस्कृतिसँग सम्बन्धित हुन्छन्, अर्को शब्दमा भन्ने हो भने यी सबै मानवीय व्यवहारहरुमा संस्कृतिको प्रतक्ष्य असर हुन्छ, तसर्थ संस्कृतिलाई मानव समुदायको जीवन पद्धति भन्दा फरक नपर्ला । A man without culture is like a zebra without stripes भन्ने अफ्रिकन कहावतबाट पनि मानव जीवन र संस्कृतिको सम्बन्ध प्रष्टसँग बुझ्न सकिन्छ । संसारमा बिविध संस्कृतिहरुको अस्तित्वले नै मानव जातिलाई सुन्दर बनाईदिएको छ भनेर दार्शनिकहरु भन्ने गर्दछन् ।  संस्कृतिले वास्तवमा कुनै पनि जाती, समुदाय (Ethnicity) वा राष्ट्र (Nation) को सिंगो पहिचान (Identity) बोकेको हुन्छ । समय–समयमा चर्चामा आउने गरेका चलायमान र अस्थिर पहिचानहरु जस्तै प्राध्यापक, डाक्टर, शिक्षक, ब्यापारी वा पूर्वेली, पश्चिमेली आदि जुन आफैँमा अस्थिर प्रकृतिका हुन्छन र जस्ले कुनै पनि समुदाय, राष्ट्र वा राज्यको पहिचान सँग सरोकार राख्तैन वाहेक अचल र अपरिवर्तनीय मौलिक पहिचान (Primordial identity) को निर्माण मौलिक संस्कृतिबाट नै हुने गर्दछ । 

मूलधार बन्न नसकेको  संस्कृति 

विडम्बना नै भन्नु पर्दछ, यस देशको ठूलो संख्यामा रहेका आदिवासी जनजाती, थारु र मधेशीहरुको संस्कृति राज्यको मुलधार बन्न सकिरहेको छैन । उदाहरणका लागी आर्य हिन्दु नेपालीहरुको दशैँ पर्वमा राष्ट्र प्रमुखको सम्बोधन सहित राज्यको सम्पूर्ण शक्ति, कर्मचारीतन्त्र, सेना प्रहरी, सञ्चारजगत, सामाजिक संघ संस्था आदि खर्चिएर हर्ष र उल्लाास मनाइन्छ तर नेपाली आदिवासी जनजातीहरुको चाड पर्व सायदै चासो राखे थाहा हुन सक्ला । आर्य नेपाली भाषा साहित्यलाई मूलधार नाम दिइन्छ र अन्य आदिवासी जनजाति र मधेशीहरुको भाषा, साहित्यलाई स्थानीय वा जातीय उपनाम दिइन्छ । पहाडे दौरा सुरुवाल र ढाका टोपीको प्रशंंसा गरिन्छ र प्रतीक कै रुपमा ब्याख्या गरिन्छ तर हिमाली बख्खु र मधेशी धोतीको कुनै पनि उल्लेख हुँदैन ।

यहाँका आदिवासी जनजाती लगायत बिना विश्लेषण उपलब्ध संञ्चार माध्यमको एक तर्फी प्रभावमा परेर र समग्रमा भन्नु पर्दा राज्य संयन्त्रको प्रभावमा परेर थाहै नपाई आफ्नो मौलिक संस्कृति र पहिचान भूलीरहेका छन् । 

हो, संचार जगत (Media) राज्यकै अभिन्न अंगको रुपमा रहन्छ ।  संचार जगत शक्ति र पुँजीको नजिक रहन्छ र शासकीय शक्तिलाई टिकाउन भूमिका खेल्दछ तसर्थ संञ्चार जगतमा राज्य सत्ताको चरित्र नै प्रतिबिम्बित हुन्छ । फलस्वरूप आदिवासी जनजाती लगायतको राज्य संयन्त्रमा पहुँच नभएका कारण स्वाभाविक रुपमा संञ्चार जगतमा पहुँच पुग्दैन  । फलतः नेपालमा प्रख्यात अमेरिकन भाषाविद दार्शनिक Noam Chomsky को भनाई He who controls the  media controls the minds of the public जस्तै राज्यद्वारा बहिष्करणमा पारिएका आदिवासी जनजाती, थारु र मधेशी लगायतको संस्कृति माथि आर्य संस्कृतिको एकल वर्चश्वता कायम छ साथ साथै अंग्रेज विद्वान George Orwell को भनाई The people will believe what the media tells them they believe जस्तै यहाँका आदिवासी जनजाती लगायत बिना विश्लेषण उपलब्ध संञ्चार माध्यमको एक तर्फी प्रभावमा परेर र समग्रमा भन्नु पर्दा राज्य संयन्त्रको प्रभावमा परेर (Interpellation) थाहै नपाई आफ्नो मौलिक संस्कृति र पहिचान भूलीरहेका छन् । 

राजनीतिक चेतनाको अभाव 

भुक्तभोगीहरुको भनाइलाई नै स्मरण गर्ने हो भने आदिवासी जनजातीहरु खान–पान, नाच, गान र बजानमा नै बढि सिमित हुन्छन् । परम्परागत सांस्कृतिक मनोरंजनमा रम्न मन पराउँछन् तर राजनैतिक चेतनामा भने धेरै पछि परेका हुन्छन् ।  परम्परागत चाड पर्व र मेलाहरुमा आदिवासी जनजातीहरुको बाक्लो उपस्थिति देखिनु, सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेर अरुलाई मनोरञ्ंजन गराउन अभ्यस्त हुनु तर आफ्नो स्वाभिमान अस्तित्व र पहिचानसँग सिधै सम्बन्ध राख्ने समय सापेक्ष राजनैतिक बहश र विश्लेषणमा भने नेपालका आदिवासी जनजातीहरुको अरुचि नै देखिन्छ  । उदाहरणका लागिस नेपालमा कुनै आदिवासी जनजाती समुदायको खान, पान सहितको परम्परागत चाडपर्वमा बिना मतभेद त्यस जाति समुदायको उपस्थिति र सहभागिता उल्लेखनीय हुन्छ तर त्यहि भूगोल र परिवेशमा निर्णयकरी भूमिका राख्ने निर्णायक पदहरु, जनप्रतिनिधिहरु आदि छनौट गर्ने बिषयमा भने आदिवासी जनजातीहरु अरु राजनैतिक पार्टी आदि बाट (राजनैतिक पार्टीहरुले एकमत रुपमा आदिवासी जनजातीको संस्कृति र पहिचानको मुद्दालाई उठाईरहेका छैनन् ) निर्देशित हुन्छन् । एक मत हुन सक्तैनन्, फलतःभोट बैंक (Vote Bank) को रुपमा मात्र रहेका आदिवासी जनजाति लगायत सांस्कृतिक रुपमा एक देखिए पनि संस्कृति संरक्षण गर्ने प्रमुख राजनैतिक चेतनामा भने धेरै पछि देखिन्छन् । 

राजनैतिक चेतना बेगर र राज्य संयन्त्रमा आवश्यक परिवर्तन नगरी, संस्कृति आफ्नो मौलिक पहिचानको आधारशिला हो, भन्ने स्पष्ट ज्ञान बेगर संस्कृतिको केवल मनोरंजनात्मक चेतनाले मात्र नेपालमा आदिवासी जनजाति, थारु र मधेशी लगायतको भाषा, संस्कृति र समग्रमा पहिचान स्थापना हुन सक्तैन भन्ने कुरा इतिहासले पाठ सिकाई सकेको छ ।

एकातिर आदिवासी जनजाति, मधेशी र थारुहरुको संस्कृति राज्यको मूलधार बन्न सकिरहेको छैन भने अर्कोतिर आन्तरिक भाषिक औपनिवेशिकरणका कारण आदिवासी जनजातिहरुको आफ्नो थातथालोमा (Ancestral lands or ancestral domain) रहेका मौलिक पहिचान सहितका प्राचिन नामहरु प्राय निमिट्यान्न भइरहेका छन् । उदाहारणका लागि आदिवासी लिम्बूहरू (याक्थुङ) ले आफ्नो मुन्धुममा पवित्र स्थल भनि मानीआएको फक्ताङलुङ लाई बिस्थापित गरेर कुम्भकर्ण बनाइएको छ, सेसेलुङलाई बिस्थापित गरेर कन्चनजंघा बनाइएको छ, त्यस्तै मुक्कुमलुङलाई पाथिभरा बनाइएको छ  । राजधानी काठमाडौँमा प्राचिन नेवारी भाषामा रहेको झम्सिख्य (ज्यामिर फल्ने चौर) आज कुनै अर्थ नभएको झम्सिखेल भएको छ, त्यस्तै प्राचिन नेवारी भाषामा रहेको नाम खोना, जसको शाब्दिक अर्थ रुँदै भन्दै हो जुन इतिहाससँग जोडिएको छ, बिस्थापित भएर आज अर्थहीन खोकना हुन पुगेको छ । देशैभरी यस्ता असंख्य उदाहरणहरु दिन सकिन्छ ।  यसरी प्राचिन मौलिक नामहरुलाई बिस्थापित गर्दा एकातिर त्यसको प्राचिन मौलिक चिनारी र पहिचान समाप्त हुन पुग्छ भने अर्कोतिर त्यो नामसँगै जोडिएको आदिवासीहरुको संस्कृति, भाषा र पहिचान पनि समाप्त हुन्छ । 

मनोरञ्जन चेतना हानीकारक 

नेपाल राज्यको जनसांख्यिक (Demographic) बनावट भने बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक (Pluralistic) छ तर राज्यको संरचना (State structure) भने एकल आर्य जाति, भाषा र संस्कृतिको वर्चश्वशाली भूमिकामा आधारित (Hegemonial) छ । नेपालको आजसम्मको राजनैतिक घटनाक्रमहरुमा नेतृत्वदायी भूमिका केवल एकल जातीय मात्र देखिन्छ, यस देशको ठूलो संख्यामा रहेका आदिवासी जनजाति थारु र मधेशी लगायतको पनि नेपालको राजनैतिक घटनाक्रममा सहभागिता भएकै हो तर उनीहरुको भूमिका वर्चश्वशाली जातिको मातहतमा (Subordinate) मात्र देखिन्छ । वर्तमान नेपालको राजनैतिक परिवेशमा समाजका केहि टाठा, बाठा हुँ भन्ने आदिवासी जनजाती लगायतका व्यक्तिहरुले केही राजनैतिक पद पाएर दुइचार जनाको नमस्ते खान सक्छन् ।  तर नेतृत्वदायी र निर्णयकारी भूमिका पाउन सक्तैनन् त्यस्तै केहि पढे लेखेका आदिवासी जनजाती लगायतका व्यक्तिहरुले जागिर पाउन सक्छन् ।  तर निर्णय गर्ने नेतृत्वदायी पदमा पुग्न प्राय असम्भव नै छ । फगत जागिर खाने र दुइचार वटा निर्वाचनमा भाग लिँदै दुइचार जनाको नमस्ते खाने पद पाउने तर नेतृत्व र निर्णय गर्ने स्थानमा पुग्न नसक्ने राजनीतिबाट राज्य संरचनामा फेरबदल गर्न सकिँदैन  । एरिस्टोटलले Man is a political animal र Politics is the master science त्यसै भनेका होइनन् । राजनैतिक चेतना बेगर र राज्य संयन्त्रमा आवश्यक परिवर्तन नगरी, संस्कृति आफ्नो मौलिक पहिचानको आधारशिला Rock foundation हो, भन्ने स्पष्ट ज्ञान बेगर संस्कृतिको केवल मनोरंजनात्मक चेतनाले मात्र नेपालमा आदिवासी जनजाति, थारु र मधेशी लगायतको भाषा, संस्कृति र समग्रमा पहिचान स्थापना हुन सक्तैन भन्ने कुरा इतिहासले पाठ सिकाई सकेको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook