नेपालमा कोरोनाको खोप आउला ? आएपनि कसले पहिला पाउला ?

मंगलवार २१ पौष, २०७७   |   स्वास्थ्य र जिवनशैलि

Print This   |   Font Size + -

डा. सुरेश तामाङ

डा. सुरेश तामाङ

संखुवासभा, नेपाल

नेपालमा कोरोनाको खोप आउला ? आएपनि कसले पहिला पाउला ?

करिब बर्ष दिनदेखि कोरोना महामारीबाट संसार नै प्रभावित छ । यसबाट नेपालमा पनि करिब १९०० को ज्यान गाइसकेको छ । हरेक दिन एकाध सय संक्रमित थपिएकै छन् । कारोनाकै कारण दैनिक केहि ब्यक्तिको ज्यान पनि गइरहेको छ । उसो त हालसम्म साँढे २ लाख भन्दा बढि (९७ प्रतिशत) निको भएका छन् । तर अझै कोरोनाबाट हामी पूर्ण सुरक्षित र मुक्त भने छैनौं । हालै हिमाली जिल्ला डोल्पामा समेत संक्रमण फैलिएको छ । बेलायत लगायत युरोपका कतिपय देशले पूनःनिशेधाज्ञा जारी गरेको छ ।

कोरोनाको खोपका सयौं सँस्थाहरुले परिक्षण गर्दैछन । तर कतिपय खोपहरुको प्रमाणीकरण हुन बाँकी नै छ । यसको सहज उपलब्धता र विश्वासनियताको पनि पक्का नभइसकेकाले यसको तत्काल प्रयोग गर्ने बारेमा अझै होशियारी जरुरी छ ।  करिब १३ वटा खोपहरु त लगभग परिक्षणको अन्तिम चरणमा छन् । ति मध्ये फाइजर र बायोन्टेक जर्मनी, अस्ट्राजेनेका, मर्डेना आदि प्रमुख हुन् । अमेरिका, क्यानडा र वेलायतमा खोप दिने काम शुरु भइसकेको छ । हालै ब्राजील र भारतले पनि खोपहरुलाई मान्यता दिएको खवरहरु छन् । अन्य देशहरु पनि धमाधम खोप बनाउने वा किनेर नागरिकलाई लगाउने तर्खरमा छन् । रसियाको स्पुतनिक पाँच र भारत बायोटेकले बनाएको कोभ्याक्सीन नामक खोपहरु केहि विवादमा पनि परेका छन् । तर भारतले केहि महिना खोप निर्यात नगर्ने र तत्कालै खोप बजारमा नल्याउने भएकोले गरिव र अल्पविकाशित देशहरुले खोप पाउने आशा झन मरेको छ ।

ढिलो चाँडो कोरोनाको खोप आउँछ । तर यो आम नागरिकहरुको पहुँच र क्रयक्षमतामा छ त? कोरोनाको कारणले कति गरिव र निम्न आय भएका मानिसहरु प्रभावित छन् । साँझ के खाने भन्ने समस्या भएका मानिसहरुले किनेर यो खोप लगाउँदैनन् । 

यहि बेला नयाँ प्रकारको भाइरस पनि युरोपबाट अमेरिका, जापान लगायत भारतसम्म आएको छ ।  हालै जापानको टोकियो महानगरले कोरोना संकटकाल घोषणा गरेको छ । यो नेपालमा नआउने कुनै ग्यरेण्टी छैन । एकातिर नेपालमा पिसीआरको दर घटेको छ । क्न्ट्रयाक्ट टे्रसिङ्ग पनि प्रभावकारी रुपमा संचालन भएको छैन । क्वारिन्टीनको लापबाही कायमै छ । बजार र यातायात बेपर्वाह खुलेका छन् । सडकमा आन्दोलन जारी छ । हालै मात्र उच्चस्तरीय कोभिड नियन्त्रण समितिले विधालय र सिनेमा घर समेत खुलाउन सिफरिश गरेको छ । कतिपय जनस्वास्थ्यका न्युनतम मापदण्ड पनि कायम छैन । धेरैलाई यसको पर्वाह छैन । तर यो राम्रो संकेत होइन । यसमा सरकार र आमनागरिक जिम्मेवार हुनै पर्छ । 

ढिलो चाँडो कोरोनाको खोप आउँछ । तर यो आम नागरिकहरुको पहुँच र क्रयक्षमतामा छ त? कोरोनाको कारणले कति गरिव र निम्न आय भएका मानिसहरु प्रभावित छन् । रोगजारी र व्यवसायहरु धरासायी भएका छन् । कतिपय खोपको ३ देखि ३७ अमेरिकी डलर सम्म पर्ने चर्चा छ । भारतीय बजारमा एक हजारमा खोप पाउने हल्ला छ । तर साँझ के खाने भन्ने समस्या भएका मानिसहरुले किनेर यो खोप लगाउँदैनन् । 

अमेरिका र अष्ट्रेलिया जस्ता देशहरुले सबै नागरिकलाई खोप निशुल्क दिने घोषणा गरिसकेका छन् । हाम्रो सरकारले पनि निशुल्क खोप दिने कुरा गर्दैछ । तर यो कति आधिकारिक र विश्वाशनिय हो ? केवल भाषणमा होइन काम गरेर देखाउनु पनि सक्नुपर्छ । यो कसरी सम्भव छ, कति ल्याउने ? कहाँबाट ल्याउने ? अत्तोपत्तो छैन । तर कसको र कसले ल्याउने भन्ने चर्चा चलिसकेको छ । सायद विचौलियाको चलखेल पनि शुरु भयो होला । यहि खोपका कारण स्वास्थ्य मन्त्रालयमा कर्मचारी फेरबदल भएमा अचम्म मान्नु पर्दैन । हुन त सरकारी अनुमति विना त कुनै खोप नेपालमा आउन सक्दैन । आमजनताले अहिलै नै यो वा त्यो छनौट गर्ने अवस्था पनि छैन । अर्को कुरा सरकारले खोपका लागि कति रकम खर्च गर्न सक्छ । दातृ निकायको सहयोग अनुदान कति आउँने होला? बहुपक्षीय ऋण सम्झौता अन्तर्गत के कति आउँछन । त्यसको सामाजिक जवाफदेहिता र अनुगमन गरिनुपर्छ । नत्र यहि मौकामा धेरै मान्छेहरु धनी हुन्छन तर देश गरिव र जनता निरन्तर अस्वस्थ्य भइरहन्छन् । कोरोनाको कारणले सृजना भएको आर्थिक भार ब्यक्तिगत, परिवारिक र राज्यस्तरमा धेरै ठूलो हुने कुरामा दूई मत छैन । दूर्भाग्य सरकार यहि बेला कोरोनाबाट नागरिक बचाउन खोप किन्न भन्दा चुनाव गर्ने बेमौसमी बाजा बजाउँदैछ । 

हाम्रो सरकारले पनि निशुल्क खोप दिने कुरा गर्दैछ । तर यो कति आधिकारिक र विश्वाशनिय हो ? केवल भाषणमा होइन काम गरेर देखाउनु पनि सक्नुपर्छ । यो कसरी सम्भव छ, कति ल्याउने ? कहाँबाट ल्याउने ? अत्तोपत्तो छैन । तर कसको र कसले ल्याउने भन्ने चर्चा चलिसकेको छ ।

खोप आउने क्रममा र आइसकेपछि पनि यसका विविध ब्यवस्थापकिय पक्षहरु छन् । यसको उद्गम (उत्पादन र प्याकेजिङ्ग) देखि ढुवानी, भण्डारण र चिसो कायम गर्ने प्राविधिक कुरा धेरै महत्वपूर्ण छन् । यसका लागि प्रविधि भएपनि यसको खर्च र नियमन धेरै कठिन छ । नत्र खोप लिनुको कुनै अर्थ छैन किनकि तोकिएको तापक्रम कायम नभएमा यसले काम गर्दैन । तसर्थ खोपको प्रभावकारिता र कार्यक्षमता कायम राख्न आवश्यक छ । अर्को कुरा स्वास्थ्य अध्ययनमा प्लेसिबोको चलन छ । जब शुरुमा आउने कुनै खोपको समुदायस्तरमा परिक्षण गरिन्छ । त्यसमा एकथरि सेवाग्राहीहरुले वास्तविक खोप पाउँछन । तर त्यति नै संख्यामा अरुले विना दवाइको खोप जस्तै लाग्ने चिज पाउँछन । यो कुरा थाहा पाए तपाइ खोप लिन तयार नहुन पनि सक्छौं । 

पहिलो पटक आउने खोप प्रति आम मानिसहरुमा एक प्रकारको शंका र अनिच्छा हुनु स्वभाविक हो । हालै सामाजिक सन्जाल मार्फत एउटा सानो र दु्रत अध्ययन गरिएको थियो । जसमा एकथरि नेपालीहरु खोपका लागि तयार भएको पाइएको छ भने अर्कथरिमा अझै अनिश्चितता छ ।सरदर ७० प्रतिशत सहभागीहरु कोरोनाबाट कुनै रुपमा प्रभवित भएको बताउँछन  । तर सहभागीमध्ये ७६ प्रतिशत खोप लिन तयार भइसकेको बताउँछन् । तर यो सर्भेक्षणका ५५ प्रतिशत उत्तरदाताहरु खोप किन्ने पक्षमा भने छैनन् । अधिकांश (९४ प्रतिशत) सहभागीहरु २१ देखि ४० (५२ प्रतिशत) र ४१ देखि ६० वर्षका (४२ प्रतिशत) उमेरका छन् । उनीहरु खासगरी इन्टरनेटमा पहुँच भएका शहरी शिक्षित (महिला ३२ र पुरुष ६८ प्रतिशत) रहेका छन् । उनीहरुमध्ये ५६ प्रतिशत मास्टर्स वा सो सरह शिक्षा हाँसिल गरेको देखिन्छ । यसले शिक्षित शहरिया र प्रविधि चलाउन जान्नेको बारेका मात्र बोल्छ । तर आम नागरिकहरु यस सर्भेक्षणमा समेटिएका छैनन । 

विश्वका अल्पविकसित देशहरुमा कोरोनाको खोप सबैको पहँचमा पुग्न अझै निकै समय लाग्छ । विविध सामाजिक आर्थिक परिवेशका कारण कमजोर स्वास्थ्य भएका दीनदूःखी, सत्ता र शक्तिबाट टाढा रहेका, गरिव र पछाडि परेका र पारिएकाहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच यसै पनि कम छ ।

अझ गहिरो कुरा खोपको पहुँच कसलाई हुन्छ भन्ने प्र्श्न जटिल छ । स्वभाविक रुपमा सत्ता र शक्तिको वरिपरिकाले यो पहिला  पाउँछन । कतिपय देशमा सबभन्दा पहिला स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, वृद्धवृद्धा र वालवालिका जस्ता अति जोखिम समूहहरुले पाउन थालेका छन । तर हामीकहाँ कसले पहिला पाउने भन्ने कुरामा शंकै लाग्छ ? संसारमै विश्वविधालय, अनुसान्धान सँस्था वा ठूला फर्मासिउटिकल कम्पनीका लागि खोप राजनैतिक र व्यवसायिक रुचीको विषय हो । खोप कसले पहिला बजारमा ल्याउने होड छ । उत्पादक र वितरक बायोटेक (बहुराििष््रटय) कम्पनीको ब्यापारका लागिसारा विश्व नै नयाँ बजार हो । तसर्थ उनीहरु अहोरात्र खटेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार कोरोनाको खोपको सामान्य साइड इफेक्ट हुनु स्वभाविक हो । यो केहि दिनमा हराँएर जान्छ । तर यस महामारीको खोपको विकल्प छैन । 

भौगोलिक रुपमा दूरदराजमा बस्ने गरिव, आदिवासी र किसानको घरआँगनमा खोप पुग्न अझै १, २ वर्ष लाग्न सक्छ । विश्व स्वास्थ्य संगठनले पनि यो कुरा स्पष्ट रुपमा भनी सकेको छ । विश्वका अल्पविकसित देशहरुमा कोरोनाको खोप सबैको पहँचमा पुग्न अझै निकै समय लाग्छ । विविध सामाजिक आर्थिक परिवेशका कारण कमजोर स्वास्थ्य भएका दीनदूःखी, सत्ता र शक्तिबाट टाढा रहेका, गरिव र पछाडि परेका र पारिएकाहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच यसै पनि कम छ । त्यसमाथि यस्ता महामारीको खोप पनि उनीहरुले नै सबै भन्दा पछि पाउने पक्का छ । यो सामाजिक न्याय र समताका हिसावले पनि मानासिब छैन । 


Conversations
Total Comments:

किताबहरु

Helping Hands

Like us on Facebook