शैलुङ साहित्यिक जननी

मंगलवार १४ बैशाख, २०७८   |   कला र साहित्य

Print This   |   Font Size + -

शैलुङ साहित्यिक जननी

सोनाम लामा

“आपाले भन्थे शैलुङपारी पिरती नलाउनु
पुसको सर्दी साउने झरी कसरी म आउनु”

शैलुङ शव्द गितमा गुन्जिन्छ । कवितामा वाचन हुन्छ । कथामा बयान हुन्छ । निश्चय नै शैलुङ शव्द सबैका निम्ति प्रिय छ । शव्द कोषमा शैलुङको अर्थ “जनकपुर अञ्चल अन्तर्गत पूर्व दुई नम्बर क्षेत्रमा पर्ने एक अग्लो र प्रसिद्ध लेक” भनिएको छ । तर धार्मिक तथा जातीगत अनुसार शैलुङको अर्थ सय थुम्का, जहाँ पद्य्म सम्भव् गुरु रिमपोछेले एक खुट्टा टेकेर ध्यान गरेको ठाँउ भएकोले यस ठाँउलाई शांङ्गे ल्हुङ भनिन्थ्यो जस्को अर्थ भगवानले तपस्या गर्ने स्थान/ठाँउ पनि भनिदो रहेछ । कालान्तरमा यस शब्द अपभ्रंश भई शैलुङ भएको हो भन्ने तर्क पनि छ । यस्तै रामेछाप र दोलखा जिल्लाको संगममा रहेको शैलुङ कम रमणिय छैन । केही समय अघि त्यहि रमणीय ठाँउ पुग्न यो दलदल उपत्यका बाट हुईकिए । सानो गाडी । मान्छे पनि सिमित । त्यस पछि गन्किन थाल्यो तामाङ रैथाने फापारे गीत र तामाङ सेलो ।

“उभो उभो शैलुङ मो जाँदा 
शैलुङ्गे गाउँकी तामाङनी 
कम्मर बाँचि नाचेको 
जोवन कैले लाई साँचेको
तिर्खा त लाग्यो मोही छैन 
चिनेको आफ्नो कोई छैन
पानी त माग्दा दही दियो
दुधको छुर्पि क्या चाम्रो
तामाङ स्या नाना क्या राम्रो
कसम खान्छे जाउँ भन्छे
माया र परिती लाउँ भन्छे”

काठमाडौ उपत्यकाबाट करिब १४५ किलोमिटर दुरी पार गरी समुद्री सतहबाट २९२० मि. उचाईमा रहेको शैलुङ खोलाखर्कमा पुगियो । बा¥है महिना ठन्डा समशीतोष्ण मौसम यहाँको विशेष्ता नै रहेछ । साँझ होम स्टे भित्र पसे । ओदानो छेउमा आगो ताप्दै थिए । तामाङनी दिदी एक बाल्टि चौरीको दुध लिएर आउनु भएछ । मन्द–मन्द चौरी गाईको दुधको वास्नाले मोहित भनायो । साँझको रमझमको सुरु हुदै थियो । शैलुङको चिसोलाई चौरीको दुधले पार लाउछ जस्तो लागेन । फापरे जुहारीले खासै गति लिन्छ जस्तो नि लागेन । त्यस पछि तामाङनी दिदीले एक भट्टु झ्वाँईकुट्टे अगाडी ल्याई सकेछ । बस ! यसैको कमि थियो । एकातिर तोङ्बा टिम अर्को तिर झ्वाँईकुट्ट टिम । बाहिर पुर्णिमाको चाहकिलो मादकको छुट्टै आनन्द थियो । त्यो शैलुङको स्याँटले बाहिर टिक्नै गाह्रो । 

“तिमाल जाने बाटोमा
ठुलो त रैछ गैरी खेत
बहार बरु कच्चा छ
बुडो त गोरी धाउदैन
समय आउछ घुमेर
मेरो माया कैले आउदैन
दिनमा त लाग्छ झझल्को
होई ठुली भेट हुन कैले पाउदैन”

विहान उठ्दा अचम्मै लाग्यो । चौरी गाईहरु दुध दिनआफै लाईन लागेर आउने रहेछ । लाग्यो चौरी निकै ज्ञानी प्राणी हो । त्यही एक छेउ तामाङनी दिदी बाल्टि लिएर चौरी दुदै थिइन । चौरीको दुध, मोही, सिस्नुको तिहुन, कोदोको ढिडो, फापरको रोटी, बुङ्गुरको सेकुवा, बटु्कोमा छानेको जाँड, चौरीको छुर्पि, सेरगेम ईत्यादी विषेश नै हुदो रहेछ शैलुङमा । जुन सुकै मौसममा पनि जाडो भैरहने यहाँको विशेष्ता नै रहेछ । गर्मी होस् या जाडो, दुवै मौसममा ज्याकेट लगाएर हिड्नु पर्ने । 

एकअर्का ख्याल ठट्टा गर्दै माथी शैलुङ डाँडा तिर उक्लिए । सेता, राता, गुलावी रंगका गुराँस र चिमलफूलहरु वरिपरी ढकमक्क फुलिरहेका देखिन्थे । फुलका पत्रहरुमा, पातहरुमा टिलपिल–टिलपिल विहानीको चोखो शित टल्किरहेको देखिन्थ्यो । विहानीको त्यो चिसो सिरेटोमा कुहिरो सँग लुकामारी खेल्दै शैलुङको प्राकृतिकरुपमा देखिने थुम्काहरु स्वंय स्वर्गबाट खसेको एक टुक्रा हो । हालसालै निर्माण सम्पन्न भएको भ्यु टावर पनि छन् जुन सुन्दर बगैँचामा सिउडी फुलेको जस्तो । 

जसै कुन्ति मोक्तानको स्वरमा गुन्जिने गीत जस्तै सोचे जस्तै छन् शैलुङ । सायद यो गीत नसुनेको कोही बाकीँ छ जस्तो लाग्दैन मलाई । यही गीतले पनि शैलुङलाई धेर—थोर चिनाएको जस्तो पनि लाग्छ । 

“मैले जति मारुनी कल्ले नाचेको छ
कुमारीको बैस जस्तो कुन फूुल हासेको छ
जानी—जानी यस्तो बेला मनै रुवाउनेलाई
माथी माथी शैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई”

शैलुङको पृष्ठभुमी लाई अलिकति कोट्याएर हेर्दा शैलुङ क्षेत्र आदिवासी रैथाने तामाङ जातिहरुको बस्ति हो । शैलुङ चाहीँ विशुद्ध धार्मिक स्थल हो । त्यहाँ दिवाँगत आत्महरुको चिर शान्तिको लागी बौद्धमार्गीहरु बत्ति बाल्न जाने पवित्र स्थल हो । जो जहाँबाट आए पनि चिना परिचयका रुपमा तामाङ रैथाने फापरे गीत गाउने र मनलाई एकत्रित बनाएर भुलाउने बाटो पनि रहेछ । उनीहरु गीतको माध्यमबाट दुख पिडा पोख्ने र ख्याल ठट्टा पनि गर्ने गर्दछन् । तामाङ विज्ञहरुले यो फापरे गीतलाई सामाजिक गीत हो पनि भन्दछन् । हुन पनि हो यसमा सामाजलाई प्रतिनिधित्व गर्ने समाजको चालचलन, ऐतिहासिक घटना, परम्परा, रीतिरिवाज, विकृति, दाउपेज, परिवेश आदिईत्यादिको भाव व्यक्त हुन्छ । भाषाविद अमृत योञ्जन तामाङका अनुसार तामाङ समाजलाई अभिव्यक्त गर्ने फापरे बाहेक अरु गीत नै छैन भन्नुहुन्छ । उहाँ थप्नुहुन्छ कि यस्तो गीत प्राय निरक्षरहरुले गाउछन् । पढेलेखेकाहरुले यसलाई गवाँर ठान्दछन् र गाउँन हिच्किचाउछन् । गाउँनै परे नेपाली शब्दमा उनेर ‘सेलो’ भन्दै गाजाबाजा सहित गाउँने गर्दछन् । 

तामाङ रैथाने फापरे सबाल्टर्न कै कुरा गर्ने हो भने फापरे गीत नै अहिले तामाङ सेलोको मुल स्रोत हो । प्राय ती तामाङ रैथाने फापरे गीतहरुमा शैलुङ शब्द काहीँ न काहीँ गीतको लयमा जोडिएरै आएका हुन्छन् । फापरे गीतको मुख्य विशेष्ता भन्नु नै यसमा कुनै बाजाको प्रयोग हुदैन । यो फापरे गाउन कहिले देखी सुरु भयो भन्ने कुनै यकिन नै छैन । यो फापरे गीत स्वर र भावकै आधारमा आदनप्रदान हुन्छ । यदि यो सबाल्टर्न शब्दलाई नेपालीमा अनुवाद गरेर हेर्ने हो भने ‘निमुखा’ हुन्छ । त्यसो भए मेरो विचारमा यो गीत जर्ज अर्वेलको शब्द सापटि लिएर भन्नु पर्दा यो नितान्त सर्वहाराको गीत हो । किनकी यो गरिखाने वर्गको मनबाट निस्किने भाव हो । जो व्यक्ति आधुनिक संगित र शब्दलाई पढ्न सक्ने साक्षरताको पहुँचबाट अलग हुन्छन् उनीहरुले मनबाट स्वतस्फुर्त रुपमा गाउछन् । यसले मन छुन्छ । भुँईमान्छेको कथा अभिव्यक्त हुन्छ । यसले आफ्नो जीवनशैली, मुल्यमान्यता झल्काउछ । गाली गरे पनि सरापे पनि भाषा आफ्नै प्रयोग गर्छ । कसैको अधिनमा बस्न रचाउदैन र यो कट्टर विरोधी जस्तै अडिग भएर बस्न चाहान्छ । 

‘सिसम तामाङ सितोबा
ले बामन चा कुर्सिरी चितोबा’

थुम्का नै थुम्काले भरिएको क्षेत्र बादलहरु पनि लजाउदै सर्माउदै लुकामारी खेल्न आईरहने । चारै तिर हरियाली खर्क । पाखा भरी चरिरहेका चौरी र खच्चडहरु । पारी पट्टि १८० डिग्रीको कोणमा देखिने गौरीशंकर हिमाल । सेता गुराँसहरु जिस्काई रहन्थे । चिमलले सुसेली रहन्थे । छिन छिनमा घाम चिहाउन आउने । वाह! कस्तो मनमोहक प्रकृतिको लिला । यस्तो मनोरम प्राकृतिक दृश्यमा साहित्य कसरी नफुर्नु ? 

‘उभोँ—उभोँ शैलुङ म जाँदा मैच्याङ
सुनपाति धुपीको बासना
नबोले मैच्याङ नबोल भैगो
दिल खोली मुसुक्क हाँसना’

यो शैलुङ्ग विशुद्ध खर्क (पाटन) मात्र पनि हैन, यो दक्षिण एशियाको महाभारत क्षेत्रको उच्च पहाडी भेगको जंगल पनि हो । यहाँ जंगली जडीबुटीहरु जस्तैः पाँच औले, चिराईतो, मजिटो, च्यातु जस्ता बहुमुल्य बस्तुहरु प्रसस्त पाईन्छन् । नेपाली कागज बनाउने लोकता जंगल नै भरी पाईन्छन् । चिसो ठाँउमा पाईने बहुमुल्य बनस्पतीहरु जस्तै ठिङ्ग्रे सल्ला, गोब्रे सल्ला, गुराँसका विभिन्न प्रजाती, खर्स ईत्यदी पनि यही शैलुङ्मा पाईन्छ । वनस्पतिशास्त्र अध्ययन गर्नेहरुका लागी पनि राम्रो गन्तव्य हो शैलुङ । 

यस शैलुङ क्षेत्रमा विशेषत : शेर्पा र तामाङ जातीको मुख्य बसोबास रहेको छ । यस्तो साँस्कृतिक महोत्सवमा अझ धेरै मौलिक परम्परा, मौलिक भोजन, स्थानीय लोक सँस्कृति देख्न पाईने रहेछ । हिमाली बौद्व परम्परागत नाच, वोन अर्थात बान्पो नाच (झाँक्री), ताम्बाको गाना र नेवारी साँस्कृतिक लाखे नाचपनि यसै भेगमा देखियो । राजाको श्रीपेज जस्तो बेन्पोहरु टाउकोमा मयुरको प्वाँख र कौडाहरुले सजाएको सोतोर, सेतो लामो रिबन पुरै सेतो पहिरन, हातमा ढ्याङरो । बडो मजा लाग्ने नेपालको लोक साँस्कृति । 

सेता गुराँसका थुङ्गा हेर्न गएका हामी चौरीको छुर्पि र सिस्नुसँग डिढो खाए । शैलुङको थुम्काहरुमा डुल्न गएका हामीले लेकाली बतासमा हुईकिएर आए । आधुनिक पप र हिप—हप गानाले मोनोटनस भएका हामी मौलिक/ज्याउरे भाकामा नाचेर आए । यो यात्रा त हाम्रो लागी एक गोली दुई शिकार जस्तै भयो । जति पनि जो—जो शैलुङ घुम्न गएका थिए ती सबैले शैलुङलाई थोरै भए पनि चिनाएको छ । कसैले लोक कथा लेखे, कसैले कविता । कसैले यात्राको संमरण लेखे । पारिजातले शिरिषको फूललाई चिनाए झैं, महाकवि देवकोटाले मुना–मदनको प्रेम दर्साए झैं कुन्ति मोक्तानको गीतले शैलुङलाई धेर थोर चिनाएको छ । अब शैलुङ त पर्यटन गन्तव्यको रुपमा देखिन थालेको छ । शैलुङ डाँडाको पारी पट्टि कालिन्चोक जसरी परिचित छ अब शैलुङ पनि त्यस्तै परिचित हुने धेरै आधारहरु छन । सहज बाटोको पहुँच र बास स्थानको राम्रो व्यवस्था हुदै छन् । शैलुङ ट्रेकिङ गर्नेहरुलाई पनि राम्रो गन्तव्य हो । दोलखाको मुडे बाट पनि शैलुङ पुग्न सकिन्छ भने रामेछापको दोरम्बा बाट पनि जान सकिन्छ । 

त्यो सानो गाडी कोटेश्वरमा आईपुगी सकेछ । त्यहीँ सानो गाडीबाट निस्किदाँ सम्म पनि बज्दै थियोः—

‘लेकमा चर्ने चौरी गाई
छोडेर जाँउ कि यै बसु
दोधार भायो यो मनलाई’


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook