नेपालमा परम्परागत सोवा रिग्पा उपचार पद्धति 

विहिवार ०६ जेष्ठ, २०७८   |   आदिवासी ज्ञान

Print This   |   Font Size + -

नेपालमा परम्परागत सोवा रिग्पा उपचार पद्धति 

सोवा रिग्पा (उपचार विज्ञान)(Science of Healing) उपचार पद्धति शारीरिक र मानसिक असन्तुलन र अव्यवस्थालाई व्यवस्थित र सुधार गर्ने वैज्ञानिक उपचार पद्धति हो । मानिसको सिकाइ, अनुभव र अनुभूतिबाट यसको अवधारणा विकास हुँदै आएको हो । मानिसले सङ्घर्षशील जीवन अभ्यासका क्रममा विभिन्न स्व–उपचार विधि अपनाउन थालेको पाइन्छ । 

पेट दुख्दा पेट र टाउको दुख्दा टाउकोमा हात राख्ने विधि मानिसले आफैँ जानेको हो । खानपानबाट धेरै फाइदा/बेफाइदा हुने कुरा आफैँले जानेको हो । काँचो खाँदा बेफाइदा हुने भएकाले पकाएर खाने कला सिकेको पाइन्छ । जस्तैः जाडो हुँदा तातोपानी पिउने, शारीरिक र मानसिक विकास हुने तागतिला खाना खाने र बिमार भएमा स्थानीय जडिबुटीको प्रयोग गर्ने तरिका मानिसले व्यावहारिक अभ्यासका क्रममा सिकेको हो । यस्तै मानिसले चारवटा ऋतुसम्बन्धी ज्ञान जीवन भोगाइकै क्रममा सिकेको हो । 

जाडोमा तातो खोज्ने, तातो कपडा लगाउने, हिमालको फेदमा बस्ने, गर्मीमा हिमाल वा पहाडको उचाइमा जाने ज्ञान आफ्नै अनुभवबाट आर्जन गरेको हो । नेपालको हिमाली क्षेत्रका साथै भारत, चीन, तिब्बत र मंगोलियामा पनि बुम्सी र आयुर्वेद विद्या प्रचलित रहेको पाइन्छ । 

 

बौद्ध दर्शन विस्तार हुने क्रममा बुद्धका महापञ्च विद्यास्थानमध्येको एक चिकित्सा विद्या सोवा रिग्पाको प्रचारप्रसार र विकास भएको पाइन्छ । पञ्च विद्याभित्र आध्यात्म विद्या, (नाङ्दोन रिग्पा), हेतु विद्या (छेमा रिग्पा), शब्द विद्या (डा रिग्पा), शिल्प विद्या(स्हो रिग्पा) र चिकित्सा विद्या (सोवा रिग्पा) पर्दछन् । 

हरेक बौद्धसाधक/ साधिका यी पाँचै महाविद्यामा निपूर्ण हुनुपर्छ । चिकित्सा विद्यामा धेरै भिक्षु/भिक्षुणी तथा उपासक/उपासिका आवद्ध भएको पाइन्छ । संस्कृति सम्मभोटा तथा अंग्रेजी लिखित ग्रन्थहरूमा आधारित चिकित्सा विद्या सोवा रिग्पा बौद्ध दर्शनार्थीहरूमा व्यापकरूपमा प्रचलनमा रहेको छ । 

सोवा रिग्पाको इतिहास

करिब २६ सय वर्षअघिको कुरो हो । गौतम बुद्व आफ्नो दर्शनको प्रचारप्रसारका क्रममा हुनुहुन्थ्यो । त्यही क्रममा धेरै भिक्षुहरू बिरामी भएपछि उहाँले करिब चार वर्ष ‘औषधी’ बुद्वकै रूपमा तपस्या र अनुसन्धान गर्नुभयो । भिक्षुलगायत खोरस्यी (खोर = समूह, स्यी=चार, चार समूह अन्र्तगत आस्तिक, नास्तिक, ऋषि र देव समूह तथा सारा प्राणी पर्दछन्) को जीवन रक्षाका लागि ‘घ्यूस्यी’ (‘घ्यू’= ‘तन्त्र’ र ‘स्यी’ = ‘चार’, जसलाई फोर मेडिकल तन्त्रज अफ साइन्स भनिन्छ) नामक तन्त्र पत्ता लगाउनुभयो । 

घ्यूस्यी तन्त्रमा १५६ वटा पाठ छ । यसभित्र खोरस्यीको इतिहास (१. धोछयक(कामवासना), २. स्येथाङ (रिस) ३. तिमुक (अनविज्ञता) लाई कसरी नियन्त्रणमा राख्ने, १. लुङ (वायु), २. ठिपा (पित्त), ३. बेकेन् (उदर प्रदाह) लाई कसरी पत्ता लगाउने, लक्षण कसरी थाहा पाउने ?, उपचार र रोकथाम कसरी गर्ने ?, विभिन्न जडिबुटी औषधी कसरी बनाउने र यसको प्रयोग कसरी गर्ने ? भन्ने लगायत मानिसको सृष्टि, शारीरिक बनोट तथा आवश्यक खानपान, उपयुक्त आहार–बिहारका साथै शल्यक्रियाका विधिसम्मका कुराहरू उल्लिखित छन् ।

सोवा रिग्पाको प्रचारप्रसार, विकास–विस्तार, अध्ययन, अध्यापन र अनुसन्धानमा नेपालले प्राचीनकालदेखि नै सक्रिय चासो देखाउँदै महत्वपूर्ण सहभागिता जनाएको पाइन्छ ।

सोवा रिग्पाको प्रचारप्रसार, विकास–विस्तार, अध्ययन, अध्यापन र अनुसन्धानमा नेपालले प्राचीनकालदेखि नै सक्रिय चासो देखाउँदै महत्वपूर्ण सहभागिता जनाएको पाइन्छ । तिब्बतका राजा स्रोङ्चङ् गम्पोको पालामा त्यहाँ भएको विभिन्न देशबीचको छलफलमा भृकुटीसँगै अन्य नेपाली वैद्यहरूले पनि भाग लिएका थिए भने भारतबाट भारध्वज, चीनबाट हास्याङ महादेव (हेन्वेन्हेद्) र मङ्गोलियाबाट घले नोस लगायतलाई बोलाएर व्यापक छलफल गरिएको थियो । 

सातौँ शताब्दीमा तिब्बतकै राजा ठिसोङ देहचेन र महाविद्धान निङ्मा युथोग योन्तेन गन्पोद्वारा आयोजित अन्तर्राष्ट्रियस्तरको सोवा रिग्पा सम्मेलनमा नेपालबाट धर्मशिला र ख्योल्मो रुचेको सक्रिय सहभागिता रहेको थियो । 

चीन, भारत र मङ्गोलियामा स्वास्थ्य उपचारमा संलग्न विशिष्ट व्यक्तिहरूलाई बोलाएर तिब्बतको साम्येमा अन्तर्राष्ट्रियस्तरको सोवा रिग्पा सम्मेलन गरेको इतिहास छ । उक्त सम्मेलनमा भारतबाट शिन्ता गर्बा, चीनबाट तोङ्सुम गाङ्पा, हास्याङ्बाल र हाङ्ती पात, मङ्गोलियाबाट हालास्यिन्ता लगायतका विद्वानले भाग लिएको पाइन्छ । सोही सम्मेलनबाट ‘सोवा–रिग्पा तन्त्र’ आधुनिकीकरण गरी विज्ञहरूको अनुभव र अनुसन्धानलाई समेटी तयार पारेको बताइन्छ, जसलाई Science of Healing भन्ने गरिएको छ । 

गन्पोले Science of Healing नै तिब्बतको कोङ्बु मेनलुङमा तानादुग सोवा रिग्पा मेडिकल युनिभर्सिटी खोलेर स्नातक, स्नातकोत्तर र अनुसन्धान तह(पिएचडी) को अध्यापन सुरु गरेको पाइन्छ । उनले सोवा रिग्पा चिकित्सकहरूको स्तर निर्धारणका साथै प्रथम श्रेणीको भू–रम्पा, द्वितीय श्रेणीको मे–रम्पा, तृतीय श्रेणीको का–च्यूपा, साधारणस्तरको दू–राप्पा र काङ्जीन्पा गरी पढाइको श्रेणी विभाजन गरेका थिए । 

सोवा रिग्प शिक्षण परम्परा

सोवा रिग्पा उपचार पद्धति हिमाली भू–भागमा बढी प्रख्यात छ भने काठमाडौँलगायतका अन्य शहरमा विस्तार हुन थालेको छ । हिमाल, पहाड, तराईमा यसका प्रयोगकर्ता बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार हिमालमा ९० प्रतिशत, पहाडमा ३०–४० प्रतिशत र तराईमा २० प्रतिशत प्रयोगकर्ताहरू छन् । 

काठमाडौँ, डोल्पा, मुस्ताङ, दोलखा, जुम्ला, बाग्लुङ, धादिङ, सङ्खुवासभा, दार्चुला, ताप्लेजुङ, तनहुँ, सोलुखुम्बु, मनाङ, रसुवा, कास्की, सिन्धुपाल्चोक, मकवानपुर, मुगु, हुम्ला, गोरखा, रामेछाप, सुर्खेत, सुनसरी, काभ्रेपलाञ्चोक, खोटाङ, भोजपुर, स्याङ्जा, तेह्रथुम, ललितपुर, भक्तपुर, लमजुङ्, धनकुटा, इलाम, झापा, नुवाकोट र म्याग्दीमा यो सेवा विस्तार भइसकेको छ ।

सोवा रिग्पा इन्स्टिच्यूट सातवटा, सोवा रिग्पा औषधी उद्योग ६ वटा, सोवा रिग्पा मेडिकल क्लिनिक ६० वटा र सोवा रिग्पा चिकित्सक करिब २०० जना रहेका छन् । यस्तै देशका दूरदराजका गाउँठाउँ, टोलटोल र घरघरमा यो पद्धति लोकप्रिय बन्दै गएको छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले सन् २००६ देखि हालसम्म वार्षिक ३०–३५ जनालाई सोवा रिग्पा प्राथमिक उपचार तालिम दिँदै आएको छ । सोवा रिग्पा इन्टरनेशनल कलेज, सोवा रिग्पा एशोसिएसन नेपालले पनि सन् २०१६ देखि सोवा रिग्पा सम्बन्धी तालिम दिंदै आएको छ । सोवा रिग्पा प्राथमिक उपचारक र सोवा रिग्पा सम्बन्धी तालिम प्राप्तहरूको सङ्ख्या करिब १००० पुगिसकेको छ । ती कोही परम्परागत, कोही प्राथमिक उपचारक, कोही एचए त कोही एमबिबिएस तथा एमडी तहका रहेका छन् । जसले दुर्गम क्षेत्रका गुम्बा तथा विहारहरूमा सोवा रिग्पा उपचार गराइरहेका छन् । 

सिटीइभिटीबाट मान्यता पाएर कास्की र मुस्ताङमा स्थापित लो–कुन्फेन मेडिकल स्कूलमा सोवा रिग्पा चिकित्सा प्रणालीमा आधारित प्राविधिक एस.ई.ई.तह (सि.एम.ए. सरहको एक वर्ष ६ महिनाको कोर्ष, काङ्जीन्पा) र प्रमाणपत्र तह (एच.ए.सरह ३ वर्षको कोर्ष, दुराप्पा) अध्यापन गराइरहेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन लिएर २०१६ देखि नेपालमा विएसएमएस (Bachelor of Sowa Rigpa Medicine & Surgery - B.S.M.S) तहमा सोवा रिग्पा इन्टरनेशनल कलेज सञ्चालित भइरहेको छ । 

सन् २०१७ मार्चसम्मको तथ्याङ्कअनुसार नेपाल, भारत, चीन, भूटान, मङ्गोलिया, जापान, अमेरिका, रुस, जर्मनी, फ्रान्स, अष्ट्रिया, इटाली, मलेसिया, थाइल्याण्ड, सिंगापुर, अष्ट्रेलिया, कोरियालगायत देशमा सोवा रिग्पा विश्वविद्यालय, सोवा रिग्पा प्रयोगकर्ता, सोवा रिग्पा अनुसन्धानकर्ताहरू रहेका छन् । 

मानव शरीर र जडिबुटीबीच अत्यन्तै वैज्ञानिक सम्बन्ध रहेकाले मानव शरीरमा चिसोपन बढ्दा तराईको तातो गुणयुक्त जडिबुटी र तातोपन बढ्दा हिमालको चिसो गुणयुक्त जडिबुटीलाई औषधीको रूपमा प्रयोग गरिन्छ । 

भारतको हिमालञ्चाल प्रदेशमा मेञ्ची खाङ सोवा रिग्पा कलेज, दार्जिलिङमा चाग्पोरी मेडिकल कलेज र बनारसमा सारनाथ सोवा रिग्पा मेडिकल युनिभर्सिटी, लाताकमा बुद्धिष्ट मेडिकल कलेज, सिक्किममा सोवा रिग्पा कलेज, चीन र तिब्बतमा माले सोवा रिग्पा युनिभर्सिटी, ल्हासा सोवा रिग्पा युनिभर्सिटी, जोङसर सोवा रिग्पा कलेज रहेको छ । सन् २०१४, डिसेम्बर २८ र सन् २०१७, मार्च १, २ र ३ मा काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय सोवा रिग्पा सम्मेलनमा नेपालसहित विभिन्न देशको सहभागिता रहेको थियो । सन् २०१४ मा ३४ र सन् २०१७ मा ४० देशले सक्रियतापूर्वक भाग लिएका थिए । सन् २०१९ मार्च ७, ८ र ९ मा सिङगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय सोवा रिग्पा सम्मेलनमा नेपालसहित ४३ देशले भाग लिएका थिए । अहिले विश्वका ती देशहरूमा सोवा रिग्पा उपचार पद्धतिको प्रचार–प्रसारका साथै सोवा रिग्पा औषधीको प्रयोग, अस्पताल, परिषद्, विभाग र कलेजहरूमा अध्ययन, अध्यापन र अनुसन्धान भइरहेको पाइन्छ ।

सोवा रिग्पामा जडिबुटिको प्रयोग 

मानिसको शरीर (माटो, पानी, आगो, हावा) चार तत्वबाट बनेको हुन्छ । त्यसरी नै जडिबुटी पनि यिनै चार तत्वबाट निर्माण भएको हुन्छ । त्यसैले मानव शरीर र जडिबुटीको बनोटबीच सम्बन्ध रहेको छ । मानव शरीर र जडिबुटीबीच अत्यन्तै वैज्ञानिक सम्बन्ध रहेकाले मानव शरीरमा चिसोपन बढ्दा तराईको तातो गुणयुक्त जडिबुटी र तातोपन बढ्दा हिमालको चिसो गुणयुक्त जडिबुटीलाई औषधीको रूपमा प्रयोग गरिन्छ । 

यो एकदमै वैज्ञानिक विधि/पद्धति हो । जस्तैः मानिसको मांसपेशी माटो, रगत, जल, तापक्रम अग्नि र श्वासप्रश्वास हावा तत्वबाट बनेको हुन्छ । मानव शरीरको मांशपेशी माटो तत्व हो । मानव शरीरमा बग्ने रगत पानीको तत्व हो भने शरीरको तापक्रम अग्नि तत्व हो । मानव शरीरका श्वासप्रश्वास प्रणाली हावा तत्व हो । यी सबै तत्वबीचमा दुई तत्वबीच एक अर्कामा सन्तुलन हुनुपर्दछ । सन्तुलन नमिलेमा मानिस बिरामी हुन्छ ।

बिरामी हुँदा हिमाल, पहाड र तराईमा पाइने सोवा रिग्पा जडिबुटीबाट निर्मित औषधीले सन्तुलन कायम राख्दछ । यी जडिबुटीलाई माटो, पानी, अग्नि र हावा तत्व चाहिन्छ यसरी मानव शरीरको तत्वको सन्तुलनका आधारमा सोवा रिग्पा जडिबुटीको औषधीबाट उपचार गराई रोग निको पार्ने वा मानव शरीरका तत्वहरूलाई सन्तुलनमा ल्याउने भएकाले सोवा रिग्पालाई Science of Healing (उपचार विज्ञान) भनिएको हो ।

आस्था र विश्वास

भौगोलिक विकटता र शहर केन्द्रित चिकित्सकहरूको मनोवृत्तिले गर्दा सरकारले चाहेर पनि देशका दुर्गम भेगका जनतालाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सकेको अवस्था छैन । ती ठाउँमा स्थापना भएका स्वास्थ्य चौकीहरू चिकित्सकविहीन भएका छन् । केन्द्रबाट पठाइएका औषधिहरू एक त ती ठाउँमा समयमै पु¥याउन सकिदैन, केही मात्रामा पुगेका औषधि पनि समय सकिएर प्रयोगविहीन अवस्था हुने गरेको छ । वितरण गर्ने स्वास्थ्यकर्मीको अभावमा औषधिहरू त्यसै खेर गैरहेको हुन्छन् । यस्तो अवस्थामा अधिकांश उच्च हिमाली भेगका गाउँघरमा स्थानीय जनताहरू स्वास्थ्य समस्या उत्पन्न भएमा सोवा रिग्पा चिकित्सकहरू कहाँ उपचारको लागि जाने गर्दछन् । सोवा रिग्पा चिकित्सकहरूले पनि आफ्नै उपचार पद्धतिबाट स्वास्थ्य सेवा पु¥याउँदै आइरहेका छन् ।

विरामी हुनेबित्तिकै कतिपय मानिसहरू आधुनिक चिकित्सा गराउन अस्पताल जान्छन् तर त्यहाँ उपचार हुन नसकेपछि उनीहरू सोवा रिग्पा चिकित्सक कहाँ पुग्दछन् ।

विरामी हुनेबित्तिकै कतिपय मानिसहरू आधुनिक चिकित्सा गराउन अस्पताल जान्छन् तर त्यहाँ उपचार हुन नसकेपछि उनीहरू सोवा रिग्पा चिकित्सक कहाँ पुग्दछन् । बहुराष्ट्रिय कम्पनीहरूबाट उत्पादित औषधिहरूको व्यापक प्रचारप्रसारका बीच पनि सोवा रिग्पा चिकित्सकहरूले आफ्नै विभिन्न जडीबुटी प्रयोग गरी औषधिहरू उत्पादन गर्ने गरेका छन् । हिमालय क्षेत्रमा पाइने जडीबुटीबाटै उनीहरू औषधि उत्पादन गरी बिरामीलाई निःशुल्क रुपमा उपचार गर्ने हुँदा सोवा रिग्पाप्रतिको आस्था र विश्वास बढेर गएको पाइन्छ ।

अहिलेको आधुनिक समाज परम्परागत जडीबुटीतर्फ पुनः आकर्षित भइरहेको बेला सोवा रिग्पा चिकित्सक र सोवा रिग्पा उपचार पद्धति पनि छनौट पर्ने गरेको छ ।  विदेशीहरू उपचारका लागि नेपाल आउन सक्छन् । पारम्परिक औषधिमा विश्वभरि नै आकर्षण बढेकाले भविष्यमा यो पद्धति अराबौं डलरको कारोवारमा परिणत हुनसक्ने सम्भावना छ । त्यसैले यस पद्धतिको आर्थिक पक्षलाई कम आँक्न मिल्दैन । त्यति मात्र होइन, सोवा रिम्पा चिकित्सा प्रणालीको बारेमा विश्वका धेरै देशका नागरिकहरू नेपालमा आएर सिक्न खोजिरहेका छन् । छिमेकी मुलुक चीन, भारत र भुटानका साथै युरोप र अमेरिकालगायत विश्वका धेरै देशले यस चिकित्सा प्रणालीलाई महत्वका साथ अगाडि बढाइरहेको छ । 

सोवा रिग्पा सम्बन्धी नीतिगत व्यवस्था

अहिले विश्वव्यापी रुपमै आधुनिक चिकित्सा पद्धति अर्थात एलोपेथिक चिकित्सा प्रणालीको विकास र विस्तार भएको छ । तथापि हाम्रोजस्तो विकासशील मुलुकमा मात्र होइन, विकसित मुलुकहरूमा समेत आम जनताको पहुँचमा आधुनिक चिकित्सा प्रणालीको पहुँच पुग्न सकेको छैन । त्यहाँका नागरिकहरूले परम्परागत ढङ्गबाट उपचार गर्दै आएका छन् । विश्वव्यापीरुपमै स्वास्थ्यको आधारभूत अधिकारबाट बञ्चित जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रतिवद्धताहरू भएका छन् । क्षेत्रीयस्तरमा पनि विभिन्न सन्धि सम्झौताहरू भएका छन् । 

नेपालको सन्दर्भमा राज्यले ढिलै भए पनि नेपालको संविधान, २०७२ को धारा ५१ मा परम्परागत चिकित्सा पद्धतिको संरक्षण र प्रवद्र्धन गर्ने नीति रहेको कुरा उल्लेख गरेको छ । स्वास्थ्य नीति २०७४ स्वास्थ्य नीतिमा नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिको सम्बद्र्धन र विकास गर्दै स्वास्थ्य सेवामा समन्वय गर्ने उल्लेख छ । स्वास्थ्य ऐन, २०७७ को राजपत्रमा सोवा रिग्पा उपचार पद्धतिलाई पनि समावेश गरेको छ । देशको मौलिक चिकित्सा पद्धतिको रुपमा आयुर्वेदको विकासमा जोड दिने र अन्य परम्परागत, वैकल्पिक चिकित्सा प्रणालीहरू (योग, प्राकृतिक चिकित्सा, सोवा रिग्पा, होमियोपेथी, यूनानी, टीसिएम आदि) को संरक्षण एवं व्यवस्थित ढङ्गबाट विकास गरिने नीतिमा उल्लेख भएको पाइन्छ । 

सोवा रिग्पाको चुनौती

उच्च हिमाली भेगमा बढी मात्रामा प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्धति निकै लोकप्रिय रहेपनि यसमा संलग्न सोवा रिग्पा चिकित्सकहरूले बिरामीसँग शुल्क नलिने हुँदा उनीहरूको सेवामूलक काम भएको छ । एकातिर बिरामीबाट शुल्क नलिने वा बिरामीले स्वेच्छाले दिएको नगद वा जिन्सीको भरमा उपचार गराउनुपर्ने र अर्कोतिर यसमा प्रयोग हुने कतिपय जडिबुटि निकै महङ्गो पर्ने र सहजै पाउन पनि कठिन रहेको अवस्थामा सोवा रिग्पा चिकित्सकहरूको पेशा निकै सङ्कटमा पर्न थालेको छ ।

सोवा रिग्पा चिकित्सकहरू घट्नुको मुख्य कारण भनेको आर्थिक अभाव नै हो । सोवा रिग्पा चिकित्सकहरूको आर्थिक स्थिति त्यति मजबुत् नहुने भएकाले हिमालयबाट जडीबुटी सङ्कलन गर्नेदेखि त्यसको प्रशोधन र उत्पादन गर्न धेरै नै खर्च गर्नुपर्ने र समय पनि निकै लाग्ने हुँदा यो सबै काम गर्न उनीहरूलाई कठिनाइ भएको छ । देशका अति विकट तथा हिमाली क्षेत्रका गरिब जनतालाई निःशुल्क स्वास्थ्य सेवा पु¥याउँदै आएका सोवा रिग्पा चिकित्सकहरूको व्यवसायलाई राज्यले उचित सम्बद्र्धन र संरक्षण दिन नसक्दा सङ्कटमा पर्न लागेको छ । आधुनिक चिकित्सा पद्धतिले विस्तारै आफ्नो प्रभाव फैलाउँदै गइरहेको बेला सीमित ज्ञान, साधन र स्रोतको अभाव तथा राज्यको संरक्षण नहुँदा परम्परागत शैलीमा कार्य गर्दै आएका अधिकांश सोवा रिग्पा चिकित्सकहरूले आफ्नो पेशालाई निरन्तरता दिन सकेका छैनन् ।

गरीब दीनदुःखी, अशक्तको सेवा गर्नु नै कर्तव्य सम्झने बौद्ध धर्मको मान्यतालाई आत्मसात् गर्दै सोवा रिग्पा चिकित्सकहरूले आफ्नो पुख्यौली पेशालाई धान्दै आएपनि आगामी दिनमा नयाँ पुस्ताले यसलाई निरन्तरता दिन सक्ने तर्फ चुनौती बढेको छ ।

जडीबुटीको संरक्षण नहुँदा सोवा रिग्पा चिकित्सकलाई उपचारमा समस्या भएको छ । स्थानीयस्तरमै पाउन नसकिने कतिपय जडीबुटी विदेशबाट झिकाउनु पर्ने र सोवा रिग्पा पद्धतिमा प्रयोग हुने कतिपय अमूल्य जडिबुटिहरू बनाउँदा यसको लागत निकै महङ्गो पर्न जान्छ ।

दुर्गम ग्रामीण भेगका जनतालाई स्वास्थ्य सेवा दिँदै आएका सोवा रिग्पा चिकित्सकहरू अहिले निकै समस्यामा पर्ने गरेका छन् । गरीब दीनदुःखी, अशक्तको सेवा गर्नु नै कर्तव्य सम्झने बौद्ध धर्मको मान्यतालाई आत्मसात् गर्दै सोवा रिग्पा चिकित्सकहरूले आफ्नो पुख्यौली पेशालाई धान्दै आएपनि आगामी दिनमा नयाँ पुस्ताले यसलाई निरन्तरता दिन सक्ने तर्फ चुनौती बढेको छ । नेपालको यस किसिमको मौलिक चिकित्सा पद्धतिको संरक्षण र प्रवद्र्धनतर्फ सरकारले समयमै चासो नदिने हो भने अमूल्य ज्ञान र अमूल्य जडिबुटि लोप हुने देखिन्छ । राज्यले नीति तथा कार्यक्रममा समावेश गरेको सोवा रिग्पा चिकित्सा पद्धतिलाई देशको हिमाली, दुर्गम जिल्ला तथा अन्य जिल्लाहरूमा कार्यान्वयन गर्नुपर्ने चुनौती रहेको छ । 

सोवा रिग्पाको उपलब्धि 

 देशभित्र भएका हिमाली बहुमूल्य जडिबुटी (यार्चगुम्बु, पाँचऔंले, कुड्की, पंगन, होलमोसे, लघुपत्र आदि) को प्रयोग गरी सस्तो औषधि उत्पादन गर्न सकिने ।

- देशभित्र साना तथा ठूला उद्योगहरू सञ्चालन गर्न सकिने । 

- वातावरणमैत्री तथा रोजगारीको सिर्जना गर्न सकिने । 

- सस्तो तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्न सकिने । 

- उत्पादित औषधिले आयातलाई कम गरी निर्यात समेत गर्न सकिने । 

- सोवा रिग्पा उपचार पद्धतिको विकासपछि आर्थिक अवसर, रोजगारमा वृद्धि लगायत स्वास्थ्य सेवामा देशको लागि ठूलो टेवा पुग्न सकिने । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook