महिला, आदिवासी ज्ञान र दिगो विकास लक्ष्य

शनिवार ०५ आषाढ, २०७८   |   आदिवासी ज्ञान

Print This   |   Font Size + -

बिमला तुम्खेवा

बिमला तुम्खेवा

काठमाडौं, नेपाल ।

महिला, आदिवासी ज्ञान र दिगो विकास लक्ष्य

दिगो विकास लक्ष नेपालको मात्र नभएर विश्वको साझा लक्ष हो ।  विश्वव्यापी रुपमा सामाजिक, आर्थिक र वातावरणीय गरी तीन पक्षमा निश्चित लक्ष राखेर सन् २०३० सम्मको समयावधिमा जनताको जीवनस्तर तोकिएको  विन्दूमा पुराउने साझा लक्ष नै दिगो विकास लक्ष हो । संयुक्त  राष्ट्र  संघको अगुवाईमा भईरहेको यो एक प्रकारको महाअभिान हो । अभियानमा कोही पनि नछुटुन् भन्ने मूल ध्येय रहेको छ ।

नेपालले दिगो विकास लक्ष हासिल गर्ने कार्यमा आफनो सहमति जनाएको छ । विश्वव्यापी अभियानलाई हातेमालो गर्दे दिगो विकासका आफनो एजेन्डा तय गरेको छ । र नीति, कार्यनीतिहरु सार्वजनिक गरेको छ । मूलभूत रुपमा चौधौ योजनाबाट थालिएको यो यात्रामा पन्द्रौ योजनाले पूर्ण सम्बोधन गर्ने प्रयास गरेको छ । खासगरेर सहस्राव्दी विकास लषको सफता पछि आएको दिगो विकास लक्षले देशका सबै बर्ग जाति, समुदाय र भौगोलिक क्षेत्रलाई समेट्नु पर्छ । यो लक्षको विश्वव्यापी अवधारणा पनि त्यही हो । तर नेपालका सम्बन्धमा राज्यका नीतिहरुले यस तर्फ लक्षित छन् कि छैनन् भन्ने सवाल भने यस सन्दर्भमा पेचिलो बनेर गएको छ ।

खास गरेर नोपलका आदिवासी जनजातिका सवालहरु उनीहरुको अपेक्षा र अभ्यास यस सन्दर्भमा सान्द्यर्भिक हुन्छ कि ती अभ्यासलाई समेटेर अगाडि बढेको खण्डमा हामी दिगो विकास लक्षमा पुग्न सक्छौ । त्यसमा पनि आदिवासी महिलाका सवालहरु सबै भन्दा अगाडि आउँछ । आदिवासी जनजाति भन्ने वित्तिकै आदिवासीको भाषा, प्रथा, परम्परा तथा रितिरिवाज र चालचलन महत्वपूर्ण हुन्छ । यसको जगेर्ना आदिवासी महिलाले उनीहरुले प्रयोग गर्ने मातृभाषाबाट मुखरित हुने हो ।

यसकारण राज्यले प्रतिबद्धता व्यक्त गरेको सन् २०३०मा पुग्ने गरी तय गरेको लक्षमा पुग्नका लागि आदिवासीका सवालहरु, समस्याहरु र उनीहरुको संवेदनशीलतालाई ख्याल गर्नू पर्ने हुन्छ । दिगो विकास लक्ष आफैमा एउटा राज्यको महत्वाकाँक्षी योजना हो । यो योजनालाई पुरा गर्ने कार्यऔजार भनेको राज्यका नीति तथा कानून, कार्यक्रम र त्यसलाई परिचालन गर्ने नीति निर्माताहरु हुन् । तर अहिलेको राज्यको बनावटमा समस्या देखिन्छ । यही सन्दर्भमादिगो विकास लक्ष, आदिवासी जनजाति र महलिा सम्बन्भि यो लघु अध्ययन गर्न खोजिएको छ ।

२. अध्ययनको उद्देश्य

यो अध्ययनमा विश्वव्यापी अभियानका रुपमा चलेको दिगो विकास लक्ष्यमा आदिवासीजनजातिका सवाल र खासगरेर महिला र आदिवासीका प्रचलन, परम्पारहरुका बारे विशेष चर्चा गरिएका छन् । समग्रतामा आदिवासीका परम्परा र प्रथाजन्य मान्यता नै आदिवासी ज्ञानका रुपमा बर्णन गरिएका छ । समग्रतामा दिगो विकास लक्षसंग सम्बन्धित सूचकसंग सम्बन्धित प्रतिनिधि अभ्यासलाई कृलाउने प्रयास गरिएको छ ।

सारमा निम्न उद्देश्यका साथ यो अध्ययन गरिएको छ ।

  • दिगो विकास लक्ष्यम आदिवासी जनजातिका सरोकारहरु प्रस्तुत गर्नु ।
  • नेपालका आदिवासी जनजातिका दिगो विकाससंग सम्बन्धित ज्ञानहरुको अन्तरसम्बन्धको खोजी गर्नू , ।

३.आदिवासीका जनजाति महिलाको उपस्थिति र अवस्था

नेपालको जनसख्यात्मक वनावटमा महत्वपूर्ण हिस्सा रहेको आदिवासी जनजातिहरुको उपस्थिति सबै जिल्ला, सबै पालिका तथा वडा तहसम्म नै रहेको छ ।  राष्ट्रिय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले परिभाषा गरे अनुसार नेपालमा ६० आदिवासी जनजातिको सूचिकरण गरेको छ ।[i] यो सूचिमा परेको आदिवासी जनजातिहरुलाई पाँच समूहमा बर्गिकरण गरीएको छ । यो बर्गीकरण अनुसार लोपोन्मूख समूहमा १०, अति सिमान्तिकृत समूहमा १२, सिमान्तकृत समूहमा २०, सुविधा बन्चित समूहमा १५ र उन्नत समूहमा २ आदिवासी बर्गिकृत छ ।[ii] नेपालको प्रादेशिक संरचना अनुसार बाग्मती प्रदेशमा सबैभन्दा धेरै जनसंख्या भएका आदिवासीहरुमा तामाङ, नेवार र मगर आदिवासी देखिन्छ भने अन्य अल्पसंख्यक आदिवासीहरुको थातथलोका आधारमा हायु, सुरेल, माझी, चेपाङ, थामी, वोटे, दनुवार, सुनुवार, थारु, पहरी, ह्योल्मो र शेर्पाहरुको आफनो परम्परागत थातथलो यही प्रदेशमा रहेको पाइन्छ । उपस्थितिका हिसावले काठमाडौ र ललितपुर जिल्लामा सबैभन्दा धेरैजातिको उपस्थिति छ भने ऐतिहासिक थातथलो भएका आदिवासीहरुको संख्यात्मक उपस्थिति दोलखा, सिन्धुपाल्चोक, सिन्धुलीमा पाइन्छ ।[iii]

नेपालमा रहेका सबै आदिवासीको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्था दयनिय छ ।[iv] नेपालको मानव विकास सूचांकका आधारमा सबैभन्दा तल भुँई तहमा आदिवासीहरु छन् ।  संविधानतः समाबेशीकरण, सामाजिक न्याय सहितको लोकतन्त्रको अभ्यास भइरहेको भएता पनि यो अभ्यासबाट पाखा पारिएका समुदायमा दलित, आदिवासी जनजाति, मधेशी मुस्लिम पर्दछन् । यी सबै समुदायका महिलाहरु सबै ढंगले पछाडी पारिएका छन् ।

आदिवासी जनजाति महिलाले हालसम्म निम्न अवस्थालाइ सार्वजनिक गर्दै आएको छन् । नेपालमा आदिवासी महिलाको अधिकारको अवस्थाका सम्बन्धमा महिला विरुद्ध हुने भेद्भाव उन्मलन समितिलाई नेपालका आदिवासी महीलाले बुझाएको छैठौ आवाधिक प्रतिबेदनमा आदिवासी महलिाका सवालहरुको साराँश यस्तो थियो ।[v]

  • आदिवासी महिलाहरु मूलप्रवाहका महिला बीच आधारभूत रुपमा फरक छन् ।
  • आदिवासी महिलाको समस्यालाई संविधान, कानून र नीतिहरुले पहिचान गरेको छैन ।
  • आदिवासी महिलाहरु  एैतिहासिक अन्याय र संरचनागत हिंसाका शिकार भएका छन् ।
  • आदिवासी महिलाहरु आत्मनिर्णयको अधिकारको निषेधले राज्यविहिन र औपनिबेशीकरण, भूमि, भूभाग र स्रोतबाट विमूख, पहिचान गुम्नु, हिन्दूकरण र संस्कृतिकरणका कारण उत्पन्न पितृसत्तात्मक विचारधारका कारण दोस्रो दर्जाको नागरिक बन्नु । 

यो अवस्थालाई ख्याल गर्दै आदिवासी महिलाहरुले उठाउँदै आएको प्रमूख सवालहरु यस प्रकार छन् ।

आत्म निर्णयको अधिकार , भूमि, भूभागमा स्वामित्व र नियन्त्रण, स्रोतमा पहुँच, प्रथाजन्य कानून र संस्थाहरुलाई कानुनी मान्यता दिनुपर्ने , सामुहिक मानव अधिकार, साँस्कृतिक विभिधता र विशिष्टपहिचानको अधिकार र स्वतन्त्रता, अग्रीम जानकारी सहितको मञ्जुरी Free, Prior and Informed Consent -FPIC (एफपीक) को लागू ।

  • आदिवासी भित्रको विविधता, आदिवासी महिला पुरुष र आदिवासी बालिका र बालक बीचको लैंगिक समता तथा समानता कायम गर्नु पर्ने ।
  • महिला आन्दोलन भित्र लैंगिक समता, सामुहिक अधिकारको प्रबद्र्धन, भाषिक र धार्मिक पहचिान सहितको विविधताको पहिचान ।

४ आदिवासी महिला, परम्परागत ज्ञान र दिगो विकास लक्ष्यको अन्तर सम्बन्ध

४.१. दीगो विकास लक्ष

दिगो विकास लक्ष्य नेपालको समता विकासका लागि एक आशलाग्दो अभियान हो । सन् २०३० (विसं २०८७) सम्ममा १७ लक्ष्य,१६९ परिमाणात्मक गन्तव्य र २३२ वटा सूचक पुरा गर्ने महत्वाकाँक्षी अठोट लिएको छ । राष्ट्रिय योजना आयोगले नेपालको वस्तुगत यथार्थतालाई पनि समेट्ने गरी २४७ वटा सूचकहरू थप गरी ४७९ सूचकहरू निर्धारण गरेको छ । दिगो विकास लक्षले  राष्ट्रको आर्थिक तथा सामाजिक विकास र वातावरण संरक्षणको एकीकृत अवधारणाको रूपमा लिएको छ ।[vi]

नेपालले मुलुकको आर्थिक, सामाजिक र पर्यावरणीय परिवेश अनुसार कार्यान्वयनमा ल्याउँदै चौधौं योजनादेखि नै यी लक्ष्यलाई आन्तरिकीकरण गरिरहेको छ । सो अनुसार आयवृद्धि, गुणस्तरीय मानव पुँजी निर्माण र आर्थिक जोखिमको न्यूनीकरण गर्दै वि.सं. २०७९ सम्ममा अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने र वि.सं. २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै उच्च मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने गरी दीर्घकालीन लक्ष्य लिइएको छ । सो बमोजिम समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल हुनेगरी संघ, प्रदेश र स्थानीय तहमा नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने अभियान सुरु भएको छ ।

विश्वव्यापी खाका अनुरूप सरकारले नेपालको दिगो विकास लक्ष्यको अवस्था तथा मार्गचित्र २०१६–२०३० प्रतिवेदन तयार पारेको छ । यस मार्गचित्रले नेपाललाई सन् २०३० सम्ममा न्यायपूर्ण र विकासशील मुलुक बनाउने परिकल्पना गरेको छ । दिगो विकास लक्ष्यको स्थिति र मार्गचित्र एवम् वित्तीय आवश्यकताको आँकलन प्रतिवेदन तथा वित्तीय रणनीति तयार भइसकेको छ ।

दिगो विकास लक्ष्यको कार्यान्वयनका लागि नेपाललाई बार्षिक औसत रू. २०२४.८ अर्ब आवश्यक पर्ने र यसको ५४.८ प्रतिशत सार्वजनिक क्षेत्र, ३६.५ प्रतिशत निजी क्षेत्र, ४.४ प्रतिशत घरपरिवार र ४.३ प्रतिशत सहकारी तथा गैरसरकारी क्षेत्रबाट योगदान हुने प्रक्षेपण रहेको छ ।[vii] यो रकममा बार्षिक करिब औसत रू. ५ खर्ब ८५अर्ब नपुग रहेको छ, जसमा सरकारका तर्फबाट रू. २.१८ खर्ब र निजी क्षेत्रबाट रू. ३.६६ खर्ब थप जुटाउनुपर्ने अवस्था छ,[viii] तर सरकारलाई उतm योजनालाई पुर्णता दिन आदिवासी समुदायमा प्रचलनमा रहेका कतिपय व्याबाहारिक सीप क्षमतालाई स्थानियस्तरमा जनसमुदायबीच  परिमार्जन गरेर परिचालनमा ल्याएमात्र सजिलो र बैकल्पीक टेवा हुनेछ ।

४.२  आदिवासी भाषा र परम्परागत आदिवासी ज्ञान

नेपालको सुन्दरता भनेको कै भाषीक विविधता हो । २०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणना अनुसार १२३ जात जातिको १२५ भाषा रहेका छन् । पछिल्लो कालमा संबैधानिक आयोग, भाषा आयोगको निस्कर्ष अनुसार नेपालमा १२९ भाषाका वक्ता छन् ।[ix] ती मध्ये अधिकांश भाषाहरु आदिवासीको मातृभाषा रहेको छ ।

मातृभाषाको संरक्षणकर्ता, प्रयोगकर्ता र पुस्ता हस्तान्तरण बाहेक आदिवासी महिलाहरु हुन् ।[x] अनुसन्धानकर्ताहरुका अनुसार आदिवासी पुरुष भन्दा महिलाहरुले भाषाको प्रयोग गर्ने गर्दछन् । दैनिक चालचलन, रहनसहन, साँस्कृतिक कर्महरुमा भाषाका माध्यामले अभिव्यक्त हुन्छन् । आदिवासी जनजातिको प्रथा, परम्परा र आध्यात्मिक प्रचलनहरु र साँस्कृतिक जात्रा तथा पर्बहरुमा आफनै मातृभाषाको प्रयोग हुन्छ । आदिवासी ज्ञान पनि तिनै चालचलन, रहनसहन र परम्पराहरुमा निहित हुने भएकाले  मातृभाषा बिना आदिवासी ज्ञान सम्भव हुन्न भने आदिवासी महिलाको अभावमा मातृभाषाको संरक्षण सम्भव हुन्न । यसकारण आदिवासीको मातृभाषा, आदिवासीज्ञान र परम्परा साँस्कृतिक चालचलन आदिवासी महिलासग जोडिएको हुन्छ ।

४.३. आदिवासीका परम्परागत ज्ञानको औचित्ययता

आदिवासी ज्ञान आदिवासीको पहिचानसंग जोडिएको विषय हो । आदिवासीसंग सम्बन्धित अन्तराष्ट्रिय कानूनहरु खास गरेर आदिवासीको अधिकार सम्बन्धि संयुक्त राष्टसंघीय घोषणापत्र (युएनड्रिप) र अन्तराष्टिय श्रम संगठनको महासन्धि नम्बर १६९ सेतले आदिवासी ज्ञानको सन्दर्भमा बोलेको छ । अन्तराष्ट्रिय श्रम संगठनको महासन्धि नम्बर १६९ नेपालले अनुमोदन गरेको छ भने युएनड्रिपको पक्षमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले मतदान गरेको छ । यी संयन्त्रहरुले आदिवासीको पहिचानका लागि आवश्यक पर्ने ऐतिहासिकता, भाषा तथा फरक साँस्कृतिक पहिचान आवश्यक पर्छ भनेको छ त्यसै गरी परम्परागत भूक्षेत्रमा अभ्यास गरिरहेको ज्ञानको बिषय पनि समेटेको छ । संयुक्त राष्ट्र संघका आदिवासी समाधिक्षकको भनाई अनुसार आदिवासी ज्ञान आदिवासी जनजातिको पहिचानसंग सम्बन्धित बिषय हो ।

बिगतमा आदिवासीले जीवनलाई सुचारु गर्नका लागि र जीविकोपार्जनका जोखिमबाट बच्न अनेकौ अभ्यास र संघर्ष गरेको प्रतिफलका रुपमा आदिवासी ज्ञानलाई पहिचान गरेका हुन् । यो ज्ञान कुनै विश्वविद्यालयको अनुसन्धान तथा वैज्ञानिक खोजको आविष्कार नभएर  आदिवासी जीवनको अनुभवजन्य आविस्कार हो । आदिवासी ज्ञान मौखिक बृतान्त र अभ्यासका आधारमा निरन्तरता पाउने भएकाले यो आदिवासीको मूल्य मान्यता, साँस्कृतिक चालचलन र भाषिक अभिव्यक्तिबाट संरक्षित हुन्छ ।

आदिवासी ज्ञान आधुनिक विश्वका लागि एक खोजको बिषय बनेको छ । विश्वव्यापीकरण, उदारअर्थतन्त्र, बढ्दो बसाइसराई र शहरीकरणका कारण मानिसले आदिवासी ज्ञान बिर्संदै गएका छन् । यस माथि विज्ञान र प्रविधिको विकासका कारण हरेक मानिसको जीवनशैली एक बनावटी र कृतिम बन्न गएको छ । तर यी सबै विज्ञान र प्रविधिको खोज र अनुसन्धानको मूल स्रोत आदिवासी ज्ञान भएको अनुसन्धानहरुले पुष्टि गरेको छ ।[xi] यही सन्दर्भमा राज्यको अठोट अनुसार दीगो विकास लक्षका केही सूचकहरु पुरा गर्न आदिवासी ज्ञानको औचित्ययता देखिन्छ  । आदिवासी ज्ञान आफनै भूगोल भित्र अभ्यास गरिएको स्थानीय हावापानी र प्रकृतिमा अनुकरण गरिएको दार्शनिक विषय भएको हुँदा यसको बिस्तार र प्रचलन सहज छ । नेपालको संसदले अनुमोदन गरेको जैविक विविधता सम्बन्धि आनुबंशिक स्रोतको बाँडफाड सम्बन्धि  नायोगा  अभिसन्धिले आदिवासी ज्ञानको प्रयोग र क्षेत्रबारे धेरै कुराको स्पष्टता गरेको छ । यस अनुसार आदिवासी ज्ञानको प्रयोग  दीगो विकासका लक्ष्यका सबै लक्ष्यमा प्रयोग गर्न सकिने भएको भएता पनि यहाँ निम्न बिषयको लक्ष्य हासिल गर्न सहयोगी हुने हिसाबले विश्लेषण गरिएको छ । 

  • भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषि प्रवद्र्धन गर्ने (दीगो विकास लक्षको २)
  • सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने (दीगो विकास लक्षको ३)
  • जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने (दीगो विकास लक्षको १२)
  • वनको दिगो व्यवस्थापन गर्ने, (दीगो विकास लक्षको १४)

५. केही परम्परागत आदिवासी ज्ञानका अभ्यासहरु

भाषाका प्रयोगले नै सीपलाई संरक्षण गरेर राखेको हुन्छ भन्ने कुराको प्रमाणीत यो देशको मात्र नभएर विश्वकै आदीबासीबीच रहेको मौलिकता र सयौ पुस्तादेखि चलनचल्तीमा रहेको संस्कार परम्परा र भाषाले स्पष्ट गर्दछ ।  यस्ता ज्ञानहरु उनीहरुको प्रथा, परम्परा, तथा संस्कार र संस्कृतिमा टिकेको हुन्छ । यस्ता ज्ञानहरुको अभिलेखिकरण गरी राज्यको तहबाट मान्यता दिने हो भने दीगो विकास लक्ष्यका लागि एक सहयोगी औजार बन्न सक्छ । तर राज्यका नीति नियम तथा योजनाहरुमा ती ज्ञानहरुलाई हेला गर्ने, खिसी गर्ने र अन्धविश्वास भनेर टार्ने गरिएको छ । वास्तवमा यो राज्य विभेदको अवस्थाहो ।

५.१. चेपाङ आदिवासीको खाद्य सुरक्षा ज्ञान

नेपालको आदिवासी मध्ये अल्पसंख्यकमा सूचिकृत र अतिसिमान्कृत समुदायको खाद्य सुरक्षा प्रणाली विशेष छ । मूलप्रबाहको अवधारणा अनुसार उनीहरुसंग खाद्य सञ्चिती हुँदैन । सामन्यभाषामा उनीहरु अनिकालले ग्रस्त हुन्छन् । तर आदिवासीको कोणबाट हेर्दा यो उनीहरुको विशिष्ट ज्ञान हो । त्यसैकारण चेपाङ बन तथा जंगलको नजिक  ओडारमा र विकट क्षेत्रमा बसोबास गर्छन् । किनभने उनीहरुले बनमा रहेका कन्दमूल,फलफूल र खाद्य र अखाद्य पदार्थको पहिचान गर्न सक्छन् । कुन लहराको फेदमा कन्दमूल छ र कुन रुखको पालवा कसरी खाने भन्ने ज्ञान उनीहरुसंग हुन्छ । आधुनिक राज्यको अवधारणाबाट उनीहरु भूमिहीन, जमिनको स्वामित्व नभएका समुदाय हुन् । तर उनीहको बर्षेो अभ्यास गरेको खनी खोर्सी  जोगाएको वन तथा जंगल राष्ट्रियकरण गरी खोसिए पछि भूमिबिहिन भएका हुन् ।

२०६८ सालको जनगणना अनुसार  चेपाङ्ग जतीको जनसख्ङ्या ६८ हजार ३ सय ९९ रहेको छ । मकवनपुर धादिङ, चितवानका मूल थातथलो भएका चेपाङहरु गोरखा, लमजुङ्ग र तनहुमा पनि बसोबास गर्दछन्  उनिहरुको जीवन बनजंगलसग अत्यन्तै नजीक रहेका हुन्छन् ।  चेपाङ्गहरुको मुख्य थलोमा चिउरीको रुखहरु रहेको हुन्छ । परम्परागत रुपमा प्रकृतिक पुजकको रुपमा चिनिने  उनिहरुले मकै  कोदो गहुँ जुनेलो मास गहत जगली कन्तमुलमा गिट्ठा भ्याकुर भार्लाङ सिस्नु  टाँकीको मुन्टा र कन्दमुल जस्ता खाद्यबस्तु उनिहरुको प्रिय खाना हो ।

उनिहरुको रैथाने बसोबासस्थलमा अतिक्रमण गरिएको छ । राज्यले बन जंगलहरु राज्यकरण गरेर राष्टिय निकुञ्ज, शिकार आरक्ष तथा संरक्षित क्षेत्र बनाइएको छ । त्यसै गरी कतिपयस्थानमा सामुदायिक बनका नाममा आदिवासी चेपाङले परम्पराबाट भोग चलन गर्दै आएको भूमि र भूक्षेत्रबाट विस्थापित गराइएको छ । यसरी आफनो परम्परागत बसोबासस्थलबाट विस्थापित भए पछि उनीहरुको खाद्य प्रणालीमा पनि संकट आएको छ ।

चेपाङहरुको परम्परागत कृषि प्रणाली पनि अनौठो छ । जस्लाई खोरिया फाड्ने पद्धति भनिन्छ ।  परापूर्वकाल देखि चेपाङहरू पहाडका कुनाकन्दरामा बसाई सर्ने, खोरिया फाँड्ने र जंगली खानेकुरा कै भरमा जीविका चलाउदै आएका छन् ।[xii] खोरिया पद्धतिको कृषि प्रणालीले बन जंगलको सुरक्षा हुने, विश्वव्यापी चुनौतिका रुपमा रहेको जलवायु परिवर्तनको चुनौति सामाना गर्न सहयोगी हुने तथा बनमा उत्पादित खाद्य पदार्थको पहचिान गर्न सजिलो पर्ने अनुसन्धानहरुको निचोड छ ।

चेपाङको खाद्य पद्दति स्वास्थ्यका लागि लाभदायक हुन्छ । साना खोला तथा नदी किनारामा पाइने गंगटो, पाहा औषधिका रुपमा पहिचान गर्ने चेपाङहरु नै हुन् । अहिले चेपाङको खाद्य बस्तुहरु आयुर्वेदको क्षेत्रमा औषधीको रुपमा प्रयोग हुन्छ । तर बिस्तारै  पाहा गंगटो मानव शरिरको निम्ति कति फलदायक छ भन्ने  बिस्तारै  बुझ्दै आएको छ । आम समुदायबीच आर्गेनिक रहेको र स्वास्थ्थको निम्ति फलदायक रहेको  कारण यसको मागलाई पुरा गर्न सकिएको छैन  उच्च रतmचाप र सुगरको निम्ति फलदायी रहेको यसको बौद्धिक सम्पतीको अधिकार भने उनीहरुलाई दिइएको छैन ।

चेपाङ आदिवासीको यो खाद्य ज्ञान दिगो विकास लक्षमा सहयोगी छ । यदी आदिवासी चेपाङहरुले अभ्यास गरिरहेको खाद्य प्रणालीलाई मूलप्रबाहिकरण गर्ने नीति बनेको खण्डमा केही न केही सहज बन्ने देखिन्छ । उनीहरुको आफनै प्रणालीमा खाद्य बस्तु संकलन गर्ने र उपभोग गर्ने अधिकार दिइनु अन्तराष्टिय कानूनको मूल मर्म हो भन्ने पष पनि यहाँ जोडिन्छ ।

५.२ बन तथा बनस्पति सम्बन्धि तामाङ ज्ञान

नेपालको आदिवासी मध्ये र बागमती प्रदेशलाई मूख्य थातथलो बनाएका तामाङ जातिको परम्परा, संस्कृति तथा प्रथापरम्पराहरु आदिवासी ज्ञानमय छन् । देशको राजधानी वरीपरी मूख्य बसोबास गरे पनि तामाङहरुको परम्परागत ज्ञानमा आधारित हजारौ अभ्यास प्रचलनमा छन् ।[xiii]

तामाङहरुको आदिवासी ज्ञान मध्ये एक औषधि उपचार विधि हो । नेपाल सरकार वन तथा वनस्पति बिभागको सूचि अनुसार तामाङ ज्ञानमा आधारित औषधिजन्य बन तथा बनस्पति दूईसयभन्दा बढी छन् ।[xiv] यसको प्रयोग तामाङ परम्परा अनुसार वोन्वो (धामी, झाक्रीं) बाट हुन्छ । धामी झाक्रीको उपचार पद्धति अन्धविश्वास जस्तो लागे पनि अनुसन्धान अनुसार यो वैज्ञानिक र तर्कपूर्ण देखिन्छ । अनुसन्धानकर्ता खोजराज गोलेका अनुसार ध्वनी थेरापी, मनोवैज्ञानिक उपचार र जडिबुटीको प्रयोग तामाङ आदिवासीको मूख्य उपचार पद्धति हो ।

भक्तपुरको नगरकोटमा यस लेखकले गरेको अनौपचारिक कुराकानीका क्रममा स्थानीय महिलाहरुले ३०औ प्रकारका जडिबुटी र उपचारसंग सम्बन्धित ज्ञान सुनाएका थिए । जस अनुसार कुनै घाउ लागेमा प्रयोग गर्ने वनस्पति, काटेमा, हात खुट्टा मर्किएमा वा टाउको दुखेमा, अनिन्द्रा, ग्याष्टिक, आउँ, रगतमासी तथा सुकेनास लागेको औषधीका रुपमा बन तथा वनस्पतिका विभिन्न झारपात भनेका थिए । तर यसको वैज्ञानिक परिक्षणको पाटोबाट पुष्टि हुन भने सकेको छैन ।

वनको दीगो व्यबस्थापनमा आदिवासी तामाङ ज्ञान अनुकरणीय छ । उनीहरुको तामाङ बहुल क्षेत्रका वन जोगाउन र बृक्षारोपणलाई  अगाडि बढाउन प्रथाजनित संस्था चोहोले बिशेष अग्रसरता लिन्छ । बन हेर्नका लागि हरेक घरबाट माना पाथी तिर्ने चलन नै छ । जस्लाई म्हाने भनिन्छ । तर यो परम्परा अहिले लोप भएको अवस्था छ । यसको पुनप्रचलनमा ल्याउन सके दीगो वन व्यबस्थापन र जलवायु परिबर्तनका चुनौति सामना गर्न सकिन्छ ।

तामाङ जाति बौद्ध धर्मावलम्बी भए पनि परम्परागत  बौद्ध धर्म भन्दा तामाङहरुको परम्परा फरक छ । तामाङहरु वोन धर्ममा पनि त्यतिकै विश्वास गर्छन् । यसको अगुवाका रुपमा वोन्वो हुने गर्दछन् । वोन्वोले आफनो पुजा तथा आफनो प्रतिष्ठान सन्चालन गर्दा बन जंगल, जल र प्राकृतिक भूमिको सधै स्मरण गर्ने गर्दछन् । यसबाट बनसंग सम्बन्धित वनस्पति उनीहरुका लागि सधै संरक्षणको विषय बन्ने गर्दछ ।

पानीको मुहान संरक्षण गर्ने तामाङ वोन्वोको अर्को  ज्ञान हो । परम्परागत रुपमा हरेक पानीका मुहानमा देवीस्थान स्थापना गर्ने र मुहानको सरसफाई, रुख जंगल लगाउनु पर्ने वोन्वोको अर्को नियम हुन्छ । यस्तो नियम आध्यात्मिक विश्वासका आधारमा लागू गरिएको हुन्छ । यस्ले एकातिर प्राकृतिक रुख, विरुवाको संरक्षण हुन्छ भने अर्कोतिर पानीको मूलको संरक्षण हुन्छ । यी क्रियाकलापहरु आफैमा दीगो विकास लक्षका सूचक पुरा गराउने माध्यम हुन् । वन जंगलको संरक्षण गर्ने, कार्यलाई यसले सहयोग गर्दछ ।

५.३. नेवारहरुको जात्रा तथा परम्परा

काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरमा मूख्य बसोबास गरिरहेका नेवार आदिवासी आफैमा साँस्कृतिक परम्परा भएको अर्को जाति हो । यो जातिको उपस्थिति नेपालको सबै जिल्लामा पाइन्छ । नेवारको उपस्थितिसंगै नेवारी संस्कृति नेपालको अभिन्न संस्कृति भएर प्रसारित हुन्छ ।

नेवारी परम्पराहरुले लैगिक समानता, खाद्य सुरक्षा तथा प्राकृतिक स्रोतको दीगो संरक्षणमा सहयोग पु¥याएको हुन्छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार नेवार संस्कृति अनुसार कुमारी पुजा, बेल बिबाह, गुथि परम्परा, काठमाडौको इन्द्रजात्रा, मच्छेन्द्रनाथको जात्रा, गाई जात्रा आदि दिगो विकासको लक्ष पुरा गर्ने साँस्कृतिक पर्वहरु हुन् ।

नेवारी समाजमा महिला र पुरुषबीचको बिभेद रहन्न । बेल विबाह गरेकी चेली विधवा नहुने प्रचलन छ । यो आफैमा विधवा बिरुद्ध हुने विभेद बिरुद्धको एक स्थापित परम्परा हो । जिवित देवी कुमारीको पुजा गर्ने नेवारी परम्पराले वालिका संरक्षणको सन्देश प्रबाह गर्दछ ।

सेतो मच्छेन्द्रनाथको रथ तान्ने परम्परा पानी र खाद्य सम्प्रभूत्तासंग सम्बन्धित छ । त्यसै पनि यसलाई सहकालको देवता भनिन्छ । मच्छिन्द्र नाथको रथ तान्दा अपनाइने बिशेष विधिले पानी संरक्षणको सन्देश दिन्छ । किन भने उपत्यकामा यही परम्पराका कारण पोखरीको निर्माण भएको हो । यसको लिगो ल्याउनका लागि विशेष काठ हुनु पर्दछ ।  यहाँ बाध्ने डोरी तोकिएको तलाउमा भिजाउनु पर्दछ । यो एक प्रकारले पानीको संरक्षण गर्ने विधि हो ।

उपत्यकामा परम्परा अनुसार नै राजकुलो र हिथि निर्माण भएका थिए । पानीको प्रबाह नटुटाउन राजकुलोहरु निर्माण भएका थिए । अहिले शहरीकरण्का कारण यस्ता कुलो तथा हिथिहरु संकटमा परेका छन् । सम्पदा बचाउ अभियान चलिरहेको छ । यी परम्पराहरु पुनस्थापना हुनु अति आवश्यक छ ।

५.४ अन्य साझा ज्ञानहरु :

प्रकृतिलाई मुख्य रुपमा देवताको रुपमा मान्ने सबै आदिवासी जनजातीहरुमा  अन्न बाली फलेर भित्याउने बेलामा पुजा गर्ने चलन छ । जस्तो राईहरुले उधौली उभौली  तामाङहरुले भुमीपुजा तथा लिम्बुहरुले न्वागी भन्ने गर्दछन् । भूमिको पुजा गर्नु आफैमा कृषि प्रतिको समर्पण र प्रकृतिसंगको नाता राख्नु हो ।

लिम्बु समुदायमा किनीमा बनाउने प्रचलन फरक छ । यो खाद्य परिकार राई लिम्बु तथा किराती समुदायमा लोकप्रिय छ । यस्ले खाद्य सुरक्षालाई सहयोग गर्दछ । यस प्रकारका मौलिक खानपीन सबै आदिवासीमा रहेको हुन्छ ।

जंगलमा रुखमा उम्रने एकप्रकारको झ्याउ हुन्छ जो लिम्बु समुदायको मौलिक खाद्यान्नभित्र पर्छ त्यसलाई व्यावसायीक रुपमा बिस्तार गरे स्थानिय तहमै आर्थीक बिकासमा महत्वपुर्ण टेवा पुग्नेछ । यस्ता कयौं आदिवासी ज्ञान नेपालमा बसोवास गर्ने हरेक जनजाती समुदायबीच  केही न केही  मौलिक ज्ञान र सीप छ जसले दिगो विकासको सन् २०३० कार्यसूचीले प्रस्तुत गरेको खाकालाई  टेवा पुर्याउन महत्वपुर्ण भुमीका खेल्नेछ  ।

आदिवासीको कृषि प्रविधि आफैमा प्राकृतिक र मौलिक छ ।  कृषिका लागि आवश्यक पर्ने विऊ विजन संरक्षण गर्ने आदिवासीको मौलिक रैथाने ज्ञान छ । हिमाली क्षेत्रमा आलुको बिउ कसरी भण्डार गर्ने आफनो तरिका छ । आधुनिक कृषि प्रणालीको कोल्डस्टोर भन्दा भरपर्दो मानिएको आलुको बिउ संरक्षण गर्ने प्रविधि अनुकरणीय छ ।

यसै गरी रैथानेजातको मकैको बिउ, धानको बिउ, तराकारीहरु फर्सी लौका, काक्राका बिउ जोगाउने बिधि आधुनिक कुषि भन्दा उन्नत छ । काक्राको विउ भित्तामा राख्ने त्यस्तै कराङ कुरुङ आकाशमा कराए पछि विउ राख्ने मौलिक चलन आफैमा ज्ञान हो । आदिवासीहरुको ज्ञानमा आधारित संस्कृतिहरु अहिले अतिक्रमणमा परे पनि आदिवासी आफैले संरक्षण गर्दै ल्याएका छन् । त्यसै पनि अहिले जैविक विविधता महासन्धिको पक्ष भए पछि नेपालले कृषि सम्बन्धि रैथाने तथा परम्परागत कृषिको खोजी गर्नु पर्ने बाध्यता आएको छ । परम्परागत प्रविधिको अभिलेखिकरण र सूचिकरण अहिलेको सबैभन्दा चुनौतिको कुरा हो ।

६ हृेलामा छ, आदिवासी ज्ञान

 नेपालमा रहेका आदिवासीहरुको परम्परागत ज्ञान धेरै क्षेत्रमा रहेको छ । आधुनिक राज्यको प्रारम्भ गर्न भन्दा अगाडि देखि नै जीविकोपार्जन गर्ने क्रममा सिकेका हजारौ ज्ञानहरु अहिलेको सन्दर्भमा पनि त्यतिकै सान्दर्भिक छ । तर पनि ती ज्ञानहरु विविभन्न कारणले हेलामा परेका छन् । यसरी हेलामा पर्नुका कारणमा पहिलो पश्चिमी प्रभाव, दोस्रो नश्लवादी सोच र तेस्रो विभेदपूर्ण संरचना हुन् ।

माथि चर्चा भए अनुसार आदिवासी ज्ञानमा आधारित बन जंगल संरक्षण गर्ने आफनो परम्परा छ । खाद्य सुरक्षा, स्वास्थ्य उपचार, जलको संरक्षण प्रकृतिमैत्री व्यबहार र कृषिका आफनै प्रविधि छन् । तर ति ज्ञानहरु राज्यका नीतिहरु र कतिपय सन्दर्भमा आदिवासी समुदायर्क वेवास्थाका कारण ओझलमा परेका छन् ।

आदिवासीको मानव अधिकार सम्बन्धि वकिल समूह –लाहुर्निप)को अध्ययनमा आदिवासीलाई विभेद बनाउने संविधान र कानूनहरु छन् ।[xv] राष्टिय मानव अधिकार आयोगले गरेको सिफारिसमा पनि आदिवासीहरुको मानव अधिकार हनन् भएको पुष्टि गर्दछ । आयोगले आदिवासीलार्य आफनो भूीम, बन तथा ज्ञानहरुको प्रयोग गर्न २०७५ सालमा नेपाल सरकारलाई सिफरिस गरेकबो १३ बुँदे सिफरिस उल्लेख्य छ ।[xvi] त्यसै गरी नीति निर्माण तहमा आदिवासी र आदिवासी महलिाको सहभागिता पनि अर्को समस्याका रुपमा रहेको छ । सहभागिताको कुरा गर्दा आदिवासी महलिाहरुको अवस्था दयनीय छ ।

७ निश्कर्ष तथा सुझाव

दिगो बिकासको लक्ष्य र परम्परागत आदिवासी ज्ञान र भाषा बीचको अन्तर सम्बन्ध रहेको हुन्छ । आदिवासी ज्ञानले वाताबरण रक्षा, लैंगिक समानताका लागि  भावी पुस्तहरुको लागि विशेष सन्देश दिन्छ । 

भाषाले कुनै पनि ज्ञानलाई  समेट्ने तथा  त्यसलाई एक पुस्ताबाट अर्को पुस्तामा  सार्ने काम गर्छ ।  भाषा मार्फत एक पुस्तादेखि अर्को पुस्तामा सर्दे आएको लोक तथा स्थानीय ज्ञानले सदियौ देखि काम गर्दै आएको छ । यस्तो ज्ञानको आदनप्रदान गर्ने गर्दा अर्को समुदायलाई अनुपम र उपयोगी हुन सक्छ ।

आदिवासी ज्ञान गाँस, बास र कपासको लागि चाहिने श्रोत मात्र हा्इन  भविष्यको लागि श्रोत बँचाउने तथा सम्बर्धन गर्ने माध्यम पनि हो । जसले गर्दा दिगो बिकासको लक्ष्यको १२ नम्बरमा रहेको उत्तरदायी उपभोग तथा उत्पादनलाई सहयोग गर्छ । यसले भोकमारी हुन दिदैन श्रोतको सही उपयोग गर्दा गरिबी बढ्दैन साथै बाताबरण स्वच्छ रहने हुनाले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्दैन  पानीको मुहान यथावत रहने साथै श्रोत प्रदुषित हुन नपाउने हुनाले स्वच्छ पिउने पानीको निर्मलता रहीरहन्छ । यसले पर्याबरण सन्तुलित राख्ने हुनाले पानी र जमीन दुवैमा बस्ने जीवजन्तुको अस्तीत्वलाई खतरामा पार्दैन । आदिवासीको ज्ञान र शिप प्रकृतिलाई दोहोन गर्ने भन्दा पनि एक अर्काको सारथी गर्ने खालको हुन्छ ।

आदिवासीको ज्ञान प्रकृतिलाई बचाउने खालको हुन्छ । प्रकृति सन्तुलनमा रहे जलवायु परिवर्तन हुदैन । प्रकृतिको चक्र खलबलिएन भने  मानिसको जीवन पनि सुरक्षीत  रहन्छ  ।

मानिसको जीवन सहज र समृद्ध होस भन्नु नै दिगो बिकासको लक्ष्यको सार हो जुन कुरामा आदिवासीको ज्ञान र सिप केन्द्रीत छ । दिगो विकास लक्ष्य नेपालको संविधानमा व्यवस्था गरिएका नागरिकका मौलिक हकका साथै देशलाई समुन्नत तथा मध्यम आय भएको मुलुकमा २०३० सम्ममा परिणत गर्ने देशको मार्गचित्र  हो । नेपालले दिगो विकास लक्ष्यलाई मुलुकको आर्थिक सामाजिक र पर्यावरणीय परिवेशअनुसार कार्यान्वयनमा ल्याउँदै चौधौं योजनादेखि नै आन्तरिकीकरण गर्न शुरु गरेको हो। राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य पूरा गर्न तथा कार्यान्वयन गरी हासिल गर्न पन्ध्रौं योजनामा आन्तरिकीकरण र तादात्म्यता मिलाउने कार्य गरिसकेको छ । पन्ध्रौं योजनाले दिगो विकासको सन्दर्भमा राष्ट्रिय विकासका आकांक्षा निर्धारण गरेको छ । यसका सफल कार्यन्वयनका लागि भाषामा बाचेको, आदिवासी महिलाले बचाएको ज्ञान र सीपलाई प्रबद्र्धन गरिनु पर्दछ । यसका लागि केही सुझावहरु यहाँ प्रस्तुत गरिएको छ ।

  • परम्परागत आदिवासी ज्ञानले मान्यता पाउने गरी संघ, प्रदेश र स्थानीय सरकारले आफ्ना नीति तथा कार्यक्रम र कानूनी दस्तावेजहरुमा समेट्नु पर्दछ ।
  • आदिवासी ज्ञानको अभिलेखिकरण गर्न अनुसन्धान तथा वैज्ञानिक खोज गरिनु पर्दछ ।
  • आदिवासीको परम्परागत प्रथाजनित संस्थाहरु जस्तो थारुको बरघर ( कतै कतै बरघरलाई भल्मन्सा पनि भनिन्छ भने पूर्बतिरका थारुहरुले माइन्जन परम्परा अपनायछन् ।  ह्योल्मो ह्यलुठिम, तामाङको चोहो प्रणाली आदिलाई मान्यता दिने काम गर्नु पर्दछ ।
  • आदिवासी ज्ञानको असल अभ्यासलाई दीगो विकास लक्ष्यसग जोड्नका लागि सचेतना,तथा जनचेतनामूलक कार्यक्रमहरु गरिनु पर्दछ ।
  • लैंगिक समतामूलक आदिवासी समाजको प्रचलनलाई अनुकरण र हानीकारक प्रथा परम्पराहरु[xvii] निरुत्साहित गर्ने वातावरणको विकास गरिनु पर्दछ ।
  • नीति निर्माणको सबै निर्णायक तहमा आदिवासी र आदिवासी महिलाको अर्थपुर्ण सहभागितामूलक प्रतिनिधीत्वको व्यबस्था गरिनु पर्दछ ।
  • नेपाल पक्ष रहेका अन्तराष्ट्रिय कानूनहरुको कार्यन्वयन गरिनु पर्दछ ।
  • आदिवासी मिडियाको बेग्लै सूचिकरण र मान्यता दिने गरी कानुनी व्यबस्था हुनु पर्छ ।
  • आदिवासी ज्ञानको बौद्धिक सम्पत्तिको अधिकार सुरक्षित गर्न र अनुबंशिक स्रोतको पहुँच स्थापीत गर्न कानून निर्माण गर्नु पर्दछ ।
  • आदिवासी ज्ञानलाई निषेध गर्ने प्रकारका कानूनहरु  संशोधन गरिनु पर्दछ ।
  • आदिवासी महिलाको भूमि अधिकार सुरक्षित बनाउने काम गरिनु पर्दछ ।

सन्दर्भ सामाग्रीहरु

  • आचार्य, डा. पुष्पराज आचार्य २०७२) चेपाङ, चिउरी र चमेरा काठमाडौ :  प्रकृतिका साथीहरु ।
  • नेपाल सरकार (२०७२) नेपालको संविधान, काठमाडौ, कानून किताव व्यबस्था समिति ।
  • तामाङ, अजितमान (२०७०) तामाङ जाति : काठमाडौ : आजराप्र
  • नेपाल सरकार (२०५८), आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन, काठमाडौः कानून किताव व्यबस्था समिति
  • नेपाल आदिवासी जनजाति महलिा महासंघ(निफ), राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ र आदिवासी महिला कानूनी सचेतना समूहको सामुहिक छाया प्रतिबेदन (२०७५)
  • आदिवासीको अधिकार सम्बन्धि वकील समूह, लाहुर्निप (१०७३) नेपालको संविधानको विश्लेषण , काडमाडौ ।
  • राष्टिय मानव अधिकार आयोग (२०७५), महासन्धि १६९ कार्यन्वयनको अवस्था, ललितपुर, रा.मा.आ । 

[i] आदिवासी जनजातिको सूचिकरणमा ५९ आदिवासी जनजाति भए पनि राना थारुलाई थप गरे पछि ६० पुगेको हो । अन्तराष्टिय कानून र नेपालको कानूनले आदिवासी जनजातिको बेग्लै परिभाषा गर्दै आफनो भाषा, संस्कृति, ऐतिहासिक थातथलो भएका जातिलाई आदिवासी भनेको छ ,।

[ii] नेपाल आदिवासी जनजाति महासंघ, संघीइ परिषदको निर्णय २०५८ फागून १८ गते

[iii] नेपालको जनगणना २०६८ (यो भन्दा १० वर्षपछिको जनगणना आएको पनि थप एक दशक भइसक्यो । तसर्थ सबैभन्दा पछिल्लो जनगणनाको तथ्यांक उल्लेख गर्नुपर्ला ।

[iv] हेनुंहोस नेपालकनो मानव विकास प्रतिवेदन (२००४) राष्टिय योजना आयोग र यसनडिपी

[v] नेपाल आदिवासी जनजाति महलिा महासंघ(निफ), राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ र आदिवासी महिला कानूनी सचेतना समूहको सामुहिक छाया प्रतिबेदन (२०७५)

[vi] पन्ध्रौ योजना , राष्टिय योजना आयोग ।

[vii]  दीगो विकास लक्ष, स्थानीयकरण स्रोत पुस्तिका , राष्टिय योजना आयोग (२०७७)

[viii]   ऐ. ऐ.

[ix] भाषा आयोगको वार्षिक प्रतिबेदन (२०७६)

[x] आदिवासी अधिकारकर्मी यशोकान्ति भट्टचनसंग गरिएको कुराकानीका आधारमा ।

[xi] https://americanindian.si.edu/nk360

[xii] डा. पुष्पराज आचार्य चेपाङ, चिउरी र चमेरा( २०७२) प्रकृतिका साथीहरु ।

[xiii] तामाङ, अजितमान (२०७०) तामाङ जाति : काठमाडौ : आजराप्र

[xiv] अमृत योन्जन तामाङसंगको कुराकानी

[xv]  नेपालको संविधानको विश्लेषण (२०७३) लाहुर्निप

[xvi] महासन्धि १६९ कार्यन्वयनको अवस्था, राष्टिय मानव अधिकार आयोग (२०७५)

[xvii]   सबै जातिका हानीकारक प्रथा र मरम्परा हुन्छ । जस्तो छाउपडि हानीकारक प्रथा हो भने बौद्ध धर्ममा माइली छोरीलाई आनी वा झुमा बनाउने परम्परा पनि हानीकारक परम्परा हो । यसरी नै उपचारका नाममा बली दिने, धामी झाक्री लगाउने परम्परा पनि हानीकरक परम्पराहरु हुन् । यस्ता परम्पराहरु मानवअधिकारको बिरुद्धमा भएमा प्रयोग गर्न नसकिने अन्तराष्टिय कानूनमा उल्लेख छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook