जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा आदिवासी ज्ञान

सोमबार १४ आषाढ, २०७८   |   आदिवासी ज्ञान

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा आदिवासी ज्ञान

पृष्ठभूमि

विश्वव्यापी चुनौतिका रुपमा देखिएको जलवायु परिवर्तनको असरबाट हुन सक्ने जोखिम न्युन गर्ने उपायको खोजी भईरहँदा परम्परागत आदिवासी ज्ञानको प्रबद्र्धन एक विकल्प सतहमा आएको छ । मूलतः  आदिवासीहरूले अभ्यास गर्ने गरेको प्रकृतिक स्रोत व्यबस्थापन, परम्परागत कृषि प्रविधि, औषधि उपचारको विधि लगायतका जिविकोपार्जनको परम्परागत साँस्कृतिक रहनसहन र जीवनशैली जलवायु परिवर्तनको संभावित जोखिम न्युनिकरण गर्न सहायक हुने देखिएको हुँदा आदिवासी ज्ञानको खोजी हुन थालेको हो । नेपालले समेत अनुमोदन गरि सकेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि–१९९२, पेरिस सम्झौता २०१५ लगायतका अन्तराष्ट्रिय सन्धि र महासन्धीहरूमा  आदिवासीहरू ज्ञान तथा अभ्यासको प्रसंग उल्लेख भए पछि परम्परागत आदिवासी ज्ञान, सीप तथा प्रकृतिमैत्री व्यबहारका बिषयहरू आम बहस र छलफलको एजेन्डा बन्न पुगेका छन् ।

वायुमण्डलीय तापक्रममा भएको तिब्रतर बृद्धि र त्यसबाट सिर्जित अतिबृष्टि, अनाबृष्टि, खडेरी जस्ता जलवायुजन्य प्रकोप नै जलवायु परिवर्तनका सूचक हुन् ।  यसबाट नेपालका हिमश्रृंखला र हिमनदीहरू एबम तिनीहरूमा आश्रित परिस्थितिकीय प्रणालीहरूमा प्रतिकूल प्रभाव परिरहेका छन् । तीव्र गतिमा हिमगलन हुँदै जानाले हिमतालहरूको आकार बढिरहेको छ भने हिमतालहरू फुट्ने खतरा बढदै गएको छ ।  जलवायु परिबर्तनका नकारात्मक असरहरू बन तथा जैविक विविधता, उर्जा, मानव स्वास्थ्य, पर्यटन, बसोबास, पूर्वाधार विकास लगायत जिविवकोपार्जनसंग सम्बन्धित क्षेत्रहरू प्रत्यक्षत महसुुस  हुने गरी  प्रभावित भएका छन् । यो स्थितिलाई काबुमा ल्याउनका लागि जलवायु परिबर्तनका असरहरूको जोखिम न्युनिकरण गर्दै उत्थानशील समाजको निर्माण गर्न आवश्यक छ । यसका लागि न्युन कार्वन उत्र्सजन विकासको अवधारणा अवलम्बन गरी हरित अर्थतन्त्रको परिकल्पना राज्यले गरेको छ । नेपाल सरकारले २०७६ सालमा राष्ट्रिय जलवायु परिबर्तन  नीति जारी गरी रणनीति तथा कार्यनीतिहरू बनाएको छ । यस नीतिको महत्वपूर्ण पक्ष अन्य विषयका अतिरिक्त परम्परागत ज्ञान, सीप र अभ्यासको अभिलेखीकरण र विस्तार पनि एक हो ।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मुलकको सरदभित्र बसोबास गरिरहेका आदिवासीहरूका प्रकृतिमैत्री व्यबहार, जिविका सञ्चालन गर्ने तरिका तथा अभ्यासहरू उत्थानशील समाज निर्माणका लागि थप सहयोगी औजार बन्न सक्ने छ । खास गरेर आदिवासीहरूको प्रथा, परपरा र साँस्कृतिक चालचलनहरूले जैविक विविधतालाई संरक्षण गर्ने तौर तरिकाको अभ्यासलाई उजार गर्न जरुरी छ ।  यसैकारण यो आलेख तयार गरिएको छ ।

जलवायु परिवर्तन  आदिवासी ज्ञान

२.१. बागमती प्रदेशका आदिवासीहरू

बागमती प्रदेशको सबै भन्दा धेरै जनसंख्या तामाङको रहेको छ । २०६८को जनगणना अनुसार बागमती प्रदेशको कुलजनसंख्यामा तामाङको जनसंख्या २०.४२ प्रतिहत छ । पहाडी ब्राम्हण १८.२८, क्षेत्री १७.२८ रहेको प्रदेशमा नेवारको जनसंख्या १६.९३ प्रतिशत देखिन्छ । अन्य १०४ जातजातिको जनसंख्या १ प्रतिशत भन्दा कम रहेको छ ।

नेपाल सरकारले सूचिकृत गरेका आदिवासी जनजातिमा बागमती प्रदेशमा सबै भन्दा धेरै जनसंख्या भएको तामाङ समुदाय हो  । बाग्मती प्रदेशका १३ वटै जिल्लामा तामाङ जातिको उपस्थिति छ । यस पछि नेवार आदिवासीको जनसंख्या अधिक पाइन्छ भने मगर आदिवासी बाग्मती प्रदेशको तेस्रो ठूलो जनसंख्या भएको आदिवासी जनजाति हो । मातृ भाषाका हिसावले नेपाली भाषा पछि क्रमशः तामाङ, नेवारी, मगर, थारू र चेपाङ भाषाका बक्ता धेरै छन् ।

वाग्मती प्रदेशका १३ जिल्लामा आदिवासी जनजातिको उपस्थिति पाईन्छ । हरेक जिल्लामा  न्युनतम  ११ देखि  अधिकतम ५६ आदिवासीहरूको उपस्थिति छ । तथापि आदिवासीका सन्दर्भमा परम्परागत थातथलो, ऐतिहासिक वासास्थानको निरन्तरता, प्रथा, परम्परा र जिविकोपार्जनको अभ्यासका आधारमा आदिवासीहरूको मूलबसोबास पहिचान गर्ने गरिएकाले बाग्मती प्रदेशका आदिवासीहरूमा केही सिमित आदिवासीहरूलाई मात्र सम्बोधन गर्ने परिपाटी छ ।

आदिवासीको जनसंख्याका आधारमा तामाङ, नेवार र मगरको सघन उपस्थिति छ । यसबाहेक मूल थातथलो भएका आदिवासीहरू सिमित छन् (हेर्नुहोस तालिका )

तालिका वाग्मती प्रदेशका आदिवासीहरूको वर्गिकरण

  • मूल थातथलो भएर सघन बसोबास भएका आदिवासी जनजाति  तामाङ र नेवार
  • सघन बसोबास भएका आदिवासी जनजातिहरुः मगर, गुरुङ
  • मूल थातथलो भएका तर अल्पसंख्यक रहेका आदिवासीहरू  सुनुवार, हायु, जिरेल, थामी, सुरेल,  दनुवार, माझी, पहरी,  चेपाङ,  शेर्पा,  ह्योल्मो, थारू, बोटे,  दराई, कुमाल ।
  • बसाईसराई वा अन्य पेशा वा व्यबसायमा रहेका आदिवासी  राई, याक्खा, दुरा, ताजपुरिया, बराम, छन्त्याल, घर्ती भूजेल, झाँगड, ल्होमी, डोल्पो, लेप्चा, तोप्केगोला, व्याँसी सौका, गनगाई,  आठपहरिया, वालुग, पत्थरकटठा, कुसुन्डा,  लिम्बू ।

 स्रोत  केन्द्रीय तथ्यांक विभाग, राष्ट्रिय जनगणना २०६८

नेपालमा सूचीकृत ६० आदिवासी जनजाति छन् । उनीहरूको कूल जनसंख्या ९२,६७,८७० अर्थात ३४=९७ प्रतिशत रहेको छ । तर मानव विकास सूचांक (साक्षरता, आवास, भूमिको स्वामित्व, व्यबशाय, शैक्षिकस्तरका आधारमा) फरक फरक आदिवासी जनजातिहरूको अवस्था फरक रहेको छ ।[i] यो बर्गिकरण संगै प्रादेशिक योजना तथा विकासका लागि थातथलो भएका र बसाई सरेर आएका आदिवासीको पहिचान पनि गर्नू पर्ने हुन्छ । नेपालको संविधानको विभिन्न धाराहरूमा आदिवासी र आदिवासी जनजाति फरक फरक रुपमा प्रस्तुत भएको छ । यसको अर्थ आदिवासी मात्र भनिएकाहरू थातथलोसंग सम्बन्धित हुन्छन् भने आदिवासी जनजाति थातथलो नभएका पनि हुन्छन् । उदाहरणका लागि लिम्बू जातिको मूल थातथलो प्रदेश नम्बर १ हो  । उनीहरू त्यहाँका लागि आदिवासी हुन् भने बसाईसराई वा अन्य पेशा व्यबसायका लागि काठमाडौ वा अन्य प्रदेशमा बसोबास गर्छन् भने आदिवासी जनजाति हुन पुग्छन् । यस आधारमा यहाँ (तालिका )  मूल थातथलो भएका, नभएका वा सघन जनसंख्या भएका, बसाईसराई गरेर आएका आदिवासी, आदिवासी जनजातिको सूचि दिइएकोछ ।  

बाग्मती प्रदेशका १३ जिल्लामा नै सबै  सूचिकृत आदिवासी जनजातिहरूको उपस्थिति रहेको भए पनि मूल थातथलो भएका सिमित जाति मात्र यहाँ छन् । जनसंख्याको दृष्टिकोणले तामाङ, नेवार र मगरको जनसंख्या सघन छ । त्यसरी नै  अल्पसंख्यक, लोपोन्मूख आदिवासीहरूको उपस्थिति  पनि त्यतिकै छ ।[ii]

बाग्मती प्रदेशका अल्पसंख्यक आदिवासीहरूमा सुनुवार, हायू, सुरेल, थामी, पहरी, शेर्पा, जिरेल, माझी, ह्योल्मो, हायु,  दनुवार, चेपाङ, थारू आदि रहेका छन् ।  आदिवासी जनजाति आफैमा विविधता भएको समुदाय हो । यस्तो विविधता सबै जिल्लामा पाइन्छ । यस्तो विविधता काठमाडौ जिल्ला र ललितपुरको जनसाख्यिक वनावटमा हेर्न सकिन्छ । तर परम्परागत थातथलोका दृष्टिकोणले दोलखा र सिन्धुपाल्चोक अरु मिश्रित जातजातिको उपस्थिति रहेको जिल्ला पाउन सकिन्छ । काठमाडौ र ललितपुर र भक्तपुर जिल्लाका मूल आदिवासी नेवार र तामाङ हुन् । शहरी क्षेत्रमा नेवारको उपस्थिति छ भने उपत्यकाका वरीपरी तामाङबस्ती पाइन्छ ।  ललितपुरमा मात्र मूल थातथलो भएका पहरी आदिवासी जातीय विविधता बीचको सौन्दर्य हो । पहरीहरूको परम्परागत पेशा तथा व्यबसाय र उनीहरूको मान्यताहरू अन्य आदिवासीको भन्दा फरक छ ।

अर्को जातीय विविधता भएको दोलखामा मूख्य गरी तामाङ र नेवारको जनसंख्या अधिक भए पनि लोपोन्मूख अल्पसंख्यक समुदायका रुपमा जिरेल, सुरेल, थामी, शेर्पा र माझीको मूख्य बसोबास छ । यस्तै सिन्धुपाल्चोकमा पनि अल्पसंख्यक जातिमा ह्योल्मो, शेर्पा, दनुवार र माझी बसोबास गर्छन् । सिन्धुली र रामेछापमा लापोन्मूख हायु आदिवासीको उपस्थिति विशेष छ भने दनुवार आदिवासी सिन्धुली र काभ्रेको पाँचखाल क्षेत्रमा मात्र बसोबास गर्ने आदिवासी हुन् । बाग्मती प्रदेशमा मात्र उपलव्ध हुने चेपाङ आदिवासी मूख्यगरी मकावानपुर, चितवन र धादिङमा बसोबास गर्छन् । केही चेपाङहरूको बसोबास तनहुको बन्दीपुर नगरपालिका भित्र पनि छ । रामेछाप र ओखलढुंगामा मूख्य बसोबास गर्ने सुनुवार (कोँइच)हरू अन्य जिल्लामा पनि देखिन्छ । थारूहरूको उपस्थिति चितवनमा मात्र छ । माझीहरू मूलतः खोलाकिनारमा पुख्र्यौली बसोबास गर्ने हुदा सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक भएर बग्ने तामाकोशी, दुधकोशी, भोटेकोशी, लिखु, इन्द्रावती नदी किनाराहरूमा बसोबास भएको पाइन्छ । अर्को नदी तथा जलधारसंग सम्बन्ध भएका वोटेहरू चितवनमा मात्र उपलव्त्र छन् ।  उनीहरू राप्ती नदी किनारामा बसोबास गर्छन् । बसाईसराई तथा अन्य व्यबसाय र पेशामा सम्लग्न भएर उपस्थिति जनाउने सूचिकृत आदिवासीहरूको संख्या पनि त्यतिकै छ । यस्तो आदिवासीहरू गुरुङ, राई, लिम्बू आदि हुन् । सबै जिल्लामा यो समुदाय पुगेका छन् ।

 २. आदिवासी ज्ञानको परिचय

आदिवासी ज्ञान मानव समुदायको लामो समय देखिको अभ्यास र अनुभवको निरन्तरता हो । यसलाई परम्परागत ज्ञान र  कसैकसैले स्थानीय ज्ञान पनि भन्ने गर्दछन् । आदिवासी ज्ञान जातिको साझा इतिहास, आफनै भौगोलिक क्षेत्रको परम्परागत भूमि र भू–क्षेत्र भित्रको साझा संस्कृति र अभ्याससंग सम्बन्धित हुन्छ । यस्तो ज्ञान मातृ भाषाको प्रयोगका कारण जिवित रहेको हुन्छ । आदिवासी अभियन्ता डा कुन्साङ लामाका अनुसार जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्था जिवित रहन्छ, त्यहाँ त्यहाँ आदिवासी ज्ञान जिवित रहन सम्भव हुन्छ ।[iii] 

आदिवासी ज्ञान मूलतः मौखिक परम्परामा आधारित हुन्छ । आदिवासी ज्ञानको लिखित दस्तावेज उपलव्ध हुँदेन । यसकारण आदिवासी ज्ञानहरू केही रुपमा संस्कृतिका रुपमा र कतै लोककथा, किम्बदन्तीका रुपमा बाँचेका हुन्छन् । कतै गीत तथा नाचहरूमा पनि यस्तो ज्ञान  अभिव्यक्त हुन्छ । केही आदिवासीहरूमा चित्रकला, मुर्तीकला एबम् धार्मिक संस्कारहरूमा पनि आदिवासी ज्ञान देख्न सकिन्छ । 

आदिवासी ज्ञान सिर्जना वा आविस्कारबाट प्रारम्भ भएको नभै अभ्यास र अनुभवबाट खाँरिदै परिस्कृत हुँदै आएको हुँदा यसको स्वामित्व र प्रचलन सामुहिक हुन्छ । आदिवासी ज्ञानको प्रारम्भ मिती वा सुरुवाती समय हुँदैन । यसको प्रचलन र प्रयोग सामुहिक हुने भएको हुँदा यस्तो ज्ञानको श्रेय पुर्खालाई दिइन्छ । यस्तो अभ्यास केही स्थानमा आध्यात्मीक आस्था र विश्वासका आधारमा रहेको हुन्छ ।

आदिवासी ज्ञानलाई पश्चिमा संसारमा नेटिभ्स साइन्सका नामले पनि सम्बोधन गरिन्छ । अमेरिका स्थित नेटिभ्स नेशन इन्स्ट्रिच्यूडका संस्थापकमध्ये एक  ग्रेगोरी क्याजेटले ‘नेटिभ्स साइन्स’ शव्दको प्रयोग गरेका थिए । उनको कथन अनुसार प्राकृतिक संसारमा रहेका आदिवासीहरूको मानवीय अनुभव, बिचार, अनुभवबाट  नेटिभ्स साइन्सको विकास भएको हो । यो रुढ विचार वा अन्धविश्वास भन्दा पनि यसमा विज्ञान रहेको हुन्छ र यो विज्ञान मानव समुदायको सहयोगी हुन्छ ।  जुन भूमिमा उनीहरू जन्मे, बढे र प्रकृतिसंग आत्मसात गरे, त्यही भूमि र प्रकृतिको देन नै आदिवासी ज्ञान हो भन्ने उनको व्याख्या छ । 

आदिवासी ज्ञान आदिवासी समाजको साँस्कृतिक मूल्य र मान्यतासंग जोडिएको हुन्छ । जहाँ जीवन निर्बाहका जटिलता बिरुद्ध सहज निकाशको बाटो खोलिएको हुन्छ । उदाहरणका लागि हातहतियारहरू, शिकार खेल्ने साधानहरूलाई लिन सकिन्छ । कृषिसंग सम्बन्धी अनेको प्रविधिहरू छन् । कृषिसंग सम्बन्धीत बिउको संरक्षण गर्ने प्रविधिहरू छन् । कुन मौसममा  कुन बाली लगाउने भन्ने ज्ञान उनीहरूसंग छ ।

आदिवासी ज्ञान बहुआयामिक हुन्छ । प्रकृति, वातावरणमैत्री हुन्छ । आधुनिक चिकित्सा पद्धतिमा प्रयोग हुने जडिबुटी र खनिज पदार्थको स्रोत  आदिवासी ज्ञानलाई मान्ने गरिएको छ । हालको जस्तो आधुनिक स्वास्थ्य उपचारको क्षेत्रमा  विभिन्न प्रविधिहरूको आविश्कार नहुँदै आदिवासीहरूले रोगका उपचार गर्ने ज्ञानको अभ्यास गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ ।

नेपालमा नेपाल सरकारले सूचीकरण गरेका ६०[iv] सबै आदिवासी जनजातिका े आ–आफनो मातृभाषा प्रयोगमा छन् ।[v]  ती सबै भाषा र आदिवासीका आफना प्रथा, परम्पराका आधारमा ज्ञान प्रचलनमा हुन्छ । खासगरेर प्राकृतिक स्रोतको संरक्षण तथा बन जंगल, पानीका स्रोतहरूको जगेर्ना गर्ने जुक्ति आदिवासी ज्ञानको महत्वपूर्ण विशेषता हो ।

२.३.१ आदिवासी ज्ञान जलवायु परिबर्तन बीचको अन्तरसम्बन्ध 

आदिवासी जनजातिको जीवनशैली परम्परागत र प्रकृतिमैत्री हुन्छ । उनीहरूको जीविकोपार्जन  प्राकृतिक स्रोतमा निर्भर हुन्छन् । त्यही सेरोफेरोमा गरिएको सकारात्मक अभ्यासहरू आदिवासी ज्ञान हुन् । त्यसरी नै जलवायु परिवर्तन बन जंगलको बडदो विनास, बढदो औधोगिक गतिबिधि लगायतबाट उत्पन्न वातावरणीय प्रभावका कारण ्वायुमण्डलीय तापक्रममा भएकाृ तिब्रतर वृद्धिबाट हुने गर्दछ । आदिवासीको रहनसहन र जीवनशैलीले सबैभन्दा कम कार्बन उत्र्सन गर्ने आदिवासी जनजाति भए पनि जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित आदिवासी नै रहेका छन् किनभने उच्च हिमाली भेगमा बस्ने देखि खोला किनारा र वनजंगल छेउमा वसोवास गर्ने पनि आदिवासी नै हुन् । यसैले आदिवासी जनजातिहरूले युगौ देखि अभ्यास गर्दै आएका प्रथाजनित कानून र परम्परागत अभ्यासबाट बनजंगल र अन्य प्राकृतिक स्रोतको दीगो संरक्षण र व्यबस्थापन गर्ने ज्ञानलाई जलवायु न्युनिकरण गर्ने वा अनुकूलन गर्ने अभियानसंग जोड्न सके विश्व समाजलाई नै ठूलो योगदान हुन सक्छ ।

आदिवासी जनजाति र प्राकृतिक स्रोतबीच अन्योन्याश्रित, बहुआयामिक र विशिष्ट सम्बन्ध रहेकै कारण जलवायु परिवर्तनका सवालमा अन्तराष्टिय कानूनहरूले आदिवासी ज्ञानलाई महत्व दिएको पाइन्छ । विभिन्न देशहरूले आफनो देशको संविधान तथा कानूनमा नै प्राकृतिक स्रोतमा आदिवासी जनजातिको अधिकारले मान्यता दिएको देखिन्छ । हाम्रो देशको मूल कानून संविधानमा पनि आदिवासी जनजाति र आदिवासी ज्ञानलाई सम्बोधन गरिएको छ ।[vi] 

नेपालले अन्तराष्टिय कानूनहरू खास गरेर अन्तराष्टिय श्रम संगठन महासन्धि नम्बर १६९ (आइएलओ १६९ं) अनुमोदन गरेको छ । त्यसै गरी आदिवासी जनजाति अधिकार सम्बन्धि संयुक्त राष्टसंघीय घोषणा पत्र २००७ को पक्ष राष्ट नेपाल बनेको छ । त्यसैगरी जैविक विविधतासम्बन्धी महासन्धी, १९९२, सिमसार सम्बन्धी महासन्धि १९७१, विश्व सम्पदा महासन्धि १९७२, सङ्कटापन्न जंगली वनस्पति तथा जीवजन्तुका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) १९७३, र मरुभूमीकरण विरुद्धको महासन्धि १९९४, नागायो अभिसन्धि  अनुमोदन गरेको छ ।  यी महासन्धिहरू कार्यन्वयन गरेर आदिवासी जनजातिका अधिकार र उनीहरूको सिर्जना एबम संरक्षण गरेको ज्ञानको प्रबद्र्धन र संरक्षण गर्नु पर्ने दायित्व राज्यको हो । जलवायु परिवर्तनकै मुद्धामा पनि नेपालले अनुमोदन गरेको जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता २०१५ को प्रस्तावनामै आदिवासी जनजातिको अधिकार उल्लेख छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि १९८९ र  महासन्धि खाकाको कानकुन सम्झौता २०१० मा  आदिवासी जनजातिको पूर्ण र प्रभावकारी सहभागिता र सामुहिक अधिकार उल्लेख गरिएको छ  ।

यी अन्तराष्टिय कानून र नेपालको संविधान अनुसार परम्परागत आदिवासी ज्ञान, सीप तथा उनीहरूको प्रथा र परम्परालाई मान्यता दिने गर्ने राज्यका नीति तथा कानूनहरू भने त्यति उदार देखिन्न । संघीय तहमा हेर्ने हो भने आदिवासी ज्ञान तथा प्रथा परम्परा र सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता र केही नीतिहरू बने पनि कार्यन्वयन पक्ष अत्यन्तै फितलो छ । 

२.४ आदिवासी जनजातिका जलवायु परिवर्तको असर न्युनिकरण अनुकूलन सम्बन्धी केही ज्ञानहरू

आदिवासी जनजाति समुदाय मौलिक रुपमा वन जंगल, जल र भूमिसंग सम्बन्ध भएका समुदाय हुन् । आदिवासीहरूले युगौँदेखि वन जंगल तथा प्रकृतिको संरक्षण गर्ने प्रथा र परम्परालाई निरन्तरता दिँदै आएका छन् । यसकारण उनीहरूको अभ्यासबाट विद्यमान विकासका चुनौतिहरू मूख्य गरी जलवायु परिवर्तनका असर न्युनिकरण गर्न सहयोग गरेको हुन्छ । यस्तो ज्ञान संरक्षण गर्ने परम्परागत प्रथाजनित संस्था, आध्यात्मिक विश्वास, परम्परागत साँस्कृतिक पक्ष हेर्न पर्ने हुन्छ ।

परम्परागत प्रथाजनित संस्था आदिवासी ज्ञानको अभ्यास गराउने सार्वभौम निकाय हो । कुनैबेला स्वायत्त शासकीय अभ्यास गरिरहेको अवस्था देखि कै निरन्तरताका रुपमा यो प्रथा कायम छ । यस्तो प्रथाजनित संस्था नेपालमा मात्र होइन, विश्भरकै आदिवासीको हुन्छ । संयुक्त राष्ट्रसंघका विशेष समाधीक्षक होजे मार्टिनेज कोवोका अनुसार आदिवासी ज्ञान, प्रथा र परम्परा आदिवासीकै पहिचानको एक अभिन्न अवयब हो ।[vii]  प्रथाजनति संस्थाले  परम्परालाई निरन्तरता दिनका लागि आन्तरिक कानून निर्माण गर्ने गर्दछ । जसलाई प्रथाजनित कानून भनिन्छ । उदाहरणका लागि थारू समुदायमा प्रचलित बरघर, भलमन्सालाई लिन सकिन्छ । मुस्ताङतिर थकालीको घम्प (मुखिया) प्रणाली प्रचलित छ । त्यसै गरी तामाङहरूको चोहो प्रणाली, शेर्पाको नावा प्रणाली, सन्थालहरूको माजीवारङ,  माझीहरूको मझेसेवालगायतका प्रणाली हुन्छन् । यस्ता प्रथाजनित संस्थाहरू अधिकारसम्पन्न र समुदायको हीतमा समर्पित हुन्छन् । प्रथाजनित संस्था छनौट गर्ने परम्परागत विधि हुन्छ । यो विधि लोकतान्त्रिक, न्यायपूर्ण र सामुहिक अधिकारको आधारमा हुन्छ । अहिले विविध कारणले यस्ता परम्परागत संस्थाको अस्तित्व क्रमशः लोप हुँदै गएको भए पनि केही आदिवासीहरूयस्तो अभ्यास गरिरहेका छन् ।  उदाहरणका लागि– सिन्धुपाल्चोकका ह्योल्मोहरूको प्रथाजनित संस्था ह्युलठीमलाई लिन सकिन्छ । हेलम्बु क्षेत्रमा बसोबास गर्ने ह्योल्मोहरू विभिन्न पेशा र व्यबशायका लागि हेलम्बू बाहिर बसे पनि ह्युलठीमको क्रियाशिलताका कारण ह्योल्मो परम्परा, संस्कृति सुंरक्षित र संरक्षित छ । ह्युलठीमले बनको सुरक्षा गर्ने, प्रकृतिको विनासबाट रोक्ने अनेक क्रियाकलापहरू सञ्चालन गरिरहेको हुन्छ ।[viii]   यस्तो संस्थाको मूख्य काम परम्परा जोगाउने काम हो । परम्परा नै आदिवासी ज्ञानको मूख्य स्रोत हो । आदिवासी ज्ञान भाषामा अभिव्यक्त हुन्छ । त्यसैले मातृभाषा, प्रथा, परम्परा र संस्कृति आदिवासीको ज्ञानसंग जोडिएको हुन्छ ।

२.४.१. केही आदिवासीका प्रथा परम्परा ज्ञानहरू

() हेलम्बुको ह्युलठीम  आदिवासी जनजाति ह्योल्मोहरूको प्रथाजनित संस्था ह्लुलठिमले बनजंगलको संरक्षण, जैविक विविधताको संरक्षण तथा परम्परागत अभ्यासलाई समुदायमा निरन्तर अभ्यास गराउने गर्दछ । जैविक विविधता संरक्षणकै लागि हेलम्बु क्षेत्र साकाहारी बनेको छ । त्यहाँ रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा कानूनतः वन्यजन्तुको शिकार गर्न निषेध नै छ । स्थानीबासीहरूले पनि हेलम्बू क्षेत्रलाई साकाहारी क्षेत्र बनाए पछि बन्यजन्तुको चोरी निकाशी पनि रोकिएको छ । जैविक विविधता संरक्षण गरी हरेक प्राणीलाई प्रकृति अनुकूल बाच्न दिने मान्यता अनुसार ह्योल्मोहरूको ह्युलठीमले यस्तो कानून बनाएको हो । ह्युलठीम बिरुद्ध हेलम्बू भित्र कसैले काटमार गरेमा  निश्चित रकम जरिवाना गर्ने प्रचलन छ । यस्तो जरिवाना उठाउने जिम्मा भने स्थानीय आमा समूहको हुन्छ । असुल भएको जरिवाना गुम्बाको कोषमा जम्मा हुन्छ ।

लामटाङ राष्ट्रिय निकुञ्जको सीमा बाहिर पनि स्थानीय ह्योल्मोहरूले आफनो निजी धार्मिक बन बनाएका छन् । यस्तो बनको हेरचाह गर्ने देखि त्यहाँ घास दाउरा काट्नेसम्मको नियम ह्युलठिमले बनाउँछ । निजी घर बनाउँदा चाहिने काठपातका लागि स्थानीय गुम्बामा गएर सगुन राखेर मौखिक निबेदन गर्नू पर्छ । अनिमात्र औचित्यका आधारमा बन प्रबेश गर्ने अनुमति पाइन्छ । कसैले अनुमति बिना बनको काठ काटेमा वा दाउरा संकलन गरेमा जरिवाना तिर्नू पर्छ । यस्तो रकम गुम्बामा जम्मा गरिन्छ । यो आदिवासी ज्ञानमा आधारित वन तथा जैविक विविधता संरक्षण गर्ने प्रणाली हो । बन जंगलको संरक्षण नै जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्युन गर्ने एक मात्र उपाय हो ।

() शेर्पाहरूको नावा प्रथा  नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको बन जङ्गल जोगाउने नावा प्रथा एक विशेष प्रकारको परम्परा हो । विशेष गरेर दोलखा जिल्लाको रोल्वालिङ (हालको गौरीशंकर गाउँपालिका) क्षेत्रमा र सोलुखम्बूको खुम्बु क्षेत्रमा अभ्यासमा आएको शेर्पा जातिको यो परम्परा वन जंगल र चरन क्षेत्रलाई दिगो व्यबस्थापन  र संरक्षण गर्ने उद्देश्यबाट विकास भएको हो । शेर्पा समुदायको नावा प्रथा सम्बन्धि विभिन्न अनुसन्धानकर्ताहरूले अनुसन्धान गरी प्रकाशमा ल्याएका छन् । यसरी अनुसन्धान गर्नेहरूमा फुरेर हाइमनडोर्फ (१९६४) [ix] र शेर्पा, पासाङ (२०७७)[x]  का अध्ययनहरू विशेष चर्चित छन् ।

नावा प्रथा दुई प्रकारको हुन्छ, एउटा ओशो नावा र अर्को सिङ्गी नावा । ओशो नावा खेतीपाती र पशुपालनसंग सम्बन्धित हुन्छ भने सिङ्गी नावा काठ, दाउरा, र अन्य वनपैदावरको संरक्षण र व्यबस्थापनसंग सम्बन्धित हुन्छ । गाउँको सबै घरधुरीका सदस्यको भेलाबाट  प्रथाजनित संस्था नावाको छनौट गरे पछि नावाको नियम र परम्परा लागू हुन्छ । एक गाउँमा दुईजना नावा हुन्छन् । एकजना नावाले खेतीपाती र पशुपालनको जिम्मा लिन्छन् भने अर्को बन क्षेत्र र चरनको जिम्मा लिन्छन् । नावाले नै गाईबस्तु, चौरी वा भेडा बाख्रा चरन क्षेत्रमा पठाउने र चरन क्षेत्रमा पालना गर्नू पर्ने नियम बनाएको हुन्छ । खेतीपाती कसैको गाई बाख्रा लगायतका पशुले बाली खाएमा वा बिगारेमा के गर्ने भन्ने निर्णय गर्दछ । कसैको नोक्सान भए नावाले अर्मल (क्षतीपुर्ती) तिराउने निर्णय दिन्छ । सिङ्गी नावाले जेष्ठ महिनामा मनाइने शेर्पा जातिको  डुम्जी पर्ब लगत्तै गाईबस्तु चरन तिर लैजानुपर्ने नियम बनाएको हुन्छ । चरनमा लगिएका गाइबस्तु, भेडा वा चौरी भदौमा मात्र बेशीमा झार्न सकिन्छ ।  यस्तो परम्पराले चरन क्षेत्र र बन तथा वातावरणको संरक्षण गर्दछ ।

शेर्पा समाजमा सिङ्गी नावाको अनुमतीमा मात्र वन पस्ने गरिन्छ । कसैलाई घर तथा भवन निर्माण गर्न काठपात चाहिएमा सिङ्गी नावाले तोकिएको मात्रामा काठ काट्ने अनुमति पाउँछ । वनको चोरी फडानी गरेमा, कलिलो बिरुवा वा लाथ्रोको विनास गरेमा, जडिबुटीजन्य वनपैदावरको विउ, विरुवा मास्ने गरी कुनै क्रियाकलाप गरेमा नावाले तोकिए बमोजिम जरिवााना गराउँछ । यस्तो जरिवाना गुम्बाको सामुहिक कोषमा जम्मा गरिन्छ । तर यो अभ्यास पनि पछिल्लो समयमा संकटमा पर्दे गएको छ ।

() तामाङहरूको चोहो प्रणाली  अन्य आदिवासीको झै तामाङहरूको पनि प्रथाजनित संस्था चोहो प्रणाली हुन्छ । यस्तो प्रणाली सबै तामाङ गाउँमा नभए पनि अहिले रसुवा जिल्लामा मात्र बाँचेको छ । चोहो प्रणाली समाजलाई सुव्यवस्थित बनाउने सामाजिक संगठन हो । यो प्रणालीमा चोहो (सभापति) लगायतका संगठन बनेको हुन्छ । यस्तो संगठनमा वोन्वो, ताम्वा (इतिहासकार), लामा, गान्वा (बुढापाका) लगायत संगठित हुन्छन् ।  सबैको कार्य विभाजन गरिएको हुन्छ । यस्तो व्यवस्थित संगठन सबै तामाङ गाउँमा नभए पनि लामा, गान्वा, वोन्वो, ताम्वा र लाप्तावा (पितृपुजा गर्ने व्यक्ति) बेगर तामाङ जातिको कुनै पनि सस्कृतिजन्य काम अगाडि बढ्दैन । यसैले यो सांमाजिक संगठन तामाङ समाजको पहिचान हो । यस्तो संगठनमा तामाङ समाज र वन जंगलको अन्तरसम्बन्ध जान्नु अनिबार्य छ ।

वोन्वोहरू मूलतः समाजको उपचारक हुन् । वोन्वोको उपचार गर्ने विधि मनोवैज्ञानिक र ध्वनी थेरापी हो भने अर्को जडिबुटीको प्रयोग हो । अनुसन्धानकर्ता कमल अधिकारीले गर्नू भएको अध्धयनमा  मकवानपुरका तामाङले प्रयोग गर्ने गरेको कूल १११ वटा वनस्पति प्रजातिहरू साथै १२ प्रकारका लवणजन्य वस्तुहरूको फेहरिस्त ती प्रजातिहरूको वैज्ञानिक नामसहित प्रस्तुत गर्नु भएको छ ।[xi] यो तामाङ समुदायको मात्र होइन अन्य समुदायको परम्परागत ज्ञानमा पनि लागू हुन्छ  । अनुन्धानकर्ता अधिकारीले जनाउनु भए अनुसार कुनै पनि प्रकारको बिरामी हुँदा मात्र होइन, धामिक तथा साँस्कृतिक आस्था अनुसार बिभिन्न बिधि बिधानमा यी बन तथा  बनस्पतिको प्रयोग हुन्छ ।  तामाङ समाजको मान्यतामा मोच मार्ने, भूत पन्साउने, शिर उठाउने जस्ता परम्परा  छन् । त्यसरी नै घर पुजा गर्ने लामाद्धारा शान्ति पुजा गर्ने परम्परा छ । यी साँस्कृतिक र मनोवैज्ञानिक स्वास्थ्य उपचारसंग सम्बन्धित छन् । यी सबै क्रियाकलाप र बन तथा वनस्पति जोडिन्छन् ।

आदिवासी ज्ञान आध्यात्मिक विश्वास र मूल्य र मान्यतामा अडेको हुन्छ । तामाङ समाजका अगुवा वोन्वोले आफनो पुजा वा प्रार्थना गर्दा आवश्यक पर्ने दर्जनौ वनस्पतिलाई पुज्य वस्तु मानेको हुन्छ । जस्तो टोटला, सिमली, तितेपाती,अम्रिसो, बाँस, कोइरालो, चिलाउने आदि । यी सबै बन तथा बनस्पतीहरू तामाङ परम्पराले स्वतः संरक्षण गर्दछ । 

() नेवारहरूको गुथि परम्परा  आदिवासी नेवारहरूको गुथि पनि परम्परागत प्रथाजनित संस्था हो । पछिल्लो समयमा गुथि व्यबस्थालाई सरकारीकरण, गैरसरकारीकरण गरेर यसको मौलिकता माथि  प्रहार हुन थालेको छ । सरकारले गुठी बिधेयक ल्याएर परम्परागत गुथिलाई सरकारको अधिनमा ल्याउने प्रयास गरेको थियो । तर यसको चर्को विरोध भए पछि सरकार पछि हटेको छ । त्यसरी नै नेवारी समाजमा परम्परागत गुथिलाई विधान बनाएर गैह्रसरकारी संस्थाका रुपमा दर्ता गर्ने चलन पनि छ । तर यो चलन परम्पराका आधरमा असल अभ्यास भन्न सकिन्न ।

गुथि व्यबस्थाले नेवार समुदायको हरेक जात्रा, पर्ब तथा समस्याको सम्बोधन गर्ने गरी प्रचलनमा ल्याईएको हो । सतहमा हेर्दा गुथि व्यबस्था साँस्कृतिक निरन्तरताजस्तो मात्र देखिए पनि गुथिले उनीहरूको प्रकृतिको संरक्षण र व्यबस्थापन गर्ने काम .पनि गरेको छ । काठमाडौ उपत्यकामा भएका सयौ  हिथि, धारा, कुवा लगायत राजकूलो, पोखरी संरक्षणका लागि गुथि बनाइएका थिए । कालान्तरमा राज्य व्यबस्थाको अतिक्रमण बढदै गए पछि यस्ता परम्पराहरू लोप हुँदै गए ।  पानीको मूल संरक्षण आफैमा जलवायुमैत्री व्यवहार हो । पानीको अभावमा मानव समाज र चराचर प्राणीजगतकै अस्तित्व असम्भव छ । यो तथ्य बुझेका उपत्यकाका नेवार आदिवासीहरूले पानी संरक्षण संवन्धि अनेकौ विधिको अभ्यास गरेका थिए ।

काठमाडौको इन्द्र जात्रा आफैमा पानीसंग सम्बन्धित जात्रा हो । यो जात्रा सतहमा हेर्दा एक मात्र जात्रा देखिए पनि यस भित्र अनेकौ उपजात्राहरू छन् । जो परम्परागत ज्ञानलाई पुस्तान्तरण गर्ने विधिहरू हुन्छन् । ती सबै जात्रा पर्बहरूमा किशोर किशोरीको अनिवार्यता, उनीहरूको उपस्थिति आवश्यक पर्ने विधि विधान आफैमा पुस्ता हस्तान्तरणको वैज्ञानिक व्यबस्थापन हो ।  उपत्यकाको रातो मच्न्द्रिनाथको जात्रा होस वा बिस्केट जात्रा होस सबै जात्राको अन्तरसम्बन्ध प्रकृतिसंग हुन्छ । बन तथा बनजन्य बनस्पति यसको अनिवार्य तत्व हो । अर्को पानी महत्वपूर्ण तत्व हो ।

सहकालको देवता भनिने मच्छिन्द्रनाथको रथ तान्ने परम्परा नै पनि पानी संकटबाट सुरु भएको हो । मच्छिन्द्रनाथको रथ तान्नका लागि आवश्यक पर्ने डोरी भिजाउने निश्चित पोखरी तोकिएको छ । ललितपुरको पुल्चोकमा रहेको पोखरीको नाम नै फ्वेयगू (चोया भिजाउने पोखरी) रहेको छ । जहाँ रथका लागि आवश्यक पर्ने बेतलाई भिजाइन्छ ।   यो पोखरी सूचारु गर्न चापागाऊबाट राजकुलो ल्याइएको छ । ती कुलोहरू संरक्षणको अभावमा मासिए पनि केही कुलोहरू अहिले पनि संरक्षित छन् ।

 () पहरीहरूको ज्ञान सीप  ललितपुर जिल्लाको गोदावरी नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने पहरी लोपोन्मूख र अतिसिमान्तकृत आदिवासी जनजाति हुन् । उनीहरूको मूख्य पेशा बासबाट निर्माण हुने बिभिन्न प्रकारका सामान बनाउने हो । बाँसको चोयाबाट रगीबिरगी नाङलो, डालो,  मुडा, थुन्चे, बेना (हातेपङ्खा), मेच तथा दराज बनाएर बजारमा पठाउनु उनीहरूको दिनचर्या पनि हो ।

पहरी आदिवासीहरूको जातीय संस्था नेपाल पहरी विकास संघका अध्यक्ष मुकुन्द पहरीका अनुसार बाँसजन्य सामाग्रीसंग पहरीहरूको परम्परा, आध्यात्मीक विश्वास र पहिचान जोडिएको छ । कुल पहरी मध्य आफनो थातथलोमा रहेको ६० प्रतिशत भन्दा बढी पहरीको जिविकोपार्जनको मूख्य स्रोत बाँसका घरेलु सामाग्री बनाउनु नै हो । तर बसाई सरेर अन्यत्र पुगेका पहरीले भने यो पेशा गरेको पाइदैन । यसबाट पनि के पुष्टि हुन्छ भने परम्परागत भूक्षेत्रमा रहेका आदिवासीले नै आफनो परम्परालाई निरन्तरता दिएका छन् ।

झट्ट सुन्दा बाँस मासेर नाङलो, डालो, थुन्छे, भकारी निर्माण गर्ने यो पेसा जलवायु संकटको सहयोगी झै लाग्छ । तर उनीहरूले बाँस मास्ने मात्र हैन बाँस जोगाउने पनि गर्दछन् । नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिबर्तन साझेदारी कार्यक्रमका राष्ट्रिय संयोजक तथा समाजशास्त्री तुङगभद्रा साम्पाङ राईका अनुसार पहरीहरूको क्रियाकलाप जलवायु तटस्थ हुन्छ । उनीहरूको क्रियाकलापले उद्योगबाट उत्पादन हुने प्लास्टिकजन्य सामाग्रीको विकल्प दिएको छ । प्लास्टिकका सामाग्रीहरू आफैमा प्रदुषणका मित्र हुन् । प्लास्टिकको सामग्री निर्माण गर्दाको कारखाना देखि ढुवानीस्म्मको कार्वन उत्सर्जनको श्रृंखला हुन्छ । यस्को विकल्पमा बाँसबाट बनेको सामाग्री प्रयोग गर्न सके त्यसै पनि कार्वन उत्सर्जनमा कमी आउने छ । यस हिसावले पनि पहरीहरूको यो परम्परागत पेशा जलवायु परिबर्तनको असर न्युन गर्न सहयोग गर्ने एक विकल्प हो ।

बाँसलाई जोगाउने पनि उनीहरूको आफनै अभ्यास छ । नेपाल पहरी विकास संघका अध्यक्ष मुकुन्द पहरीले जानकारी दिनु भए अनुसार आध्यात्मिक विश्वासकै कारण पहरी समुदायले वाँसको कुनै पनि प्रकारको तामा खाँदैनन् । नेपाली खानामा वाँसको तामा मीठो परिकार मान्ने चलन छ ।  तर पहरीहरूको विश्वासमा  तामा खानु पाप हो  ।  यसको अथै बासको कलिलो विरुवा मास्न हुँदैन भन्ने मान्यता नै हो । अर्को कुरा बाँस काट्ने सवालमा पनि उनीहरूको आफनै परम्परा छ । विशेष गरेर अमावस्या (औंसी) को छेका पारेर मात्र बाँस काटिन्छ । त्यो पनि कस्तो बाँस काट्ने भन्ने ज्ञान उनीहरूमा हुन्छ । उमेर पुगेको बाँस मात्र काटिन्छ । बाँस काटे पछि  थप बाँसको बृक्षारोपण गर्नु पर्ने उनीहरूको मान्यता छ । यसै कारण बाँसको सामुदायिक वन पनि उनीहरूले लगाएका छन् ।

() कुमालेको माटाका भाँडा बनाउने सीप

माटोका भाँडा बनाउने मूख्य पेशा कुमालहरूको हो । कुमालहरू आदिवासी जनजाति हुन् । उनीहरूको परम्परागत पेशा माटोका बिभिन्न प्रकारका भाँडा बनाउने हो । माटोका भाँडाहरू आदिवासीहरूको विभिन्न पर्ब, जात्रा तथा पुजाहरूका लागि अनिबार्य मानिन्छ । परम्परा र संस्कृतिसंग सम्बन्धित माटोका भाँडा बनाउने जातिका रुपमा कुमाल हुन् । काठमाडौ उपत्यकामा भने प्रजापतिहरूले माटोका भाँडा बनाउँछन् । जस्लाई उनीहरू कुम्हाः भन्ने गर्दछन् । यो पनि आदिवासीहरूको परम्परागत सीप हो । यस्तो सीप र श्रमको जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने साधान मानिन्छ । किन भने माटोका भाडाहरूले वातावरणलाई नकारात्मक असर पार्देनन् । वातवारणमैत्री हुन्छन् । यो देशकै सेत र साधानबाट बन्ने भएकाले तुलनात्मक रुपमा यसको प्रयोगबाट अर्थतन्त्र र वातावरणमा फाइदा हुन्छ । माटोको भाँडा बनाउँदा कच्चा पदार्थ बाहिरबाट ल्याउन पर्दैन । यस्को प्रयोग पछि सजिल्यै सड्ने हुँदा वातावरण मैत्री मानिन्छ । 

() चेपाङको जीवनशैली प्रकृतिमैत्री

नेपालका आदिवासीहरूमध्ये राउटे र कुसुन्डा अझै घुमन्ते अवस्थामा नै छन् भने चेपाङहरूले घुमन्ते जीवन त्यागेर ओडारमा बस्न थालेको धेरै भएको छैन । समाजशास्त्रीहरूको मत अनुसार मानव विकासका क्रममा सबै मानव समुदाय जंगली जीवन छाडेर कृषि युगमा प्रबेश गरेका हुन् । त्यही मेसोमा जंगली जीवन त्यागेर कृषि जीवनमा आउने मानव समुदाय मध्ये पछिल्लो समुदाय चेपाङ हुन् ।  त्यसैकारण उनीहरू प्रकृतिसंगको अटुट नाता कायम छ ।  उनीहरू बन जंगलमा अति निर्भर समुदाय भएकाले बन जंगलको उत्पादनसंग उनीहरू परिचित हुन्छन् । बनका कन्दमूल, फलफुल, सागपातहरूसंग उनीहरूको परिचय गाढा छ । चेपाङहरू बनका कन्दमूल संकलनमा पनि सिपालु हुन्छन् । काठ तथा बाँसका विभिन्न सामाग्रीहरू बनाएर बस्तु विनिमय गर्ने उनीहरूको चलन हो । जीविपकोपार्जनकै लागि जंगली खानेकुरा खोज्ने गर्छन् । जंगली फलफूल, च्याउ र कन्दमूल र विरुवाहरू संकलन गर्दछन् । बनको कन्दमूल पहिचान गर्न चेपाङहरू औधी सिपालु हुन्छन् । चेपाङहरू वनतरुल, गिट्ठा, भ्याकुर, भर्लाङ, सिस्नु, टाँकी जस्ता कन्दमूलमा भर पर्दै आएका छन् । उनीहरू चिउरीलाई नजिकको वनस्पति मान्छन् ।

चेपाङहरूको खेती प्रणाली पनि विशेष छ । जसलाई खोरिया खेती प्रणाली भनिन्छ । आफनो परम्परागत भूमिमा गरिने खोरिया खेती प्रणालीले जमीनको उर्वरा शक्ति बढने, सत्रु किराको नाश हुने र बालीमा किटनाशक औषधि वा रसायनिक मलको प्रयोग गर्न नपर्ने यसको विशेषता हो । एक बर्ष एक स्थानमा खेती लगाए पछि अर्को बर्ष त्यो भूमि त्यसै बाँझो नै छोडिन्छ । जसका कारण यहाँ मुना पलाउने संभावना अधिक हुन्छ । जलवायु परिवर्तन सम्बन्धि गरिने अनुसन्धानहरूमा जलवायु परिवर्तनको असर न्युन गराउन अथवा कार्वन उत्सर्जनको मात्रा घटाउन ठूला पुराना रुख भन्दा साना साना विरुवाको भूमिका  महत्वपूर्ण मानिन्छ ।

चेपाङहरू मूलतः चितवन, मकवानपुर र धादिङका पहाडी  क्षेत्रको भिरालो जमिनमा बसोबास गर्ने भएकाले उनीहरूको आर्थिक जीवन कष्टकर छ । अहिलेसम्म पनि धेरै चेपाङमा जमिनको स्वामित्व छैन । तथापि उनीहरूसंगको ज्ञान, सीप र परम्पराहरू भने अभ्यास गर्न छाडेका छैनन् । जो देशको महत्वपूर्ण सम्पदा र विश्व समाजका लागि फलदायी ज्ञान उनीहरूसंग छ ।

() थारूहरूको परम्परा ज्ञान   नेपालको समथल भूमिमा बसोबास गर्ने थारू आदिवासीको जनसंख्या महत्वपूर्ण  मानिन्छ । २०६८ को जनगणना अनुसार थारूको जनसंख्या १७ लाख ३७ हजार ४७० अर्थात ६=५४ प्रतिशत रहेको छ । थारू आदिवासीहरूको आफनै प्रथाजनित संस्था बरघर, (भलमन्सा, महताँवा) हुन्छ । थारू समाजलाई सुव्यबस्था कायम गराउने, आपसी मेलमिलापबाट सुरक्षा दिने र परम्परागत ज्ञान हस्तान्तरण गर्ने माध्यम प्रथाजनित संस्था हो । यसले न्यायिक कार्य पनि सम्पादन गर्ने गर्दछ । आन्तरिक कानूनका माध्यमले थारू समाजलाई एकता बनाउनु यो संस्थाको मूल कार्य हो । पूर्बतिरका थारूहरूमा भने यो परम्परा भन्दा फरक प्रचलन छ । जस्लाई माइन्जन प्रथा भनिन्छ ।

थारू आदिवासीका अनेकौ ज्ञान र अभ्यासहरू छन् जो प्रकृति, जैविक विविधताको संरक्षणसंग सम्बन्धित छन् । अधिकारकर्मी पुष्पा चौधरीका अनुसार थारूहरूको बनसंग सम्बन्धित धेरै प्रथा मध्ये एक देउता बनाउने संस्कृति पनि एक हो ।जसलाई थारू भाषामा डीउँटा लिहे जना भनिन्छ । यो परम्परामा जंगलमा गएर देउता खोज्ने प्रणाली हो । हरेक बर्ष थारूहरूले जंगलबाट नयाँ देउता भित्राउनु पर्छ । जंगलबाट दुइटा देउता ल्याइन्छ । एउटा खेखरी र अर्को ढमरज्वाखेखरी सिद्धा  काठमा  हुन्छ भने ढमरज्वा सखुवा (साल)को हुन्छ  । यसरी काठ ल्याउँदा रुख भने ढाल्न पाइन्न । रोजिएको रुखको हाँगा वा एक फप्लेटो घरमा विधिपूर्बक ल्याए पछि नयाँ देउता घरमा भित्रिएको विश्वास गरिन्छ । यस संस्कृतिले पनि थारूहरूको प्रकृतिसंगको सम्बन्ध दर्शाउछ । यसरी रुखको हाँगा वा अंग निकालेर ल्याइएको सिंगो रुखलाई पुजा गरि काटेको स्थानमा पुजा पनि गर्नू पर्छ ।

(झ) अन्य आदिवासीका साझा ज्ञानहरू :  नेपालका मात्र होइन विश्वकै आदिवासी जनजातिहरूको बिभिन्न ज्ञान प्रणाली प्रकृतिमैत्री रहेको छ । कृषि प्रणाली नै पनि जलवायु मैत्री रहेको छ । यस्तो विधि सबै आदिवासीको साझा विधि हो । आदिवासीहरूले खेती गर्दा वातावरण र जलवायु अनुकूलन गर्न जानेका छन् । आफनो परम्परागत भूमि र भूक्षेत्रमा लगाइने बाली प्रणालीहरूको विश्लेषण गर्दा उनीहरूको खेती प्रणाली अनुकुलित खेती प्रणाली हो । यस्तो बाली उनहिरूको ज्ञाानका आधारमा बाली विविधिकरणलाई बिशेष जोड दिइन्छ । करेसाबाली तथा उनीहरूको छनौट जलवायु तटस्थ प्रकृतिको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालका, धादिङको बेनीघाट गाउपालिका, काभेक तेमाल गाउपालिका, सिन्धुपाल्चोकको हेलम्बु गाउपालिका आदिमा आदिवासीका खेतीबारी अवलोकन गर्ने क्रममा मिश्रित खेती प्रणाली अपनाएको पाइएको थियो । जस्लाई तिन चेली बाली  (Three sister crops) भनिन्छ । कृषि विज्ञहरूले बहुबाली प्रणाली पनि भन्ने गर्दछन् । एकै जमिनमा धेरै बाली लगाउँने यो प्रणाली आदिवासीको खेतबारीमा पाइन्छ । हुन त अन्य समुदायको पनि यस्तो प्रणाली देखिन्छ । आधुनिक कृषि प्रणालीले यस प्रकारको कृषि प्रणालीलाई निरुत्साहित गर्ने गर्दछ । तर आदिवासी ज्ञानमा आधारित यो प्रणालीलाई उनीहरूले परम्परा मान्दै बचाएर ल्याएका छन् । यो प्रणालीले प्राकृतिक पारिस्थितिक प्रणालीलाई कायम रहन्छ । यस प्रणालीअन्तर्गत मिश्रित खेती, घुसुवा बाली, अन्तरबाली र घुम्ति बाली प्रणाली पर्दछन । यो बालीहरूको विविधताले गर्दा एकल जातीय प्रणालीमा जस्तो रोग र किराहरूको प्रकोप व्यर्होनु पर्दैन । अन्तरवालीले सौर्य प्रकाश, खाद्यतत्व र पानीको सदुपयोग बढन गई प्रति इकाइ क्षेत्रफलमा उत्पादकत्वमा वृद्धि हुन्छ । मिश्रित खेतीमा समावेश गरिने फरक जरा प्रणाली भएका बालीहरूले गर्दा खाद्य तत्व उपयोग गर्ने समय फरक पर्न जान्छ । जस्तैः मकैसँग उच्च पहाडी वा हिमाली क्षेत्रमा आलु र पहाडी क्षेृत्रमा मकैसंगै कोदो, सीमि, बोडी वा तरकारी रोप्ने चलन छ । धान खेती लगाएमा पनि भित्तामा मस्याम र आलीमा मास वा भटमास रोप्ने चलन प्राय सबै स्थानमा छ । यो सबै जलवायू मैत्री खेती प्रणाली हो ।

२.५ निश्कर्ष  तथा सुझावहरू

आदिवासी ज्ञान आधुनिक वैज्ञानिक ज्ञान प्रणाली (Modern Science Knowlodege System –MSKS) को परिपुरक हो । वैज्ञानिक ज्ञानमा झै परम्परागत आदिवासी ज्ञानमा पनि नविनता, दीगो र विश्वासयोग्य ज्ञान हुन्छ ।  पर्यावरण, जैविक क्षेत्रमा त आदिवासी ज्ञानको क्षेत्र अझ फराकिलो छ । यसका तरिकाहरू, प्रविधिहरू आधुनिक वैज्ञानिक ज्ञान प्रणालीले पनि अवलम्बन गरेको छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा जडिबुटीको प्रयोग एक उदाहरण हो ।

बिश्वविद्यालय, अनुसन्धान संस्थान तथा अनेको कम्पनीहरूमा आवद्ध बैज्ञानिकहरूको खोज र अनुसन्धानबाट आधुनिक वैज्ञानिक ज्ञान प्रणालीको जन्म हुन्छ  तर परम्परागत आदिवासी ज्ञानको स्रोत स्थानीय जातजातिको भाषा, संस्कार र संस्कृति हो तर आदिवासी ज्ञान मौखिक बृतान्तका आधारमा र पुस्ता हस्तान्तरणका माध्यमले संरक्षित भएको हुन्छ । प्राकृतिक स्रोतहरूको उपयोग, संरक्षण र व्यबस्थापनमा आदिवासी ज्ञान उपयोगी देखिएकोछ । पानीको स्रोतको संरक्षण गर्ने ज्ञान अद्वितिय मानिन्छ । जंगलको संरक्षण गर्ने आदिवासीसंग अनेकौ जुक्तिहरू रेहका छन् ।

जलवायु परिवर्तन न्युनिकरण र अनुकुलनमा आदिवासी जनजातिका परम्परागत ज्ञान र अभ्यास बिश्वव्यापी शिक्षा र अनुकरणीय विषय हो । तर यसलाई आम प्रचलन र सर्वस्वीकृत मान्यताका रुपमा स्थापित गर्न केही समस्याहरू आदिवासी जनजातिले उठान गरेका छन् ।

जलवायु परिवर्तनको अहिलेको मुख्य चुनौति वायुमण्डलमा हरितगृह ग्याँसको मात्रालाई स्थिर राख्नु र पारिस्थितिकीय प्रणालीलाई प्राकृतिक रुपमा रहन दिनु हो । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धिको मूख्य ध्येय पनि त्यही देखिन्छ । यस महासन्धिको सफल कार्यन्वयनका लागि सन् २०१५ मा सम्पन्न पेरिस संझौताले  जलवायु परिवर्तनसम्बन्धी नयाँ  मार्गचित्र दिएको छ ।  मार्गचित्रले जलवायु परिवर्तनको अनुकुलन कार्यहरू विज्ञानका अतिरिक्त परम्परागत ज्ञान, आदिवासी जनजातिको ज्ञान र स्थानीय ज्ञान पद्धतिमा पनि आधारित हुनु पर्ने उल्ल्लेख छ । अनुकूलनलाई सामाजिक, आर्थिक तथा वातावरणीय नीतिहरूमा एकिकृत गरिएको हुनु पर्ने योजना तर्जुमा प्रक्रियामा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका माध्यमबाट सामाजिक आर्थिक र पर्यावरणीय प्रणालीको पुनस्र्थापन क्षमता बढाएको हुनु पर्ने मार्गचित्र कोरेको छ ।

यसरी नै हरितगृह ग्याँस न्यून उत्सर्जन गर्ने विकास पद्धति अवलम्बन गर्दा खाद्य उत्पादन प्रणालीमा जोखिम सिर्जना  हुन नहुने वातावरणको सुनिश्चितता हुनुपर्छ । पेरिस सम्झौता अनुसार दीर्घकालिन तापक्रम लक्ष्य र राष्ट्रिय रुपमा निर्धारित योगदान तय गर्दा दिगो विकास र गरिवी निवारणलाई पनि ध्यान दिनुपर्ने कुरालाई महत्व दिएको छ ।

नेपालको अवस्था, अन्तराष्टिय कानून र आदिवासी जनजातिको सरोकारहरूलाई ख्याल गरेर जलवायु परिवर्तनका असर न्युन गर्न वा अनुकुलन गर्नका लागि संघ, प्रदेश तथा स्थानीय सरकारहरूका लागि निम्न सुझावहरू सान्दर्भिक हुने देखिन्छ ।

  • नेपाल सरकारको राष्ट्रिय जलवायु परिवर्तन नीति –२०७६ लाई परिमार्जन गर्दै यसको मार्गचित्रका आधारमा प्रदेश र स्थानीय तहहरूबाट नीति निर्माण गरिनु पर्छ ।
  • आदिवासी जनजातिका प्रथा, परम्परागत प्रथाजनित संस्थाहरूको क्रियाकलाप, प्रकृति पूजामा आधारित सांस्कृतिक आध्यात्मिक प्रचलन जीवनपद्धति, कृषि प्रणाली, खोरिया खेती, फिरन्ते प्रणाली, मौसमी चरीचरण प्रणाली आदि हरितगृह ग्याँस उत्सर्जन गर्ने कारक तत्व नभै जलवायु परिवर्तनको असर न्युन गर्ने र अनुकुलनको सहयोगी क्रियाकलापका रुपमा हेरिनु पर्दछ ।
  • आदिवासी जनजातिका परम्परागत ज्ञान र संस्कृतिको जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा उल्लेखनीय भूमिका रहने भएकोले यसलाई मान्यता दिनुपर्ने कुरालाई पेरिस सम्झौताले महत्व दिएपनि नेपालमा हालसम्म बनेका जलवायु नीति तथा अनुकूलन योजनाले खासै महत्व नदिएकोले भविष्यमा बन्ने रणनीति तथा योजनामा ध्यान दिइनु पर्दछ ।
  • आदिवासी जनजातिका ज्ञानलाई पेरिस सम्झौताले मान्यता दिएको छ । यसको प्रचार प्रसार, सचेतना र क्षमता विकासका लागि  सञ्चारमाध्यमले पनि धेरै काम गर्न सक्ने र उनीहरूको क्षमता विकास तथा सशक्तीकरणमा ध्यान दिन आवश्यक छ । नेपाल लगायत विभिन्न मुलुकमा आदिवासी मिडियाको फरक सूचिकरण गरी परिचालन गरिएको अभ्यास पनि छ । नेपालमा पनि यस्तो माँग आएको पाइन्छ ।  यस्ता माँगलाई राज्यका  सूचना तथा सञ्चार नीतिहरूमा सम्बोधन हुनु पर्छ ।
  • आदिवासी ज्ञानलाई मान्यता दिने जैविक विविधता सम्बन्धि नायोगा अभिसन्धिलाई कार्यन्वयनमा ल्याउनका लागि संघीय कानून मस्यौदा भएको छ । सरकारले मस्यौदा गरेको आनुवांशिक स्रोतबाट प्राप्त लाभकोे समन्यायिक बाँडफाट सम्बन्न्धित विधेयक तयार गरे पनि संसदबाट पारित हुन सकेको छैन । यो कानून सिघ्र ल्याएर परम्परागत आदिवासी ज्ञान, यसको प्रयोग र आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक वाँडफाट गरिनु पर्दछ ।

  सन्दर्भ सामाग्री

अधिकारी, कमल । २०७७ । तामाङ समुदायको परम्परागत ज्ञान मुख्य उपचार पद्धतिहरू । डाँडागाउँ, मकवानपुर, नेपाल ।

तामाङ, रुद्रसिंह  । २०६० । तामाङ संस्कार संस्कृति (तामाङ बोन बौद्ध संस्कृति सहित) । काठमाडौः तामाङ समाज अनुसन्धान केन्द्र ।

नेपाल आदिवासी जनजाति महासंघ  । २०१८ । जलवायु परिवर्तन सम्बोधनका कार्य, नेपालका आदिवासी जनजातिहरूको सवाल, अधिकार अडानहरू  । काठमाडौः जलवायु परिवर्तन साझेदारी कार्यक्रम ।

नेपाल सरकार । २०५८ । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन । काठमाडौः कानून किताव व्यबस्था समिति ।

नेपाल सरकार । २०७२ । नेपालको संविधान । काठमाडौ : कानून किताव व्यबस्था समिति ।

नेपाल सरकार । २०७७ । नेपाल राजपत्र  (मिति २०७७ जेठ ५ गते), संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयको सूचना ।

बाग्मती प्रदेश सरकार । २०७५ । प्रदेश वस्तुस्थिति विवरण । हेटौडा : प्रदेश नीति तथा योजना आयोग ।

बाग्मती प्रदेश सरकार । २०७७ । बागमती प्रदेशको वातावरण संरक्षण सम्बन्धि व्यबस्था गर्न बनेको ऐन, २०७७ ।

शेर्पा, पासाङ । २०६७ । शेर्पा जातिको परिचय । नेपाल शेर्पा संघ र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ।

Central Bureau Statistics. 2013. National Population and Housing Census, 2011 (Caste/ Ethnicity and Language).

Cobo, JM. 1986. Study of the Problem of Discrimination against Indigenous Populations. United Nations /CN 4/ sub.2/1986/7 April 4 1986.  

Furer Haimendorf, Christoph V. 1964. The Sherpas of Nepal Buddhist Highlanders. New DelhI : Oxford Book Company.

  1. नेपाल आदिवासी जनजाति महासंघले गरेको वर्गीकरण अनुसार १० जाति लोपोन्मूख अवस्थामा छन् । यस समूहमा परेका सबैलाई सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दछ । यसरी अतिसिमान्तीकृत समुदायमा १२ जाति, सिमान्तीकृतमा २०, सुविधा कन्चितमा १५ र उन्नत समूहमा २ आदिवासी जनजाति बर्गिकृत छन् ।
  2. डा. कुन्साङ लामा, पेशाले अधिवक्ता हुनु हुन्छ । उहाँले आदिवासीको प्रथा, परम्परा र ज्ञान सम्बन्धि अनुसन्धान गर्नु भएको छ । यो जनकारी उहाँसंग गरिएको कुराकानीमा आधारित छ ।

[iii आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी जनजातिको सूचि ५९ हो ।  यो ऐनको अनुसूचिमा आदिवासी जनजातिको सूचीकरण गरिएको छ । तर नेपाल सरकारले २०७७ जेठ ५ गते नेपाल राजपत्रमा सूचना प्रकासित गरी रानाथारूलाई थप सूचीकरण गरेको हुँदा आदिवासी जनजातिको सूचि ६० पुगेको हो । अन्य धेरै आदिवासी यस सूचिबाट छुटेको सरकारबाट गठित डा ओम गुरुङको कार्यदलको प्रतिबेदनमा उल्लेख छ

[iv] २०६८को जनगण्ना अनुसार नेपालमा १२५ भाषा रहेको तथ्याँक छ । तर भाषा आयोगले नेपालमा बोलिने बक्ता अनुसार १२९ भाषा रहेको बार्षिक प्रतिबेदनमा उल्लेख छ ।

[v ]नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५१ खण्ड (ञ) को अनुुच्छेद (८) मा  आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाच्न पाउने अधिकार, निर्णय प्रक्रियामा सहभागी हुने अधिकार, परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र सक्बद्र्धन गर्ने उल्लेख छ । त्यसो त यो राज्यको निर्देशक सिद्धान्त मात्र हो । तथापि संविधानमा व्यबस्था भएको मौलिक हक बाहेक विशेष रुपमा संवोधन भएको यो संवैधानिक व्यवस्था हो ।

[vi]Furer Haimendorf, Christoph V . 1964. The Sherpas of Nepal Buddhist Highlanders. N ew Delhi: Oxfprd Book Company.

[vii]टासी ह्योल्मोसंगको कुराकानी ।

[viii]शेर्पा, पासाङ । (२०६७ ।), शेर्पा जातिको परिचय  । काठमाडौं : नेपाल शेर्पाै संघ र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ।

[ix]अधिकारी, कमल । २०७७ । तामाङ समुदायको परम्परागत ज्ञान र मुख्य उपचार पद्धतिहरू डाँडागाउँ । , मकवानपुर, र, नेपाल


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook