मुन्धुम र ह्वाङ हे-याङटेज नदी सभ्यता

शनिवार २३ श्रावण, २०७८   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

नन्द कन्दङवा

नन्द कन्दङवा

टिकाथली, ललितपुर

मुन्धुम र ह्वाङ हे-याङटेज नदी सभ्यता

मुन्धुम भनेको के हो भन्नेबारेमा विभिन्न बिचारहरु छन् । शायद यो केही मानव समुहको लागी ब्रमाण्ड तथा जीवन सृष्टीलाई व्याख्या गर्ने, मानव विकासमा जन्मनु पुर्व देखि मृत्य हुदा र त्यसपछि पनि अर्थात समग्रमा सामाजिक, सांस्कृतिक र धार्मिक हिसावले समाज र जीवनलाई डोर्याउने दर्शन हो । यस्तो आध्यात्मीक, सामाजिक, सांस्कृतिक तथा ईतिहास त्रताउने मौखिक शास्त्र प्राचिन किरात मानव समुह दावी गर्ने राई, लिम्बु, सुनुवार र याख्खा मानव समुहमा रहेको छ । उक्त मौखिक शास्त्रलाई यि चार मानव समुहमा कसैले मुन्धुम, कसैले मुन्दुम, कसैले मुत्दुम त कसैले मुत्थुम भन्दछन् । यि मानव समुह बाहेक अन्य मानव समुहले यस्तो शास्त्रलाई मुन्धुम भनेको देखिन्न । 

यि मानव समुहमा रहेको मुन्धुमले भुगोल सहित नामहरुको विवरण तथा बर्णनहरु ल्याउने गर्दछ । यसले बर्णन गरेको भुगोल, संस्कृति तथा बस्तुहरुको बर्णन कतिपय सन्दर्भहरुमा तिव्वत र चिनको ह्वाङ हे–याङसी नदी सभ्यताका प्राचिन मानव समुहहरुको संस्कृति, भुगोल तथा प्रयोग भएका बस्तुहरुसंग मिलेको जस्तो देखिने भएकोले यहा यि दुईलाई तुलनात्मक हिसावले हेर्ने काम गरिएको छ । 

२. मुन्धुम र नदी (वा) सभ्यता 

प्राचिन तथा अरबाचिन समयमा घटेका श्रुति परम्पराको रुपमा रहेका घट्नाहरुको कथा, बर्णन तथा आख्यानहरुलाई मुन्धुम भनिन्छ । प्राज्ञ बैरागी काईलाका अनुसार लिम्बु जातिको सामाजिक, सांस्कृतिक वा नैतिक र धार्मिक धारणा, आस्था र आचरणको चरम परिणति नै अनेक मिथक, गाथा र लोककथाहरुमा अभिव्यक्त भई श्रृतिपरम्पराको रुपमा युगौयुगदेखि जीवित छ र तिनैको समष्टिलाई मुन्धुम भनिन्छ । यो आर्य हिन्दुहरुले बेद भने जस्तै हो । तर बेद नभनेर लिम्बु, राई, याख्खा तथा सुनुवारले मुन्धुम भन्दछन् । मुन्धुमको अर्थ चाल या गति या हल्लनुको बर्णन भन्ने हुन्छ । वास्तवमा यसलाई परिवर्तनको बर्णन भने पनि हुन्छ । यो ब्रम्हाण्ड, पृथ्वी, जीव तथा मानव समुहको सृष्टीदेखि अहिलेसम्मको क्रमिक सामाजिक–सांस्कृतिक तथा आध्यात्मीक् विकासको ईति बृतान्त बताउने कथा तथा आख्यानको संग्रह हो । यसलाई लिपीबद्ध गरिएता पनि यसको अभ्यास भने फेदाङबा, येबा, साम्बाहरुले अहिलेसम्म पनि श्रुति परम्पराकैरुपमा गरिरहेका छन् । एकबाट अर्कोले मुखाग्र गरेर दरसन्तान अभ्यास गर्ने प्रचलन अझै पनि कायम छ । त्यसैले, गाउ घरमा यसलाई थुतुरी बेद (थुङसाप मुन्धुम) भन्ने प्रचलन छ ।

२.१ लिम्बु मुन्धुममा आउने बर्णन

लिम्बु साम्जीक मुन्धुममा ब्रह्माण्ड र पृथ्वी उतपतिको आख्यान पनि आउछ । तर मानव विकास भईसके पछि सभ्यताको एक शिखरकोरुपमा मुनातेम्बेको बर्णन आउछ । मुनातेम्बे संगै तुम्दुङ वरक (तुम्दुङ ताल या पोखरी) को पनि बर्णन आउछ । मुनातेम्बे र तुम्दुम वरक भनेको कहा हो त्यो अहिलेसम्म पत्ता लाग्न सकेको स्थिति छैन । साम्जीक मुन्धुमा आउने बर्णनहरुका आधारमा यो सिन्युक-मुदेन (चिन–भोट) र तेमेन (मैदान) वीच कहि रहेको भुमी हो भन्ने संकेत आउछ । यसमा खाम्पुरादेन, मिलफुरादेन, सिन्युकदेन, मुदेन, तेमेनवरङ, मनासावबर, सोधुङवरक, थोसुलुङ, योसुलुङ, फियालुङ, मुगुप्लुङ, ल्यासा आदी ठाउहरुको बर्णन आउछ । यि ठाउहरुमा १/२ वटालाई छोडेर बाकी ठाउहरु कहाका र अहिले कुन कुन हुन त्यो भन्न सकिन्न । 
यसैगरि, तङसिङ तक्मा (नात्ला) मुन्धुममा मरेका मानिसहरुलाई चोत्लुङमा पुर्याउन आध्यात्मीक हिसावले भए पनि खास ठाउबाट यात्रा शुरु गरेको बर्णन आउछ र यसलाई प्रतिकात्मकरुपम हेरीनु पर्छ । यसमा विभिन्न बाटोहरु छुटिन्छ तर चोत्लुङमा पुर्याउने बाटो मुख्य हुन्छ । विभिन्न मोडहरुमा साम (आत्मा) हरु नछुटाईकन लिएर जाने काम हुन्छ । खेमायङसङ, सोघा, सुगुत लगायत विभिन्न साम्माङहरुको बाटो छुटिन्दै गएको बर्णन आउछ । यो यात्रा घरको आंगन तथा चुलाबाट शुरु भई सागुरी उप्कामादेन, .विभिन्न पहाड, खोला, गाउहरु पार गर्दे आएको बर्णन आउछ । तर ति ठाउहरु, खोलाहरु, पहाड तथा गाउहरु कहा र कुन कुन हो भन्ने छुट्याउन सकिएको अवस्था छैन । उदाहरणको लागी जागादे थुङमा यममेन्नु भन्ने खोला, पक्लुङ सेप्मादेन (छेलो छान्ने ठाउ), आवासो पाङफे, सेरेदेनाङ पाङफे, चुक्नीरि चुकेच्छा पाङफे, अन सेप्मादेन (घोडा छान्ने ठाउ) लगायत थुप्रै पाङफे (गाउ) हरु कहा र हाल कुन कुन हो भन्ने प्रश्नको जबाफ आउन सहज छैन । यस्तो ठाउ गाउको नामहरु कहाको र हाल कुन कुन हो भन्ने कुरा अन्य विभिन्न मुन्धुमहरुमा पनि आउछ । धेरै जसो मुन्धुमहरुले तमोर (ईम्वीरी याङथाङवा), मिक्वा, मैवा, फावा, काङवा (काबेली) क्षेत्र, सुम्जीरि सुभालुङ, सांगुरी देखी तमोर खोलासम्मको बर्णन आउछ । यसैले, ति मुन्धुमहरुामा आउने ठाउ, गाउ, पहाड, खोला आदी पहिचान भएको अवस्था छ । 

२.२ चाम्लीङ राईको मुन्धुममा आउने बर्णन

चाम्लीङ राईको मुन्धुमले उनीहरुको पुर्खा नियामाबाट आएको बर्णन गर्दछ । यो नियामा भनेको कहा हो त्यो थाहा हुन सकेको अवस्था छैन ।  उनीहरुको पुर्खा आएको रुट, नियामाबाट पिपिलालाम, जोजिङलालाम, ख्यावरलाम (ख्याबर पास), योला र त्यहाबाट थारुबाजे साप्ते, दुंदुला हुदै खुवालुङ (अरुण, तमोर र दुधकोशीको त्रिबेनी) बाट विभिन्न दिशातिर छुट्टिएर गएको बर्णन आएको देखिन्छ । 

२.३ सिचुवानको मुनी उपत्यका

लिम्बुहरुको मुन्धुममा आउने मुनातेम्बे कहा हो भन्ने यकिन हुन सकेको छैन । शायद यो ठाउ ह्वाङवा–याङसी नदी सभ्यताको कुनै भाग या स्थानको सभ्यता तथा संस्कृति हो कि भनेर अनुमान गर्न सकिन्छ । उक्त स्थानको नाम अहिले परिवर्तन भएर अर्कै भईसकेको होला । 

यसैले, उक्त मुनातेम्बे नामसंग अलि अलि मिल्ने प्राचिन ह्वाङवा–याङसी सभ्यता तथा संस्कृति रहेको स्थानका नाम हो कि भनेर खोज्नु पर्ने अवस्था देखिएको छ । यहि खोज्ने क्रममा चिनको सिचुवानको मुनी उपत्यका पनि हुन सक्ने भएकोले त्यसको यहा थोरै चर्चा गरिएको छ । 

लिम्बुहरुको मुन्धुममा आउने मुनातेम्बे कहा हो भन्ने यकिन हुन सकेको छैन । शायद यो ठाउ ह्वाङवा–याङसी नदी सभ्यताको कुनै भाग या स्थानको सभ्यता तथा संस्कृति हो कि भनेर अनुमान गर्न सकिन्छ । उक्त स्थानको नाम अहिले परिवर्तन भएर अर्कै भईसकेको होला । 

यो स्थान सिचुवानको सोङपान काउण्टी अन्तर्गत पर्दछ । यो सिचुवानको चेन्दुबाट २७१ किलोमिटर उत्तरपश्चिममा रहेको छ । यो सोङपान काउण्टीबाट ३६ किलोमिटर पश्चिममा पर्दछ । यस उपत्यकाको प्राचिनताबारेमा धेरै अध्ययन भएको देखिएको छैन । यस्ता उपत्यकाहरु सिचुवान प्रान्तमा अनगिन्ती रहेका छन । 

२.४ सिचुवानको जिउझाई उपत्यका 

यो उपत्यका चिनको आवा तिब्बेतियन र क्वीआङ स्वायत्त प्रिफेक्चर अन्तर्गत रहेको छ । यो सिचुवानको चेन्दुबाट ४२४. किलोमिटर उत्तरमा रहेको छ र यो उत्तर दक्षिण फैलिएर रहेको छ । यस उपत्यकामा ९ वटा तिव्वतिय गाउ र तिनवटा उपत्यका रहेको छ । तिनवटा उपत्यका जेचुवा, रिजा र सुझाङ उपत्यका अंग्रेजी वाई  (Y) आकारमा रहेका छन् । यस उपत्यकामा धेरै तालहरु रहेका छन् । तिनीहरु मध्ये जेचुवा उपत्यकाको जेचुवा चाङहाई (लामो ताल) सबै भन्दा लामो ७.५ किलोमिटर लामो र १०३ मिटर गहिरो छ । 

यस उपत्यकामा प्राचिन अवशेषहरु रहेका छन् । यदि यि अवशेषहरुको अध्ययन र उत्खनन गरिएको खण्डमा यसको प्राचिन सुचनाहरु प्राप्त हुन सक्छ । यो उपत्यका ४०० मिलियन बर्ष अघि कम गहिरो सागर ९क्जबिियध कभब० कोरुपमा रहेको थियो भन्ने भनाई रहेको छ । 

यहाका मानिसहरु ल्हासा, खाम, आम्डो र कुन्घाई तिव्वतियहरुले नबुझ्ने तिव्वतियन भाषा बोल्दछन् । तर हिजो आज धेरैले चिनीया मेन्डरिन बोल्ने गर्दछन् । यहा ईसापुर्व १६–११ शताव्दी अर्थात यिन–साङ समय ताका नै मानव रहेको र मानव गतिविधी भएको अध्ययनहरुले देखाएको छ । हाल त्यहाको जनसंख्या लगभग एक हजार मात्र भए पनि आदिमकालमा त्यहा आएको विपत्तिका कारण उक्त ठाउ छोडेर गएको हुन सक्छ । त्यहाका मानिसहरुले अभ्यास गरिरहेको धर्म बुद्धकाल भन्दा अघिको बोन या बेन्पो धर्म रहेको छ । यो बेन्पो धर्म उक्त आवा क्षेत्रमा ईसापुर्व दोस्रो शताव्दीमा मान्न शुरु गरिएको थियो भन्ने अध्ययनकर्ताहरुको अनुमान रहेको छ । यो बेन्पो विश्वास पश्चिम–उत्तर र पश्चिम–दक्षिण तिव्वतमा रहेको प्राचिन जाङझुङ देशबाट बिस्तार भई विभिन्न भागमा फैलिएको मानिन्छ । सामानिजम चाही ३० हजार बर्ष पहिले नै पुर्वी साईबेरियामा विकास भएको थियो भने बोन विश्वास प्रणाली चाही ईसापुर्व ३/४ शताव्दी भन्दा अघि नै प्राचिन जाङझुङ देशको टाजिक ओल्मो लुङ रिङमा विकास भएको थियो भन्ने गरिएको छ । जिउझाई उपत्यकाको आदिमकालीन बोक्सा बोक्सी अभ्यासलाई बेन्पोमा मिलान गरिएको थियो र छैटो शताव्दीमा यो बर्चस्पशाली भएको थियो । सातौ शताव्दीमा यस क्षेत्रमा बौध धर्म आयो । बौध र बेन्पो वीच धेरै द्धण्द्ध भए पनि बौध धर्म बर्चस्पशाली भयो तर बेन्पो पनि त्यस क्षेत्रमा बाचीरह्यो । बेन्पो र तिव्वतियन बौधहरु प्राकृतिक देवतालाई भोगबली दिन्छन । त्यहाको बेन्पो धर्मालम्बीहरुको के विश्वास रहेको छ भने पहाड लगायत हरेक बस्तुको आत्मा हुन्छ । 

२.५ तिव्वतका उपत्यका, आम्डो र खाम प्रदेश

तिव्वतको सिचुवानसंग जोडिएको प्रान्तहरु भनेका आम्डो र खाम हो । खामलाई परम्परागतरुपमा चुसी गान्द्रुक (चार नदी, छ वटा पर्वत श्रृंखला र चार ठुला उपन्यका) भनिन्छ । प्राचिन भारतको मगध-नेपाल-ल्हासा-चिन जाने व्यापारीक बाटो पनि यहि खाम र दक्षिण आम्डो भएर जान्थ्यो । यो प्राचिन सिल्क रोड पनि हो । आम्डोलाई प्राचिन जाङझुङ देश (पश्चिम उत्तर र पश्चिम दक्षिण तिव्वत) का मानिसले सुम्बा भन्थे । आम्डोमा पहिले गैरतिव्वतीय मुलका मंगोल र होर जातिका गैरतिव्वतियनहरु रहेका थिए । तर अहिले पश्चिम आम्डो र पुर्वी आम्डोमा तिव्वतियनहरु रहेका छन् । त्यसैले, आम्डोबासीहरुलाई आम्डोवा (आम्डो पा) भनियो जसरी खाम क्षेत्रका जाति समुहलाई खाम निवासी खाम्पा (खाम पा) भन्ने गरिन्छ । यहा पनि खास ठाउको निवासी भन्ने जनाउन वा/ बा/ पा जोड्ने गरिन्छ । सुम्पा (उत्तर पश्चिम तिव्वतका प्राचिन जाति जसलाई क्वीङ जाति पनि भनिन्छ जो साङ राज बंशका शत्रुकोरुपमा रहेका थिए), नाग्सपा (जंगल निवासी), रिपा (पर्वत निवासी), थाङपा (मैदान निवासी) आदी सबै खास ठाउका निवासी जनाउन प्रयोग भएको देखिन्छ । तेस्रो शताव्दीमा चियाङ मानव समुहले आम्डोमा फलाम प्रयोगको चलन चलाईसकेका थिए । यस्तो फलामको प्रचलन पश्चिम तिव्वतको प्राचिन जाङझुङ (साङसुङ) मा पनि रहेको थियो । सातौ शताव्दीमा तिव्वती राज्य श्रङचङ गेम्पोले राज्य बिस्तार गरी साम्राज्य बनाए भने बौध धर्मलाई राज्यको धर्म बनाए । त्यसले चारैतिर आम्डो, खाम लगायत अन्य क्षेत्रमा प्रभाव पार्यो । धेरै क्षेत्रमा बौध र बोनमार्गीहरु वीच द्धण्द्ध पनि भयो । नवौ शताव्दी (ईस्वी ८३८) मा तिव्वती राजा लाङदोर्माले आफ्नो दाजुलाई हत्या गरेपछि उक्त तिव्वती साम्राज्य छिन्न भिन्न हुन गयो । 

तिव्वतको आम्डो, खाम र ल्हासा सहितको उसाङ प्रान्तमा अनगिन्ती मैदान र उपत्यकाहरु रहेका छन् । खाम र आम्डोमा उत्तरबाट दक्षिणतिर फैलिएको हेङडुवान पर्वत श्रखलाबाट सालविन, यालोङ र मेकङका साथै याङटेज नदी उत्पन्न भएका छन् । यि नदी र पर्वत श्रृंखलाहरुले प्राचिन समयमा मानव समुहहरुको बसाई सराईको सजिलो अफ्ठ्यारो कुरा बुझ्न सहयोग गर्दछ । चेन्दुदेखि ल्हासासम्मको दुरी २०४० किलोमिटर भएकोले सेचुवानदेखि ल्हासासम्मको सफर पनि प्राचिन समयमा सहज थिएन । तर पनि प्राचिन मगध काशी, नेपाल, ल्हासा हुदै चिनसम्म व्यापार गर्ने बाटो भने रहेकै थियो । यस्तो व्यापार ईसापुर्व ३/४ शताव्दीमा निरन्तर भईरहेको थियो भन्ने कथा कौटिल्यको अर्थशास्त्र सहित विभिन्न दस्तावेजहरुले बर्णन गर्दछ । 

२.६ नदीको नाम पछि जोडिने 'वा' सभ्यता

कुनै पनि मानव समुह सबैभन्दा पहिला आएर बसोबास गरि बिकास गरेको सभ्यतालाई उसैको भाषाबाट राखिएका पहाड पर्वत, ठाउ गाउ, नदी नाला, भिर पहरा आदीको नामहरु र उसले अभ्यास गरिआएको भाषा, संस्कृति, जीवन पद्धतिहरुले चिनाउछ यद्यपी पछिल्लो समयमा आएर राज्य सत्ताको बलमा अर्को सभ्यताका मानिसहरुले त्यस्ता नामहरु बदलेका पनि होलान । यहा नदीको नाम पछी ’वा‘ जोडिने नदी सभ्यताका मानव समुहसंग सम्बन्धित ’वा‘ सभ्यताको मात्र चर्चा गरिन्छ । 

लिम्बुहरुले नदीलाई जनाउन नाम पछी ‘वा’ जोडेर पुकार्ने गर्दछन् । लिम्बुहरुको मुन्धुममा यस्ता ’वा‘ जोडिएर आउने धेरै नदीहरुको बर्णन आउछ । ति नदीहरु ईम्धिरी याङधाङवा (तमोर नदीलाई माथिल्लो भागमा भनिने नाम), तेम्तेवा (तमोर नदीलाई बिच भागमा भनिने नाम), काङवा (काबेली नदी), फावा (फावा खोला), मेवा, मैवा, ईङवा, सभावा, फुगोङवा, हेङवा, आप्ताङवा, थिदाङवा, फेमेवा, कोक्वा, खरङवा, सावा, नावा, थावा, संखुवा आदी रहेका छन् । यसो त राईहरुको क्षेत्रमा पनि पिखुवा, रावा लगायतका ‘वा’ नदी सभ्यताका नामहरु आउछन् । लिम्बुहरुको मुन्धुममा यि माथीका नदी नामहरु बाहेक साम्याङवा (सुनकोशी नदी), युक्पावा (दुधकोशी नदी)  देखि फेन्जेवा (कालीगण्डकी नदी) सम्मको बर्णन आउछ । 

यस्तो नदी नामको पछाडी ‘वा’ जोडिने नदीहरु भारत, मध्य प्रदेशको सतपुरा र विन्द्या पर्वत श्रृंखलामा पनि पाईन्छ । रेवा (नर्मदा नदीको पुरानो नाम), बेत्वा, तावा, सानो तावा आदी नामहरु सो क्षेत्रका नदीका नामहरु हुन । तर उक्त नाम नदी सभ्यतालाई दावी गर्ने मानव समुह भने त्यहा देखिएको छैन । हुन त उक्त क्षेत्रमा गोण्ड, भिल जस्ता आदीवासी मानव समुहकै बसोबास अहिले पनि रहेको छ । ति गोण्ड, भिल आदिवासी मानव समुहरुले उक्त नदी नाम आफ्नो भाषाबाट रहेको दावी गरेको स्थिति छैन । 

नदीलाई जनाउन नदी नाम पछि ‘वा’ जोडिएर आउने विभिन्न नदीहरु बाहेक मुन्धुममा पहाड जनाउन ‘जोङ /जङ / चङ’ जोडिएर आउने डाडा तथा पहाड शिखरका नामहरु र पर्वत श्रृंखलाहरुलाई जनाउन ‘लुङ’ जोडिएर आउने पर्वत श्रृंखलाका नामहरु पनि प्रशस्त आउछन । उदाहरणको लागी फक्ताङलुङ, सेवालुङ, थोसुलुङ, योसुलुङ, फियालुङ, मुगुप्लुङ, मुक्कुमलुङ, पेन्वेलुङ, सेसेलुङ आदी रहेका छन् । यस्ता नामहरु तिव्वत र चिनमा कमै पाईन्छ । शायद तिनीहरुको नाम पनि परिवर्तन भएका हुन सक्छन् । सगरमाथालाई क्वोमोलुङमा भनेकोलाई छोडेर पर्वत श्रृंखलाको नाम कुनलुन पश्चिम चिनमा पाईन्छ । यो कुनलुन नाममा कुनको पछि आउने लुन चाही लुङको अपभ्रम्स पनि हुन सक्छ । यो पर्वत श्रृंखला तारिम बेसीको दक्षिणबाट उत्तर तिव्वत हुदै आम्डोमा उत्तर दक्षिण फैलिएको हेङडुवान पर्वत श्रृंखलासंग जोडिन्छ । यसको साथै चिनको सान्सी प्रान्तमा गुवानजोङ मैदानसंगै क्वीनलिङ भन्ने पर्वत श्रृंखला पनि रहेको छ जस्ले याङसी र ह्वाङगो नदीको उत्पति स्थललाई छुट्याउछ । यो क्वीनलिङको पछाडीको लिङ चाही लुङको अपभ्रम्स भएकै होईन भन्न सकिन्न । यसैगरि, प्राचिन जाङझुङ राज्य (पश्चिम उत्तर तथा पश्चिम दक्षिण तिव्वत) को केन्द्रलाई पनि ख्युङलुङ र ताजिक ओल्मो लुङ रिङ भनेको देखिन्छ । यस्तो परिवर्तन भएका जस्ता देखिने नामहरु तिव्वतमा धेरै पाईन्छ । 

लिम्बुहरुले नदीलाई जनाउन नाम पछी ‘वा’ जोडेर पुकार्ने गर्दछन् । लिम्बुहरुको मुन्धुममा यस्ता ’वा‘ जोडिएर आउने धेरै नदीहरुको बर्णन आउछ । ति नदीहरु ईम्धिरी याङधाङवा (तमोर नदीलाई माथिल्लो भागमा भनिने नाम), तेम्तेवा (तमोर नदीलाई बिच भागमा भनिने नाम), काङवा (काबेली नदी), फावा (फावा खोला), मेवा, मैवा, ईङवा, सभावा, फुगोङवा, हेङवा, आप्ताङवा, थिदाङवा, फेमेवा, कोक्वा, खरङवा, सावा, नावा, थावा, संखुवा आदी रहेका छन् ।

सामान्यतया चिनीया भाषामा पहाड तथा पर्वत श्रृंखलालाई सान भन्ने गरिएको देखिन्छ । जस्तै तियनसान, कुनलुन सान, हुवासान आदी । तिव्वतमा ‘जोङ / जङ / चङ’ जोडिएर आउने डाडा तथा पहाड शिखरका नामहरु नआए पनि ‘डोङ या जंग’ जोडिएर आउने ठाउ, डाडा तथा पहाडको शिखरहरु भने पाईन्छ । उदाहरणको लागी पवाई जोङ, जोङबाजोङ, दोर्जेजोङ, साडजोङ, हाईडोङ, गुवानजोङ मैदान आदी रहेका छन् । यसो त मध्य तिव्वतको पुरानो नाम बोड भए पनि युचीहरुले तिव्वतलाई साईजोङ् र दक्षिणी मिनहरुले तिव्वतलाई सेचोङ् भन्दथे । तिव्वती भाषामा अलि उचा डाडालाई गाङ् भन्ने गरिन्छ । यो गाङ र जङ या चङ लगभग एउटै हो । हाल काउण्टी तथा ठाउको नामलाई जोङ भन्ने गरिन्छ । डाडा तथा पहाडको शिखरका नाम पछि ‘चङ या जोङ या जङ’ जोडिने, ठाउ तथा समथर परेको ठाउलाई जनाउन नाम पछि बु जोडिने र डाडाको नाम पछि गु जोडिने शव्दहरु तिव्वत तथा चिनका ठाउ र डाडा पर्वतहरुका नाम भन्दा कथित किरातकालीन प्राचिन नेपाल (नेपाल उपत्यका) र लिम्बुवानका ठाउ तथा डाडाहरुको नाम र ति नामहरुको भाषागत अर्थ धेरै मिल्न जान्छ ।  

३. ह्वाङ हे अर्थात ह्वाङवा र याङटेज अर्थात याङसि सिक्याङ सभ्यता

चिनको ह्वाङ हे नदीलाई ह्वाङगो र येलो रिभर नामले पनि जानिन्छ । यसलाई पुरानो चिनीया भाषामा ‘सिगाज’ अर्थात ‘एनकाङ सिगाज’ र मध्यकालिन चिनीया समयमा यसलाई ‘ह्वाङ हा’ र चिनीया मेण्डरिन भाषामा ‘पिनयिन हे’ भन्ने गरिन्छ । यो चिनको दोस्रो लामो नदी हो । यो कुन्घाई प्रान्तको बायान हर पर्वत श्रृंखलाबाट उत्पति भई  ५,४६४ किलो मिटर पार गरि चिन सागरमा खस्दछ । यो नदी क्षेत्र प्राचिन चिनीया सभ्यताका साथै धेरै मानव समुहका उत्पति तथा विकास स्थल हो । यस नदीको शाखा नदीहरुमा उदिङ हे, फेन हे, उई हे, लुओ हे, क्विन हे, डावेन हे, कुओ हे र कुये हे रहेका छन् । यि शाखा नदीहरुका पनि प्रशाखा नदीहरु रहेका छन् । चिनीया भाषामा हे या हो या ह्वा भन्ने शव्द नदी जनाउन जोडिएर आउछ । ह्वाङ ह्वा भनेको ह्वाङगो नदी हो । 

प्राचिन समयमा खास गरि ईसापुर्व ८०००–७००० देखि ईसा पुर्व २२ शताव्दीताका यस नदीको आसपास क्षेत्रमा विभिन्न मानव समुहका सभ्यताहरु विकास भएका थिए जसलाई येलोरिभर सभ्यता भनिन्छ । वास्तवमा यो सभ्यता नव ढुंगे युग (Neolithic age) अथार्त ईसापुर्व ७,५०० आसपासदेखि शुरु भयो र ईसापुर्व २२,०० तिर झिया शासन र ईसापुर्व १६०० तिर साङ शासनकालमा उत्कर्षमा पुग्यो । 

यसैगरि याङसी क्याङ नदीलाई याङटेज नदी पनि भनिन्छ । चिनीया भाषामा यसलाई चाङ जेयिन भनिन्छ । यो चिनको सबै भन्दा लामो नदी हो । यो नदी तिव्वति प्लेटोको टाङगुला पर्वत श्रृंखलाको जारी पहाडबाट उत्पति भई ६,३०० किलोमिटर बगेर पुर्वी चिन सागरमा खस्दछ । येलोरिभर सभ्यता जस्तै यस नदी किनार आसपासमा विभिन्न मानव समुहरुको सभ्यता विकास भयो जसलाई याङटेज नदी सभ्यता भनिन्छ । यहाका सभ्यताहरु येलोरिभर सभ्यताकै समकालीन मानिन्छ । यस नदीका शाखा नदीहरुमा यालुङ, मिन, जियालिङ र हान देब्रेतिरका, उ, युयन, झियाङ र गान नदी दाहिनेतिरका शाखा नदीहरु रहेका छन् । यि शाखा नदीहरुका पनि प्रशस्त प्रशाखा नदीहरु रहेका छन् । 

यस याङसी सिक्याङ नदी किनार आसपास या यसको बेसीनमा ईसा पुर्व ७००० देखि नै याङसी सभ्यता शुरु भएको देखिन्छ । यहि ह्वाङ हा (येलो रिभर भ्याली) र याङसी भ्यालीमा ईसा पुर्व ९००० तिर नै धानबारे जानकारी र धान संकलन थालिएको संकेत पाईएको छ । यस नदी क्षेत्रमा विभिन्न स्थानहरुमा विभिन्न सभ्यताहरुको बिकास भए । 

३.१ ह्वाङवा (येलोरिभर) किनार तथा आसपासका ईलाकामा पाईएको प्रागऐतिहासिक पुरातात्वीक बस्तुहरु 

मानवशास्त्री तथा वैज्ञानिकहरुले यहि ह्वाङ हा नदी बेसीनमा २ मिलीयन (२० लाख) बर्ष पहिले होमो ईरेक्टसरुपको पेकिङ मानव बस्ने गर्दगियो भनेका छन् । उक्त पेकिङ मानवको खप्परको अवशेष पेकिङ नजिक जाउकोडियन गुफामा पाईएको थियो । यस नदी किनार र आसपास क्षेत्रमा अनगिन्ती गुफाहरु रहेका छन् । यहि नदीको वीच तथा तल्लो क्षेत्रमा प्राचिन चिनीया सभ्यताको विकास भयो र चिन सहित पुर्वी एशिया, पुर्वी साईबेरिया, दक्षिण तथा दक्षिणपुर्व एशियामा फैलिएको हो भन्ने गरिएको छ । टियनयुयन मानव अवशेष पाईएको टियनयुयन गुफा पनि यहि ह्वाङ हा सभ्यताको क्षेत्रमा पर्दछ । यो बेईजिङदेखि ५० किलोमिटर उत्तर पश्चिममा पर्दछ । यस गुफामा भेटिएको टुक्रा टुक्ता मानव कंकाल (जिवाशेष) को कार्वन डेटिङबाट ३९०००–४२००० बर्ष अघिको मानव हो भन्ने पत्ता लागेको छ । यस मानवलाई मानवशास्त्र तथा बंशाणु विज्ञानका जानकारहरुले आजका समस्त एशियन र नेटिभ अमेरिकनहरुको पुर्खा हुन सक्ने बताएका छन् । यस मानव जीवाशेषको बंशाणु परिक्षणबाट उक्त मानवको हाप्लोग्रुप प्द्दद भएको देखिएको छ । 

उत्खननबाट यस क्षेत्रमा पुरानो ढुंगे युगका चम्किला रातो–खैरो रंगका माटाका भाडा कुडाहरु, रंगाईएका ढुंगाका सामान तथा औजारहरु, ढुंगाका चक्कुहरु, ढुंगाका खन्ने औजारहरु, ढुंगाका बन्चरोहरु, पिधमा अडनको लागी बनाईएको माटाका कचौराहरु, माटाका रंगिन भाडाकुडाहरु, माटाका तिनखुट्टे भाडाहरु, गोलाकार घरका अवशेषहरु, मानिस मरे पछि बनाईने आयातकार खाडल सहित भाडाहरु र अन्य सामानहरुका अवशेषहरु, औजारकोरुपमा प्रयोग गरिएका जनावारका हड्डी, सिंग र दातहरुको अवशेषहरु पाईएका छन् । 

३.२ ह्वाङवा किनार तथा आसपासका ईलाकाको सभ्यता र संस्कृति

यस क्षेत्रमा रहेका मुख्य ३ वटा संस्कृतिहरुले यस नदी क्षेत्रमा ईसा पुर्व ५–६ हजार बर्षदेखी विकास भएका सभ्यताहरुको प्रतिनिधीत्व गर्दछन् । पैलीगाङ संस्कृति (ईसापुर्व ६०००–५०००), याङसाओ संस्कृति (मध्य नवढुंगे युग ईसापुर्व ५०००–३०००) र लोङसान संस्कृति (पछिल्लो नव ढुंगे युग ईसापुर्व ३०००–८००) लगायत अन्य धेरै संस्कृतिहरु ति प्राचिन संस्कृतिलाई प्रतिनिधीत्व गर्ने संस्कृति हुन । यस ह्वाङ हा को प्राचिन सभ्यताको एक स्थल पैलीगााङ गाउमा उत्खनन गर्दा भेटिएका ढुंगे युगका चम्किला रातो–खैरो रंगका माटाका भाडा कुडाहरुले उक्त सभ्यताका मानिसहरु भट्टिमा पकाएको माटाका भाडाहरु खाना पकाउन प्रयोग गर्दथिए भन्ने देखाउछ । यसले उनीहरुमा आगो आविष्कार पछि खाने कुराहरु पकाएर खाने संस्कृतिको विकास भईसकेको थियो भन्ने देखाउछ । यहा पाईएको रंग लगाइएका ढुंगाका हतियारहरुले घरेलु कामहरुमा र बाहिरीय शक्तिसंग लड्न ढुंगाका हतियार प्रयोग हुन्थ्यो भन्ने देखाउछ । यसको साथै उनीहरु अनाजहरु पनि उत्पादन गर्दथिए भन्ने अनुमान हुन्छ । 

यसै क्षेत्रको लाओगुन्टाई भन्ने गाउमा अन्य धेरै पुरातात्वीक सामानहरुका अवशेषहरु पाईएका छन् जसलाई लाओगुन्टाई संस्कृति नाम दिईएको छ । त्यहा प्राचिन कृषीका अवशेषका साथै ढुंगाका चक्कुहरु, ढुंगाका खन्ने औजारहरु, ढुंगाका बन्चरोहरु, गोलाकार घरका अवशेषहरु, माटोका प्राचिन भाडाहरु, पिधमा अडनको लागी बनाईएको माटाका कचौराहरु, माटाका रंगिन भाडाकुडाहरु, माटाका तिनखुट्टे भाडाहरु, मानिस मरे पछि बनाईने आयातकार खाडल सहित माटाका भाडाहरुका अवशेषहरु पाईकोले ति ढुंगे युगका मानिसहरु अन्न उत्पादन गर्दथिए, समुहमा घर बनाएर बस्दथिए, खाने कुराहरु खान माटाका विभिन्न आकारका भाडाहरु प्रयोग गर्दथिए र मानिस मरेपछि आयातकार खाल्डो खनि गाड्ने र मरेको मानिसलाई माटाका भाडाहरुमा खाने कुरा लाससंगै राखी अन्त्येष्टी गर्ने संस्कृतिको विकास भईसकेको थियो भन्ने देखिन्छ । 

यसैगरि, बिक्सीन् भन्ने स्थानमा पाइएका ढुंगाका हतियार, औजारकोरुपमा प्रयोग गरिएका जनावारका हड्डी, सिंग र दातहरुको अवशेषहरु, पिध्ने कला, रंगिन माटाका सामानहरुका अवशेषहरुले एउटा व्यवस्थित बसोबास र सांस्कृतिक जीवनको संकेत गर्दछ । यसरी नै सिसन स्थानमा पाईएका अवशेषहरुले त्यहा मािनसहरु गोलोकार या अण्डाकार घेरा भित्र बस्दथे ढुंगाका हतियार प्रयोग गरेर अन्न उत्पादनको कृषी गर्दथे र कुकुर, सुंगुर, बस्तुभाउहरु पाल्दथे भन्ने संकेत गर्दछ । 

हेनान प्रान्तको याङसाओ गाउमा भेटिएका ढुंगाका रंगिन हतियार, रातो माटाका भाडाहरु आदी अवशेषहरुले याङसाओ संस्कृतिका मानिसहरु अलि स्थिर बसोबास र खेती गर्दथे भन्ने देखिन्छ । यसरी नै हाउगाङ संस्कृति, डावेनकोउ संस्कृति, युईसी संस्कृतिहरु थप विकसित थिए भन्ने देखिन्छ । 

साङडोङ प्रान्तको लङसान शहरमा पाईएको कालो र खैरो माटाका भाडाहरुका अवशेष, पित्तलका गरगहना आदीले प्राचिन लङसान संस्कृति पछिल्लो र विकसित संस्कृति थियो भन्ने देखिन्छ । यस्तै अवशेषहरु हेनान प्रान्तको ईर्लीटाउ भन्ने स्थानमा पनि पाईएको छ । त्यस यता ईसापुर्व १६००–१०४६ सम्मको साङ बंश शासनकालमा सुन तथा पित्तलका गरगहनाको चलन, हड्डी तथा कछुवाको खबटामा अभिलेख लेख्ने, कृषी तथा हस्तकला आदीको विकास भएको देखिन्छ । साङ भन्दा अघिको झि शासकहरुको सभ्यता र संस्कृति थियो । त्यसपछि ईर्लीगाङ, ईन्छु, जाउयुयन संस्कृतिहरु विकास हुदै गए । 

३.३ याङटेज नदी किनार तथा आसपासका ईलाकामा पाईएको प्रागऐतिहासिक पुरातात्वीक बस्तुहरु

पुवी तिव्वतियन प्लेटोबाट शुरु हुने याङसी नदी सभ्यता दक्षिण चिन सागर सम्मका नदी गडतिर र आसपासको बिसाल क्षेत्रमा प्राचिन याङसी सभ्यतालाई जनाउने विभिन्न स्थानको उत्खननबाट ढुंगे युगका अवशेषहरु पाईएका छन् । यहाको सभ्यता ईसापुर्व ९०००–५५०० सम्मको मानिन्छ । यसलाई प्रमाणीकरण गर्ने माटोका रेखा अंकित भाडाका अवशेष, पर्खाल तथा खाल्डोका अवशेष, धानको अवशेष (कार्वन डेटिट्टबाट ईसापुर्व ८२००–७८०० समयको भएको), हड्डी र काठका खन्ने औजार (कोदाली) का अवशेषहरु पाईएका छन् । 

यसैगरि, सो क्षेत्रमा नवढुंगे युगका बेलनाआकारका माटोका बोटल, सेतो प्लेट र माटाका रातो भाडाहरुका अवशेष, खाल्डो तथा पर्खालले घेरीएको बस्तिहरुको अवशेष, कुखुरा, कुकुर, सुंगुर, भेडा तथा माछाका अवशेषहरु, अण्डाकार माटाका भाडाहरु, तिनखुट्टे भाडाहरुका अवशेषहरु, शहरी पर्खाल, मानिसले बनाएका पानी प्रणाली, ठुला ठुला भवन र बस्तीहरुका अवशेष पाईएका छन् । यस याङसी नदी झर्ने सागरतटिय क्षेत्रमा माटाका भाडाहरुमा विभिन्न जन्तु जस्तै सुंगुर आदीको चित्र अंकित भाडाहरुका अवशेष पाईएका छन् । 

३.४ याङटेज नदी किनार तथा आसपासका ईलाकाको सभ्यता र संस्कृति

यस याङसी नदी तट र आसपासको क्षेत्रमा पाईएका ढुंगे युगिन अवशेषहरुका आधारमा मुख्यरुपमा ९ वटा प्राचिन सभ्यता र संस्कृति थिए भन्ने बर्णन तथा व्याख्या गरेको पाईन्छ । ति सभ्यता तथा संस्कृतिहरुमाः पेन्गटाउसान सभ्यता र संस्कृति (ईसापुर्व ७०००-६१००), डेक्सी सभ्यता र संस्कृति (ईसापुर्व ५०००-३०००), क्युजिआङलिङ सभ्यता र संस्कृति (ईसापुर्व ३४००-२६००), सिजीयाहे सभ्यता र संस्कृति (ईसापुर्व २५००-२०००), हेमुदु सभ्यता र संस्कृति (ईसापुर्व ५५००-३३००), माझियाबाङ सभ्यता र संस्कृति (ईसापुर्व ५०००-३३००), सोङजे सभ्यता र संस्कृति (ईसापुर्व ३८००-३३००), लियाङजु संभ्यता र संस्कृति (ईसापुर्व ३४००-२२५०), उचेङ सभ्यता र संस्कृति (ईसापुर्व १६०० देखि केही समय यता) हरु हुन् । 

यस नदी सभ्यतामा कुखुरा, कुकुर, सुंगुर र भेडा पाल्ने तथा तिनीहरुको मासु खाने संस्कृति थियो । ठुला आंगन बनाउने र ठुला ठुला बस्तिहरु पनि बिकास भएको देखिन्छ । दक्षिणतिरको भागमा भने तावाका बस्तुहरु पनि पाईएकोले त्यहा तावा पनि आविष्कार भएको देखिन्छ । मानिसहरु नदीमा नडुब्ने सामानहरु मर्फत यात्रा गरेको पनि संकेत मिल्दछ । पछिल्लो समयकालमा काठका कचौराहरु पनि प्रयोग गरेको देखिन्छ । जंगली जनावार शिकार गर्न धनुकाण प्रयोग गर्ने र बाजागाजामा काठका ढोलहरु प्रयोग गरेको संकेत पाईन्छ ।

यि फरक फरक सभ्यता तथा संस्कृतिहरुका फरक फरक बिशेषताहरु रहेको देखिन्छ । यस नदी सभ्यता र संस्कृतिमा मानव समुहका बस्तिहरुका वरीवरी सुरक्षित हुन पर्खाल लगाउने र खाडल ख्रन्ने चलन तथा संस्कृति थियो भन्ने देखिन्छ भने रंगिन चित्र तथा बुट्टाहरु माटाका भाडाहरुमा बनाउने, धान र कोदो उव्जाउने संस्कृतिको विकास भएको देखिन्छ । यसैगरि, यस नदी सभ्यतामा कुखुरा, कुकुर, सुंगुर र भेडा पाल्ने तथा तिनीहरुको मासु खाने संस्कृति थियो । ठुला आंगन बनाउने र ठुला ठुला बस्तिहरु पनि बिकास भएको देखिन्छ । दक्षिणतिरको भागमा भने तावाका बस्तुहरु पनि पाईएकोले त्यहा तावा पनि आविष्कार भएको देखिन्छ । मानिसहरु नदीमा नडुब्ने सामानहरु मर्फत यात्रा गरेको पनि संकेत मिल्दछ । पछिल्लो समयकालमा काठका कचौराहरु पनि प्रयोग गरेको देखिन्छ । जंगली जनावार शिकार गर्न धनुकाण प्रयोग गर्ने र बाजागाजामा काठका ढोलहरु प्रयोग गरेको संकेत पाईन्छ । हेमुदु सभ्यता र संस्कृतिका मानिसहरु सुर्य र उत्पादन गर्ने आत्मालाई पुजा गर्दथे भन्ने देखिन्छ । उनीहरु यस्तो कामको लागी सामन (पुजारी) चलाउथे । मरेको मानिसलाई टाउको पुर्व या उत्तरपुर्व पारेर गाड्दथे । मरेको बच्चाहरुलाई भने वाकस जस्तोमा राखी गाडने गर्दथिए । पछिल्लो समयमा मात्र मानिस गाडने स्थानहरु निश्चित भएको देखिन्छ । याङसी नदीको सागर तटवर्ती क्षेत्रको माझीयाबाङ स्थानमा भएको उत्खननबाट धान खेतीका अवशेषहरु पाईएको छ । यसले त्यस बेलाको आर्थिक आधार धान खेती थियो भन्ने थाहा हुन्छ । 

४.जेनेटिक बंशावली (मानव बसाई सराई)

४.१ हाम्लोग्रुप NO-M214। यो मानव समुहमा पाईने Y-chromosome DNA हो जस्ले बाबु पट्टिको बंशाणुलाई जनाउछ । 
४.२ हाम्लोग्रुप O-M175 । यो NO-M214 बाट बंशाणु परिवर्तन भएर बनेको मानव समुहमा पाईने Y-chromosome DNA हो जस्ले बाबु पट्टिको बंशाणुलाई जनाउछ ।
४.३ हाम्लोग्रुप O1 or O-F265 र O2 or (O-M122) । यि दुई Y-chromosome DNA हाप्लोग्रुप O-M175 बाट बंशाणु परिवर्तन भएर बनेको हाप्लोग्रुप हो । 

४.४ बंशाणु बंशावली (Genetic Genealogy)

यो बंशाणु बंशावली NO or NO-M214 बाट शुरु गरिएको छ । किन भने यो हाप्लोग्रुप K2a1 बाट बंशाणु परिवर्तन (Genetic mutation) भएर बनेको हो । यो K2a1 भनेको K2a को सवक्लेड हो । यिनीहरुको पुर्खा हाप्लोग्रुप K2 हो । यो परिवर्तित बंशाणुको अस्तित्व सर्व प्रथम एशियाको हिमालय देखि पुर्वी एशियाको वीच क्षेत्रमा बिकास भयो भन्ने बंशाणु विज्ञान अध्ययनकर्ताको ठम्याई रहेको छ । उक्त NO or NO-M214 बाट बंशाणु परिवर्तन (genetic mutation) भएर O-M175  बिकास भयो र विभिन्न भागमा फैलियो । यस्तो बंशाणु परिवर्तन हुने काम वातावरण र अर्को समुहसंगको सम्पर्क सन्सर्गबाट हुने गर्दछ । 

यसरी बिकास भएको O-M175 बाट बंशाणु परिवर्तन भई २ वटा हाप्लोग्रुप O1 or O-F265 र O2 or (O-M122 विकास भयो । उक्त हाप्लोग्रुप भएका मानव समुहहरु पुर्वी एशिया, मध्य एशिया, पुर्वी साईबेरीया, दक्षिण एशिया र दक्षिण पुर्वी एशियामा फैलन पुगे । 

बंशाणु बंशावली

 

O1 or O –F265 भन्ने हाप्लोग्रुप दक्षिण पुर्व एशिया, ताईवान, जापान, कोरियन प्रायद्धिप, मडगास्कर, दक्षिण चिन र भारतका अष्ट्रोएशियाटिक भाषा बोल्ने मानव समुहहरुमा एकदमै धेरै मात्रामा पाईएको छ । यसैगरि, O2 or O-M122 भन्ने हाप्लोग्रुप हान चिनीया, तिव्वत–बर्मी जनसमुदाय जस्तै यूनान, तिव्वत, बर्मा, उत्तर पुर्व भारत, नेपाल सहित मन्चु जनसमुदाय, मंगोलियनहरु, कोरियन, भियतनामी, मले, फिलीपिनो, थाई, पोलिनेशियन र काजिस्कीस्तानका नाईमन जातिमा एकदमै धेरै पाईएको छ । 

यो O2 or O-M122 हाम्लोग्रुप भारत अरुणाचल प्रदेशको अदि जातिमा ८९% मा, अपाटानीमा ८२% मा, निसीमा ९४% मा, नागा जातिमा ७६% मा, मेघालयका गारो जातिमा ५९.२% मा, खासीमा ३१.७% मा, नेपालका तामाङमा ८६.७% मा, नेवारमा २१.२% मा, चितवनको थारुमा ५२.६% मा र २८.६% (अर्को समुहको थारुमा), मोरङका थारुमा १८.९% मा पाईएको छ । यो प्रतिशत पश्चिमा थारुमा एकदमै धेरै प्रतिशतमा पाईएको छ । जेनेटिक बैज्ञानिकहरुको एक अध्ययनले राई, लिम्बु, मगर र गुरुङमा पनि यो हाप्लोग्रुपको मात्रा ७०% भन्दा बढी रहेको देखाएको छ । 

५. एक विश्लेषण

चाम्लीङ राईको मुन्धुममा नियामाबाट पिपिलाम, जोजिल्लालाम, ख्याबरलाम, योला, दिल्लीहुङ, थारुबजीसाप्ते हुदै खुवालुङसम्मको स्पष्ट बृतान्त आउछ । यि ठाउहरुको पहिचान अहिल्यै पनि स्पष्ट छन् । पिपिलालाम, जोजिल्लालाम, ख्याबरलाम, योला, दिल्ली, थारुबजी र खुवालुङ भन्ने स्थानहरु पाकिस्तान देखि कास्मीर, भारतमा रहेका स्थानहरु हुन योलालाई छोडेर जुन आज पनि त्यहि नामहरुले चिनिन्छन् । जहासम्म नियामा भन्ने स्थानको कुरा छ शायद त्यो पश्चिम चिनको सिन्ज्याङ उगुर स्वायत्त क्षेत्रमा रहेको थियो । प्राचिन समयमा त्यहा खोटान राज्य थियो । सो राज्यमा टोचारियन, सक र युची सहितका विभिन्न मानव समुहहरु थिए । 

अहिले पनि निया नामबाट त्यहा निया (मिनफेङ) भन्ने शहर छदैछ । यहि अहिलेको मिनफेङ (निया) शहरबाट ११५ किलोमिटर उत्तरमा प्राचिन निया भन्ने ठाउ थियो जुन ताक्लामकान मरुभुमीमा आएको फेरबदलका कारण उक्त निया स्थान पुरियो । अहिले यस निया सभ्यताको भग्नावशेषहरुको उत्खनन भईरहेको छ । उत्खननबाट एउटा ठुलो क्षेत्रमा ७० भन्दा बढी घरहरुका भग्नावशेष पाईएका छन् । चाम्लीङ राईको मुन्धुममा आउने नियामा तेही नै ठाउ हो भन्ने कुरा सोही तारिम बेसीमा रहेको खोटान शहर (स्थान) हाल पनि रहिरहेको र नेपालको चाम्लीङ राईको क्षेत्रमा खोटाङ स्थान नाम रहनुले पनि पुष्टि गर्न बल प्रदान गर्दछ । शायद चाम्लीङ राईका पुर्खाहरु तारिम बेसीमा रहेको खोटान र निया स्थानबाट बिस्तापित भई दक्षिण काराकोरम पहाडको बाटोबाट काश्मिर झरे र विभिन्न ठाउहरुमा बसाई सराई गर्दै हाल बसोबास भएको ठाउमा आई पुगे । उनीहरुका पुर्खाहरुले दरसन्तानलाइर्् सुनाउदै आएकोले नियामा र खोटान बिर्सेनन र पछिल्लो बसोबास हुन पुगेको स्थानको नाम पनि खोटाङ राख्न पुगे । 

चाम्लीङ राईका केही मुन्धुमविदहरुले उक्त मानव समुहका पुर्खा येलोरिभर सभ्यताबाट विभिन्न कारणले बसाई सराई गर्दै तिव्वत आए र त्यहाबाट बर्तमान भारतिय भुमीमा झरे भन्ने अनुमान गरेका छन् । यदि उनीहरुका पुर्खा येलोरिभर सभ्यताबाट विभिन्न कारणले अन्यत्र बसाई सराई गरेका भए उक्त बसाई सराई कोकोनुर ताल क्षेत्र हुदै तारिमबेसी खोटान क्षेत्रमा ईसा पुर्व ४–५ हजार बर्ष पहिले नै भयो होला भन्नु पर्ने हुन्छ । फेरी यो चिनबाट पश्चिम देशहरुमा जाने प्राचिन सिल्क रोड पनि हो । 

लिम्बु मुन्धुमले मुनातेम्बे, खाम्पुरादेन, मिलफुरादेन, सिन्युकदेन, मुदेन, तेमेनवरङ, मनासावबर, सोधुङवरक, थोसुलुङ, योसुलुङ, फियालुङ, मुगुप्लुङ, ल्यासा आदी मध्ये सिन्युकदेन भनेको चिन, मुदेन भनेको भोट (बोड), तेमेनवरङ भनेको मैदान सागर, ल्हासा भनेको तिव्वतको हालको राजधानी ल्हासा, सोधुङवरक भनेको ताप्लेजुङ जिल्लाको तोप्केगोला क्षेत्रको ठुलो ताल हो भने खाम्पुरादेन, मिलफुरादेन, तुम्दुङ वरक, मनासावबर भनेको कहा हो त्यो स्पष्ट पहिचान गर्न सकिन्न ।

चाम्लीङ राईको मुन्धुमले पुर्खाहरु आएको बाटो जति प्रष्ट बर्णन गर्दछ त्यति प्रष्ट लिम्बु मुन्धुमले गर्दैन । प्रष्ट बर्णन गरे पनि बर्णन गर्दा आएका स्थान तथा ठाउहरु हाल पहिचान गर्न सकिएको अवस्था छैन । लिम्बु मुन्धुमले मुनातेम्बेको बर्णन गर्दछ । उक्त मुनातेम्बे या यस्ता नाम गरेको स्थानहरु हाल न तिव्वतमा पाईन्छ न त सिन्ज्याङ उगुर क्षेत्रमा पाईन्छ । लिम्बु मुन्धुमले मुनातेम्बे, खाम्पुरादेन, मिलफुरादेन, सिन्युकदेन, मुदेन, तेमेनवरङ, मनासावबर, सोधुङवरक, थोसुलुङ, योसुलुङ, फियालुङ, मुगुप्लुङ, ल्यासा आदी मध्ये सिन्युकदेन भनेको चिन, मुदेन भनेको भोट (बोड), तेमेनवरङ भनेको मैदान सागर, ल्हासा भनेको तिव्वतको हालको राजधानी ल्हासा, सोधुङवरक भनेको ताप्लेजुङ जिल्लाको तोप्केगोला क्षेत्रको ठुलो ताल हो भने खाम्पुरादेन, मिलफुरादेन, तुम्दुङ वरक, मनासावबर भनेको कहा हो त्यो स्पष्ट पहिचान गर्न सकिन्न । खाम्पुरादेन भनेको तिव्वतको खाम क्षेत्रलाई ईंकित गरेको हुन सक्छ भने मिक्फुरादेन (मिलफुरादेन) भनेको आम्डो क्षेत्रको मिन पर्वत श्रृंखलाको कुनै उपत्यकालाई जनाउन संकेत गरेको हुन सक्छ । 

लिम्बु मुन्धुमले बर्णन गर्ने यि माथीका ठाउ तथा पर्वत श्रृंखलाहरुका नामहरुलाई हेर्दा मुन्धुमी मानव समुहका पुर्खाहरु मुनातेम्बे, सिन्युक, खाम्पुरादेन, मिलफुरादेन, ल्हासा, मुदेन हुदै केहि समुह ब्रम्हापुत्र पछ्याएर अरुणाचल र अरु समुह ताप्लेजुङको उत्तरी सिमा नाकाबाट हिमालवारी आएको संकेत मिल्दछ । ब्रम्हापुत्र पछ्याएर अरुणाचल हुदै तेमेन (गंगा-ब्रम्हापुत्र मैदान) आसाममा करिव ईसा पुर्व ५-६ हजार बर्ष पहिले नै आए भन्ने कुरालाई २ वटा आधारमा भन्न सकिन्छ । पहिलो आधार, भाषा विज्ञका अनुसार साईनो-तिव्वेतियन भाषा समुहहरु ४-८ हजार बर्ष पहिले एउटै भाषा थियो । त्यसपछि यो क्रमश विभिन्न भाषा समुहहरु बन्दै गएको सन्दर्भमा एकै ठाउबाट छुटेकाहरुको भाषा पनि अन्यसंगको सम्पर्क र सम्बन्धका कारण फरक हुन गयो । यसैले, मेकङ र सालवीन नदीलाई पछ्याएर थाईल्याण्ड, बर्मा, पुर्वोउत्तर भारततिर लागेको संमुहले उही भाषा बोल्छन भन्ने रहेन । दोस्रो आधार, अरुणाचल प्रदेशको लोहित जिल्ला अन्तर्गत डाफाबुम क्षेत्रमा पाइएको चिर्न प्रयोग हुने ढुंगाको हाते बन्चरो ९ज्बलमबहभ अभिबखभच० सहित अन्य ढुंगे हतियार र गारो पर्वतमा पाइएको तहतह भएको बन्चरो ९ँबिपभम बहभ० हरुले ढुंगे युगमा नै यस क्षेत्रमा मानव समुहहरु थिए भन्ने प्रमाणीत गर्दछ । यहि मानव समुहहरु गंगा–सिन्धु मैदानमा फैलिए । 

६. सभ्यतामा समानता र फरक

ईसापुर्व ७०००–८००० देखी ईसापुर्व ९/१० शताव्दीसम्मको हवाङवा ÷ह्वाङ हा (येलोरिभर) र याङसी सभ्यतासंग मुन्धुममा आउने मुनातेम्बेलाई छोडेर ईस्वीको ११/१२ औ शताव्दीको लिम्बुवान भुमीमा आएपछिको लिम्बुको सभ्यता र संस्कृति तुलना गर्न सकिन्न । त्यहाको सभ्यता र संस्कृतिसंग ईसापुर्व १०/११ औ शताव्दीमा बिकास भएको प्राचिन नेपालको कथित किरातहरुको सभ्यता र संस्कृति पनि तुलना गर्न गाह्रो छ । लामो अन्तरालमा धेरै कुराहरु परिवर्तन भईसकेका हुन्छन् । तर लामो कालखण्डको अन्तराल भए पनि कतिपय कुराहरुमा के समानता छ भनेर हेर्न सकिन्छ । 

समानता

ईसापुर्व ७०००–८००० देखी ईसापुर्व ९÷१० शताव्दीसम्मको हवाङवा ÷ह्वाङ हा (येलोरिभर) र याङसी सभ्यतासंग ईस्वीको ११/१२ औ शताव्दीको लिम्बुवान भुमीमा आएपछिको लिम्बुको सभ्यता र संस्कृति तुलना गर्दा केही आधारभुत कुराहरु मिलेको देखिन्छ ।

पहिलो, घरको संरचनामा समानता देखिन्छ । ह्वाङ वा–याङसी सभ्यताका मानव समुहका गोलाकार घरको अवशेषहरु पाईएकोले सो गोलाकार घर र लिम्बु मानव समुहले पहिले पहिले बनाउने गोलाकार घुमाउने घरमा समानता देखिन्छ ।

दोस्रो, मरेको मानिसलाई अन्त्येष्टी गर्ने आयातकार खाल्डोमा समानता देखिन्छ । ह्वाङ वा–याङसी सभ्यताका मानव समुहका सो क्षेत्रमा भएका उत्खननबाट प्राप्त उक्त प्राचिन मानव समुहले मानिस मरेपछि अन्त्येष्टी गरिने खाल्डो आयातकारको बनाउथे भन्ने अवशेषहरुले देखाएको छ । ति खाल्डोहरु भने पुर्व पश्चिम र उत्तर दक्षिण, कफिन राखेको र नराखेको ठाउ अनुसार दुवै प्रकृतिको पाईएका छन् । लिम्बु समुदायले आज पनि मानिस मरेपछि अन्त्येष्टी गर्न आयातकार खाल्डो नै बनाउछन । अझ त्यस आयातकारमा ढुंगाले छेकेर कफिन जस्तो बनाउछन् । केही लिम्बुहरुले लास राख्दा या खाल्डो बनाउदा पुर्व पश्चिम र केहीले उत्तर दक्षिण दिशा बनाएर निर्माण गर्दछन् । 

तेस्रो, सुनको गहना प्रयोगमा समानता देखिन्छ । प्रागऐतिहासिककालको हवाङवा /ह्वाङ हा (येलोरिभर)–याङसी सभ्यतामा खासगरि ईसापुर्व १६ शताव्दी यता पित्तल र सुनको गरगहनाको प्रचलन रहेको देखिन्छ । यस्तो सुनको गरगहनाको आख्यानहरु लिम्बु मुन्धुममा प्रशस्त आउछ यद्यपी यो ईसापुर्व १६ शताव्दी भन्दा यताका सभ्यताहरु हुन । 

चौथो, नदी जनाउन नामको अन्त्यमा ’वा‘ जोडिने प्रचलनमा केहि समानता छ । लिम्बुहरुको क्षेत्रमा सबै नदीमा वा जोडिएर आउने गर्दछ । उदाहरणको लागी मिक्वा, मैवा, इम्बिरी याङधाङवा, काङवा, हेङवा, ईङवा, खरङवा आदी । यसरी नै प्रागऐतिहासिक सभ्यता रहेको चिनको येलोरिभर र याङसी नदी क्षेत्रका प्राय जसो नदीहरुको नाम पछि हे या ह्वा जोडिएर आउछ । उदाहरणको लागी ह्वाङ हे (ह्वा या वा), यस ह्वाङ हे का शाखा नदीहरु उदिङ हे, फेन हे, उई हे, लुओ हे, क्विन हे, डावेन हे, कुओ हे र कुये हे आदी । यसरी नै जिउझाई उपत्यकाका भित्रका तिनवटा उपत्यका मध्ये एक जहा लामो ताल रहेकोबाट जेचुवा नाम रहेको छ । यि नाम समानताले पनि उक्त स्थान र लिम्बुहरुको सम्बन्धलाई देखाउन बल प्रदान गर्दछ । 

पाचौ, कपडा बून्ने तानमा समानता देखिन्छ । कपडा बुन्ने तानको प्रचलन चिनीया हान जातिमा ईसापुर्व २ शताव्दीतिर थियो भन्ने कुरा लावोगाउसानमा सन २०१३ मा भएको उत्खननबाट ४ प्रकारका तानहरको अवशेष पाईएको छ । यस्तो कपडा बुन्ने तानको आख्यान र अभ्यास लिम्बु जातिमा सातौदेखि ११ औ शताव्दी पछि लगातार रहेको छ । सम्भवत चिनको यस क्षेत्र र सिन्धु सभ्यतामा रहेको तानको प्रचलन धेरै पछि मात्र लिम्बु समुदायमा आईपुग्यो होला भन्न सकिन्छ । 

छैटो, बंशाणु हाप्लोग्रुपको समानता देखिन्छ । प्रागऐतिहासिक टियनयुयन मानवदेखि विकास भएको जेनेटिक हाप्लोगु्रप ह्वाङ हे-याङसी क्षेत्रका मानव समुह र लिम्बु मानव समुहको जेनेटिक हाप्लोग्रुप O2 अर्थात O-M122 सहित अन्य O2 संग जोडिएका हाप्लोग्रुप उपस्थितिमा समानता रहेको छ । 

सातौ, कतिपय पहाड तथा स्थानका नामहरुमा समानता पाईन्छ । जोङ र लुङ / लुन ÷ लिङ जोडिएर आउने पहाड तथा स्थानका नामहरुले भाषागत हिसावले नजिकको सम्बन्ध देखाउछ । हुन त नेपालका सबै मंगोलोईड मानव समुह र चिन तथा तिव्वतका मानव समुहहरु सबै मंगोलोईड मानव समुह भएकोले तिनीहरुले बोल्ने चिनीया-तिव्वती तथा तिव्वति-बर्मी भाषा परिवारका केही आधारभुत शव्दहरु मिल्न जान्छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु नन्द कन्दङवा

किताबहरु

Helping Hands

Like us on Facebook