ग्याल्वो ल्होसार मनाउँदै

विहिवार ०७ फाल्गुन, २०७१   |   शेर्पा ग्याल्वो ल्होसार

Print This   |   Font Size + -

ग्याल्वो ल्होसार मनाउँदै

शेर्पा समुदायहरु ल्होसार भब्यताको साथ मनाउदैछन् । उनीहरु आजबाट लगतार विभिन्न कार्यक्रमहरु आयोजना गरि १५ दिनसम्म मनाउने गर्दछन् । ल्हो अर्थात ऋतु वा वर्ष र (छार) सारको अर्थ नयाँ । अर्थात् ल्होसारको अर्थ हो नयाँ वर्ष ।

नेपालका आदिवासी जनजाति शेर्पा समुदायले २१४२ औं सिङमो लुक्ल्लो ग्याल्वो ल्होसार मनाएका छन् । यो पर्व नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ आदिले फरकफरक मितिमा विभिन्न नामले मनाउने गर्दछन् । तामाङहरुले सोनाम ल्होछार र गुरुङहरुले तो र शेर्पा समुदायले यस्लाई ग्याल्वो लोसार मनाउने गरेका छन् ।

ल्होसार अर्थात नयाँ बर्षबाट नयाँ बर्ग परिवर्तन हुने गर्दछ । जसको नामाकरण १२ वटा जनावरको हुने गर्दछ । जस्तै मुसा–चीवा, गोरु–लाङ, बाघ–तक, ह्ये–खरायो, मेघ–डुक, सर्प–डुल, घोडा–ता, भेंडा–लुक, बाँदर–टे, चरा–च्या, कुकुर–खी र बँदेल–फक । त्यसैगरी शेर्पाहरु वर्षको गणना गर्दा यि १२ वटा जनवारहरुको अलवा ५ धातुहरु ः माटो–स, आगो–मे, काग–सिङ, फलाम–च्या र पानी–छ्यु र २ लिङ्ग पुरुष–फो र स्त्री–मो बाट पनि गर्ने गर्दछन् ।

ल्लोसार पर्व नेपाललगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा समेत मनाईन्छ । नेपालमा विशेषगरी तोलो लोसार, सोनाम लोसार र ग्याल्बो लोसार मनाइन्छ । तोल्हो ल्होछार गुरूङ समुदाय र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाउँछन् भने सोनाम ल्होसार तामाङ र ह्योल्मो समुदाय र ग्याल्बो  वा ग्याल्पो लोसार शेर्पा, लामा तथा भोटे समुदायले मनाउँछन् ।

मैदाको पिठोबाट बनाइने विशेष परिकार खाप्से

घर रंगाउने र खाप्से बनाउने

ल्होसार पर्ब ती समुदायले बिशेष प्रकारले मनाउने गर्दछन् । ल्होसार पर्ब शूरु हुन भन्दा  केही महिनाअघिदेखि नै ल्होसार तयारीको क्रममा शेर्पा समुदायहरु आफ्नो घरमा रंङ्गाउने, नयाँ लुगा किनमेल गर्ने काम गर्दछन । लोसार सुरु हुनुभन्दा केही हप्ता अगावै खाप्से अर्थात मैदाको पिठोबाट बनाइने विशेष परिकार बनाउँदछन् ।
त्यसैगरी लोफुत अर्थात अन्न रोपेर उमार्ने आफ्नो ठाउँको हावापानीअनुसार ल्होसारको पहिलो दिनमा उम्रनेगरी एउटा भाँडामा माटो र बालुवा मिसाएर त्यसमा गहुँको बीउ राखेर उमार्दछन । यसरी उमे्रको गहुलाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गरिन्छ ।


गुथुक र सरसफाई

शेर्पा समुदायहरु ल्होसार शूरु हुनु भन्दा २ दिन अगाडी मैला फाल्ने अर्थात गुथुक गर्ने गर्दछन् । उनीहरु आफ्नो घरको भित्री भाग पूरै सफा गर्दछन् । यसरी सफा गर्दा निस्केको फोहोरलाई चोकमा फालेर परिवारको ग्रहदशालाई विसर्जन गर्दछन् । र उनीहरु यही दिनको साँझ नौ विभिन्न प्रकारका अन्न मिसाइएको खाना अर्थात गुथुक खाने गर्दछन् । गुथुकमा आँटाको डल्ला भित्र सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाइएको आँटाको एक–एक डल्ला सबैको भागमा राख्दछन् । गुथुक खानुभन्दा अगाडि सो आँटाको डल्लोभित्र कसको भागमा के परयो भनेर सबैले अगाडि खोलेर हेर्छन् ।

सेतो कपडाको अर्थ कामना पूरा हुने, गहुँको अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खुर्सानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर सोच्ने जनविश्वास छ उनीहरुमा ।

त्यसैगरी शेर्पा समुदायहरु काठमाडौको बौद्ध, कपन, स्वयम्भूका साथै गाउँघरको मुख्य गुम्बामा बिदाइ हुने सालको ग्रहदशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रहदशा विसर्जन गर्न बिहानदेखि नै ङिस्युगु पूजा गर्ने गर्दछन् । र शेर्पाहरु देशैभर अआफ्नो घर नजिकको गुम्बामा गई पूजा गर्ने गर्दछन् । र पूजा सकिनासाथ अधिकांश गुम्बामा लोसारको बिदा सुरु हुन्छ ।

पुजाआजा गर्ने चलन

शेर्पाहरु ल्होसार सुरु हुनुभन्दा १ दिनअघि सबैले आफ्नो घरलाई सजाउँछन् । घर सजाउन विशेषतः सम्बोटा लिपिमा टाँसी देलेक लेखिएका वाक्यांश र अष्टमंगलका चिन्ह सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा लेख्ने गर्दछन् । गाउँघरमा आगोको धुँवाले पूरै कालो भएको भित्ता, दलिन र खम्बामा सेतो पिठोले अष्टमंगल लेखिएपछि घर धेरै उज्यालो देखिन्छ । अष्टमंगल लेख्न नजान्नेहरुले अष्टमंगलको प्रतीक बुढी औंलाले पीठोका आठ वटा थोप्ला बनाइन्छ । यही दिन पूजा कोठालाई सिंगारेर भगवानको प्रतिमूर्ति वा फोटोअगाडि नै स–साना सात वटा भाँडामा क्रमशः मुख धुने जल (अघ्र्यम), गोडा धुने जल (पाद्यम), फूल (पुष्पे), धुप (धुपे), छयोमी (आलोक), केशरको जल (गन्धे) र भोजन प्रतीक तोरमा (नैवेद्य) सजाउने गर्दछन् ।

भगवानको प्रतिमूर्ति वा फोटो राखिएको स्थान (छ्योखाङ) अगाडि पुङ्गी अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी)लाई सात वा नौ चाङ लगाई त्यसमाथि दीर्घायुको प्रतीक कछुवाको आकार बनाएको रोटी, ल्होसारको बेला आफ्ना नातेदार, इष्ट–मित्रलाई आर्शिवाद दिँदा खुवाउन विशेष प्रकारको काठको भाँडामा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएको), काठको पोङभित्र राखिएको छ्याङ फु (अमृत जलको प्रतीक पेय पदार्थ), ग्रहदशाको प्रतिरक्षा गर्न राखिएको डला (तरवार वा काट्ने हतियार), पञ्चबुद्ध, पञ्चतत्व र पाँच प्राकृतिक शक्तिको प्रतीक बोसको डण्डामा बेरिएर राखेको पञ्चरड्डीन कपडा र विभिन्न प्रकारका रोटी, मिठाइ तथा बिस्कुट सजाउने गर्दछन् । लोसारका पाहुनालाई बसाल्ने ठाउँ र खुवाउने खाना सबै तयार पारेर राख्ने चलन छ ।

लोसारको पहिलो दिन

लोसारको पहिलो दिन बिहान सबेरै तीनचार बजे उठेर हात–मुख धोएपछि सिधै जमिनबाट पानी निस्कने धारामा गएर धारालाई करक्याङ (घीउको थोप्ला), खादा र धुप चढाएर पूजा गरेर पानी थापेर घरमा ल्याउँदछन् । कतैकतै त धारामा पानी लिन सबैभन्दा पहिला पुग्नेको होडै चल्छ ।

साङ सेरकिम र यसरी ल्याइएको पानी सर्वप्रथम भगवानलाई तिङ (भगवानलाई पानी चढाउने स–साना सातवटा भाँडा)मा हालेर चढाइन्छ र साङ सेरकिम (अशुद्धलाई चोख्याउने) पूजा गरिन्छ । नयाँ सालको परिकारका रुपमा डेसिल (चामलको खानाको परिकार) खाप्से (रोटीको परिकार) र अन्य लोसारको खाना सबैभन्दा पहिले भगवानलाई चढाइन्छ ।

आशिर्वाद घरको मुली व्यक्तिले छिमार (सगुनको प्रतीक सेतो पिठोको परिकार) र अमृत जल (छयाङ फु)लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाने गर्दर्छ । र अलिकति सगुनका लागि दायाँ कुममा छर्कन्छ । त्यसपछि घरका सदस्यले नयाँ वा सफा लुगा लगाएर लोसारको छिमार खान तयार हुन्छन् । छिमार पहिला एक चम्चा हत्केलामा खान दिइन्छ र अलिकति सगुनका लागि केटा हो भने दायाँ र केटी भए बायाँ कुममा छर्किन्छ । छिमार छर्किंदा दिनेले ूटासी देलेक फुन्छोम छोकू र लिनेले ूतेन्दु देवर थोपर स्योगू भन्दछन् । छिमार सँगसँगै छयाङ्फु (अमृत जल) पनि लिइन्छ । परिवारका सबैले छिमार खाइसकेपछि सगुनको रुपमा सेतोको प्रतीक चामलबाट बनेको डेसिल खाइन्छ । डेसिलपछि खाप्से र अन्य परिकार खाँदै मनोरञ्जन गरिन्छन् ।

शेर्पाहरु लोसारको पहिलो दिन आ–आफ्नै घरमा बस्दछन् । पहिलो दिन शुभ तिथि भएमा घरको अगाडि आँगनमा राखिएको पुरानो ध्वजा झिकी नयाँ ध्वजा ठड्याइन्छ । यो दिन ध्वजा ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनमा ठड्याइन्छ ।

लुङ्दार र पिकनिक स् भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्म प्रचार गर्न देवलोकमा पुग्दा देवता र असुरबीचको लडाइँमा देवताहरू पराजित भएका थिए । त्यसपछि बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान)मार्फत् दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरे । त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लङ्दार टाङ्ने प्रचलन सुरु भएको मानिन्छ ।

लङ्दारको पाँच रंगको अर्थ पञ्चबुद्ध (ग्याल्वा रिङा)को रङ हो । सेतो रङको अर्थ बैरोचना बुद्ध (नम्बर नाङजे), नीलो रङ अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा), पहेँलो रङ रत्न सम्भव बुद्ध (रिङ्छेन जङ्देन), रातोको अमिताभ बुद्ध (नाङवाङ थाये), हरियोको अमोघसिद्धि बुद्ध (तोन योत ठुप्पी) हो । गणितीय ज्योतिषविद्याको आधारमा लुङ्दारमा पाइने पाँच रङलाई धातुको रङ मानिन्छ, जसअनुसार सेतो–फलाम, नीलो–पानी, पहेंलो–माटो, रातो–आगो र हरियो–काठ धातु हुन् । लुङ्दारका पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । नीलो आकाश, सेतो बादल, रातो आगो, हरियो पानी, पहेलो धरती हुन् । लुङ्दार टाङ्नुअघि त्यसलाई धर्मगुरुबाट अभिषेक (रप्ने) गरिन्छ ।

लोसारको दिन फाल्गुण पूर्णिमासम्म धर्मगुरूहरु र आफ्ना मान्यजनकोमा गएर छिमार खाई आशिर्वाद लिइन्छ । आफ्नो जन्ममितिअनुसार शुभदिनमा आफ्नै घरमा, अग्ला र स्वच्छ डाँडामा दीर्घायू, सु–स्वास्थ्य र सफलताको कामना गर्दै व्यक्तिगत र सामूहिक तरच्यो (ध्वजा) ठड्याउने र लुङ्दार (पञ्चरड्डी पताका) टाँगिन्छ । यसरी ध्वजा ठड्याए र लुङ्दार टाँगेपछि पूजा गरिन्छ । अन्तमा सबैले हातमा सेतो सगुनको प्रतीक पिठो र चामल हातमा लिएर २ पटक आकाशतिर उचाल्दै तेस्रोपटकचाहिँ “कि‘ कि‘ सो‘ सो‘ होर ग्यलो” भनेर छर्किन्छ ।

यो वर्ष काठमाडौमा वसोबास गर्ने शेर्पाहरु फाल्गुण ९ गते शेर्पा सेवा केन्द्र टुसाल, स्वयम्भु र बौद्धमा सामूहिक ल्हप्सो पूजा गर्ने तयारी गरेका छन् । अमेरिका, बेलायत, युरोप, जापान, कोरियालगायतका देशमा रहेका शेर्पाहरुले पनि सामूहिक ल्हप्सो पूजा गर्ने गर्दछन् । लोसार सुरु भएदेखि फाल्गुण पूर्णिमासम्म शेर्पाहरु आफ्ना नातेदार, गाउँले र आफ्नो मिल्ने समूह मिलेर घरभोज र वनभोज खान्छन् ।

ल्हो अर्थात ऋतुलाई विभिन्न १२ वटा विभिन्न जीवजनवारहरुको नाममा मान्दछन् । ल्होेसार अर्थात नयाँ वर्षलाई स्वागत तथा पुरानो वर्षलाई विदाई गर्न यो पर्व मनाउने गर्दछन् ।

 


Conversations
Total Comments:

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook