उपनिवेशवादी शिक्षाले जन्माएको परिणाम

विहिवार १९ चैत्र, २०७१   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

कोइँचबु काःतिच (उत्तम)

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल

उपनिवेशवादी शिक्षाले जन्माएको परिणाम

भाग २

शिक्षा परिवार्तनको माध्यम हो । शिक्षा विकासको लागि हो । यसैले पढेलेखेको मानिसहरुको सोँच, आर्थिक, सामाजिक, साँस्कृतिक, स्वास्थ्य स्थितिमा परिवर्तन आउनु पर्छ भन्ने आधुनिक शिक्षाको मान्यता हो । वर्तमान आधुनिक शिक्षाको लक्ष्य भौतिक विकास र भौतिक परिवर्तनलाई मात्र बिकास मानिरहेको यथार्थ सबै सामु छर्लङ्ग छ । जसको कारण आम पढेलेखेका मानिसहरु शुरुमा अन्धशिक्षित वर्ग बनेर समाजमा सक्रिय भएको पाइन्छ । जब उनीहरुले आफुले पाएको शिक्षा व्यवहारिक रुपमा प्रयोगमा आउन नसकेको महसुश गर्छन अनि मात्र त्यसको वैकल्पिक उपाय खोज्छन् । यसैले नेपालको सन्दर्भमा विषयगत पढाईको मुल्य–मान्यता त्यति भएको पाइँदैन । वास्तवमा कुनै पनि सिकारुलाई पहिला ज्ञान दिने त्यसपछि उसको सीप, क्षमता अभिवृद्धि हुन्छ र सोचाइमा परिवर्तन हुन्छ वा कुनै पनि विषयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ भन्ने सिद्धान्त असफल भई सकेको छ । यसको उपलब्धि सय प्रतिशत लगानी गर्दा वीस प्रतिशत मात्र प्रतिफल प्राप्त भएको अनुसन्धानकर्ताहरुको अनुसन्धानले देखाइसकेको छ । विगतदेखिको राज्यको लगानीलाई हेर्दा नेपालको भौतिक तथा नैतिक उन्नतिमा कुनै पनि परिवर्तन नहुनु पनि बलियो उदाहरण हुनसक्छ ।

आधुनिक शिक्षाबाट दिक्षित आम आदिवासी जनजातिहरुको अवधारणामा शिक्षार्जन कक्षा उक्लनु हो, अडम्बर बढाउनु, हिन्दुकरण, संस्कृतकरण हुनु, सोचाइमा व्यक्तिवादी हावी बढ्नु, निरार्थक स्वतन्त्र चाहनु, परम्परागत मूल्य–मान्यताको विरोध वा विद्रोह गर्नु हो । 

यसरी आधुनिक शिक्षाबाट दिक्षित आम आदिवासी जनजातिहरुको अवधारणामा शिक्षार्जन कक्षा उक्लनु हो, अडम्बर बढाउनु, हिन्दुकरण, संस्कृतकरण हुनु, सोचाइमा व्यक्तिवादी हावी बढ्नु, निरार्थक स्वतन्त्र चाहनु, परम्परागत मूल्य–मान्यताको विरोध वा विद्रोह गर्नु हो । स्थाइ वस्तुभन्दा अस्थाइ वस्तुहरुमा रुची बढ्नु, उपाभोक्तवादी तथा पलायनवादी सोँचको विकास हुनु, आफुप्रति आपैंmमा घृणा उत्पन्न हुनु हो । पराजित मनस्थितिको विकास हुनु, आफ्नोपन प्रति वेवास्ता हुनु । सुविधाभोगी हुनु । साम्राज्यवादी सोँचको विकास हुनु । अरुको विचार, मूल्य–मान्यतालाई अस्वीकार गर्नु । इमान्दारीतमा ह्रास आउनु यही आधुनिक उपभोक्तवादी शिक्षाको उपलब्धिहरु हुन ।

  1. देखावटी रुपमा आदिवासी जनजाति भए पनि विचार र व्यवहारले खस–बामन र अन्य बाहिरीयभन्दा फरक नदेखिनु । 
  2. आफ्नो मुल्य–मान्यता र परम्परा, संस्कार–संस्कृति, भाषा, धर्म प्रति घृणा जाग्नु वा आपैंmप्रति हिनताबोध हुनु ।
  3. अंग्रेजी र नेपालीको मात्र भविष्य छ भन्नु, कोइँच जस्तो अन्य आदिवासीको भाषाको औचित्य समाप्त भएको ठान्नु ।
  4. आदिवासीवाद, चौथो विश्वको विषयमा अनभिज्ञ हुनु ।
  5. हिन्दु, बौद्ध, इसाइ देवी देवता मात्र देवी देवता र आफ्नो परम्परागत देवीदेवतालाई भूत पिशाच, शैतान ठान्नु ।
  6. खसबाहुन कै जस्तो आदिवासी जनजातिमा गोत्र, प्रवरको खोजी गर्नु वा ज्योतिष परम्पराको कल्पना गर्नु ।
  7. गोरा, खस–बामन जस्ता लामो नाक, अग्लो जीउडल भएको मानिस मात्र विद्वान, नायक–नायिका, राज्य वा समुदायको नेतृत्व गर्न सक्ने नेता, राम्रो–गुणी–ज्ञानी हुन्छन् र आदिवासी जनजाति जस्ता मंगोलियनहरु मुर्ख, झगडिया, चोर–डाका, फटाहा हुन्छन् भन्ने भ्रम पाल्नु ।
  8. आदिवासी जनजाति जाँडरक्सी खाएर, मातेर झगडा गर्ने र नपढ्ने, पढ्न नसक्ने भएकाले आपैंm पछाडि परेका, गरिब भएका वा मासिएका भन्ने सोच्नु ।

किन र कसरी शिक्षा उपनिवेशवादी भयो ?


जसले अर्कोको स्वतन्त्र राज्यमा साम्राज्यवादी राज्यले नियतवश आक्रमण गरेर आफ्नो प्रभुत्व कायम गर्छ, त्यसै गरी नेपालको सन्दर्भमा विशुद्ध आदिवासी तथा अल्पसंख्यक समुदायको चिन्तन, ज्ञान, र परम्परालाई आक्रमण गरेर आफ्नो मुल्य–मान्यता, दर्शन, आस्था लादेर प्रभुत्व जमाउने भएको हुँदा नेपालको शिक्षा पनि उपनिवेशवदी छ ।

नेपालका पूर्वप्रथामिक विद्यालयदेखि विश्वविद्यालयसम्म त्यही हिन्दु र युरोपियन गोराहरुको विचारलाई प्रवर्धन गरिन्छ । कुनै पनि विद्वानको कार्यपत्र सुन्नु भयो भने युरोपियन तथा ऋषि मुनिको भनाई वा सिद्धान्त उद्धृत नगरी त्यो कार्यपत्र पुरा भएको मानिदैन । यो उपनिवेशवादी शिक्षाको जरो हाम्रो गिदीमा यति साह्रो जकडिएर बसेको छ कि जसलाई निकाल्न सक्ने अवस्था नै छैन । पाठ्यक्रम त्यसरी नै विकास भएका छन् । पाठ्यपुस्तक त्यसरी नै बनेका छन् । अनि सिकाउने शिक्षकहरुलाई त्यसरी नै प्रशिक्षित गरिएको छ । यो महासञ्जालले आदिवासी जनजातिलाई ढोकाबाट भित्र छिर्ने अनुमति समेत दिँदैन ।

यसरी सोचाइँमा मस्तिष्कमा शासन गर्ने नेपालको आधुनिक शिक्षाले आम आदिवासी जनजातिको लागि कुनै फाइदा गरेको देखिँदैन । हामीले पढ्ने शिशु कक्षादेखि विश्वविद्यालयसम्मको पुस्तकहरुमा उही एउटै मुल्यमान्यताका कुरा पढ्न पाउँछौं । तै पनि हामीलाई झर्को लाग्दैन । उही एउटै विषयमा अनुसन्धान गर्छौं तै पनि समय खेर गएको महसुश हुँदैन । हामीलाई त्यसै गर्न शिक्षित गरिएको हुँदा आपैंmलाई मासेर अरुको गुणगाण अविरल गाइहन्छौं ।

चित्र कोर्छौ –हिन्दु मूल्य–मान्यता, साँस्कृतिक सम्पदाका वारेमा पढ्छौं उही पशुपति, जनकपुर, लुम्बिनी, स्वयम्भु ; गीत गाउँछौं, साहित्य सिर्जना गर्छाैं उही हिन्दु र इसाई मुल्यमान्यताको विम्ब, विज्ञान, गणित, जनसंख्या, स्वास्थ्य, सामाजशास्त्र, शिक्षाशास्त्र जहाँ जे जति छन् तिनै हिन्दु, इसाई कतै कतै बौद्ध मुल्य–मान्यताकै पढ्छौं लेख्छौं, बोल्छौं र सोँच्छौं ।

हामी सुनुवारले कहिल्यै ङावाच, मुलिच, गाउरोच, नाअÞसोच, चुपलु, चुमलु को कुरा गर्दैनौं । हाम्रो दिमागमा राजनीति वा संघसंगठनका कुरा गर्दा यी कुरा सोच्दा पनि सोच्दैनौं । चुप्लु होपो, इँगि होपो, सारिङ मुइलि, जातना मुइलि, दुमा मुइलि, मुइग्यो बोल्दैनौ । किनभने हामीलाई यी यस्ता कुरा कहिल्यै विद्यालयमा सिकाउँदै सिकाइएन । यसैले हामी सुनुवार भन्न धक मान्नु पर्छ । कसैले कामी भनि हाल्लान कि ! भनेर । मन्दिर भन्ने वित्तिकै शाँदार ग्योर वा लागापारगि सोच्दैनौं । व्यापार भन्ने वित्तिक्कै ऐँचोपैचो सोच्दैनौ, उद्योग भन्दा तान, राडीपाखी बुनेको सम्झिदैनौं । वियर, ह्विस्की, रम भन्छौं रक्सी सोच्दैनौं । यसैले अरुकै कामकुरा, विचार, मालसामान उत्कृष्ट ठान्न लगाउने अरुकै कुरामा गर्व गर्न लगाउने शिक्षा हामीले आर्जन गरिएको हुँदा हाम्रो शिक्षा हाम्रो नभइ औपनिवेशिक शिक्षा हो भन्दा कुनै अत्युक्ति हुने छैन ।

राज्यले राज्यलाई आवश्यक पर्ने मानव संसाधन विकास तथा आफ्नो जनताको समग्र हित, उन्नतिको लागि जे जस्तो शिक्षा नीति, रणनीति, कार्यक्रमको योजना तर्जुमा गर्छ, त्यसलाई कार्यान्वयनमा ल्याउँछ सम्पूर्ण क्षेत्र, वर्ग, लिङ्ग, जाति, आदिवासी जनजाति सबैलाई समेटेर वृहत्तर राष्ट्रिय समाजलाई मध्य नजर गरेर बनाइनु पर्दछ, कार्यान्वयनमा ल्याउनु पर्दछ 

अन्तमा

आदिवासी जनजातिको दृष्ट्रिकोण शिक्षा नीतिमा खस बाहुनको हिन्दु मुल्य–मान्यतालाई समावेश नगर्ने, इसाईहरुको कुरालाई ठाउँ दिँदै नदिने भन्ने होइन । गाँठी कुरा के चाहिँ हो भने राज्यले राज्यलाई आवश्यक पर्ने मानव संसाधन विकास तथा आफ्नो जनताको समग्र हित, उन्नतिको लागि जे जस्तो शिक्षा नीति, रणनीति, कार्यक्रमको योजना तर्जुमा गर्छ, त्यसलाई कार्यान्वयनमा ल्याउँछ सम्पूर्ण क्षेत्र, वर्ग, लिङ्ग, जाति, आदिवासी जनजाति सबैलाई समेटेर वृहत्तर राष्ट्रिय समाजलाई मध्य नजर गरेर बनाइनु पर्दछ, कार्यान्वयनमा ल्याउनु पर्दछ भन्ने हो । किनभने हरेक वर्ग, लिङ्ग, जाति, आदिवासी जनजातिको आ–आफ्नै छुट्टै विशिष्ट पहिचान हुन्छन् तिनीहरुलाई सम्मान गर्नु राज्यको कर्तव्य हो, समृद्ध राष्ट्रिय संस्कृति निर्माण गर्ने आधार हो भन्ने सोच्नु पर्दछ । तर अहिलेसम्म राज्य पक्षबाट त्यस्तो कदम चलाएको छैन । एक दुई लिखित प्रतिवद्धता भएका भए पनि हालसम्म कार्यान्वयनमा आएको देखिँदैन । देखिएको छैन ।

यसैले आदिवासीले आदिवासीको खोइरो खनेको देख्दा, सुन्दा हामी आदिवासीहरुले अनौठो मान्नु पर्ने कुनै कुरा छैन । बरु यसको समाधान वा रोकथामको उपाय भने तुरुन्त गर्नु पर्ने अवस्था आएको देखिन्छ । हामीले बुझ्नु पर्ने कुरा भनेको चाहिँ के देखिन्छ भने आदिवासीको शत्रु आदिवासीलाई नै बनाएर आदिवासीलाई निमिट्यान्न पार्ने काम अहिले विभिन्न मुलुकमा भइ नै रहेको छ । एक आदिवासीलाई उच्काएर अर्को आदिवासीको विरुद्धमा लडाउने खेल अहिले राज्यले गरिरहेको छ । यस रणनीतिबाट बच्नु अब हामीले हाम्रो आफ्नै परम्परागत शिक्षा संस्था, शिक्षा प्रणालीलाई पुनर्जगरण गर्नु पर्ने अवस्था आएको छ । साथ साथै हामीले हाम्रै आदिवासी जनजातिमा पनि को को आदिवासी जनजाति दृष्टिकोण र सोँच प्रति सकारात्मक छन् वा आदिवासी जनजातिको सोँचप्रति झुकाव राख्ने छन् को को आदिवासी जनजातिलाई आफ्नो स्वार्थ पुरा गर्ने भ¥याङ बनाइरहेका छन् चिन्नु पर्ने बेला आएको छ ।

नेपालको हकमा आदिवासी जनजातिको आन्दोलनलाई हेर्दा हासोँ उठ्दो लाग्नु स्वभाविक लाग्छ किनभने आदिवासी जनजाति नेता तथा कार्यकर्ताहरु सामुहिक अधिकारको कुरा गर्छन अनि अन्तमा एकात्मवादी सोँचले ग्रस्त भएर एउटा नेता त हुनुपर्छ, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता हुनु पर्छ भन्दै वैधानिक बन्न प्रमुख जिल्ला अधिकारीको मातहतमा दर्ता भइ सँकुचित हुन्छन । हामी राज्यसँग समानस्तरमा आउन लडाईँ पनि लड्ने भन्छौं अनि उसको स्थानीय निकायका मातहतमा बसेर खुबै पारदर्शी र नीतिगत कुरा पनि गर्छौ । यस्ता विरोधाभासपूर्णं व्यवहार वा अभियानले पनि आम आदिवासी जनजातिले आदिवासी जनजातिको आन्दोलनमा सहयोग गर्न हिच्किचाएको महसुस हुन्छ । त्यस्ता द्वैतचरित्र भएका आदिवासी कार्यकर्ता तथा नेताहरु आदिवासी जनजातिका कार्यकर्ता होइनन्, हुनसक्दैनन् । यसैले ती व्यक्तिहरुले वेलैमा सोच्नु आवश्यक छ । उनीहरुको विचारमा परिवर्तन आउन नसक्ने अवस्था देखिएमा आदिवासी जनजातिहरुले उनीहरुको हकअधिकार स्थापना गर्न त्यस्ता द्वैतचरित्र भएका व्यक्ति,कार्यकर्ता, नेताहरुलाई तह लगाउन आम आदिवासी जनजातिहर आन्दोलित भएमा कुनै अनौठो मान्नुपर्ने देखिदैन ।
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)

किताबहरु

Helping Hands

Like us on Facebook