के आदिवासी जनजाति शक्तिकेन्द्रका कठपुतली मात्रै हुन् ?

विहिवार २४ आषाढ, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

जेवी पुन मगर

जेवी पुन मगर

काठमाडौ

के आदिवासी जनजाति शक्तिकेन्द्रका कठपुतली मात्रै हुन् ? अर्काको लागि पशु जस्तो श्रृगार गर्नुपर्ने ! photo courtesy: jbpun.com

२७ जुन २०१५ शनिवार बेलुकी याउमातेई कम्युनिटी हलमा आदिवासी जनजाति महासंघ हङकङको बृत्तचित्र प्रदर्शनीमा दर्शकको फितलो उपस्थिति देखेपछि अध्यक्ष एमवी थापाले बोलेको ब्यङ्ग्य पीडा बनेर उनको मनदेखि निस्किए झैं लाग्थ्यो । सदा बढी भाषण गरेर दर्शकलाई हैरान पार्ने थापाले त्यस साँझ चोटिलो र सान्दर्भिक प्रश्न उठाए । उनको भनाई थियो– ‘ हामी सातैपिच्छे हुने चालु सिनेमा र नेपालबाट ल्याईएका कलाकारहरुको प्रदर्शनी हेर्न पाँच सय हजार खर्च गर्छौ, तर निशुल्क देखाईने आदिवासीका वास्तविक कथा हेर्न चाहिं मरिगए आउदैंनौ । जबकि हामी हङकङमा ९८ प्रतिशत छौं भनि दावी गर्छौ ।” उनी अनुभव सुनाउदैथिए– अन्य बेकामका पोस्टमा सयौं लाईक धडाधड आँउछन् तर फेसुबकमा बनाएको बृत्तचित्र प्रदर्शनी निम्तोमा भने ९८ जनाले पनि लाईक गरेनन् ।

नभन्दै भयो त्यस्तै । कनीकुथी ४० जना भन्दा बेसी दर्शक नआएको महासंघको बृत्तचित्र प्रदर्शनीकै भोलिपल्ट त्यहि थलोमा एकजना युवाले देखाएको चकलेट नामक सिनेमा शोमा भने दर्शकको उपस्थिति राम्रो थियो । दर्शक कम आउनुमा आयोजकको तयारी कमजोरी थियो या अध्यक्ष थापाले लगाएको आरोप झैं कार्यक्रमप्रतिको उपेक्षाभाव तर एउटा कुरा के सत्य हो भने हङकङमा केहि समययता बृत्तचित्रमा चासो राख्नेहरुको संख्या चाहिं बिस्तारै बढिरहेको देखिन्छ । २ महिनाअघि बसन्त थापा स्वंय आई माउन्टेन फिल्म फेस्टिबल देखाएर फर्किनुले त्यसैको पुष्टि गर्दछ ।

गएको सालदेखि हरेक बर्ष काठमाण्डुमा आयोजना गरिने अन्तराष्ट्रिय आदिवासी बृत्तचित्र प्रदर्शनीमा उत्कृष्ट भएका बृत्तचित्र देखाईन शुरु गरिएको हङकङमा यसपटक ९ वटा त्यस्ता बृत्तचित्र देखाईएकोथियो । नेपालका आदिवासी गुरुङ, मगर, राई, लिम्बु, तामाङ, नेवार र पाकिस्तान, ईथोपिया र ब्राजिलका आदिवासीका कथा माथि बनेका बृत्तचित्र कार्यक्रमका आकर्षण थिए ।

आफ्नै देश र विश्वका जातजातिका सामाजिक, भाषिक, राजनीति, धार्मिक, साँस्कृतिक आयाम बुझाउने देखाईएका यी बृत्तचित्रहरु केहि गज्जबका छन् भने केहि जानकारीमुलक । मलाई चाहिं बिषयको हिसाबले फ्रेमिङ द अदरले मन छोयो ।

नेपालमा बन्ने फिचर फिल्ममा हुने ड्रामाबाजी र अवास्तविक कथा र चरित्रको तुलनामा जिवन र जगतलाई वास्तविक आईनामा हेरिने बृत्तचित्रले ज्ञानको दायरा फराकिलो बनाउन मद्दत गर्दछ । काम विशेषले आफ्नै र विश्वका जातजातिलाई बुझाउने यी बृत्तचित्रहरु हेर्न नपाएकाहरुले धैरै कुरा छुटाए । बृत्तचित्र हेरेपछि अझ ति कथाहरुभित्र छिर्न उत्सुकता जागेपछि त्यसबारेमा थप अध्ययन गरेकोथिएं । त्यसैको आधारमा म राज्यको बिकास नीतिले कर्नरमा पार्दे लगिरहेको ईथोपियाको मुर्सी आदिवासीमाथि बनेको चर्चित बृत्तचित्र फ्रेमिङ द अदर माथि चर्चा गर्नेछु । १२ मार्च २०१२ मा रिलिज भएको र विश्वका विभिन्न देशबाट करिब ५० वटा पुरस्कार र सम्मान जितेको यो बृत्तचित्रले द्धन्द्धरत नेपालको कथा बोकेको आभास गराउदछ –

को हुन् मुर्सी

ईथोपियाको दक्षिण पश्चिम तल्लो ओमो नहर छेउछाउमा बसोबास गर्ने १० हजार भन्दा कम जनसंख्या र २ हजार किलोमिटर क्षेत्रफल ओगटेर रहेको आदिवासी समुदाय हो,मुर्सी । यो जनजाति ओमो र मोगो राष्ट्रिय पार्कको बीच भागमा बस्छ । यो अत्यन्त कृषि उर्बर जमीन हो । ४०६८ वर्ग किमीमा फैलिएको १९६६ मा बनेको ओमो र २१६२ वर्ग किमीमा फैलिएको १९७८ मा बनेको मोगो राष्ट्रिय पार्क वरिपरी मुर्सी लगायत अन्य ७ भिन्न आदिवासीहरुको बसोबास छ ।

युरोपियन युनियन जस्ता बहुराष्ट्रिय कम्पनीहरुको सहयोगमा राज्यले लिएको बिकास नीतिले कसरी कमजोर हैसियतका आदिवासीहरुको साँस्कृतिक मुल्य र मान्यता धरापमा पार्दो रहेछ भन्ने उदाहरण फ्रेमिङ द अदर बृत्तचित्रले बुझाउन खोजेकोछ 

युरोपियन युनियन जस्ता बहुराष्ट्रिय कम्पनीहरुको सहयोगमा राज्यले लिएको बिकास नीतिले कसरी कमजोर हैसियतका आदिवासीहरुको साँस्कृतिक मुल्य र मान्यता धरापमा पार्दो रहेछ भन्ने उदाहरण फ्रेमिङ द अदर बृत्तचित्रले बुझाउन खोजेकोछ । हुन त बृत्तचित्रले मुर्सी लगायतका स्थानीय आदिवासीहरुलाई सरकारको बिकास नीतिले कसरी मारमा पार्यो भनि भुतकालमा राज्यद्धारा गरिएका आततायी भूमी अतिक्रमण सम्झाउदैन । तर पार्कहरु बनिसकेपछि मुर्सी समुदायका युवतीहरुले कसरी पर्यटकलाई आफ्नो साँस्कृतिक सौन्दर्य प्रदर्शन गरि जिविकोपार्जन गरिरहेकाछन् भन्ने कथा चाहिं मन छुने गरि दर्शाउन सफल छ ।

साँस्कृतिक बिक्री

मुर्सी आदिवासी समुदायका युवतीहरुमा शरिरभरी पेन्टिङ् गरेर,कानमा ठुलठुला गहना झुन्ड्याएर र तल्लो ओंठ काटेर त्यसमा ठुला थाली झुण्ड्याउने श्रृगांर प्रचलन छ । तल्लो ओंठलाई धारीलो हतियारले काटी त्यसमा थाली राखिने परम्परा हेर्न आउने पर्यटकहरु र तिनले पैसा दिई तस्वीर र भिडीयो बनाउने मुर्सी आदिवासीको बसोबास रहेको मुर्सी गाउको मन छुने कथा हो फ्रेमिङ द अदर ।

पेट पाल्न पर्यटकलाई आकर्षित पार्न आफ्नो साँस्कृतिक परम्परालाई समेत बिकृत पारि श्रृगार गर्ने मुर्सी आदिवासीहरु कसरी विस्तारै बजारिया चालढालमा ढल्किदै गैरहेकाछन् भन्ने कथाले बोलेकोछ । गोरा छाला भएकाहरु आउदा देउता आए झैं ठान्ने, तिनको गाडीको पछिपछि नाङ्गै दौडने कुनै बेला पैसाको अर्थ थाहा नभएका यी आदिवासी महिलाहरु फोटो खिचाएपछि कम पैसा दिंदा पर्यटकसंग ठुस्किने र गुनासो गर्ने समेत भएकाछन् ।

कुनैबेला कृषि र कन्दमुलले पालिएका यी आदिवासीहरु अब पैसा बिना नबाँच्ने पूरै बजारिया भैसकेकाछन् । केहि बर्ष यता हाम्रा राउटेहरुलाई पैसाको लत लागे झैं ।

कुनैबेला कृषि र कन्दमुलले पालिएका यी आदिवासीहरु अब पैसा बिना नबाँच्ने पूरै बजारिया भैसकेकाछन् । केहि बर्ष यता हाम्रा राउटेहरुलाई पैसाको लत लागे झैं । बृत्तचित्रले आदिवासीहरुमा आएको यो बदलावलाई राम्ररी बुझाउन सकेकोछ । पैसाका लागि सास्कृतिक मुल्य मान्यता समेत परिवर्तन भैरहेका एक मुर्सी महिलाले बोलेको एउटा मुटु छुने संवादबाट प्रष्ट्याउन खोजिएकोछ । उनले पर्यटकलाई लोभ्याउन र धेरै पैसा पाउन जनावरको सींङ लगाएर फोटो खिचाउने गरेकि सोझो पाराले बताउँछिन् । तर त्यसभित्र लुकेको पीडा र सास्कृतिक बिचलनको कथाले भने मन अमिलो बनाईदिन्छ ।

कथाले नबोलेको दर्दनाक ईतिहास

तल्लो ओमो भ्यालीमा सरकारले सन १९६०–७० को दशकमा लिएको राष्ट्रिय पार्क बनाउने नीतिले सामुदायिक जमीनबाट बिस्थापित हुदैं गएका आदिवासी मुर्सीहरु बजारवादले यसरी आक्रान्त छन् कि तिनलाई आफ्नो पेट पाल्न आफ्ना साँस्कृतिक मान्यता र सौन्दर्य बेच्नु परिरहेकोछ । अफ्रिकाको प्रसिद्ध पर्यटकिय क्षेत्र मानिने यो पार्क १९६० मा युरोपियन देशहरुको सहयोगमा बनाईएको थियो । बिज्ञापनको सांगठनिक अस्त्र प्रयोग गरि बजार प्रवद्र्धकले अहिलेको विश्व बजारमा काम नलाग्ने पत्थर पनि करौडौ रुपैयामा बेच्न सक्दछ । मुर्सी आदिवासीको त हजारौ हजार बर्षदेखि निर्माण भएको संस्कृति त बिक्री नहुने कुरै भएन । यो बृत्तचित्रमा त्यहि बजार बिक्री र त्यसले कब्जामा लिदैं गैरहेको आदिवासित्वमाथि गरिएको चर्चा रोचक छ ।

नाङ्गै हिंड्ने, ओडारमा बस्ने र आफ्नै कला–संस्कृतिलाई नछाड्ने काला पहेंला आदिवासी जनजातिहरुलाई तमासाको रुपमा बेचेर पैसा कमाउने तथाकथित उन्नत जातिहरुको भद्दा मजाककै कारण आज मुर्सी जस्ता आदिवासीहरु रमितेहरुका निम्ति शोकका सामग्री भएकाछन् ।

नाङ्गै हिंड्ने, ओडारमा बस्ने र आफ्नै कला–संस्कृतिलाई नछाड्ने काला पहेंला आदिवासी जनजातिहरुलाई तमासाको रुपमा बेचेर पैसा कमाउने तथाकथित उन्नत जातिहरुको भद्दा मजाककै कारण आज मुर्सी जस्ता आदिवासीहरु रमितेहरुका निम्ति शोकका सामग्री भएकाछन् । कालालाई सिक्रीले बाँधी दास सरह बेच्ने आधुनिक विश्वको कुरुप कथा हराएको धेरै भएकोछैन । निश्चित समुदायमाथि यस्तो हेय पूर्वीय पुराणहरुमा पनि छ्यास्छ्यास्ती पाईन्छ । हजारौं बर्षदेखि आफ्नो नियन्त्रणमा रहेको जमीनबाट कृषी उत्पादन गरि जिविका चलाउने यी आदिवासीहरुलाई राज्यले तथाकथित मुलधारमा ल्याउने भन्दै त्यस क्षेत्रमा बिकासे योजनाहरु ल्याउने काम गर्यो ।

नेपालमा थारुहरुको उब्जनि योग्य जमीनमा अधिग्रहण गरि बस्ती बसाली बिकास योजना थालेको पन्चायती शासकका कारण क्रमशः त्यहाँ बाट थारु आदिवासीहरु बिस्थापन हुदैं गए झैं मुर्सी आदिवासीले पनि त्यहि नियति भोग्दै आए । चितवन र बर्दियाको राष्ट्रिय निकुन्ज ले थारुलाई बिस्थापन गरे जस्तै मुर्सी लगायतका अन्य आदिवासीहरुलाई पनि राष्ट्रिय पार्कका नाममा भएका बिकासले बिस्थापित र साँस्कृतिक क्षयीकरण गरिरहेकोछ, मुर्सीमा ।

चितवन र बर्दिया निकुन्जमा घुम्न जाने पर्यटकलाई थारु नाच देखाउने, थारु संस्कृति र तिनका पोशाक लगाई ति समुदायका युवायुवतीहरुलाई मार्चपास गराउने सरकारको प्रदर्शनको मुनाफा जसरी राज्यको सहयोगमा केहि ब्यापारीहरुले लिईरहकेकाछन्, मुर्सीमा पनी त्यहि गरिएकोछ । शुरुमा सोझासाझा आदिवासीको उर्बरयोग्य जमीन दलाल र सरकार लगाई कौडीको भाउमा अधिग्रहण गर्ने र त्यसमा राष्ट्रिय पार्क बनाई मोटाउने योजना नेपालमा पनि उहिल्यै देखि अभ्यास गरिदै आईएकोछ । पिछडिएका आदिवासीहरुलाई बजारमा प्रदर्शन गरि केहि पर्यटक भित्रयाउने यो तमाशा परियोजनामा ब्यापारी र सरकार मोटाउने गरेकाछन् । केहि राजश्व सरकारले पाएकोछ । तर ब्यापारी र सरकारको मिलेमतोमा हुने र विश्वका ठुला साहुका पैसा भित्रयाईने यस्ता परियोजनाले आदिवासीहरुको सास्कृतिक क्षयीकरण चाहिं डरलाग्दो किसिमले गर्दोरहेछ । पछिल्लो समय सरकारले राउते आदिवासीलाई पनि यहि बजारवादी अस्त्रले बध गर्ने योजना बनाईरहेकोछ । यो प्रयोग विश्वभर गरिन्छ ।

बहसमा नेपाल

यो हेरिसकेपछि अध्येताहरुका दिमागमा एउटा रोचक प्रश्न जाग्न सक्दछ, यदि बिकासले आदिवासित्व यसरी नासिने हो भने हाम्रो देशमा बिकासका चर्का वकालत गर्ने एनजिओ आईएनजिओ र तिनको तलबे आदिवासी जनजाति बौद्धिकहरुको तर्क त ठिक उल्टो पो भो त । हाम्रो देशमा युरोपियन युनियन र तिनका एनजिओहरुले सबैभन्दा बढी आदिवासी र जनजाति अधिकारका लागि लगानी मात्र हैन चर्को वकालत गर्दे आईरहेकोछ । तर विरोधाभास के छ भने त्यहि दाताहरुले अध्यक्ष राजकुमार लेखीको पालामा आदिवासी जनजाति महासंघले गर्न थालेको आन्दोलन रोक्न नमाने दिईदैं आएको जेप नामक ३ करोड बराबरको प्रोजेक्ट नै रोकिदिने धम्की सार्वजनिक रुपमै दिएको धेरै भएकोछैन । आदिवासी जनजातिले आफ्नो अधिकारको लागि गर्न थालेको सामान्य आन्दोलन पनि रोक्न त्यो स्तरको दवाव बनाउने तथाकथित सहयोगी युरोपियन युनियनहरु के आदिवासी जनजाति आन्दोलन भुत्ते बनाउने र  समुदायबीच द्धन्द्ध बढाउने कुटिल षड्यन्त्रमा त छैनन ? प्रश्न गर्ने ठाँउ तिनकै भूमिकाले दिईरहेकोछ । किनकी  यीनै कुटनीतिक प्रतिनीधिहरु कहिले कुटनैतिक मर्यादा मिचेर पश्चिममा थारुवान आन्दोलन गरिरहेका लक्षमण थारुलाई भेट्न दलबल सहित जान्छन् भने कहिले लिम्बुवान स्वायत्तताका हिमायती नेताहरुसंग पूर्व पहाडका गाँउहरुमा गोप्य भेटवार्तामा संलग्न हुन्छन् । बेलाबखत कुटनितिक आचरण विपरित जातीय र धार्मिक जस्ता मुद्दामा राजनीतिक बक्तब्यबाजी गरि विवाद खडा गरिरहेका हुन्छन् ।

अफ्रिका जस्तो जातीय द्धन्द्धले गाँजेको देशहरुमा युरोपियनहरुको लगानी र सहयोगले झन बढी जातीय द्धन्द्ध बढेको अध्ययनहरुले देखाउछन् । अमेरिकाको आदिवासी संहारमा युरोपियनहरुको हात रहेको थियो । मुर्सी लगायतका आदिवासीहरुको साँस्कृतिक पहिचान लोपमा पनि युरोपियनहरुको आर्थिक स्वार्थ ठुलो कारण देखिन्छ । के उसोभए नेपालमा युरोपियनहरुको लगानीले जातीय स्वाधिनता नभई आदिवासी जनजातिका सास्कृतिक पहिचान त बिलुप्त पार्ने होईन ? सदा जातीय द्धन्द्धले आफुआफुमै मारामार गर्दे आईरहेको युरोप र तिनका असंबेदनशील जातीय ब्यवहार र बुझाईले नेपालमा पनि द्धन्द्ध घटाउन हैन बढाउन मद्दत गर्ने संभावनालाई नकार्न सकिदैंन । यो सम्भावनामाथि हामीले मथिंगल चलाउन जरुरी छ ।

बिकासले आदिवासी परम्परा र अस्तित्व संकटमा पार्दो रहेछ भन्ने यो उदाहरणलाई केन्द्रमा राखि हेर्ने हो भने नेपालमा आदिवासी जनजातिहरुको मसीहा जस्ता देखिने युरोपियनहरुको कुटिल चालबाट आफुलाई बचाउदै अगाडि बढ्ने प्रयास गर्न आवश्यक देखिन्छ । नेपालमा बन्ने परियोजना र ठुलठुला बिकासे कार्यक्रममा स्थानीय आदिवासीहरु बिस्थापन भएको भन्दै आन्दोलन हुदैं आईरहेकोछ । अहिले मुर्सी क्षेत्रमा ठुला सिचाई र चिनी मील बनाउने परियोजनामा काम भैरहेकोछ । यसले आदिवासीहरुको जनजीवनलाई झन प्रभाव पार्ने विश्वास गरिएकोछ । मुर्सी र ग्रीम जातिले झेलिरहेका अस्तित्व संकट र नेपालका आदिवासीहरुको समस्या मिल्दोजुल्दो देखिन्छ ।

विदेशी स्वार्थ र गृहयुद्ध

अत्यन्त गरिब देश ईथोपिया कहिल्यै स्थिर रहेन । क्रिश्चियन बहुल इथोपिया र अरबको सिमानामा जोडिएको मुस्लिम बहुल एरिटरियाबीच ३१ बर्ष सम्म चलेको गृहयुद्ध १९९१ मा मात्र शान्त भएकोथियो । यो द्धन्द्ध अझै साम्य भैसकेकोछैन । इथोपियामा चलिरहेको पश्चिमा समर्थक क्रिश्चियानिटी र अरबले उचालिरहेको इस्लामिक पहिचानबीच चलिरहेको धार्मिक द्धन्द्धले इथोपिया आक्रान्त छ ।

संयुक्त राष्ट्रसंघ, अमेरीका , रुस, युरोपियन युनियन र तिनका सदस्य देशहरुको खुल्ला रणमैदान बनेको ईथोपियालाई तिनको स्वार्थले थिलोथिलो बनाएर छाड्यो । इटालीको अधिनस्थ ( १८९०–१९४१) रहेको इरिटरिया पछि बेलायतको उपनिवेशभित्र आएकोथियो ।

संयुक्त राष्ट्रसंघको म्यान्डेट अनुरुप इरिटेरियालाई १९५१ मा इथोपियाले स्वायत्तता दिएकोथियो । तर अमेरिकी ब्याकअप रहेको इथोपियासंग इरिटियाको दश बर्ष सम्म खुनी संघर्ष नै चल्यो । पृथकतावादी इरिटियन र इथोपियन गुरिल्लाहरुको निर्मम दमन अमेरिकाको सैन्य सहयोगद्धारा गरिएकोथियो ।
यता अमेरिकाले शासक हाइले सेलासीलाई समर्थन गर्यो भने उताबाट रुसले सोमालियालाई इथोपिया र केन्यालाई आफ्नो दावी गर्न उक्साईरहयो । दुई महाशक्ति देशको कुस्ती रणमैदानमा यी अफ्रिकी देशहरुलाई उपयोग गरियो ।

सयुक्त राष्ट्रसंघको संलग्नतामा सन १९९३ मा भएको जनमत सग्रंहमा इरिटियालाई स्वतन्त्रता दिलाईएकोथियो । जनसग्रहमा भाग लिएका ९८.८ प्रतिशत मतदाताले स्वतन्त्रताको पक्षमा मतदान गरेकाथिए । यसअघि १९८० को दशकमा तानाशाह कम्युष्टि शासकका कारण इथोपिया दुर्बल भैसकेकोथियो । तर यसपछि पनि सिमाना विवादमा १९९८–२००० मा भएका द्धन्द्धमा १ लाख मान्छे थप मारिए । सन २००० मा यो लामो द्धन्द्ध सकिएको बताईयो । तर त्यतिन्जेल ७५ हजार इरिटियन शरणार्थी थिए भने ८० लाख मान्छे द्धन्द्ध प्रभावित थिए । यो अझै हटेकोछैन । अमेरिका, रुस, अरब, युरोपले बेलाबखत थमाईदिएका इथोपियनहरुको हातका अत्याधुनिक बन्दुकहरु अझै तिनका हातबाट उत्रिएकाछैनन् । द्धन्द्धबाट मुक्त गराउने भन्दै गरिएका बिकास योजनाहरुले देश समृद्ध हुनुपर्नेमा त्यसले समाजलाई झन झन द्धन्द्धमा धकेलिरहेकोछ । स्वाभाविक रुपमा यसरी द्धन्द्धको केन्द्रमा अशिक्षित, गरिब , पिछडिएका आदिवासी समुदाय नै हुने गरेकाछन् । एकातर्फ विदेशी लगानीमा भएका गृहयुद्धले महामारी र नरसंहार चल्दै आईरहेकोछ भने अर्कोतर्फ बचेकाहरुलाई उकास्ने नाममा भैरहेका बिकासे परियोजनाहरुले ति कमजोर समुदायलाई झन झन संकटमा पार्दे लगिरहेकोछ ।

यसरी बहुसाँस्कृतिक इथोपियामा विभिन्न बहानामा चलेका धार्मिक र जातीय द्धन्द्धमा विदेशीहरुको संलग्नताले यो देश कहिल्यै माथि उकासिन सकेन । विदेशी सहयोग हस्तक्षेपकै रुपमा अगाडि बढ्दा समेत अर्थात आर्थिक सहयोग खन्याउदा पनि त्यो देशको बिकास नहुदो रहेछ भन्ने उदाहरण इथोपिया हो ।

यसरी बहुसाँस्कृतिक इथोपियामा विभिन्न बहानामा चलेका धार्मिक र जातीय द्धन्द्धमा विदेशीहरुको संलग्नताले यो देश कहिल्यै माथि उकासिन सकेन । विदेशी सहयोग हस्तक्षेपकै रुपमा अगाडि बढ्दा समेत अर्थात आर्थिक सहयोग खन्याउदा पनि त्यो देशको बिकास नहुदो रहेछ भन्ने उदाहरण इथोपिया हो ।

कमजोर देशले आफनो लागि कहिल्यै स्वतन्त्र वकालत गर्न नपाउदो रहेछ भन्ने पाठ पनि हो ईथोपिया । अर्काको स्वार्थका निम्ति युद्धमैदानमा गई आफ्नै नजिककासंग भिड्नुपर्ने षड्यन्त्रका मोहरा मात्र हुने रहेछन् ठुला राज्यमाथि आश्रित देशहरु । मिल्दो दृष्टान्ट के हो भने नेपाल पनि पछिल्लो समय झन झन शक्तिशाली राष्ट्रको कथपुतली बन्दै गैरहेकोछ । तिनका स्वार्थ यो वा उ माध्यमबाट फुत्त फुत्त बाहिर निस्किरहेकोछ, जसरी कुनै बेला ईथोपियामा निस्कने गरेकोथियो ।


जसरी इथोपियाले लामो समयसम्म शक्ति राष्ट्रहरुका निम्ति आफुलाई तयार पार्यो । तिनका लागि श्रृगार गर्यो त्यसैगरि त्यहि देशका विभिन्न आदिवासी जनजातिहरुले पनि त्यहि अतिक्रमणले स्थापित गरेको मूल्य र मान्यतालाई समातेर अगाडि बढ्नुपर्ने बाध्यताकै उपज मान्नुपर्छ, मुर्सी जस्ता आदिवासीहरु अर्काको निम्ति आफ्नो श्रृगार गरिरहेकाछन् । तिनले बजारका निम्ति गर्ने श्रृगारमा जति कृत्रिमता छ त्यसरी नै मुर्सी जस्ता आदिवासीहरुका अर्गानिक मूल्य मान्यता र सास्कृतिक क्षयीकरण पनि त्यहि अनुपातमा खस्किरहेकोछ । अहिले नेपालमा जे भैरहेकोछ यदि समयमै सतर्क नहुने हो भने हामी पनि ईथोपिया र मुर्सीको नियति भोग्नुपर्ने अवस्थामा पुग्नेछौ । आन्तरिक होस् या बाहिरी अर्काको लागि श्रृगार गरेर चिरिचट्ट बनिदिने (अर्काको लागि लड्ने लडाउने मोहरा मात्र) नेपालका आदिवासी जनजातिका नियतिले इथोपियाका आदिवासीका जस्तो दुर्दशा  बनाउन सक्छ ? बृत्तचित्रले हाम्रो सन्दर्भमा दिन खोजेको सन्देश हो, यो । त्यसैले काँचको पर्दामा हेर्दा हामी ईथोपियाको आदिवासीका कथा नियालिरहेका हुन्छौ तर वास्तवमा आफ्नै सेरोफेरोमा भैरहेका आदिवासीका जिवनचक अध्ययन गरिरहेको महसुस हुन्छ ।

Courtesy: jbpun.com


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु जेवी पुन मगर

किताबहरु

Helping Hands

Like us on Facebook