तस्विरः थारुवान डटकम
काठमाडौ
थरुहट थारुवान संयुक्त संघर्ष समितिले तराईमा गर्दै आएको बन्दको कार्यक्रम भदौ ४ सम्मलाई निरन्तरता दिने भएको छ । समितिले साउन ३२ गते पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।
यसअघि साउन ३२ गतेसम्म बन्द गर्ने निर्णय गरिएकोमा सरकारले थारुहरुको माग अझै सम्बोधन नगरेको भन्दै बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो । चार शीर्ष दलका शीर्ष नेताले आफू खुसी प्रदेशको सीमांकन गरेको भन्दै समिति गत २७ गतेदेखि आन्दोलित बनेको हो । कैलाली र कंचनपुर भने लगातार १० दिनदेखि बन्द छ । कैलाली र कंचनपुरलाई थारु विशेष क्षेत्र दिइने अपुष्ट समाचार छ ।
थरुहट थारुवान संयुक्त संघर्ष समितिको कार्यक्रमलाई संयोजन गर्नको लागि थारु कल्याणकारिणी सभा केन्द्रीय समितिका अध्यक्ष धनीराम चौधरीको संयोजकत्वमा १९ सदस्यीय केन्द्रीय संयोजन तथा आन्दोलन परिचालन समिति गठन गरिएको छ । त्यसैगरी संघर्ष समितिका संयोजक धनीराम चौधरीको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय कार्यदल गठन गरेको छ । त्यसैगरी संघर्षको कार्यक्रमलाई सुव्यवस्थित बनाउनको लागि काँग्रेसका सभासद तेजुलाल चौधरीको संयोजकत्वमा केन्दीय अर्थ व्यवस्थापन समिति, एमाओवादीका सभासद अमनलाल मोदीको संयोजकत्वमा केन्दीय प्रचार प्रसार तथा सूचना सम्प्रेषण समिति, प्रेमीलाल चौधरीको संयोजकत्वमा घाइते तथा औषधोपचार ब्यवस्थापन समिति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की सभासद रुक्मिणी चौधरीको संयोजकत्वमा अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरिएको छ ।