आवश्यकता साझा चिन्तनको

विहिवार ०३ भाद्र, २०७२   |   राजनीति

Print This   |   Font Size + -

आवश्यकता साझा चिन्तनको

 

सुशील चौधरी

भर्खरै यस वर्षको गुरु पुर्णिमा तिथि सकिएको छ । प्रसंगबश म अहिले गुरुहरुलाई सम्झंदै छु । म थारुको छोरो जो भित्री तराई सुर्खेतमा जन्में । चुरेमा पाउ राखी महाभारत पर्वत श्रृंखलाको चिसो सिरेटोको बाहुपासमा रम्न पाएँ । जसका कारण समथल र पहाडी भूगोलको पनि रसास्वादन गर्न पाएँ । टुकु टुकु हिंड्ने नँहुदै हाम्रो परिवार झिटीगुन्टा कसेर बर्दियातिर झ¥यो । म दिदीसंगै ठूलोबुवाले बोकेको भारीको कोक्रोमा झुन्डिएर आएँ । बर्दियाको कालिका गाविसको मयुरवस्ती गाउँ जुन ठाउँ पुनर्वास क्षेत्र थियो । सौभाग्य नै भनौ, तराई–थरुहट भूमिमा गरिएको पुनर्वास क्षेत्रमा बसोवास गर्न पाउने हाम्रो परिवारलगायत थोरै मात्र थियो ।

मयुरवस्ती नयाँगाउँ भएकोले विद्यालय थिएन । गाउँका मान्यजनले पातीले बारेर विद्यालय स्थापना गरे ३०३५ सालमा । मैले त्यही श्री मयुर नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मयुरवस्तीमा अक्षर चिनें । अक्षर चिनाउने मेरा गुरुहरु सबै गैरथारु हुनुहुन्थ्यो । टीकाराम सुवेदी र मनु थापा मेरा ती गुरुहरु हुनुहुन्थ्यो, जसले मलाई कखरा र बाह्रखरी चिनाउनु भयो । मलाई नेपाली भाषाको आधार तयार गर्न सघाउनेमा श्री भगवति मा.वि.का गुरु नरेन्द्र लम्साल हुनुहुन्छ । अंग्रेजीको जग हालिदिने आत्माराम शर्मा, गोपीप्रसाद पराजुली, रामचन्द्र अधिकारी (आरसी सर) र भोला क्षेत्री हुनुहुन्छ । गणित सिक्न प्रोत्साहित गर्ने तुलसी उपाध्याय हुनुहुन्छ, जो अहिले काठमाण्डौ विश्वविद्यालयमा पढाउनु हुन्छ ।

महाभारतमा पाण्डवले पाँच गाउँ माग्दा कौरबले एक धर्सो पनि नदिने घमण्ड गर्दा पाण्डवले पनि हस्तिनापुरको राज, कि चपरी मुनिको बास भनेर युद्धको ऐलान गर्दै कौरवको सर्वनाश गरेको तथ्य जगजाहेर छ । अरुको अस्तित्व स्वीकार गर्दै सामाजिक सद्भाव कायम गर्नु नै सबैको हितकर छ ।

सधैं राम्रो पढ्नु पर्छ भनेर हौस्याउने विद्याज्योति मा.वि.का प्रअ. महेश्वर ढकाल हुनुहुन्छ । मैले छयालिस सालको जनआन्दोलनको तयारीको क्रममा विद्यार्थी संगठनको तर्फबाट गर्नुपर्ने पर्चा पम्प्लेटिंग, वालपोस्टिंगहरु गर्दा ‘पढाई बिगार्लास् ?’ भनेर हपारेको आजै जस्तो लाग्छ । मलाई राजनीतिक रुपमा अगाडि बढ्न दिशाबोध गराउने व्यक्ति मेरै गाउँका अग्रज विश्वराज सुबेदी हुनुहुन्छ भने अध्यात्मिक जीवनदर्शनको गुरु यज्ञप्रसाद सुवेदी हुनुहुन्छ । साहित्यमा कलम चलाउन घच्घच्याउनेमा सगुनलाल चौधरी र महेश चौधरी हुनुहुन्छ । वीरेन्द्र बहुमुखी क्याम्पस, सुर्खेतका नेपाली विषयका लेक्चरर खोपिराम लम्सालको पनि कम योगदान छैन मेरो लेखन यात्राको सुरुवातका लागि । गोचाली परिवारको माहौल, बर्दियाली साहित्य समाजको गठन र आवद्धताले पनि मलाई साहित्य लेखनमा अगाडि बढाएको हो । हरेक मानिस स्कुलिंग र शिक्षा अनुसारकै हुन्छ भनेझैं म यति धेरै गैरथारु गुरुहरुबाट जीवनदर्शनबारे जे सिकें, ती जातीय द्वेष निम्त्याउने खालका थिएनन् । समानता, भातृत्व र वर्गीय मुक्ति सम्बद्ध  बढी थिए ।

विद्यालय र कलेज जीवनमा मेरो समुदायका ज्यादै थोरै साथीहरु मेरा सहपाठी थिए । सबैजसो गैरथारु विशेषतः ब्राम्हण, क्षेत्री नै साथी रहे । उनीहरुको संगतले मैले जे जति जीवनदर्शन सिक्ने मौका पाएँ, ती मेरा लागि ठूला अवसर थिए । मैले वर्गीय विभेद र मुक्तिको शिक्षा हासिल गरें । त्यसैले, जातीय संकीर्णता मेरो मनमा पलाउन पाएन । म आज पनि यही धारणामा अडिग छु । मानिसको अन्तर्राष्ट्रिय जाति हुने र हुनुपर्ने मान्यतालाई आज पनि म त्यत्तिकै सान्दर्भिक ठान्छु । मैले यो भनिरहँदा धेरैलाई लाग्न सक्दछ, की मैले कुनै वाद वा सिद्धान्तको वकालत गर्दैछु । तर यो सास्वत सत्य हो, मानिसले अन्ततः बसुधैव कुटुम्बकम्को सिद्धान्तलाई मान्नै पर्दछ, जुन कुरा पुर्वीय दर्शनले शदियौ देखि नै वकालत गर्दै आएको छ ।
महाभारतमा पाण्डवले पाँच गाउँ माग्दा कौरबले एक धर्सो पनि नदिने घमण्ड गर्दा पाण्डवले पनि हस्तिनापुरको राज, कि चपरी मुनिको बास भनेर युद्धको ऐलान गर्दै कौरवको सर्वनाश गरेको तथ्य जगजाहेर छ । अरुको अस्तित्व स्वीकार गर्दै सामाजिक सद्भाव कायम गर्नु नै सबैको हितकर छ ।

हामी आज नमजासंग जातीय द्वन्द्वमा फँसेका छौ । हँुदा हुँदा धर्मबारे पनि तुषको स्थिति बन्दै छ । विरोधी विनाको युद्ध ऐलान जस्तो भएको छ । पहाड र तराईको भूगोल राजनीतिक द्वन्द्वको विषय बनेको छ । यस अवस्थामा हामीले तथ्यलाई आत्मसाथ गर्न जरुरी छ । जसले जेसुकै भने पनि तराई नै मुख्य बसोवासको थलो बनिसक्यो भन्ने कुरा जनगरणा २०६८ ले उजागर गरिसकेसको छ । किनकी ५२ प्रतिशत जनसंख्या तराईमा आवाद भइसक्यो । अबको दश वर्षमा तराईमा ६० प्रतिशतको हाराहारी पुग्ने निश्चित छ । त्यसैले संघीयताको खाका बनाउँदा तराईलाई मध्य भागमा राखेर सीमांकन र नामांकन गर्नु न्यायोचित हुन्छ । तराईको करीव १ करोड ५० लाख जनसंख्याको विश्लेषण हुनु आवश्यक छ । संघीय प्रदेशमा रैथाने र बसाई सराई गरी आएका जातीय, भाषिक र साँस्कृतिक समुदायको समान पहुँच र प्रतिनिधित्व बारेमा चिन्तन मनन गर्नुपर्दछ । सबैलाई समानताको घानमा हाल्दा न्याय नहुन सक्दछ । समानता संगसंगै समताको सिद्धान्तलाई पनि आत्मसाथ गर्नुपर्दछ । यसो भनिरहँदा पहिचानलाई मात्र केन्द्रविन्दुमा राखेर प्रदेशको सीमांकन गर्ने भुल पनि गर्नु हुँदैन । पहाडलाई मिसाउँदा मात्र प्रदेशको सामथ्र्य बढ्ने वा तराई मात्रको प्रदेश हुनुपर्ने एकतर्फी अडान र आग्रहहरु बारेमा पुनःविचार गर्न आवश्यक छ । यसो हुनुमा आत्मसुरक्षाको मनोविज्ञानले काम गरेको स्पष्ट छ । यसका लागि खुल्ला बहस गरी साझा चिन्तनको विकास गर्न सकिन्छ । यसै बिचमा चुरे, भित्री तराई र तराईको भूगोल सहितको खाका हुनुपर्ने माग भइ पनि सकेको छ । त्यसो हुँदा उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, अर्घाखाँची, दाङ, सल्यान र सुर्खेत जिल्लाहरु स्वतः तराईकेन्द्रित प्रदेशमा राख्न सकिने तर्क गर्न सकिन्छ ।

अब संघीयताको बहस अन्तिम चरणमा छ । अब निर्णय गरी अभ्यासमा जानुको विकल्प छैन । अब पनि हामी विलम्ब गर्छौैं भने प्राप्त उपलब्धीहरु पनि गुम्ने सम्भावनाहरु बढ्दै गएको प्रष्ट संकेतहरु देखिन थालिसकेका छन् । त्यसो नहुन दिनका लागि दृष्टिगत खोट र व्यावहारिक संकिर्णता हटाउने हिम्मत सबैले गर्नुपर्दछ ।

जस्तै तराईका मुल रैथाने थारु लगायत आदिवासी समुदाय र मधेशी मुश्लिम समुदायको बारेमा साेंच्न जरुरी हुन्छ । तर तराईमा औलो उन्मुलन पछिका पसाच वर्षमा हिमाल, पहाड र भारतीय मुलका मानिसहरुको आप्रवासनका कारण तराईको भूगोलमा जनसंख्या अप्रत्याशित रुपमा बढेको सत्य हो । पचास वर्षमा पहाडी मुलका लाखौलाख जनसंख्या त्यही तराईमा जन्मे, हुर्केको छ । ती त तराईबासी नै भए । जब नेपालको संविधान र ऐन कानुनअनुसार नेपाली नागरिकको रुपमा नागरिकता प्रदान गरिसकेपछि उनीहरुको नागरिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्नु पर्दछ नै । तर, तराईको भाषा, संस्कृति र धर्मको कुरा गर्दा स्वभावैले थारु, मैथिली, भोजपुरी, अवधी र मुस्लिम भनेर पहिचान गरिएको छ । यी भाषिक, साँस्कृतिक र धार्मिक समुदाय प्रकान्तरणले पछाडि पारिएको अवस्थालाई आम रुपमा राज्यले स्वीकार गरि पनि सकेको छ । अन्तरिम संविधानले पनि प्रस्तावनामै जातीय, भाषिक, साँस्कृति तथा बर्गीय आधारमा राज्यको पुनःसंरचना गर्ने भनिसकेको अवस्था हो ।

तराई मुलका समयुदायले पहाडी मुलका समुदायलाई अविश्वास गर्ने र पहाडी मुलका समुदायले मधेशी समुदायमाथि आशंका गर्ने र थारु समुदायले पहाडी र मधेशी दुबै समुदायलाई अविश्वास गर्ने वातावरणले राज्य पुनःसंरचना जस्तो महत्वपूर्ण काम अल्झिरहेको छ । यो अति दुःखद कुरा हो । तराईलाई साझा भूमि मानी प्रदेश संरचना गर्नुपर्दछ । भैसीदेखि जोगी डराउने र जोगीदेखि भैसी डराउने अवस्था कहिलेसम्म ? विगतका केन्द्रीय र निरंकुश सत्ता चिन्तनले गरेका गल्तीहरुको परिणाम अबका नयाँ पुस्ताले व्यहोर्ने ? यो कतिको न्यायोचित होला ? मधेशी प्रदेशमा पहाडी समुदाय असुरक्षित हुने र पहाडमा मधेशी, मुश्लिम, थारु लगायत तराई मुलका समुदाय असुरक्षित महसुस गर्ने वातावरणको अन्त्य हुनु पर्दछ । जो जहाँ रहे पनि एक सार्वभौम नागरिकको हैसियतले हक अधिकार रहने सुनिश्चितताले मात्र मुलुकमा शान्ति र समाजमा सद्भाव कायम रहन सक्दछ ।

अब संघीयताको बहस अन्तिम चरणमा छ । अब निर्णय गरी अभ्यासमा जानुको विकल्प छैन । अब पनि हामी विलम्ब गर्छौैं भने प्राप्त उपलब्धीहरु पनि गुम्ने सम्भावनाहरु बढ्दै गएको प्रष्ट संकेतहरु देखिन थालिसकेका छन् । त्यसो नहुन दिनका लागि दृष्टिगत खोट र व्यावहारिक संकिर्णता हटाउने हिम्मत सबैले गर्नुपर्दछ ।

लेखक इन्सेक केन्द्रिय कार्यालय, काठमाडौमा अधिकृत छन्


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook