थारू समुदायमा कृष्ण जन्माष्टमी

शुक्रवार १८ भाद्र, २०७२   |   कला र साहित्य

Print This   |   Font Size + -

थारू समुदायमा कृष्ण जन्माष्टमी कलाः जुग्री चौधरी


                                                        
यस बर्ष भदौ १९ गते कृष्ण जन्माष्टमी परेको छ । तर आफ्नो अधिकारको लागि थरुहट बन्दले यस बर्ष थारु समुदायमा यो पर्वको रौनक छैन । भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको बर्णन हुन्छ । थारू जातिमा पनि सृष्टिको कथा पाइन्छ । कृष्ण  जन्माष्टमी अर्थात् थारुहरुको अष्टिम्की गीतमा  सृष्टिको बर्णन पाइन्छ । पहिले टे सिरिजल जलथल ढरटी, सरिजे टे गइल हो कुश कई डाभ । अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो । त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो । त्यही बिरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो । अन्य रूखविरूवा भए, जंगल बन्यो ।

जसरी हिन्दु परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसैगरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ । सोही सृष्टिकथा पनि अष्टिम्की चित्रमा चित्रण गरेका पाइन्छ । जलै जलले भरिएको सृष्टि छँदा गुर्बाबाले गँड्यौलालाई पातालमा माटो लिन पठाई थलमा परिणत गरेको कथा गुर्बाबाक् जल्मौटी कथामा उल्लेख छ । सोही अनुसार गँड्यौला, कछुवा, गँगटा, गोही, माछा, सर्प जस्ता प्राणीको अष्टिम्कीमा बनाइने चित्रले त्यस बेलाको सृष्टिको कथा बोक्छ । पृथ्बीलोकमा प्रलय हुँदा गुर्बाबाले बेदलाई डुंगामा चढाई जोगाएको कथा अनुुसार अष्टिम्कीको चित्रमा डुँगाले पनि अनिवार्य स्थान पाएको हुन्छ (चौधरी २०६७ः २६) । पहिले यो पृथ्वी जल नै जलले भरिएको पछि माटो बन्ने क्रमसँगै पहिलो बनस्पतिको रूपमा ‘कुश’ को उत्पत्ति हुन्छ । थारू लोककाब्य अनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो, त्यसैले यो पवित्र मानिन्छ ।

यस बर्ष भदौ १९ गते कृष्ण जन्माष्टमी परेको छ । तर आफ्नो अधिकारको लागि थरुहट बन्दले यस बर्ष थारु समुदायमा यो पर्वको रौनक छैन ।

खेतीपातीको प्रसंग

अष्टिम्की काव्यमा कान्हा (श्रीकृष्ण)ले खेलेको, कुदेको ठाउँको बर्णन यसरी गरिएको छ कि मानौ कान्हा, राधाहरू पनि थारू समुदायकै नै हुन् । हलो बनाउने काठ लिन बन गएको, हरिशलाई साल (जिन्ना) सैल र गटारलाई ढौठी तथा लठ्ठीलाई परँडी काठ काटेको, हलो बनाई सकेपछि इशरू आफै गोरू हाँक्दै हलो जोत्न गएको लोकगाथा छ । यता जाशुले बिहानको खाना (कलवा) बनाउन बनाउँछिन् । थारूहरूको भोजनमा माछा, मासु, प्रिय हुन्छ, जाशुले बनाएको भोजनबारे सोको बर्णन छ । खेती गर्दा खेतमै खाजा खानु थारूहरूको दिनचर्या हुन्छ । यहाँ कृष्णकी आमा जसलाई जासु (यशोदा) भनिएको छ । खेतमै छोरालाई खाना पु¥याउन डेलवामा राखेर जान्छिन् । गाउँभरिका मान्छे खेतमा ब्यस्त हुन्छन् । यता खान पु¥याउने महिलाहरू यो समयमा खाना पु¥याउन जाने भनेर सल्लाह गरि हुल बाँधी सँगै निस्किन्छन् । यो परम्परा थारूहरूमा अझै कायम छ (चौधरी २०६७ः २७)  ।

यशोदा र नन्दबाबाको प्रेमप्रसंग

यशोदा र नन्दबाबाको प्रेमप्रसंग कृष्ण र राधाको झैं सख्यामा बर्णन गरिएको छ । यशोदा खेतमा खाना पु¥याउन जाँदा नन्दबाबा कामबासनाले उत्प्रेरित भएको प्रसंग छ । गर्भवती महिलालाई त्यो समयमा अमिलो लगायत चूलोका माटो खाने इच्छा यशोदाले गरेको देखिन्छ । त्यसो त पुत्र रत्नको लागि रूँदै गरेकी यशोदालाई ढुकुरको रूपमा आएका बह्माले पुत्र रत्न पाउने बर दिएको प्रसंग पनि छ ।

सुडेनीको महत्व

जासु गर्भवती भएपछि इसरू आफै दंगियालाई लिएर सुडेनी बोलाउन गएको देखिन्छ । सुडेनीले जासुको प्रसुती गराउदा कुशल नर्सझै जासुको पेट मालिस गरेर सकुशल कृष्णलाई प्रसुती सेवा दिइएको प्रसंग छ । थारू समाजमा अहिलेसम्म पनि अस्पतालमा प्रसुती गराउनुभन्दा सुडेनीकै सहयोग लिइन्छ । उनलाई केही पारिश्रमिक र बिशेष खानपीन गराइन्छ । थारू समाजमा आफै न्वारान गर्ने चलन भएपनि सख्यामा सुडेनीले नाम राख्न जैसी (ब्रम्हण) बोलाउन पठाएको प्रसंग छ । जैसीले कृष्णको नाम कन्हैया बीर राखेका छन् ।

यस काब्यमा कृष्णका अभिभावक आजकालका थारूहरू जस्तै खेतीको लागि हलो जुवा काट्न जान्छन् । उनीहरूको बस्ने घर पनि थारू जातिमा प्रचलित परम्परागत घर जस्तै छ ।

गोठाला जीवन

यस काब्यमा कृष्णका अभिभावक आजकालका थारूहरू जस्तै खेतीको लागि हलो जुवा काट्न जान्छन् । उनीहरूको बस्ने घर पनि थारू जातिमा प्रचलित परम्परागत घर जस्तै छ । कृष्णको गोठाला जीवनले थारूहरूको सानैदेखि गाई गोठालाको जिम्मेवारी सम्हाल्ने परिस्थितिलाई दर्शाउँछ । ससाना ग्वालाहरू शुरूमा भेडा बाख्रा चराउन जान्छन् । सख्यामा कृष्णलाई बाछा चराउन पठाइएको देखाइएको छ ।

कृष्ण राधाको प्रेम

कृष्णको बाँसुरीको धुनले बनका जीवजन्तु, पशुपंक्षी समेत मोहित हुन्छन् भने बठिन्या (युबती) हरू झन मोहित हुने कुरै भएन । सोनके बँसुरिया कान्हा डिहला बजाई, घरहीसे राधा हो शब्द ओनाई । अर्थात् कान्हाले बजाएको बाँसुरीको धुन राधाले जब आफ्नो घरमा सुन्छिन् तब सो धुनले मोहित भएकी राधा कल्पनामा यसरी हराउँछिन्– बसिया र सुननु हो सासु, सुनटी सुहावन री, सखी र ! बसिया बजुइया भैया कौन रूप बा । अर्थात बाँसुरीको धुन त यति मोहक छ, सुनिरहुँ लागिरहेको छ भने, बाँसुरी बजाउनेको रूप झन कस्तो पो होला ?

कंशबाट कृष्णको परीक्षा

मामा कंशसँग कृष्णको थोरै सम्बाद सख्यामा समेटिएको छ । कंशले मार्ने उद्देश्यले कृष्णलाई जिउँदो बघिनीको दूध ल्याउन अह्राएको र कृष्णले सफलतापूर्वक ल्याएको, डरलाग्दो फूलवारीमा फूल टिप्न पठाउँदा काली नागलाई नै बोकाएर कंशको दरवारमा फर्किएको प्रसंग छ । यस काब्यमा अन्यत्र बर्णन नपाइने कैयौं प्रसंग आएका छन् । कृष्णकी बोई, ठूला बा, ठूली आमा, दाजू भाउजूका प्रसंग छन् । कंश मामालाई मारेर माइजूसमेत आफैले लगेको प्रसंग आएका छन्  (आचार्य, २०६३ः १३६) ।

कृष्णको बारी फूलवार प्रस्थान

कृष्णलाई कंशले सताएको देखेर नन्दबाबाले बारी फूलवार ज्ञान सिक्न पठाएको प्रसंग छ । यदि उनी बारी फूलवार नगएको भए गोठाला जीवन नै बिताउने थिए । एक्लै छोरा छ, कसरी बारी फुलवार पठाउनु भनेर यशोदा रूँदै भात पकाएको कारूणिक दृष्यको बर्णन छ । कृष्णले आमालाई १२ बर्ष पछि म फर्किहाल्छु नरूनुस भन्दै फकाएको सन्दर्भ छ ।

सख्या नृत्य

नेपाली बृहत् शब्दकोशमा ‘सखिया’ को अर्थ थारू जातिमा प्रचलित एक लोक नृत्यको रूपमा दिइएको छ (त्रिपाठी र अन्य २०५०ः १२८३) । अष्टिम्की÷सख्या काव्यको प्रमुख विशेषतामध्ये एक यसका श्लोक मधुर स्वरमा गाउँदै मादलेको तालमा थारू नर्तकीहरूको नाच्ने कला पनि हो । सख्या शब्दको प्रार्दुभाव बज्र भाषाको ‘सखी आ !’ शब्दबाट भएको हो । स्मरणिय छ, कान्हाले द्रौपतीलाई समेत सखी भन्थे भने राधा त कान्हाकी सबैभन्दा प्रिया सखी थिइन् । त्यसैल थारू कान्हाहरू थारू लोकराधाहरूलाई बोलाउँछन्, ‘ओ सखीहरू ! आउ न आजको यस खुसीको अवसरमा नाचौं, गाऔ र एक अर्कामा लीन होऔ ।’ यसरी ‘सखी आ’ भन्दा भन्दा यस लोक नृत्य अर्थात् उत्सबको नाम नै संक्षिप्तमा सख्या हुन आएको हो । सख्या थारू लोक नृत्य मध्येको एउटा अनुपम नृत्य हा,े जसलाई दशैको अवसरमा दुई तरिकाले नाच्ने गरिन्छ । यो नृत्य थारू लोकनर्तकीहरू हातमा मञ्जिरा लिएर मादलको तालमा मञ्जिरा बजाउदै सृष्टिक्रमदेखि लिएर कान्हाको जीवनीलाई काव्यत्मक रूपमा गाउदै गोलाकार भै नाचिने नृत्य हो (थारू, २०६३ः ६०) ।

 अष्टिम्की÷सख्या काव्यको प्रमुख विशेषतामध्ये एक यसका श्लोक मधुर स्वरमा गाउँदै मादलेको तालमा थारू नर्तकीहरूको नाच्ने कला पनि हो । 

सख्या गीत उठान गर्ने महिलालाई ‘मोरिन्या’ (गुरूमा जस्तै) र त्यस गीतलाई छोपेर अघि बढाउने अर्काे पंक्तिमा रहेकी नेतृलाई ‘पच्गिन्या’ भनिन्छ । ‘मोरिन्या’ र ‘पच्गिन्या’ रहेका दुबै पंक्तिका नेतृहरूलाई ‘जोठ्गोह्या’ (जेठी संगी) भनिन्छ (आचार्य ः २०६४ः६९) । यस्ता गीत मुखाग्र कण्ठ गर्ने मोरिन्याहरू हराउँदै गएका छन् । यसमा झब्रैना, रगेड्वा, फोङछिप्वा, छोक्रा, ठीहुनटु¥वा, महोट्या, रौनक पैंया लगायत २२ पैंया हुन्थ्यो । सोही अनुसार मादलको तालको लागि पनि २२ खोट (चरण) हुन्थ्यो । ‘मोरिन्या’ मात्रै होइन, मादल बजाउन सिपालु मादलेहरू पनि हराउँदै गएकाले गीत पनि लोप हुनु स्वाभाविकै हो । सख्या गीतको अन्त्यमा पशुपंक्षी, रूख बृक्षलाई पनि विश्राम लिन आग्रह गर्दै सकिन्छ । थारू गोपिनीहरूद्वारा कान्हाको जन्मदिनमा प्रत्येक बर्ष मनाइने पावन पर्व ‘अष्टिम्की’ दशैमा गाइने उक्त लोकगीत कुनै सस्तो मनोरञ्जनका लागि मात्रै नभएर यसभित्र बैज्ञानिक तथ्य र चिन्तनका कुरा समावेश भएको स्पष्ट देखिन्छ (थारू २०६३ः २५७) । कान्हा चरित्रले थारू लोकसंस्कृतिमा जुन रस घोलेको छ, त्यो अनौठो छ ।

अष्टिम्की कला

अष्टिम्की (कृष्णजन्माष्टमी) मा थारूहरूका घर घरमा अष्टिम्की कला घरको भित्तामा बनाएको पाइन्छ । जसमा सृष्टिकथालाई प्रमुखता दिनुका साथै कृष्ण चरित्रबारेका कलाले ठाउँ पाएका हुन्छन् । जस्तो चित्रको शीर्ष भागमा कृष्णले बाँसरी बजाउँदै गएको चित्र हुन्छ (हेर्नुहोस्ः परिशिष्टमा रंगीन चित्र) । त्यस्तै चारकुने आकारमा छुट्टै बनको छुट्टै चित्र हुन्छ । कजरीक् बन्वा भनिने यही बन वृन्दावन हुनुपर्छ । कृष्णले आफ्ना प्रेमिकाहरूलाई दिने प्रेमका प्रतीकका रूपमा फूलको चित्रले स्थान पाएको हुन्छ । सख्या गीतमा जासुले रैनी मछरिया पकाएको प्रसंग आउँछ । सोही कारण यसमा माछाको चित्रले स्थान पाएको देखिन्छ । त्यस्तै, सख्यामा हलो जोती खेतीपाती गरेको श्लोकले चित्रमा पनि हलो जोतिरहेको मान्छे स्थान पाएको छ ।

कान्हाको जन्मदिनमा प्रत्येक बर्ष मनाइने पावन पर्व ‘अष्टिम्की’ दशैमा गाइने उक्त लोकगीत कुनै सस्तो मनोरञ्जनका लागि मात्रै नभएर यसभित्र बैज्ञानिक तथ्य र चिन्तनका कुरा समावेश भएको स्पष्ट देखिन्छ

बनमा बाँसुरी बजाउने कृष्णको बाँसुरीको आवाज सुनी गोपिनीहरू मात्रै होइन, पुशपंक्षीहरूसमेत मोहित हुन्थे । त्यसैले, अष्टिम्की कलामा हात्ती, घोडा, सर्प, मयूर, बाँदर लगायतका चित्रहरू बनाइन्छ (समर्पण, २०६७ः ३३–३४) । श्रीकृष्णले महाभारतको युद्धमा पाँच पाण्डवहरूलाई सघाएको प्रसंग गीतामा छ । यस चित्रमा पाँच पाण्डवले पनि स्थान पाएका छन् । हुँदा हुँदा रामायणका पात्र रावण समेतको स्थान यस चित्र कलामा अचम्म लाग्दो गरी आएको छ । यीबाहेक डुंगा, डोली, सूर्य, चन्द्रमा, लगायतको चित्र पनि अष्टिम्की कलामा देख्न पाइन्छ । डोलीभित्र बनाइएको एक चित्रमा एक ब्यक्तिको टाउको अपूर्ण छोडिएको हुन्छ । बिहान पूजा गर्ने बेला चिचिन्डो काटेर त्यसैलाई अपूर्ण मानव चित्रको टाउको बनाइन्छ । यसले रातभरिमा कृष्णले पूर्ण जीवन पाएको कहावत छ ।

थारू लोकसाहित्य, लोकसंगीत र अष्टिम्की तथा सख्या, पैंयाजस्तो लोककलाको माध्यमले कृष्णलीला साकार भएको छ (थारू २०६३ः २८०) । यसरी थारू समुदायको संस्कृतिको अभिन्न अंग बनेको अष्टिम्की÷सख्या काव्यको अनेक विशेषता केलाउन सकिन्छ ।

सन्दर्भसूची

आचार्य, गोविन्द । २०६४ । थारू लोक साहित्यिक सम्पदाः सङख्या । मधुपर्क, ४०)४, पृ. ३८–४० ।
चौधरी, कृष्णराज । २०६७ । थारूहरूको अष्टिम्की पर्वमा श्रीकृष्ण गाथा । अन्तध्र्वनि । ४२)२६, पृ. २५–२८, बैशाख–आषाढ । दाङ ः राप्ती साहित्य परिषद ।
चौधरी, कृष्णराज । २०६७ । अष्टिम्की (कृष्णजन्माष्टमी) र सख्या नृत्य । समष्टी । ३१)७४, पृ.३४–३८ । काठमाण्डौँः कृषि विकास वैंक ।
थारू, अशोक । २०६३ । थारू लोक नृत्य ः सख्या र पैंया । लोक संस्कृति १)१, साउन–पुष, पृ. ६०–६९ । काठमाण्डौँ ः म्यूजिक नेपाल ।
थारू अशोक । २०६३ । थारू लोक साहित्यमा इतिहास, कला र दर्शन । दाङः परिवर्तनका सम्वाहकहरूको मञ्च नेपाल ।
समर्पण, विजय । २०६७ः । अष्टिम्कीः सक्षिप्त परिचय । लावा डग्गर । १)३, पृ.३३–३४ । दाङः टीकाराम चौधरी ।
त्रिपाठी, वासुदेव र अन्य । २०५५ । नेपाली बृहत् शब्दकोश । काठमाण्डौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook