पश्चिमा थारु समुदायमा अट्वारी

शुक्रवार ०१ आस्विन, २०७२   |   थारु माघी

Print This   |   Font Size + -

पश्चिमा थारु समुदायमा अट्वारी अग्रासन दिन जाँदै चेलीहरु


    सोम डेमनडौरा

अट्वारी पश्चिमा थारु जातिले मनाउने एउटा महत्वपूर्ण सामाजिक र साँस्कृतिक परम्परा बोकेको पर्व हो । आइतबारको दिन मनाउने भएकाले यसको नाम अट्वारी रहन गएको हो । यो पर्व कृष्ण जन्माष्टमी पछिको दोस्रो हप्ताको आइतबारको दिन मनाइने प्रचलन परापूर्व कालदेखि रहेको छ । जस अनुसार यो बर्ष असोज ३ र ४ गते यो पर्व परेको छ । यो पर्व खास गरेर पुरुषले मनाउने चलन रहेता पनि महिलाहरु पनि व्रत बसेर अट्वारी रहने गर्दछन् । अट्वारीमा महाभारतका पात्र भिवाँ (भीम) को पूजा गर्ने गरिन्छ । थारु समुदायको बर्किमार ग्रन्थमा भीमको बिशेष भूमिका उल्लेख्खय छ ।

अट्वारीको किम्बदन्ती

अट्वारी कसरी मनाइन थालियो भन्ने सम्बन्धमा केही किम्बदन्तीहरु रहेका छन् । “भीवाँ आइतबारको दिन दानबको आहार भएका थिए र त्यही दानबलाई मारेर नयाँ जीवन पाएका थिए । यसैगरी बनबास गएको बेलामा कयौं बिपत्तिहरुबाट सबै भाईलाई बचाएका थिए । जस्तो उनले हात्तीसँग लडेर हात्तीलाई मारे, साथै पाँच पाण्डवहरुलाई लाखको घरमा आगो लगाएर मार्ने बेलामा मणिकको खम्बा उखेलेर सबैलाई बचाएका थिए । यसका साथै उर्बशी मेनकाको प्राप्तिका लागि छैठौं शताब्दीमा स्वर्गका राजा इन्द्र र थारु राजा दंगीशरण बिच युद्ध हुँदा दंगीशरण थारुले पाँच पाण्डवहरुसँग सहयोग माग्न जाँदा अन्य भाईहरुभन्दा भीमले सहयोग गरेको भनाई समेत रहेको छ । सोहीबेला भीवाँ रोटी पकाई रहेका थिए र रोटी पकाउँदा पकाउँदै लडाईमा जानु परेकाले रोटी एकातिरबाट मात्र पाक्यो । तसर्थ अट्वारीमा पनि पहिलो रोटी नपल्टाईकन एकातिरबाट मात्र पकाई सो भाग भीवाँको लागि राखिने चलन छ ।” (चन्द्र प्रसाद थारु, हमार रीति हमार संस्कृति २०६४) ।

अट्वारी मनाउने तरीका

अट्वारीको परिकार खानुभन्दा पहिले आफ्नो दिदी बहिनीको लागि परिकारबाट केही भाग निकाल्ने र आगोको पूजा गरिसकेपछि मात्र खाने गरिन्छ । 

अट्वारीको पहिलो दिनभन्दा अगाडिको रातमा भिन्सर्या (दर भात) खाने गरिन्छ । पहिलो दिन (आइतबार) दिउँसोको करिब २ बजेदेखि रोटी पकाउन शुरु गरिन्छ । रोटी पकाउनका लागि शुद्ध आगो (गन्यारी भन्ने काठ एक आपसमा रगडेर आगो निकालिन्छ) को प्रयोग गरिन्छ । यस किसिमको आगो नफुकेरै सकेसम्म माघी पर्वसम्म जोगाई राख्ने चलन छ । दिनभरिको व्रतपछि साँझको पाँच बजेपछि अट्वारीको परिकार खानुभन्दा पहिले आफ्नो दिदी बहिनीको लागि परिकारबाट केही भाग निकाल्ने र आगोको पूजा गरिसकेपछि मात्र खाने गरिन्छ । सो परिकारहरुमा रोटी, केरा, अम्बा, काँक्रो तथा आवश्यकता अनुसारका फलफुल र दही हुने गर्दछ ।

अट्वारीको भोलिपल्ट बिहान नुहाएर खाना पकाउन शुरु गरिन्छ । खानाको परिकारहरुमा पवँईको साग, सिल्टुंगको गेडा, केराऊ, तोरैं, कर्कलाको साग, रायोको साग तथा आवश्यकता अनुसार ३, ५ या ७ प्रकारको तरकारी बनाइन्छ । खाना तयार भएपछि सबै दाईभाईले आफ्नो चेलीबेटीको लागि अग्रासनका लागि आफ्नो अंशबाट केही भाग निकालेर मात्र खाने गर्दछन् । खाना खाई सकेपछि सोही दिन (सोमबार) विवाह भैसकेको दिदी बहिनीको घरमा अग्रासन दिन जाने परम्परा रहेको छ ।

थारु समुदायकोे महाकाव्य बर्किमार (महाभारत काव्य) मा भिमसेनलाई मुख्य पात्रको रुपमा लिइएको छ । जसमा अर्जुनले नभई भिमले बाणले चरा खसाई द्रौपतीलाई जित्ने गर्दछन् । बर्किमारको राउबेढक पैढारमा यसरी भनिएको छ–

चारी भाई भिवाँ पाछु र छोर, चारी परगा भिवाँ अगसुर नेंग
फल एक मयरी डरनु पा, अज्ञीया डेब्या डरटु खा
राउबेढ डुर्पटी लईआन, ज्याकर नाउँ धनरजी हो । – (अशोक थारु, २०५६, बर्किमार (राउबेढक पैढार)

अट्वारी पर्व थारु जातिमा पुरुषले मनाउने र दिदीबहिनीलाई अग्रासन दिइने अत्यन्त महत्व रहेको पर्व हो । यो पर्व एकता र बिजय तथा भातृत्वप्रेमको प्रतिकको रुपमा मनाइने गरिन्छ । साथै अट्वारी पर्व बल र सुरक्षाको रुपमा पनि मनाइने गरिन्छ ।

कैलाली लगायत थारु बहुल क्षेत्रमा अझै पनि कफ्र्युले चाडवाड मनाउने अवस्था थारुहरुको छैन ।

थारुहरुको एक बिशिष्ट पहिचान बोकेको पर्व भएता पनि यस अवसरमा सार्वजनिक तथा राष्ट्रिय बिदा नभएकाले थारुहरु यस पर्वलाई आत्मीय र सौहार्द तरिकाले मनाउने अवसरबाट बञ्चित हुनुका साथै यस पर्वको महत्व पनि दिनानुदिन घट्दै गइरहेको छ । यसर्थ लोकतान्त्रिक गणतन्त्रतामक मुलुकमा सम्पूर्ण जातजातिको धार्मिक, साँस्कृतिक र सामाजिक बिकासका लागि समान ब्यबहार गरे मात्र आदिबासी थारुहरुले वास्तबिक लोकतन्त्रको महशुस गर्नेछन् । उनीहरुले उल्लासपूर्वक आफ्नो पर्व मनाउने अवसर पाउनेछन् । यसले साँस्कृतिक अधिकारको मूल्य राख्ने साथै सँस्कृतिको संरक्षण र सम्बद्र्धन हुन्छ । विडम्वना कैलाली लगायत थारु बहुल क्षेत्रमा अझै पनि कफ्र्युले चाडवाड मनाउने अवस्था थारुहरुको छैन ।
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook