महिला र लैंगिक भूमिका

शुक्रवार १५ आस्विन, २०७२   |   आदिवासी महिला

Print This   |   Font Size + -

महिला र लैंगिक भूमिका तस्विरः विनोद केसी

 

पवित्रा चौधरी

माता, जननी, ममताकी खानी यी यावत पर्यायवाची शब्द आमासँग तुलना गरिन्छ । आमा भनेको एउटा महिला हुन् । पृथ्वी पनि महिला हुन् भन्ने मान्यता पनि छ । पृथ्वीमा मान्छे बस्छ, त्यही पृथ्वीलाई खनेर आफ्नो जीविकोपार्जन पनि गरिरहेको हुन्छ । पृथ्वीलाई पनि आमासँग दाँज्ने हेरे एउटा महिला र पृथ्वीको कथा उस्तै छ भन्दा फरक नपर्ला । मान्छेले पृथ्वीलाई खन्छन्, जोत्छन् र आफ्नो जीविकोपार्जन गर्छन् । तर पृथ्वी माताले तिमीहरूले मलाई खन्यो, जोत्यो भनेर खनजोत गर्नेहरूसँग कहिले पनि गुनासो गर्दिनन्, चुप लागेर सुतिरहन्छिन् । किनभने हाम्रो सृष्टि नै त्यसरी भएको छ, पृथ्वीलाई पीडा दिएर जीविकोपार्जन गर्नुपर्ने । एउटा कृषकले हलोले जोत्दा पृथ्वी चिरिन्छ, कुनै बोरिङ गाड्न खोज्यो भने पृथ्वीलाई खनिन्छ । यसरी पृथ्वीलाई पनि पीडा हुँदो हो तर पृथ्वीमा सहन सक्ने शक्त्ति कति धेरै छ, खन्यो, जोत्यो झन राम्रो अन्न बाली दिने गर्दछ ।

के छोरीलाई पनि आफू जन्मेको घरमा बस्ने अधिकार छैन ? जागिर खान थालेपछि उ पनि छोरासरह भूमिका निभाउन त सक्छे नि ।

त्यसैगरी महिलालाई पनि एकदमै महान हुन्छन् भन्ने कुरा त छ तर पृथ्वीजस्तै महिलाका पनि अनेकन पीडाहरू छन् । एकजना महिलाको बच्चादेखि बृद्धासम्मको जीवनशैली केलाएर हेर्दा थुप्रै पीडाहरू भेटिन्छ । जब एकजना बच्ची जन्म हुन्छ, यदि छोराको आश गरेर बसेको आमा बाबु भयो भने त्यो बच्चीको पीडा त्यहीदेखि शुरु हुन्छ । कस्तो अलिच्छनी जन्मी । सारा सत्यानास भयो । हुँदा हुँदा पिताले पनि भन्न थाल्छ– हत्तेरिका कस्ती आइमाई हो, फेरी पनि छोरी जन्माई । त्यस पछिको दिनमा धेरै दुःख पीडा सहदैँ अगाडि बढ्दै त्यो छोरी, तेह्र वर्षको पुग्दा उसलाई अर्को शारीरिक पीडा शुरु हुन्छ महिनावारी । महिनावारीको पीडा महिनावारी हुनेलाई मात्र थाहा हुन्छ । त्यसमा पछि महिनावारी हुँदा यदि बार्ने चलन छ भने त्यो झन पीडा हो । त्यसबेला भान्सामा छिर्नै नदिने, हुट्याएर राखेको थालमा माथिबाट हालेर दिएको भात र माथिबाटै खन्याएर दिएको पानी पिउँदा कति मन पोल्छ, त्यो छोरीलाई थाहा हुन्छ ।

अब हेर्नुस् है, त्यही छोरी पढ्छे, लेख्छे, ठूली हुन्छे । उसको पढाइ पनि राम्रै हुन्छ, सक्दो जागिर खान पनि शुरु होला । २० वर्ष पार हुने वित्तिकै बुवा आमाले पनि घरबाट धपाउन खोज्न थालिहाल्छन् । केटो पाइहालियो भने साइत जुराई हाल्छन् । आखिर एक न एकदिन घरबाट जानै पर्छ । छोरीको जात अरे । के छोरीलाई पनि आफू जन्मेको घरमा बस्ने अधिकार छैन ? जागिर खान थालेपछि उ पनि छोरासरह भूमिका निभाउन त सक्छे नि । त्यतिले मात्र कहाँ हो र बिहे गरेर पढाइ सकेपछि अर्काको घर उसको कर्म घर बन्छ अरे, त्यस पछि शुरु हुन्छ छोरीको मेशिनजस्तै भएर जिउने दिन । बुहारी हो भन्दै सासु आमाले हैकम जमाउन थालिहाल्छन् नि । त्यसपछि त कसैको श्रीमती, कसैको बुहारी, उता जागिरे छ भने एउटा कर्मचारी पनि कति हो कति फरक भूमिका ।

बच्चा हेर, खाना पकाउ, खाएको भाँडा धोउ, सासु ससुरालाई खुवाउ, त्यसपछि घडी हेर्दै जागिरमा दौड । ढिलो भयो भने हाकिमको खप्की छँदैछ । 

अब बुहारी भैसकेपछि सासु आमालाई नातिको मुख हेर्न परिहाल्यो । एक दुई बर्ष मात्रे ढिला होस् त ओहो बाँझी छे क्या हो, अहिलेसम्म नाति नातिनाको मुख हेर्न पाइएन त । त्यो बाण रोक्नको लागि बाण छोडि हाल्नुभन्दा पहिले नै आमा बन्नु जाति । आमा बने पछिको पीडा झन छुट्टै । बच्चा पेटमा आउँदाको तीन महिनामा अलि अलि सामान्य पीडा त सबैलाई हुन्छ । वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने, खाना नै खाए न भने त जिउ त्यस्तै कमजोर भइहाल्छ । तर कसै कसैलाई त्यही तीन महिनासम्म अत्याधिक पीडा हुन्छ, एकदमै धेरै उल्टि हुने, पानी खाँदा समेत उल्टि हुने हुन्छ । खानेकुरा त देख्नु नै हुन्न, कसै कसैलाई त बच्चा पेटमा रहुन्जेलसम्म त्यस्तै पीडा खेप्नुपर्ने हुन्छ । तर त्यसको उल्टो अर्को पीडा पनि हुन्छ, पेटमा बच्चा आएदेखि कुनै नयाँ कुरा देख्दा त्यही खान मन लाग्ने हुन्छ । आफू जागिरे, अथवा घर परिवार पनि हुने खाने खाले छ भने त चाहेजस्तो पाइएला तर घरबाट पनि सहयोग गर्न नसक्ने, आफूसँग पनि नभएको अवस्थाको दिदी बहिनीको पीडा झनै ठूलो हुन्छ । मेरो एक छिमेकी एकजना बहिनी दुई जीउकी भइन् । घर परिवार ठिकैकोे थियो । उनको जागिर थिएन । पुरी असाध्यै खान मन लागेछ र ससुराले तरकारीमा हाल्नलाई किनेर ल्याएको तेलमा पुरी पकाएर खाइछिन् । सासुले थाहा पाउने बित्तिक्कै हल्ला गर्न थालेछिन् । ससुरा आएर साफले गाली गरे, ससुराको आडमा सासुले कपाल लुछ्दै पिटिन् । ती बहिनीले अन्तरजातीय बिहे गरेकी थिइन् । दोजिया अवस्थामा सानो तेलको पोकाको निहुँ झिकेर दुःख दिनेले पछि कति धेरै पीडा भोग्नु परेको थियो होला, उनलाई मात्र थाहा छ ।

तिमी बच्चा हेर, म खाना पकाउँछु भनेर श्रीमानले पनि त भन्न सक्छन् नि । तर के गर्नु त्यस्ता श्रीमान् थोरै र अपवादका रुपमा मात्र हुन्छन् ।

पेटमा बच्चा रहुन्जेलसम्म त शारीरिक रुपमा अलि गाह्रो होला तर सह्य नै हुन्छ । बच्चा जन्मिदा बेलाको पीडा प्रसव पीडा भोग्ने आमाले जति अरुले महसुस गर्न सक्दैनन् । बच्चा जन्माउनु आमाको लागि पनि दोश्रो जन्म नै माने हुन्छ । बच्चा जन्मी सकेपछिको पीडा फेरि छुट्टै छ । त्यस पछि त जिम्मेवारी नै ठीक दोब्बर, बच्चालाई तेल लगाउ, बच्चाको लुगा धोउ, थाङना धुँदाको पीडा, समयमा सुक्ला नसुक्ला । सुकाउने बेला पानी परेर अझ भिज्ला कि । कतै जागिरे हो भने त झन बिजोग । बच्चा हेर, खाना पकाउ, खाएको भाँडा धोउ, सासु ससुरालाई खुवाउ, त्यसपछि घडी हेर्दै जागिरमा दौड । ढिलो भयो भने हाकिमको खप्की छँदैछ । जागिर खाँदा पनि बच्चा रोयो कि, समयमा दुध खुवाउनै पाइएन भनेर छटपटी हुन्छ ।
मेरो  एकजना चिनजान पर्ने बैँकमा काम गर्नु हुन्छ । बच्चा जन्मेको ३५ दिनमै लेक्टोजिन खुवाउन थाले अरे । नत्र उनले जागिर छाड्नु पथ्र्यौ । बच्चालाई ६ महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्ने हुन्छ भनेर थाहा पाएको आमाहरूलाई मेरो साथीजस्तै अवस्था आयो भने छाती नै चिरिन्छ होला । त्यति मात्रै भए त हुन्थ्यो नि बच्चा छोडेर कतै जानुस् धेरै बेर भयो भने त छाती नै भरिन्छ । दुध आफै बाहिर बग्न थालिरहेको हुन्छ, लाएको कपडा नै भिज्ने गरी, निचोरेर फाल्न जाउ । मेरो बच्चाले खाने दुध हो भनेर मन कुटक्क खान्छ । त्यो पीडा त्यही आमालाई मात्रै थाहा हुन्छ । कहीं कतै जान थाल्यो, कुनै कुनै त बच्चा नै बुवासँग जानै मान्दैन, आमासँगै बस्न खोज्ने, जबरजस्ती बुवालाई देउ, रुन थाल्छ, फेरी आफै बोक । तर कोही त सानैमा बच्चा छाडेर मजाले सपिङ गर्छन् । बजारमा बच्चा बोक्न लाज हुन्छ अरे । सुत्न लाज नहुने बच्चा बोक्न चाहीँ लाज अरे ।

छोरी भएर जन्मेपछि खाना पकाउने, भाँडा धुने, घर सफा गर्ने, सबैको लुगा धुने, बच्चा जन्माउने, बच्चाको स्याहार गर्ने यी सबै भूमिका महिलाको लैंगिक भूमिकासँग जाडिएर आएका कुरा हन् । तिमी बच्चा हेर, म खाना पकाउँछु भनेर श्रीमानले पनि त भन्न सक्छन् नि । तर के गर्नु त्यस्ता श्रीमान् थोरै र अपवादका रुपमा मात्र हुन्छन् । यी सबै कुरा हेर्दा त महिला मेशिन नै हो भनेर बुझे हुन्छ । ए भगवान महिलालाई यति धेरै शक्ति देउ कि महिला विरामी भन्ने कुरा कहिल्यै भोग्नु नपरोस्, छिटो बुढो हुन नपरोस् । किनभने महिला पुरुष बराबर हुने, बाँडेर काम गर्नुपर्छ भन्ने भाषण छाँट्नेहरूले पनि बराबर भूमिका व्यवहारिक रुपमा कहिल्यै उतार्दैनन् । झन आफ्नै परिवारमा यस्तै दुःख दिइरहेका हुन्छन् । अनि कसरी भन्न सक्छौं, महिला पुरुष बराबरी ?

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook