समुदाय केन्द्रीत पत्रिकालाई बचाउन सरकारी नीतिको अभाव छ

मंगलवार १९ आस्विन, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

समुदाय केन्द्रीत पत्रिकालाई बचाउन सरकारी नीतिको अभाव छ प्रेस काउन्सिलको पुरस्कार पछि प्रतीक (बीचमा)

 

प्रतीक ङेसुर तामाङको सम्पादन, प्रकाशनमा छार गोङमा (नयाँ पाइला) मासिकले २०७२ असोजसम्म १३४ अंक नियमित प्रकाशन गरेको छ । यस बर्ष प्रेस काउन्सीलको भाषागत पत्रकारिता छार गोङमा (नयाँ पाइला) ले पाएको छ । काम गर्दै जाँदा कहिँ न कहिँबाट मूल्याङ्कन हुँदो रहेछ भन्ने उनलाई अनुभूति भएको छ । सरकारी निकाय प्रेस काउन्सिल जस्तो संस्थाबाट पुरस्कार प्राप्त हुँदा थप हौसला मिलेको बताउने तामाङसंग प्रस्तुत छ इण्डिजिनियस भ्वाइसको लागि कृष्णराज सर्वहारीले गरेको कुराकानी–

प्रेस काउन्सीलले पुरस्कारको संख्या बढाउँदै लगेको छ । त्यसमा राशी पनि बृद्धि भइरहेको छ । भाषागत पत्रकारिता पुरस्कारको राशी भने २० हजारबाट १० हजार रुपैयामा झारिएको छ । यस बारेमा तपाईको प्रतिक्रिया के छ ?

प्रेस काउन्सिल नेपाल देशभरका पत्रपत्रिकाहरूलाई अनुशासित, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न गराउन भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेको जिम्मेवार निकाय हो । यही उद्देश्यअनुसार पत्रकारहरूलाई उत्साहित बनाउनका लागि पुरस्कारको सङ्ख्या बढाउँदै लग्नु पक्कै पनि प्रशंसायोग्य काम हो । तर काउन्सिलले पुरस्कार कसरी प्रदान गर्ने भन्ने बारेमा अलि बेग्लै व्यवस्था गर्न सके राम्रो हुन्थ्यो । करिब ५० जना पत्रकारहरूलाई एकै थलोमा थुपारेर एकै समयमा पुरस्कार प्रदान गर्नुभन्दा विधागत आधारमा अलग अलग समय निर्धारण गरी पुरस्कार दिन सकेमा  अझ बढी महत्व हुन्थ्यो । यसो गर्न सके पुरस्कार प्रदान गर्ने र पाउनेको बढी चर्चा हुन्थ्यो । पुरस्कारमा राशी नै महत्वपूर्ण कुरा होइन । सही मूल्याङ्कन र छनौट महत्वपूर्ण विषय हो ।

प्रेस काउन्सीलमा तपाई निकै बर्ष पत्रपत्रिका मूल्याङ्कन, सम्परीक्षणकर्ताको रूपमा पनि काम गर्नु भयो । भाषा भाषीको पत्रिका राम्रो वर्गीकरणमा किन उक्लिन सकिरहेको छैन ?

यसमा धेरै कारणहरू हुन सक्छन् । सबैभन्दा पहिले त पत्रिकाहरू आफैमा पत्रकारिताको मूल्य र मान्यताको पालना गर्दै प्रकाशन भएको हुनुप¥यो । समावेश गरिएका सामग्रीहरू खँदिलो हुनुप¥यो । वितरणको कुराहरू पनि यसमा जोडिएको छ । तर समुदाय केन्द्रीत यस्ता पत्रपत्रिकाहरू विभिन्न चुनौतीहरूको सामना गर्न बाध्य भएकोले चाहेर पनि कतिपय अवस्थामा सोचे जस्तो स्तरीय बनाउन नसकिरहेको अवस्था छ । यसले स्वाभाविक रूपमा काउन्सिलको मूल्याङ्कनका लागि समेत असर पर्न सक्छ ।

समुदाय केन्द्रीत यस्ता पत्रपत्रिकाहरू विभिन्न चुनौतीहरूको सामना गर्न बाध्य भएकोले चाहेर पनि कतिपय अवस्थामा सोचे जस्तो स्तरीय बनाउन नसकिरहेको अवस्था छ । यसले स्वाभाविक रूपमा काउन्सिलको मूल्याङ्कनका लागि समेत असर पर्न सक्छ

छार गोङमा (नयाँ पाइला) मासिकमा पहिले तामाङ र नेपाली दुवै भाषामा बरोबर रुपमा सामाग्री समेटिएको थियो । अहिले तामाङ भाषामा सम्पादकीय मात्रै प्रकाशन गरी बाँकी सबै नेपाली भाषामा मात्रै प्रकाशित गरिन्छ । सामग्री सम्प्रेषणमा यसरी किन परिवर्तन गर्नु प¥यो ?

छार गोङमा २०६० सालदेखि सुरु भएको हो । अवश्य पनि सुरुमा सामाजिक विषयवस्तुहरूलाई बढी प्राथमिकता दिँदै तामाङ भाषामै प्रस्तुत गर्ने गरिएको हो । तर २०६२÷२०६३ को ऐतिहासिक परिवर्तनपछि मुलुकमा हरेक समुदाय राजनीतिक अधिकारका लागि सक्रिय बन्न पुग्यो । त्यस हिसाबले तामाङ समुदायका विभिन्न मुद्दाहरूलाई समेट्नु पर्ने र त्यसलाई सम्प्रेषण गर्नुपर्ने भएकोले खस नेपाली भाषालाई बढी प्राथमिकतामा राखिएको हो । यसो गर्दा समेटिएका विषयवस्तु बढीभन्दा बढी पाठकसम्म पु¥याउन सकिएला भन्ने सोचले पनि भाषालाई केही तलमाथि गरिएको हो ।

मार्टिन चौतारी लगायतका जर्नलमा तपाईका आदिवासी जनजाति पत्रकारिता सम्बन्धी खोजमूलक लेख पनि प्रकाशित हुँदै आएका छन् । आदिवासी जनजाति केन्द्रित पत्रिका किन नियमित हुन सकिरहेका छैनन् ?

यसका पछाडि पनि थुप्रै कारणहरू छन् । अहिलेसम्म प्रकाशित पत्रपत्रिकाहरूको इतिहास हेर्दा अलग अलग चरित्र विशेषताका पाइन्छन् । धेरैजसो पत्रिकाहरू भावनामा बगेर प्रकाशित भएको पाइन्छ । पत्रकारिताको गहिरो ज्ञान र सञ्चालनको भरपर्दा तरिकाहरूबारे खासै जानकारी नलिईकन प्रकाशनमा लहडमा होम्मिनाले पनि पत्रिकाहरू अल्पायुमै अन्त भएको पाइन्छ । पत्रिका प्रकाशनको काम जसले पनि गर्न सक्छ भन्ने भ्रमबाट मुक्त हुनु आवश्यक छ । कतिपय पत्रिकाहरू खास समयमा खास उद्देश्य पूर्तिका लागि प्रकाशनमा आएको पनि पाइन्छ । तत्कालीन सामाजिक, राजनीतिक परिस्थितिमा आप्mनो विचार, नीति, कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले मात्रै राखेर पनि पत्रिका प्रकाशनमा आएको पाइन्छ । यस्ता पत्रिकाहरू नियमित नहुनु स्वाभाविकै हो । तर कतिपय नियमित हुनुपर्ने पत्रिकाहरू पनि बन्द भएका छन् । समुदाय केन्द्रीत पत्रिकाहरूलाई बचाउन सरकारी नीतिको अभाव र बेवास्ता, कमजोर व्यवस्थापन, बजार नीतिबारे अज्ञानता जस्ता कारणले पनि पत्रिकाहरू नियमित हुन नसकेको देखिन्छ ।

तपाई मूल धारको पत्रकारिता छाडेर छार गोङमा (नयाँ पाइला) मासिकलाई नै टेवा दिन कम्मर कस्नु भएको छ । यसको दीगोपनबारे बताइदिनु होस् न ।

छार गोङमा तामाङ समुदायकै मुखपत्रको रूपमा प्रकाशित हुँदै आएको छ । विषयवस्तुलाई प्रचार प्रसार गर्ने काम मात्र नभएर महत्वपूर्ण विषयलाई अभिलेखीकरण गरी इतिहास रच्ने काममा छार गोङमाले योगदान पु¥याएको हाम्रो विश्वास हो ।

हाम्रा पाठक, शुभचिन्तक तथा सहयोगीहरूको विश्वास नै छार गोङमा मासिकको दीगोपनको मुख्य आधार हो । भाषा साहित्य, संस्कृति, इतिहाससहित हाम्रो पहिचान र अधिकारका विषयहरूलाई छार गोङमाले समेट्ने गरेको छ । समसामयिक विषयवस्तुहरूलाई स्थान दिन यसले इमान्दार प्रयास गर्दै आएको छ । छार गोङमा तामाङ समुदायकै मुखपत्रको रूपमा प्रकाशित हुँदै आएको छ । विषयवस्तुलाई प्रचार प्रसार गर्ने काम मात्र नभएर महत्वपूर्ण विषयलाई अभिलेखीकरण गरी इतिहास रच्ने काममा छार गोङमाले योगदान पु¥याएको हाम्रो विश्वास हो । तामाङ समाजलाई सामाजिक तथा राजनीतिक हिसाबले परिवर्तन गर्ने आन्दोलन र अभियानमा छार गोङमा पनि सँगसँगै लागिरहेको छ । यसले गर्दा पनि छार गोङमालाई माया गर्ने, साथ दिने र सकेको मद्दत गर्नेहरूको कमी छैन । यी सबै कारणले यसले आफ्नो यात्रालाई अझ निरन्तरता दिन सक्छ भन्नेमा कुनै शङ्का छैन ।

तपाई नेपाल तामाङ घेदुङको सचिव पनि हुनुहुन्छ । जातीय संस्थाले सम्बन्धित भाषाको पत्रकारितालाई कत्तिको टेवा पु¥याइ रहेको जस्तो लाग्छ ?

घेदुङ जस्ता सामाजिक संस्थाहरूले आर्थिक रूपमा टेवा पु¥याउन सक्ने कुरै भएन । किनभने मुनाफा गर्ने उद्देश्य नभएका यस्ता संस्थाहरू आफै अरूको सहयोगबाट चलिरहेका हुन्छन् । बाँकी विषयवस्तु र अरू नैतिक, बौद्धिक खालका सहयोगहरू भने हुने गरेकै छ ।
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook