नेपाल किन बन्न सकेन ?

शुक्रवार २२ आस्विन, २०७२   |   वातावरण र विकास

Print This   |   Font Size + -

नेपाल किन बन्न सकेन ?

 


पेशल आचार्य

       नेपाल किन बन्न सकेन ? अहिले यो बहसले नेपालका प्रमुख अखबार, टेलिभिजन, डिजिटल पत्रपत्रिकाहरूमा लेखिएका विभिन्न बौद्धिक वर्गका लेखरचना र चिन्तनमा निक्कै हल्लीखल्लीका रूपमा स्थान पाएको विषयवस्तु भएको छ । हो, पनि आफ्नो देश नबनेको चिन्ता सबैलाई हुन्छ नै । पढेका हुन या अशिक्षित धनी देशको नागरिक बन्ने सपना कसले सँगालेको हुँदैन र ? अहिलेका दैनिक पत्रिकाहरू खासगरी राजधानी केन्द्रित पत्रिकाहरूले एक प्रकारले सामाजिक जिम्मेवारीमय पत्रकारिता गर्दै आइरहेका छन् । यो सन्दर्भ राम्रो पनि हो ।

सबैमा ज्ञान भएकै कुरा हो । नेपाल नबन्नुका पछाडि निकै कारणहरू रहेका छन् । त्यो सबै विषयलाई अहिलेको यो सानो शीर्षकमा न्याय गर्न सकिन्न । पछि कुनै स्थानमा लामै बहस गर्नु पर्ला । किन बनेन भन्दा पनि हामीले किन बनाउन चाहेनौं भन्ने कुरा नै अहिलेको प्रमुख चिन्ता र चासोको विषय हो । नेपालीहरूले इतिहासमा कसैको उपनिवेश भएर रहनु परेन । यो नेपालीहरूका लागि खुसीको कुरा हो । तर यही कुराले नै सायद् घर गरेर होला नेपाल बन्न नसकेको पनि । हामीले वैरीका विरुद्ध क्रान्तिको धावा बोल्नै परेन अनि हामीमा त्यो इख पनि पलाएन जसरी भारतीयहरूमा अङ्ग्रेजका विरुद्ध पलाएको थियो ।

 देश त्यसै कहाँ बन्छ र ? देश कसरी बन्छ भन्ने कुरा जान्नका लागि हामीले जापानको इतिहास पढ्नु पर्छ ।

नेपालले अहिले जति विकास गरेको छ त्यो उसको आफ्नो बलबुतामा भन्दा पनि विदेशको सहयोग र अनुदानमा भएको विकासको प्रतिफल हो । देश त्यसै कहाँ बन्छ र ? देश कसरी बन्छ भन्ने कुरा जान्नका लागि हामीले जापानको इतिहास पढ्नु पर्छ । देश कसरी बन्छ भन्ने बुझ्नका लागि हामीले चीनको इतिहासलाई धुलिसात पारेर खार्नु पर्छ । अनि देश कसरी बन्छ भनेर बुझ्नका लागि त हामीले सिङ्गापुरको इतिहास अझ खासगरी लि क्यानको जीवनीलाई पानापानामा गढेर पढ्नु पर्छ । भारत कसरी बन्यो ? बेलायत कसरी बन्यो ? अमेरिका कसरी बन्यो ? युरोप, क्यानाडा र अष्ट्रेलिया कसरी बनेँ ? पहिले त त्यो हेर्नुपर्छ अनि मात्र हाम्रो देश बनाउन सकिन्छ । चिया र रक्सीको चुस्कीमा देश बन्ने हो भने उहिल्यै नै नेपाल बनिसक्ने थियो । हैन त ?

देश बनेन भनेर मात्र सुगा रटाइ गर्ने होइन कि देश के गरी बनेन किन बनेन ? ककसले बनाउँन दिएनन् भनेर पनि गहिरिएर हेर्नु पर्छ । अति सरल र सामान्य अर्थमा लिने हो भने जहिले पनि यथास्थितिवादी शक्तिहरूले नै देशलाई अधोगतितिर धकेलेका छन् । अनि नेपालमा हुने भारतीय निर्देशनका क्रान्तिहरू र क्रान्ति व्यवस्थापन गर्न नसक्ने अदूरदृष्टि भएका नेताहरूको क्रियाकलापकै कारणले पनि देश नबनेको  हो । देश बनाउन त नेतृत्व तहमा एउटा दृढ सङ्कल्प चाहिन्छ । प्रचुर सपना र आस्था चाहिन्छ । स्पाती व्यक्तित्वका नेताहरूले जब दस, बीस या तीस वर्षका कार्ययोजनाका खाकाहरू तयार गरेर टिम स्पिरिटमा हिँड्न हिँडाउन सक्छन् अनि मात्र देश बन्छ ।

नेपालमा हुने भारतीय निर्देशनका क्रान्तिहरू र क्रान्ति व्यवस्थापन गर्न नसक्ने अदूरदृष्टि भएका नेताहरूको क्रियाकलापकै कारणले पनि देश नबनेको हो । देश बनाउन त नेतृत्व तहमा एउटा दृढ सङ्कल्प चाहिन्छ । प्रचुर सपना र आस्था चाहिन्छ ।

सबैभन्दा मुख्य कुरा त नेतृत्व तहमा बस्ने नेताले आफूले त्याग गर्न सक्नु प¥यो । आफूले त्याग गर्न र अनुशासनमा बस्न सकेको छ भने मात्र अरूलाई भन्न वा अ¥हाउन सकिन्छ । ४६ सालको क्रान्ति सफल भैसकेपछि राजा वीरेन्द्रले काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहलाई प्रधानमन्त्रीको अफर गरेका थिए तर गणेशमानले त्यो अफरलाई अस्वीकार गरेर एकै सासमा हुन्न भनिदिए । उनले मभन्दा कृष्णप्रसाद भट्टराईलाई बरू विश्वास गर्नुस् भनेर राजालाई सल्लाह दिए । त्यो उनको दूरदर्शीपना थियो । नेपालमा सबैभन्दा खतरा रोग के छ भने म अरूभन्दा जान्दछु । म जति त यो धर्तीमा अरू कोही पनि जान्दैन । रोग यहीँ छ ।

गाउँको एउटा सामान्य राजनीतिक कार्यकर्ता पनि म अन्य विरोधी पार्टीका कार्यकर्ताभन्दा बढी जान्दछु, भन्छ । मैले जति त त्यसले पढेकै छैन भन्दछ । हो, हाम्रो समस्या यहीँनेर छ । आफू पढ्दै नपढी अरूलाई अर्तीबुद्धि दिने संस्कार जो छ, त्यो अत्यन्त खराब संस्कार छ । पहिले त आफूले पढ्नु प¥यो अनि मात्र अरूलाई भन्न मिल्छ । यो रोग जिल्ला तहका नेताहरूमा पनि छ । यही रोग महारोग भएर केन्द्र तहका नेतामा लागू हुन्छ । नेपालमा अहिले पढ्ने नेताहरू त सफलताको सिँढीमा क्रमशः चढ्दै गरेका पनि छन् ।

नेपाली राजनेताहरूमा धेरथोर मात्रामा कोही न कोही पढन्तामा गनिएका छन् । तर मैले यहाँ सामान्य र समकालीन पत्रपत्रिका, किताबहरू र घटनाहरू पढ्ने या कुनै गोष्ठी या भेलामा जाँदा मैले यो पढेको छु भनेर गफका शैलीमा डिङ् हाँक्नेलाई मात्रै पढन्ता भनेको होइन । पढ्नु भनेको त विश्वको परिवर्तनशील चरित्रलाई दिमागमा आँक्नु हो । विश्वको अर्थ व्यवस्था र बद्लिँदो सामाजिक जीवन शैली र परिस्थितिको विश्लेषण गरेर आफ्नो देशका आवश्यकताहरूलाई छनोट गरी विकास र निर्माणका कुराहरूमा तरक्की गर्न सक्नु हो ।

नेपालमा केही नभएको भने छैन । नयाँ नयाँ तरकिब र ढाँचामा नेपालमा काम पनि आरम्भ भएका छन् । विदेशमा गएर आएर सिकेका कुरालाई एप्लाइ गरेर पनि नेपालीहरूले निकै नै तरक्की गरेका छन् । 

नेपालमा केही नभएको भने छैन । नयाँ नयाँ तरकिब र ढाँचामा नेपालमा काम पनि आरम्भ भएका छन् । विदेशमा गएर आएर सिकेका कुरालाई एप्लाइ गरेर पनि नेपालीहरूले निकै नै तरक्की गरेका छन् । सरकारी रोजगारीमा पनि विद्वान् मानिसहरू छन् । भूपू अर्थ सचिव रामेश्वर खनाल, गर्भनरहरू, बैँङ्करहरू, प्राध्यापकहरू, शिक्षकहरू पनि छन् जसका अनुभव राज्यले लिन सकेको छैन । यो हुनुपर्ने कुरा तर नभएको दुखद् कुरा हो ।  

प्रतिबद्धता भएको एउटा राजनेताले कसरी आफ्नो माटोलाई माया गर्छ भन्ने कुरा धेरै टाढा गएर सिक्नै पर्दैन । छिमेकी भारतको विहारका मुख्य मन्त्री नितीशकुमारको विकास शैलीलाई हेरे पुग्छ । लालुले खग्रास पारेको विहारलाई नितीशकुमारले जसरी विकासे छलाङ मारेर अहिलेको परिवर्तनशील विहार बनाए हो, त्यस्तो राजनेता अहिलेको नेपाललाई चाहिएको छ । हुन त नेपालमा अहिले पनि कछुवाको तालमा आफ्नै तालका विकासका कार्यहरू भैरहेका छन् । तर त्यस्ता विकासका कार्यले नेपालको कायापलट गर्ने सम्भावना म कम देखिरहेको छु । यस्तो परिस्थितिमा भन्न खोजिएको चाहिँ के भने यहाँ विकास र निर्माणका कुरामा आँधीहुरी ल्याउन खोज्ने नेता नै चाहिएको छ । दस वर्षको विद्रोह पछि एमाओवादीका नेता पुष्पकमल दाहालमा त्यो सम्भावना थियो तर उनी पनि पैसा र सुखसयलमा चुके । परिवार, स्वास्नी छोराछोरीलाई काखी च्यापेर हिँड्नाले उनको अहिले राजनीतिक विजोग भएको छ । अब नेपाली जनताले एकपटक सत्तामा नगएका मोहन वैद्यलाई आस गर्न सक्छन् । उनी पनि प्रयोगशालामा नजँचिउन्जेल मात्रै हो । अरू भए गरेका सबै नेताहरूको विश्वास नेपाली जनताहरूमा टुटिसकेको छ ।

अहिले भएका सबै पार्टीका नेताहरू अबको ५० या सय वर्षलाई टार्गेट गरेर हिँड्ने खालका छैनन् । सबै आफ्नो र आफ्ना परिवारहरूको खुसी र सुखका लागि मात्र हिँडेजस्ता छन् । बाबुराम अर्थमन्त्री हुँदा जसरी वाहवाह भएका थिए प्रधानमन्त्री भएर देशको वागडोर सम्हाल्दा त्यस्तो भएनन् । किन ? प्रश्न यहीँनेर छ । किनकि हाम्रा देशका सबै दलका नेताहरू आफ्नो बुद्धि र अक्कलले भन्दा विदेशीको दवाव र अक्कलमा काम गर्छन् । यो ऊ भनेर नतोकौँ, सबै पार्टीका सबै नेताहरूको त्यही हालत व्याप्त छ । क्लान्त छन् सबै ।

 नेपालको पानी, नेपालका खानी र नेपालीको बानी नसुध्रिएसम्म एक दुई तीन नेपाल बन्न सक्दै सक्दैन । नेपाल बनोस् यो लेखकको पनि चाहना यही हो ।

तुलोमा हालेर हेर्ने हो भने अब नेपालमा समकालीन राजनीतिमा क्रियाशील नेताहरूले विकासको क्रान्तिलाई नेतृत्व गर्न सक्दैनन् । यो सोरै आना सत्य हो । यहाँ नेपालमा पनि भारतमा जस्तै आम आदमी पार्टीको खाँचो छ । भारतमा आपका नेता अरविन्द केजरीवालले जसरी ४९ दिनको सत्तारोहणमै दिल्लीमा तहल्का मचाएर गए । हो, त्यसैगरी नेपालमा पनि अब हरेक पार्टीका असल र भिजनेवल नेताहरूले सामूहिक रुपमा मिलेर एउटा नयाँ सोच समभ्mको पार्टी खोल्नु आवश्यक भैसकेको छ । यो समयको माग भैसक्यो । अहिलेको तालले नेपाल कछुवाको गतिमा हिँडेको छ र यो कहीँ पनि पुग्दैन । त्यसैले समय छँदै नेपालमा विभिन्न पेसा र रोजगारीमा भएका मानिसहरूले पनि एक ठाउँमा एकठ्ठा भएर राष्ट्रोन्नतिका खातिर एउटा नयाँ र नितान्त राजनीति इतर विकासवादी पार्टी खोलेर सँगसँगै जाने बेला भैसक्यो । हुन त यो कुरा झट्ट सुन्दा असम्भवजस्तो लाग्न सक्छ तर संसारमा असम्भव भन्ने कुरो केही हुँदैन । गरेर हेरे हुन्छ, अनि मात्र नेपाल बन्छ ।

नेपाल बनाउनका लागि भाषण गरेर मात्र हुँदैन । कामै गरेर देखाउन पर्छ । प्रहरीमा रमेश खरेलजस्ता, पत्रकारमा रवीन्द्र मिश्रजस्ता, भूपू राष्ट्रसेवकमा रुक्माङ्गद् कटुवाल एवम् भोजराज पोखरेलजस्ता, विज्ञान क्षेत्रका महावीर पुनजस्ता, स्वास्थ्य क्षेत्रका डा. गोविन्द केसीजस्ता, शिक्षा क्षेत्रका उत्तम सञ्जेलजस्ता, खेलमा दिपक विष्ट, शरद भेषवाकरजस्ता अनि राजनीतिमा गगन थापा, विश्वप्रकाश शर्मा, रवीन्द्र अधिकारी र लेखनाथ न्यौपाने, समाजसेवामा अनुराधा कोइराला, दुर्गा घिमिरे, दिलशोभा चित्रकार, चरीमाया तामाङ र जस्ताले एकैस्थानमा उभिएर देशको माटो हातमा लिई कसम खाएर नयाँ नेपालको निर्माणमा नवीन खालको चिन्तन बोक्ने संस्थाको अभ्युदय नगरेसम्म नेपाल बन्न सक्दैन । नेपालको पानी, नेपालका खानी र नेपालीको बानी नसुध्रिएसम्म एक दुई तीन नेपाल बन्न सक्दै सक्दैन । नेपाल बनोस् यो लेखकको पनि चाहना यही हो । सबैमा चेतना भया ।

लेखक मन्थली उमावि मन्थली, रामेछापमा अध्यापनरत छन्
      
  
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook