आदिवासी जनजातिहरु शैक्षिक क्षेत्रमा किन पछि परे ?

आईतवार ०१ कार्तिक, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

आदिवासी जनजातिहरु शैक्षिक क्षेत्रमा किन पछि परे ? तस्विर मिश्र बैजयन्ती


डा. भक्त राई

वस्तुतः शिक्षा त्यो ज्योतिपूञ्ज हो, जसको सहायताले जीवन र जगतलाई नजिकबाट नियाल्न सकिन्छ । शिक्षित व्यक्तिबाट भएको दृष्टिगोचर  अशिक्षित भएको भन्दा बेग्लै र नविन हुन्छ । शिक्षा भनेको चेतना हो, अनि नविनता र परिवर्तन हो, अध्ययन अनुसन्धान तथा मार्गदर्शन हो । शिक्षाकै कारण मानिसले ढुङ्गे युगबाट वर्तमान उत्तरवैज्ञानिक चरण सम्मको यात्रा तय गर्न सकेका हुन् ।

नेपालको कूल जनसंख्याको झण्डै ३८ प्रतिशतभन्दा बढी जनसंख्या आदिवासी जनजातिहरुको रहेको देखिन्छ । यसबाट के बुझ्न कठिन छैन भने जबसम्म विकासको मूल प्रवाहवाट बाहिरिन पुगेका यिनै आदिवासी जनजातिहरुलाई शिक्षित र सुमन्नत बनाउन सकिन्न, तबसम्म नेपाललाई विकसित राष्ट्रको रुपमा उभ्याउन सकिदैन । अन्य विकसित राष्ट्रको तुलनामा नेपालको साक्षरता दर धेरै कम छ । अझ नेपालको आदिवासी जनजातिहरुको शैक्षिक अवस्था त झन् अत्यन्तै दयनीय अवस्थाको रहेको देखिन्छ । मूलतः नेपालका आदिवासी जनजातिहरु शैक्षिक क्षेत्रमा पछाडि परेका कारणहरु देहायबमोजिम रहेका देखिन्छ ।

सरकारी नीति 

आ–आफ्नो जातीय भेषभुषा, धर्म संस्कार अनुसार नेपालको विभिन्न भू–खण्डहरु छरिएर शासन सञ्चालन गर्दै आएका नेपालका आदिवासी जनजातिलाई पृथ्वीनारायण शाहको एकीकरण अभियान पश्चात उनीहरुको भाषा, धर्म, संस्कारलाई पाखा लगाई जबरजस्ती एउटै धर्म हिन्दु र एउटै भाषा नेपाली (खस भाषा) लागु गरियो । सरकारी कामकाजमा तथा कक्षा प्राथमिकदेखि विश्वविद्यालय तहसम्म नेपालो भाषामा मात्र स्थान दिइयो । यसबाट आफ्नो मातृभाषामा शिक्षित र दीक्षित जनजातिहरु नेपाली भाषामा पोख्त हुनु वा गैर जनजाति सरह हुन सकेनन्, जुन स्वभाविक पनि हो । यसरी सरकारी एकल नीतिकै कारण आदिवासी जनजातिहरुको भाषा, संस्कृति, धर्म, शिक्षा ध्वस्त त भयो नै । यस अतिरिक्त उनीहरु अरुकै भाषा, संस्कृति, लिपि पढ्नु परेको कारण शैक्षिक क्षेत्रमा नराम्ररी पछाडि पर्न पुगे ।

सरकारी एकल नीतिकै कारण आदिवासी जनजातिहरुको भाषा, संस्कृति, धर्म, शिक्षा ध्वस्त त भयो नै । यस अतिरिक्त उनीहरु अरुकै भाषा, संस्कृति, लिपि पढ्नु परेको कारण शैक्षिक क्षेत्रमा नराम्ररी पछाडि पर्न पुगे ।

यसैगरी नेपालका आदिवासी जनजातिहरु एकीकरण अभियान पश्चात शासक बन्न सकेनन्, केवल शासित मात्र बन्न पुगे । यसकारण सरकारी प्रमुख तहमा आकर्षण तथा शक्तिसम्पन्न दरबन्दीहरुमा गैरजनजातिहरुकै वर्चस्व रह्यो । यसबाट नेपालको सरकारी जागिरमा जनजातिहरुको पहँुच पुग्न सकेन फलतः उनीहरु शैक्षिक प्रमाणपत्र लिएर पनि बेरोजगार हुनुपर्ने विवशताका कारण शैक्षिक क्षेत्रबाट पलायन हुन पुगे ।

आर्थिक अवस्था 

नेपालका ग्रामिण विकट बस्तीहरुमा छरिएर बसोबास गर्ने आदिवासी जनजातिहरुको आर्थिक अवस्था निकै कमजोर रहेको देखिन्छ । कृषि पेशामा आश्रित अधिकांश जनजातिहरु गरिवीकै कारण पनि शैक्षिक क्षेत्रमा पछाडि परेको देखिन्छ । कमजोर आर्थिक अवस्थाका कारण कलिलै उमेरदेखि नै घरमा काममा सरिक हुनुपर्ने, पढ्ने उमेरमा दाउरा, घाँस, मेलापात, गोठाला, खेताला जानुपर्ने कारण उनीहरुले शिक्षा आर्जन गर्न सकिरहेका छैनन् । पढिरहेकाहरुले पनि गरिवीकै कारण पढाइलाई निरन्तरता दिन नसकि कि त घरायसी काम कि  वैदेशिक रोजगारीतर्फ जानुपर्ने वाध्यताका कारण पनि उनीहरु शैक्षिक क्षेत्रमा पछाडि पर्न पुगे ।

भौगोलिक अवस्था 

प्रकृतिप्रेमी आदिवासी जनजातिहरु खोलानाला, भोर जङगल तथा नदी किनारहरुमा बसोबास गर्छन् । उनीहरु सहरी ईलाका तथा सदुरमुकामदेखि टाढाको क्षेत्रमा बसोबास गर्ने हुँदा स्कुल र कलेजहरुबाट समेत टाढिन पुगेको देखिन्छ । सरकारले सबै ठाउँमा स्कुल, क्याम्पस पर्याप्त मात्रमा सञ्चालन गर्न नसकेकाले घन्टौ हिंडेर स्कुल जान बाध्य छन् । यसरी भौगोलिक कारण पनि जनजातिहरु शैक्षिक क्षेत्रमा पछाडि पर्न पुगेको देखिन्छ ।

सरकारले सबै ठाउँमा स्कुल, क्याम्पस पर्याप्त मात्रमा सञ्चालन गर्न नसकेकाले घन्टौ हिंडेर स्कुल जान बाध्य छन् । यसरी भौगोलिक कारण पनि जनजातिहरु शैक्षिक क्षेत्रमा पछाडि पर्न पुगेको देखिन्छ ।

साँस्कृतिक कारण 

आदिवासी जनजातिहरु निष्कपट, निस्वार्थ, खुल्ला एवं मनोरञ्जनप्रेमी जाति हुन् । यिनीहरु आफ्ना साँस्कृतिक पर्वमा तथा सामान्य जीवन भोगाइका क्रममा समेत कुनै कञ्जुस्याँई नगरी मोजमस्ती गर्ने गर्छन् । अत्यन्तै धर्मभिरु जनजातिहरु भविष्यको कुनै चिन्ता नलिई वर्तमानमा रमाइरहेका हुन्छन् । हरेक चाडपर्व तथा संस्कारहरुमा जाँड, रक्सी, माछा, मासु खान कुनै हिचकिचाहट हुँदैन । केटा होस् या केटी जाँडरक्सी खाने, मोजमस्ती गर्ने, कलिलैमा विहे गर्ने, खेलकुद तथा गीत, संगीतप्रति बढी रुची राख्ने कारण पनि उनीहरु शैक्षिक क्षेत्रमा पछि परेको देखिन्छ ।

राजनैतिक कारण 

राजनीति भनेको कुनै पनि संस्था (देश) चलाउने कुटनैतिक संहिता हो । राजनीति देश संचालन गर्ने त्यो शक्ति हो, जसको सेरोफेरोमा देश सञ्चालित हुन्छ । राजनीतिको सर्वोच्च निकाय सत्ता हो । त्यसैले राजनैतिक सफलता भनेको सत्ता प्राप्ति हो । नेपालका आदिवासी जनजातिहरु सत्ताविहिन अवस्थामा गुज्रनु प¥यो, फलतः यिनीहरु केवल रैती भएर बन्न विवश भए । राजनैतिक रुपमा केवल मतदाता मात्र बनिरहे । राजनैतिक सत्ता र स्वादबाट बञ्चित भइ रहे । यसरी देशको प्रकोप शक्ति राजनीतिमा पछाडि पर्नका कारण पनि नेपालमा आदिवासी जनजातिहरुले आफ्नो भाषा, साहित्य, धर्म तथा संस्कार अनुसारको शिक्षा नीति तथा योजना बनाउन सकेनन्, कार्यान्वयन गर्न तथा तर्जुमा गर्ने सकेनन् । अन्ततगोत्वा यिनीहरु शैक्षिक क्षेत्रमामा पछाडि पर्न पुगे ।

आ–आफ्नो मातृभाषामा पनि अध्ययन गर्न नपाउने भएकोले पनि यिनीहरुलाई सहज शैक्षिक वातावरण प्राप्त हुन सकेन, स्वफूर्त अभिरुची हुन सकेन । यसरी आदिवासी जनजाति बालबालिकाहरु शिक्षाप्रति उदासीन बन्न पुगे ।

अर्को भाषामा पढाई 

राजनैतिक रुपमा पछाडि पर्नका कारण, सरकारी एकल नीतिका कारण, भौगोलिक विकटता र आर्थिक स्थितिका कारण आदिवासी जनजातिको पहुँच खासगरेर सरकारी सेवामा अत्यन्तै कमजोर अवस्थामा रह्यो । आ–आफ्नो मातृभाषामा पनि अध्ययन गर्न नपाउने भएकोले पनि यिनीहरुलाई सहज शैक्षिक वातावरण प्राप्त हुन सकेन, स्वफूर्त अभिरुची हुन सकेन । यसरी बालबालिकाहरु शिक्षाप्रति उदासीन बन्न पुगे ।

र अन्त्यमा 

समग्रमा भन्दा आदिवासी जनजाति मूलतः दुई कारणले शैक्षिक क्षेत्रमा पछि परेको देखिन्छ । पहिलो सरकारी एकल नीति, दोश्रो उनीहरुको आफ्नै विचार, विवेक, चेतनाको कमीले नै देखिन्छ । हाल आएर आफूले शिक्षामा लगानी गर्ने लहर बढ्दो देखिन्छ । जे होस् यतिबेला आदिवासी जनजातिहरुले एकातिर आफ्नो परम्परागत भाषा, साहित्य, धर्म तथा संस्कृति अनुरुप शिक्षालाई समेट्दै अर्कोतर्फ व्यवहारिक र वैज्ञानिक शिक्षाको माध्यमबाट विश्वप्रतिस्पर्धामा उत्रिनुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।

लेखक राई जातिको लोकगीतमा त्रिविबाट विद्यावारिधी हुन्


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook