थारूहरू कुन धर्मावलम्बी ?

शनिवार ०७ कार्तिक, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

थारूहरू कुन धर्मावलम्बी ?


 

थारु आन्दोलनको मूल जरा पत्ता लगाउन त्रिवि कीर्तिपुरका एक प्रोफेसर अहिले मसंग दाङ घुमिरहेका छन् । थारुले मान्ने अधिकांश हिन्दु देवीदेउता भएको देख्दा उनले भने– धर्मको सवालमा थारुको त कुनै पहिचान नै रहेनछ ।

थरुहट  आन्दोलन उत्कर्षमा छ । हिन्दु धर्म हुनु हुन्न भनेर धर्म निरपेक्षताको पक्षमा थारुहरु छन् । तर २०६८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार करीब ९० प्रतिशत थारू समुदायले आफूले मान्ने धर्म हिन्दु भएको लेखाएका छन् । २०६५ कार्तिकमा थारू कल्याणकारिणी सभाले लुम्बिनीमा नेपालभरिका थारूहरूको समुपस्थितिमा ‘बौद्ध बिचार गोष्ठी’को आयोजना गरी थारूहरूलाई बौद्ध धर्मावलम्बी रहेको ठहर गरेको थियो । सम्मेलनले थारूहरूलाई जवर्जस्ती हिन्दुकरण गरिएको आरोप लगायो । यसले एउटा ज्वलन्त प्रश्न उठेको छ, थारूहरूको धर्म कुन ? थारू बौद्ध कि हिन्दु धर्मावलम्बी या अन्य ?

आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी÷जनजातिको पहिचानको सवालको एक बुँदामा हिन्दु बर्णाश्रमभित्र नपर्नेहरू आदिवासी÷जनजाति हुन् भनेर प्रष्ट शब्दमा उल्लेख गरेको छ । समाजशास्त्री डोरबहादुर बिष्टले आफ्नो पुस्तक सबै जातको फूलबारीमा नेपालको सबैभन्दा पुरानो जातिको रुपमा थारूलाई मानेका छन् ।

२०३३ सालबाट थारू कल्याणकारिणी सभाले आफ्नो मुखपत्र ‘थारू संस्कृति’ पत्रिका प्रकाशन ग¥यो । यसका प्रमुख सम्पादक तत्कालिन महान्यायधिबक्ता रामानन्द प्रसाद सिंहले हिन्दु धर्ममा अधिक रूचि देखाई हिन्दु ग्रन्थ गीताको  थारू भाषामा अनुबाद गर्नु भयो । जो धाराबाहिक रूपमा थारू संस्कृतिमा छापियो । पछि ‘थारू गीता’को नामबाट यो पुस्तकको रूपमा समेत प्रकाशित भयो । उनै रामानन्द प्रसाद सिंहले पछि ‘द रियल स्टोरी अफ थारू’ भन्ने पुस्तिकामा बुद्धकी आमा यशोधरा थारू समुदायको महिला भएकाले सम्पूर्ण थारू बौद्ध हुन् । थारूले बुद्ध धर्म अंगिकार गर्नुपर्छ भनेर वकालत गरे । यही अभियानमा तेजनारायण पञ्जियार लगायत थारू बिद्वानहरू लागी परे । पञ्जियारले बौद्ध धर्मको बिभिन्न संघ संस्थामा आबद्ध भै बुद्धको जीवनी समेत थारू भाषामा अनुबाद गरी प्रकाशित गरे । थाकसका केन्द्रिय सदस्य एवम् प्रचार प्रसार बिभाग प्रमुख रहिसकेका हृदयनारायण चौधरी बुद्धको बारेमा लेखिएको ललित बिस्तर महाकाब्य थारू भाषामा अनुबाद गरी प्रकाशन गरेका छन् ।

आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी÷जनजातिको पहिचानको सवालको एक बुँदामा हिन्दु बर्णाश्रमभित्र नपर्नेहरू आदिवासी÷जनजाति हुन् भनेर प्रष्ट शब्दमा उल्लेख गरेको छ । समाजशास्त्री डोरबहादुर बिष्टले आफ्नो पुस्तक सबै जातको फूलबारीमा नेपालको सबैभन्दा पुरानो जातिको रुपमा थारूलाई मानेका छन् ।

जसरी पूर्वी थरूहट क्षेत्रमा बुद्ध थारू या थारू बुद्धको सम्बन्धको बारे चर्चा परिचर्चा छ, त्यसरी पश्चिमी थरूहट क्षेत्रमा यस बिषयले खासै तुल समात्न सकेको छैन । हाल आएर थाकसले यस अभियानलाई सम्पूर्ण थरूहट क्षेत्रमा ब्यापकता दिने अभियान थालेको छ । २०६४ साल असोजमा यो पंक्तिकार थारू आदिबासी ज्ञान अनुसन्धानको सिलसिलामा भारत बिहारको पश्चिम चम्पारन जाँदा बेतिया क्याम्पसका प्राध्यापक डा. शारदा प्रसादले थारू र बुद्धको सम्बन्ध जोडिएको सहदोरा मन्दिर त्यहाँको जमुनिया क्षेत्रमा भएकोे सुनाएका थिए । हाम्रो अनुसन्धान टोली सोध्दै खोज्दै सहोदरा मन्दिर पुग्दा बुद्धको सम्बन्ध झल्किने वातावरण न त मन्दिरको बाहिरी परिसरमा भेटियो न भित्री । मन्दिरको बाहिरी भित्तामा दुर्गा, गणेशलगायतको पेन्टिङ थियो । डा. शारदा प्रसादले मन्दिर भित्रको मूर्ति बुद्धकी पत्नी यशोधरा (थारूमा सहोदरा) को भएको र छेउमा रहेको अर्काे मूर्ति छोरा राहुलको भएको बताएका थिए । त्यस मन्दिरका पूजारी बर्षाैदेखि थारू नै रहेकाले थारू र बुद्धबीच स्वतः सम्बन्ध भएको उनको तर्क थियो । सो मन्दिरमा संयुक्त परिवारमा रहेका पूजारी परिवारका दाजुभाइ छुट्टिएर पालैपालो पूजा गर्ने गर्दा रहेछन् । पूजारीका रूपमा रहेका एक थारू किशोर र उनलाई सघाउन त्यहीं रहेकी तिनकी बृद्धा आमाले मूर्तिबारे अनौठो कुरा सुनाए । बृद्धाले भनिन्– ‘मेरा श्रीमान बर्षाैको मन्दिर पूजारी भए । मूर्तिबारे पटक पटक उहाँसँग सोध्दा मूर्ति भगवान अर्जुन र उनकी पत्नी सहोदराको हो भनेका थिए ।’ तर मन्दिर परिसरमा बुद्धसम्बन्धी पुराना मुर्ति टुटफुट अवस्थामा यत्रतत्र छरिएका थिए । पश्चिम चम्पारन क्षेत्रको सो मन्दिरको मूर्ति बुद्धले ज्ञान प्राप्त गरेको क्षेत्र गया सोही क्षेत्रमै हुनु, त्यस क्षेत्रमा थारूहरूको घना बस्ती बर्षाैदेखि हुनुले बुद्ध र थारू बिच केही सम्बन्ध हुन सक्छ । तर जसरी हिन्दु देवी देवतासँग थारूहरूको सम्बन्धको कथा लोकोक्ति, कथन, श्रुति परम्परा यथेष्ट सुनिन्छ, त्यसरी नै बुद्धसँग थारूहरूको सम्बन्धको बारेमा खासै कुनै कथा थारू समुदायमा सुन्न पाँइदैन । यद्यपि लुम्बिनी बिकास कोषका पूर्वउपाध्यक्ष डा. केशबमान शाक्यले आफ्नो लेख, तथा भाषणमा बुद्ध थारूका बंशज रहेको तथा नेवारका सम्प्रदाय पनि थारूकै दाजुभाइ रहेको अभिब्यक्ति दिदै आएका छन् ।

बुद्धको जन्म भएको जम्मा २५ सय बर्ष बढी भयो । उत्खननबाट दाङ उपत्यकामा मानव अवशेष फेला परेकोमा  करिब अढाई लाख बर्ष पुरानो भएको भुगर्भबीद्हरूको ठहर छ । दाङमा सबैभन्दा पहिल्यैदेखि बसोबास गर्दै आएको समुदाय थारू नै हो । लाखौं बर्षको इतिहास बोकेको थारूहरू बुद्ध जन्मिनुभन्दा पहिले निश्चय पनि कुनै धर्मको पालना त अवश्य गर्थे । हो, बुद्धको बंश थारू समुदायसँग जोडिनु निश्चय नै त्यो समुदायको लागि गर्बको कुरा हो । जहाँसम्म थारूको हिन्दुधर्मसँग सम्बन्धको प्रसंग कुरा छ । कालान्तरमा ती धर्मावलम्बीहरूको संसर्गमा परेर थारूहरू हिन्दु नै हुन् कि भन्ने भान पर्छ । थारूहरूको डेहुरार (निजी देउता घर) तथा मरूवा (सामूहिक देउता घर) मा हिन्दुकै देवी देउता शिव, पार्बती, कृष्ण लगायतले स्थान पाएका छन् । उनीहरूको डेहुरार तथा मरूवामा बुद्धले कहीं स्थान पाएको देखिएको छैन ।

थारुको धर्म प्राकृतिक

एट्किन्सनले थारूहरूमा धार्मिक आन्दोलन सुरु भएको बताउदै लेख्छन्– ‘उनीहरू ब्राम्हणका उपदेशहरूप्रति असन्तुष्ट छन् र नयाँ धर्म खोजिरहेका छन् । इसाई धर्म उनीहरूका लागि स्वीकार्य छैन, किनभने उनीहरू यसका लागि मूल्य चुकाउन सक्दैनन् ।

पश्चिमा थारूहरूको आफ्नै मौलिक राम बिहग्रा (लोक रामायण), बर्कीमार (महाभारत) छन्, जसमा हिन्दु देवीदेवताकै चर्चा छ । यद्यपी यी ग्रन्थ नेपाली रामायण, महाभारतसँग मेल खाँदैनन् । थारूहरूको प्रयोग गर्ने मूर्ति काठ या माटोको छ । मैले अझसम्म पित्तल लगायत कुनै धातुको मूर्ति थारूहरूको घरमा देखेको छैन । थारूहरूले पानी पार्नलाई बिभिन्न बिधिबिधानपूर्बक ‘गोरू बेह्रना’ रिति पूरा गर्छन् । आफूले उब्जाएको अन्न पहिले प्रकृतिलाई चढाएर मात्रै घर भित्र्याउँछन् । पानी र जंगल छेउछाउमा बस्न रूचाउँछन् । जल, जंगल, जमिनसँग उनीहरूको अटुट नाता सम्बन्ध छ । यी सबै छेकछन्द हेर्दा थारूहरू बुद्ध या हिन्दु धर्मावलम्बी नभई प्रकृतिलाई पूजा गर्ने ‘प्राकृत धर्म’ मान्छन् भन्ने देखाउँछ ।
थारूको बारेमा शोध गर्ने हाल अमेरीकामा प्रोफेसर रहेका श्रीलंकन बिद्वान अर्जुन गुनरत्ने मधेश समस्या र सम्भावना (सन् २००६) पुस्तकमा लेख्छन्– ‘पश्चिमका कम संस्कृतकरण (हिन्दुकरण) भएका राना, डंगौरा र अरु थारूहरूको सांस्कृतिक प्रचलनहरू बौद्ध धर्मसँग मेल खाएको देखिदैन । उनीहरूका प्रचलनहरूलाई बौद्ध धर्मभन्दा पनि लोकधर्म मान्न सकिन्छ ।’ यसरी गुनरत्नेले थारूहरू लोकधर्म अर्थात् प्राकृत धर्मको नजिक रहेको बताउँछन् ।

एट्किन्सनले थारूहरूमा धार्मिक आन्दोलन सुरु भएको बताउदै लेख्छन्– ‘उनीहरू ब्राम्हणका उपदेशहरूप्रति असन्तुष्ट छन् र नयाँ धर्म खोजिरहेका छन् । इसाई धर्म उनीहरूका लागि स्वीकार्य छैन, किनभने उनीहरू यसका लागि मूल्य चुकाउन सक्दैनन् । इस्लाम धर्मले थारूहरूले पाल्ने जनावर सुँगुर मार्न लगाउने हुनाले उनीहरू यो धर्म पनि स्वीकार गर्न सक्दैनन् । उनीहरू बौद्ध धर्माबलम्बी नभए पनि यो धर्मका बारेमा उपदेश दिने मानिसहरू देखा पर्न थालेकाले उनीहरूले यही धर्मको अनुसरण गर्ने सम्भावना देखिएको छ ।’ २०६८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क लिंदा पनि थारुहरुले आफ्नो धर्म हिन्दु नै लेखाए । तर थारु पहिचानको आन्दोलन उठेको बेला आगामी २०७८ सालको जनगणनामा थारूहरूले आफूले मान्ने धर्म कुन हो भनेर प्रष्ट हुनु ढिलाई भैसकेको छ । विडम्वना थारु आन्दोलनमा यो बिषयमा बहस भएकै छैन ।
                                                                                                                    
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook