लेखनमा आदिवासी जनजाति महिला सवाल

मंगलवार २९ पौष, २०७१   |   आदिवासी महिला

Print This   |   Font Size + -

कैलाश राई

कैलाश राई

काठमाडौं

नेपाली महिलाका सवाल तथा आन्दोलन केन्द्रित लेख्य परम्परा आदिवासी जनजातिको दाँजोमा निकै पुरानो र जेठो छ । आदिवासी जनजातिको सन्दर्भमा पनि लेख्य परम्परा निकै फष्टाएको छ । महिला र आदिवासी जनजाति दुबैको हकमा राष्ट्रिय अन्तर्राष्टिय स्तरमा प्रकाशित अप्रकाशित, प्राज्ञिक अप्राज्ञिक लिखित दस्तावेजहरु अधिक छन् । महिला केन्द्रित धेरैजसो लेखोटहरुमा समग्र नेपाली महिला एकैनासले विभेदमा परेकै कुरा भेटिन्छ । नेपाली महिलामा विविधतायुक्त पहिचान र सवाल छन् भन्ने कुरामा पछिल्लो समयमा आएपछि थोरै भएपनि चर्चा हुन थालेको छ । विशेषगरी अहिले हाम्रो मुलुकको सन्धिकालिन अवस्था र राज्य व्यवस्था, संयन्त्रकै पुनर्निर्माण गर्ने कसरतमा जुटेको बेला सबैको आवाज उठ्नु जरुरी छ र, धेरथोर उठीरहेकै पनि छ । सरोकारलवाला÷विश्लेषक तथा अधिकारकर्मीहरुले लेखनमार्फत् आवाज उठाउने सशक्त बाटो प्रशस्त छ । लेखन कार्य एक यस्तो दस्तावेजीकरणको माध्यम हो जसले तत्कालिन आन्दोलनलाई टेवा दिने मात्रै नभएर विभिन्न कालखण्डमा प्राज्ञिक तथा बौद्धिक जमात र सरोकारवालाबीच, सम्बन्धित निकाय र सरोकारवालाबीच, सरोकारवाला र अन्य आन्दोलनकर्मीबीच निश्चित सम्बन्ध स्थापित गर्न पनि सघाउँछ । त्यसैले सरोकारवाला तथा अधिकार पैरवीको लागि लेखन कार्य एउटा गतिलो माध्यम हो । त्यही माध्यमद्वारा उनिएको आदिवासी जनजाति महिलाका सवाल र आन्दोलनबारे यहाँ चर्चा गरौँ ।

आदिवासी जनजाति केन्द्रित लेखोटमा राज्यको विभेदविरुद्ध उनीहरुको आन्दोलन तथा समुदायको पृष्ठभूमिसहितको विस्तृत चित्रण भेटिन्छ । हिन्दुकरण, राज्यको एकल नीतिको प्रभावले आदिवासी जनजाति समुदायमा पारेको प्रभावको वर्णन पाइन्छ । जसले समुदायलाई हिन्दुकरण र राज्यको विभेदविरुद्ध जागरुक बनायो । ती लेखोटहरुमा बढीजसो सांस्कृतिक र सामाजिक पक्षको आड लिएर जनजाति समुदायका महिलाका एक किसिमको पहिचान निर्माण गरिएका छन् । उनीहरुसँग गाँसिएका विविध महत्वपूर्ण पक्षहरुको बारेमा चर्चा परिचर्चा भने कमै भएको छ । पचासको दशकमा जब जनजाति महिलाहरु संगठित हुन थाले, त्यस लगत्तैदेखि सीमित जनजाति महिला तथा पुरुषहरुले विशेष जनजाति महिला केन्द्रित विषयमा कलम चलाए । तर समयअन्तरालसँगै जनजाति महिलाका सवालमा लेख्ने काम अपेक्षित रुपमा फष्टाएन । नयाँ पुस्ताबाट लेखनमा केही हदसम्मको भरथेग भइरहेको भएपनि त्यो पर्याप्त भने छैन ।


जे जति लेखिएका छन्, ती लेखोटहरुमा स्पष्टसँग हिन्दुकरणको प्रभावले कसरी आदिवासी जनजाति समुदायका सामाजिक, साँस्कृतिक, भाषिकलगायतका मौलिक पहिचान गुम्दै गइरहेको छ भन्ने कुरा छ । आदिवासी जनजाति समुदाय हिन्दुवाद र राज्यको एकल नीतिभित्र पिल्सिएझैँ समुदायका महिलाहरु पनि पिल्सिएका छन् । उच्च खस ब्राम्हण हिन्दु नेपाली भाषी पुरुष र आदिवासी जनजाति पुरुषबीचको विभेद भन्दा पनि उच्च खस ब्राम्हण हिन्दु नेपाली भाषी महिला र आदिवासी जनजाति महिलाबीचको विभेद र दुरी अझ बढी भएकोतर्फ औँल्याइएको छ । यस्ता लेखनले लैंगिक सवालप्रति केही हदसम्म समुदायको चासो जगायो । जनजाति महिलाहरुलाई आफ्नो अवस्था र वास्तविकताबारे थप जानकार गरायो । जनजाति महिला आन्दोलनलाई आन्दोलनकर्मीको संख्या बढाउँन टेवा मिल्यो । यसरी लेखन शैलीमा आश लाग्दोगरी जनजाति महिला आन्दोलनको थालनी भयो ।
जनजाति महिलाका सवाल केन्द्रित विषयवस्तुमा लेखन कार्यको थालनी भएको केही समयपश्चात त्यसले निरन्तरता पाएन । सकारात्मक ढंगले शुरु भएको लेखन कार्य समय सापेक्ष ढाँचामा ढालिन सकेन । देशको राजनीतिक अस्थिरता, उथलपुथल र जनजाति महिलाका सवालहरुबीचको सञ्जालको रुपमा लेखन कार्यले भूमिका खेल्न सक्थ्यो । तर त्यसो भएन । यद्यपि समग्र आदिवासी जनजाति आन्दोलन र समुदायको हकमा, मूलधारे महिला आन्दोलनको हकमा भने लेखन कार्य सन्दर्भअनुरुप व्यापक र निरन्तर चलिरह्यो । तर ती लेखनीहरु जनजाति महिलाका लागि उल्लेखनीय टेवा दिने खालका भएनन् । 


जनआन्दोलन २ अघिको तुलनामा त्यसपश्चात धेरै पक्षमा विविध समुह, समुदाय, वर्ग, लिंगहरुको लागि सहज वातावरण सृजना भयो । फलतः धेरैजसो सरोकार समूहहरु लेखन, छलफल, सडक, सदन, संविधानसभामार्फत विभिन्न तरिकाले आफ्नो आवाज सशक्त पार्ने धुनमा देखिए । त्यहीवखत जनजाति महिला केन्द्रित केही लेख पनि आए । ती लेखनीबाट राज्यस्तरको विभिन्न प्रमुख निकायमा जनजाति महिलाका संख्यात्मक उपस्थिति पहिल्याउने र अन्य समुदायका महिलाहरुसँगको तुलनात्मक अवस्था थाहा हुन्छ । साथै जनजाति महिला केन्द्रित केही (औलामा गन्न सकिने) पुस्तक पनि प्रकाशित भए । आदिवासी जनजाति महिलासँग प्रत्यक्ष रुपमा सरोकार हुने कानुनी पक्ष, राष्टिय अन्तर्राष्टिय सन्धि सम्झौता, घोषणाहरुबारे सचेत गराउने र समग्रमा आदिवासी जनजाति महिलाका अवस्थाबारेका विषयवस्तु पुस्तकमा समेटिए (क्याथरिन मार्चको पुस्तक इफ इच कम्स हाफवे ः मिटिङ विथ तामाङ वुमल बाहेक) ।

नेपालका मूलधारे, ठूला र जनमानसमा प्रभावशाली मानिएका छापा माध्यमहरुमा ती र त्यस्ता सवालहरुले कहिल्यै स्थान पाएनन् । न त जनजाति महिलाका आन्दोलन र उनीहरुको सवाल नै ती छापा माध्यमहरुको नजरमा पर्न सके । यद्यपि जनजातिका सांस्कृतिक कार्यक्रम, झाँकी, प्रदर्शनी तथा पहिचानको आन्दोलनसम्बन्धी मिडिया कभरेज हुँदा विशेष रुपमा परम्परागत भेषभूषा पहिरिएकै जनजाति महिला वा त्यस्तै खालको तस्बीरले भने वर्षेनी स्थान पाउँदै आइरहेकै छ । 
राज्यको विभेद, लामो समयदेखि अधिकारको उपयोग गर्दै आएका पहुचवालाहरुको दृष्टिकोण र अभ्यासका कुरा धेरथोर लिखितमा कैद भइसके । त्यस्ता कुरा लिखित रुपमा कैद गर्ने काममा जनजाति समुदायकै, कुनै न कुनै हिसाबले आन्दोलनरत व्यक्तित्वहरु लागि परेका छन् । जसले उनीहरुको आन्दोलनलाई पक्कै केही बल दिएको छ । जनजाति महिला केन्द्रित अधिकांश लेखोटमा राज्य र एकल नीतिको कुरा आउनु स्वभाविक हो । तर अहिले यो कालखण्डमा आइपुग्दासम्म आदिवासी जनजाति समुदाय र आन्दोलनको चरित्र र नीतिप्रति जनजाति महिला आन्दोलनले ठोस काम गर्न सकेको छैन । जब की पर्याप्त र सहज रुपमा जनजाति महिलाका सवालमा जनजाति समुदाय र आन्दोलनले गहिरो रुपमा मनन गर्न नसकेको उदाहरण पनि देख्न सकिन्छ । त्यस्ता विषय अध्ययनअनुसन्धानको चाखलाग्दो विषयवस्तु हुन् र केही अध्ययन अनुसन्धान कार्य भइरहेका पनि छन् ।  तैपनि जनजाति महिलाका सवाल केन्द्रित लेखन कार्य पर्याप्त र समय सापेक्ष हुन भने सकीरहेको छैन । त्यसमाथि जनजातिभित्रको विविधतामा एकता ल्याउनु एउटा चूनौति छँदैछ । जुन कुरा लेखनमा पनि स्पष्टै देखिन्छ ।


यसरी जनजाति महिलाका संगठित आन्दोलनसँगसँगै लेखनीद्वारा पनि आन्दोलनको यात्रा तय भयो । यतिका लेखन कार्य भए । तर विडम्बना, नेपालका मूलधारे, ठूला र जनमानसमा प्रभावशाली मानिएका छापा माध्यमहरुमा ती र त्यस्ता सवालहरुले कहिल्यै स्थान पाएनन् । न त जनजाति महिलाका आन्दोलन र उनीहरुको सवाल नै ती छापा माध्यमहरुको नजरमा पर्न सके । यद्यपि जनजातिका सांस्कृतिक कार्यक्रम, झाँकी, प्रदर्शनी तथा पहिचानको आन्दोलनसम्बन्धी मिडिया कभरेज हुँदा विशेष रुपमा परम्परागत भेषभूषा पहिरिएकै जनजाति महिला वा त्यस्तै खालको तस्बीरले भने वर्षेनी स्थान पाउँदै आइरहेकै छ । त्यो पनि विशेष अवसरमा । यसले जनजातिको सांस्कृतिक पहिचानलाई स्थापित गर्न सघाएको छ । तर जनजाति महिलाका गुह्य सवाल भने छुटीरहेको छ । यसरी हेर्दा सांस्कृतिक पक्षको एउटा सानो अंशलाई स्थान दिएपनि प्रमुख मुद्दाहरु अझैपनि वेवास्तामा परेकै छन् । र त्यसप्रति जनजाति समुदाय र स्वयं जनजाति महिलाहरु चनाखो हुनुको विकल्प छैन ।
 

कैलाश राई (२०७१ पुस २९)


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook