जनजाति पत्रकारका कमजोरी

शुक्रवार २४ पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

जनजाति पत्रकारका कमजोरी


दीपेन्द्र राई

समाचार नलेखे पनि योगेश उपाध्याय, जीवेन्द्र सिंखडा, निरोधराज पाण्डे र नरेन्द्रराज पाण्डेहरू सम्पादक बने । उपाध्याय, सिंखडा र पाण्डेद्वयले लेखेको बाइलाइन समाचार कहिल्यै पढ्न पाइएन । उनीहरूको कलम कहिल्यै चलेन । तर पनि उनीहरू सम्पादक भए ।

जनजाति पत्रकार त्योभन्दा एक कदम अगाडि छन् । उनीहरूले समाचार लेख्न अरूलाई गुहार माग्नु पर्दैन । तर, जनजाति पत्रकारका कमजोरी भने पक्कै छन् । ३० वर्षदेखि पत्रकारितामा सक्रिय कुमार यात्रु तामाङले जनजाति पत्रकारको पहिलो कमजोरी सुनाए, ‘जनजाति पत्रकारमध्ये दुई÷चारजनाबाहेकले ‘इस्यु’ नै बुझेका छैनन् । इस्यु बेसमा कमैले समाचार लेख्ने गर्छन् ।’
जनजाति पत्रकारलाई भाषिक समस्याले पिरोलेको छ । धेरै पाठक नेपाली भाषाका छन् । जनजाति पत्रकारले मातृभाषाका कारण मेरो भाषा कमजोर छ भनेर सुख पाउँदैनन् । ऊ नेपाली भाषामा समेत पोख्त हुनुपर्छ, पारंगत हुनुपर्छ । नेपाली भाषा मात्रै जानेर पुग्दैन । अंग्रेजी भाषा जानिएन भने संसार जितिँदैन । अंग्रेजी भाषामा विज्ञ नभए पनि दोहोरो कुराकानी गर्न सक्ने क्षमता हुनुपर्छ । अधिकांश जनजाति पत्रकारलाई भाषिक समस्याले अप्ठ्यारोमा पारेको छ ।

 अंग्रेजी भाषामा विज्ञ नभए पनि दोहोरो कुराकानी गर्न सक्ने क्षमता हुनुपर्छ । अधिकांश जनजाति पत्रकारलाई भाषिक समस्याले अप्ठ्यारोमा पारेको छ 

‘इस्यु बेसमा आधारित पत्रकारिता गर्ने जनजाति पत्रकार औंलामा गन्न सकिन्छ,’ काठमाडौंबाट प्रकाशित राजधानी दैनिकका पूर्वकार्यकारी सम्पादकको भूमिका निर्वाह गरिसकेका पत्रकार यात्रुको बुझाइ छ, ‘इस्युमा ध्यान दिने पनि कमै छन् । त्यसो भएपछि बिकाउ समाचार लेख्न गाह्रो हुन्छ । बिकाउ समाचार लेख्नेले त हो अवसर पाउने ।’ जनजाति पत्रकारले अवसर नपाउनुका कारण मुद्दा पहिचान गर्न नसक्नु पनि हो । सञ्चार माध्यमका वास्तविकता अथ्र्याउँदै उनले टिप्पणी गरे, ‘चाकडी–चाप्लुसी गर्न नजान्नु पनि त जनजाति पत्रकारको कमजोरी नै हो ।’ ‘मिडिया हाउस’ भित्र प्रवेश गर्नसाथ राजनीतिकरण सुरु हुन्छ । ‘गु्रपिजम’ समेत नभएको सञ्चार माध्यम नै छैन । ‘राजनीतिकरण र गु्रपिजममा अटाउन नसक्नु जनजाति पत्रकारको कमजोरी नै मानिन्छ । दुवै शीर्षकमा अब्बल भइदिएको भए जनजाति पत्रकारको उचाइ बढ्थ्यो होला । स्वाभिमानी हुनु पनि हामीलाई घाटा हो,’ उनी प्रतिप्रश्न गर्छन्, ‘यसलाई कमजोरी मान्ने कि नमान्ने ?’

सम्बन्धित पत्रपत्रिकाको पहिलो पृष्ठमा प्रकाशनयोग्य समाचार ‘गोप्य भेटघाट’बाट तयार पारिनुलाई विडम्वना मान्नुपर्छ । ‘गोप्य भेटघाट’का समाचार प्रमुख समाचार बन्ने ‘कल्चर’ नै बनेको छ । ‘गोप्य भेटघाट’ का समाचार पहिलो पृष्ठको प्रमुख समाचार बन्छ । त्यतिमात्रै होइन, ‘बक्स न्युज’ नै बन्छ । उनको ठम्याइ छ, ‘गोप्य भेटघाटसम्म पुग्ने जनजाति पत्रकारको क्षमता हुँदैन । क्षमता नभएपछि खुम्चेर बस्नुको विकल्प छैन । खुम्चेर बस्नु भनेको मूलधारको पत्रकारिता गर्छु भन्ने अन्य समुदायका पत्रकारसँग प्रतिस्पर्धाबाट सधैंजसो पाखा लाग्नु सरह हो ।’ जनजाति पत्रकार गोप्य भेटघाटसम्म पुग्न नसक्नुलाई उसको कमजारी मान्नैपर्छ ।

आदिवासी जनजातिको सामाजिक, सांस्कृतिक र राजनीतिक मुद्दालाई मूलधारमा राखेर पत्रकारिता गर्ने हो भने जनजाति पत्रकारसमेत मूलधारका पत्रकारका रूपमा स्थापित हुन्छन् 

‘त्यसो त पत्रकारले मोटरसाइकलसमेत चलाउन जान्नैपर्छ’ मोटरसाइकल चलाउन नजानेर रिपोर्टर बन्न नसक्नुको पीडा सुनाउँदै कुमार यात्रुले दुःखेसो पोखे, ‘मोटरसाइकल चलाउन नजानेर म रिपोर्टर बन्न सकिनँ । अहिलेका जनजाति पत्रकारले मोटरसाइकल चलाउन जानेनन् भने उसलाई पत्रकारिता गरेर खान सकस पर्छ । हिजोआज त मोटरसाइकल चलाउन जानिएन भने रिपोर्टिङ गर्नै सकिँदैन ।’ तर, आदिवासी जनजातिको सामाजिक, सांस्कृतिक र राजनीतिक मुद्दालाई मूलधारमा राखेर पत्रकारिता गर्ने हो भने जनजाति पत्रकारसमेत मूलधारका पत्रकारका रूपमा स्थापित हुन्छन् ।

‘एंगल नेगेटिभ’

मूलधारको पत्रकारिताको एंगल ‘पोजेटिभ’ कहिल्यै बन्न सकेन, सधैं ‘नेगेटिभ’ मात्र । ‘हाम्रो पत्रकारिताले पोजेटिभ एंगल र इस्यु बेसमा रहेर अभ्यास गर्ने प्रयास गरेन,’ पत्रकार यात्रुको निष्कर्ष छ, ‘हाम्रो देशको पत्रकारिता एनपीआईएको स्थापना र उसले जे सिकायो, त्यसैमा सीमित रह्यो । उसले प्लेन नियमित उड्यो भने समाचार बन्दैन । तर उडेन भने समाचार बन्छ भनेर सिकाएको छ ।’

हामीले सिकेको त्यतिमात्रै हो । मुलुकको सिंगो पत्रकारिता अभ्यास मुद्दामा आधारित छैन । त्यसो भएकाले आदिवासी जनजाति, अल्पसंख्यक समुदायको मुद्दा प्राथमिकतामा परेन । किनकि हामी एनपीआईको तालिमबाट ‘गाइडेड’ छौं । त्योभन्दा बाहिर निस्कन सकेनौं ।

समावेशी सञ्चार माध्यम असम्भव

सञ्चारमाध्यम समावेशी छैन भनेर जहिल्यै चर्चा–परिचर्चा हुने गर्छ । तर पत्रकार कुमार यात्रुको बुझाइ छ, ‘मिडिया संरक्षित क्षेत्र होइन । त्यसैले समावेशी बन्न सक्दैन ।’ सञ्चार माध्यम समावेशी बन्न नसक्नुका कारण थाहा पाउन सर्वप्रथम मुलुकको नीति थाहा पाउनुपर्छ । मुलुकमा उदारीकरण, उदार अर्थतन्त्र र विश्वव्यापीकरण भित्रिएको छ । प्रथमतः बजारमुखी अर्थतन्त्र हेर्नुपर्छ । सन् १९९० अर्थात् बर्लिनको पर्खाल ढलेपछि बजारमुखी अर्थतन्त्र विकास भयो । हामी त्यस्तो अर्थतन्त्रमा बाँचेका छौं ।

कान्तिपुर दैनिक समावेशी छ कि छैन भन्नु पहिले जनजाति मुद्दाका समाचार लेख्दा उसको व्यापार फस्टाउँछ कि फस्टाउँदैन भन्ने प्रधान कुरा हो 

बजारमुखी अर्थतन्त्र भनेको सम्बन्धित सञ्चार माध्यम स्वयम्ले नाफा कमाउने, आफैं बाँच्ने हो । प्रतिस्पर्धाको बजारमा जाँदा सम्बन्धित सञ्चार माध्यम टिकाउन विभिन्न नीति आत्मसात् गर्दै स्थापित हुनुपर्छ । समावेशी सञ्चार माध्यम भन्ने विश्वव्यापी अवधारणा हो । उदाहरण पेश गर्दै उनले भने, ‘उदाहरणका लागि कान्तिपुर दैनिकलाई लिउँ । कान्तिपुर दैनिक समावेशी छ कि छैन भन्नु पहिले जनजाति मुद्दाका समाचार लेख्दा उसको व्यापार फस्टाउँछ कि फस्टाउँदैन भन्ने प्रधान कुरा हो । हामीले हाम्रो समाचार आयो कि आएन भन्ने हेर्छौं । सम्बन्धित पत्रिकाका सम्पादकले त्यो समाचार छापेपछि विज्ञापन आउँछ कि आउँदैन भन्ने हेर्छ । बजारमुखी अर्थतन्त्र भनेको त्यही हो । विज्ञापन तान्न नसक्ने, बेच्न नसक्ने समाचार प्रकाशित गर्ने हो भने त्यो सम्पादक सफल हुनै सक्दैन ।’

जनजाति नै असमावेशी

हामीले हामीलाई पनि चिन्न सक्नुपर्छ । जनजातिले समेत सञ्चार माध्यम सञ्चालनमा ल्याएका छन् । समावेशीको कुरा गर्ने हो भने उनीहरूले पनि आफूद्वारा सञ्चालित सञ्चार माध्यममा गैरजनजातिलाई ठाउँ दिनुप¥यो नि । उदाहरणका लागि कामना प्रकाशनलाई लिउँ । उसले नेवार समुदायको मात्रै समाचार छाप्दैन । तसर्थ, त्यो व्यावसायिक हो भने गोपाल छाङ्छाद्वारा सम्पादित÷प्रकाशित छहरा साप्तहिकले जनजातिका मुद्दालाई मात्रै प्राथमिकता दिन्छ ।

 उदाहरणका लागि कामना प्रकाशनलाई लिउँ । उसले नेवार समुदायको मात्रै समाचार छाप्दैन । तसर्थ, त्यो व्यावसायिक हो भने गोपाल छाङ्छाद्वारा सम्पादित÷प्रकाशित छहरा साप्तहिकले जनजातिका मुद्दालाई मात्रै प्राथमिकता दिन्छ

मातृभाषा पत्रकारिता भावनात्मक मात्रै

आदिवासी जनजातिद्वारा सम्पादित तथा प्रकाशित पत्रपत्रिका दुई किसिमका छन् । पहिलो– व्यावसायिक र दोस्रो मातृभाषामा आधारित पत्रकारिता । उनीहरूद्वारा सञ्चालित सञ्चारमाध्यम व्यवासायिक नहुनका कारण– सञ्चारमाध्यम टिकाउन लगानी चाहियो, लगानी मात्रै भएर पुग्दैन, प्रविधि र व्यवस्थापन पक्षसँग पनि त्यत्तिकै जानकार हुनुपर्छ । उनले प्रस्ट पारे, ‘मातृभाषामा प्रकाशित पत्रिका जनजातिका भावनामा आधारित हुन् । व्यावासायिक होइन । त्यसैले त्यो भावनात्मक मात्रै हो ।’

अन्त्यमा

सम्बन्धित व्यक्ति तथा समुदायको जे–जस्ता गल्ती भए पनि पत्रकारितामा प्रवेश गर्न कसैले रोक्न सक्दैन । पत्रकारको परिचयपत्र भिरेर हिँड्नु मात्र पत्रकार होइन । पत्रकारिताको क्षेत्र व्यापक छ । स्वतन्त्र ढंगले नागरिक पत्रकारिताको अवधारणा आइसकेको छ । ‘सामाजिक सञ्जाल’ मा लेख्ने पनि पत्रकार हुन् । ब्लग लेख्ने पनि पत्रकार नै हुन् । जो कोहीले हिँड्दा–हिँड्दै फोटो उत्कृष्ट खिचे भने जुनसुकै सञ्चार माध्यमले किनेर प्रकाशन गर्न सक्छ । उदाहरणका लागि अमेरिकाको ट्वीन्स टावर भत्कँदा खिचिएको भिडियो तालिमप्राप्त पत्रकारले खिचेको होइन । त्यो भिडियो सौखिन व्यक्तिले खिचेका हुन् । जुन भिडियो विश्व चर्चित भयो । तसर्थ, पत्रकार हुनैपर्छ, पेशा नै बनाउनुपर्छ भन्ने छैन । साहित्यिक पत्रकारिता गर्दै मूलधारको पत्रकारिता प्रवेश गरेका कुमार यात्रुको सुझाव छ, ‘पत्रकारितामा स्नातकोत्तरको प्रमाणपत्र लिएर मात्रै हुँदैन । पत्रकार बन्न चाहनेले समाचार लेख्ने, समाचार चिन्ने क्षमता, सुँघ्ने घ्राण शक्ति हुनैपर्छ । त्यति क्षमता छैन भने पत्रकारितामा आउनु व्यर्थ छ । पत्रकारको योग्यता भनेको समाचार लेख्ने, चिन्ने र सुँघ्ने क्षमता हो ।’
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook