महिलाले जोगाएको संस्कृति

सोमबार २७ पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

महिलाले जोगाएको संस्कृति

मुकेश टेंर्रा 

धनगढी

बाबा कही सगर गैनु, मुरीया लहान रे हाँ ।
सखिय हो, टिकुली छुटल पानी घाट ।।
राई खेत मसुरी, मसुरी खेत राई रे हाँ ।
सखियै हो, जौन खेत रे मोर टिकुली हेरा ।।

कालो चोली र सेतो गोन्या (गुन्यो) लगाई सेतो फुन्ना (पुतली) उनेको रातो झोवन्नाले चुल्ठी पारेका महिलाहरुले दुईतिरबाट घेरा लगाएर थपडी र कस्टार बजाउँदै गीत गाइरहेका थिए । घेराको बीचमा खैरो रंगको सर्ट र जिन्स पाइन्ट पहिरिएका एक पुरुषले मादल बजाइरहेका थिए । त्यही मादलको ताल र गीतको सुरमा रातो, निलो, हरियो छिटको लंहगा, त्यसमाथि रातै चोली पहिरिएकी एक युवती मयुरले प्वाँख फैलाएजस्तै गरी रातो फरिया फैलाउँदै नाचिरहेकी थिइन् । गत वर्षको माघे संक्रान्तिमा धनगढी–५ तारानगरमा यसैगरी मघौटा नाचिरहेका थिए  
 मघौटा नाचको एकातिर महिला र अर्कोतिर उत्तिकै संख्यामा पुरुषले पालैपालो गीत गाउने र बीचमा जोडीमा महिला नाच्ने र पुरुषले मादल बजाउने चलन छ । पछिल्लो समयमा थारु समुदायको नाचगानमा पुरुषहरुको उपस्थिति उत्साहजनक देखिदैन । सखिया र मुङ्ग्रह्वा नाच बाहेकका मघौटा, हुर्डुङ्वा, झुम्रा लगायतका सबै नाचहरुमा महिला र पुरुषहरुको यस्तै कम्बीनेशन हुन्छ । अझै पुरुषले सेतो कमिज र र सेतै धोती पहिरिने चलन थारु समुदायमा छ ।

 मघौटा नाचको एकातिर महिला र अर्कोतिर उत्तिकै संख्यामा पुरुषले पालैपालो गीत गाउने र बीचमा जोडीमा महिला नाच्ने र पुरुषले मादल बजाउने चलन छ । पछिल्लो समयमा थारु समुदायको नाचगानमा पुरुषहरुको उपस्थिति उत्साहजनक देखिदैन

तर पछिल्लो समयमा ठीक उल्टो हुँदै गएको छ । पुरुष बस्ने घेरामा पनि महिलाले देखिन्छन् भने पुरुषको भूमिकामा रहेर महिलाले नै गीत गाउने गरेका छन् । बीचमा मादल बजाउने पुरुषले संस्कृति अनुसारका पोशाक पनि लगाएको देखिदैन । कतिपय ठाउँमा महिलाले नै मादल बजाएको पनि देखिने गरेको छ ।

सन्दर्भः माघी महोत्सव

त्यसैगरी, सखिया नाचमा भने पुरुषहरुले मादल बजाउने र महिलाहरुले नाच्ने चलन छ । पहिले पहिले यो नाचमा थुप्रै पुरुषहरुले मादल बजाउँथे र महिलाहरुले लहरै बसेर नाच्थे । अबका दिनहरुमा बढिमा दुई जना पुरुषले मादल बजाउँछन् र १८ जना भन्दा बढि महिलाहरुले नाच्ने गरेका छन् ।

‘पुरुषहरुले आफ्नो भूमिका पुरा गरेका छैनन् । उनीहरुले संस्कृति संरक्षणको लागि महिलाहरुलाई पूर्ण रुपमा साथ दिनुपर्ने हो । तर थोरै मात्रामा साथ दिएका छन् ।’ थारु कल्याणकारिणी सभाकी सहमहामंत्री इन्दिरा चौधरीले भनिन्, ‘थारु संस्कृति संरक्षणमा महिलाहरुकै भूमिका बढी छ । पुरुषहरु बाहिर बाहिर जान्छन् । बाहिरिया कुराहरु बढी सिकेका छन् । तर महिलाहरु घरमै बस्छन् । उनीहरुले घरपरिवारको रेखदेख गर्नुका साथै आफ्नो परम्परागत संस्कारमा रहन सिकेका छन् । त्यसैले संस्कृति संरक्षण गर्न पनि भ्याएका छन् ।

पछिल्लो समयमा पश्चिम नेपालका थारु समुदायका पुरुषहरुले नाचगान जस्ता पौराणिक सांस्कृतिक कार्यमा देखिन छाडेका छन् । विशेष गरी कैलाली, कञ्चनपुरमा यस्तो देखिन्छ । थारु संस्कृति युवाहरुमा हस्तान्तरण भएको देखिदैन भने युवतीहरुले थारु संस्कृति र संस्कार सिकेको पाइन्छ । छोरीले जान्नुको अर्को कारण उनीहरु घरमा बसिरहनुको पर्ने र छोराहरु बाहिरतिर घुमफिर गर्ने छुट पाउनु हो ।

थारु संस्कृति युवाहरुमा हस्तान्तरण भएको देखिदैन भने युवतीहरुले थारु संस्कृति र संस्कार सिकेको पाइन्छ । छोरीले जान्नुको अर्को कारण उनीहरु घरमा बसिरहनुको पर्ने र छोराहरु बाहिरतिर घुमफिर गर्ने छुट पाउनु हो

सखिया नाच्न होस् या मघौटा । गुन्यो–चोली लाउन होस् या सिलाउन । परम्परागत परिकार बनाउन होस् या दुनाटपरी गाँस्न । थारु गाउँका महिलाहरुले नै अगाडि हुन्छन् । तारानगरकी प्रेमा चौधरी पनि सांस्कृतिक काममा सधैं अगाडि बढ्छिन् । उनको नेतृत्वमा गाउँका महिलाहरुले नाचगान गर्नदेखि चाडपर्व मनाउन सधैं अग्रसर हुन्छन् । तर उनका श्रीमान् सन्तोष डगौरा थारुलाई न नाच्न आउँछ, न मादल बजाउन नै । सन्तोषलाई थारु पोशाक लगाउन पनि झन्झट लाग्ने गरेको छ । थारु समुदायका कुनै पनि परिकार बनाउन पनि उनलाई आउँदैन ।
पोशाक लगाउन मात्रै होइन, बनाउनमा पनि प्रेमा अगाडि छिन् । उनी लहंगा, चोलो, गुन्यो सिल्नमा पनि पोख्त छिन् । सादा र रंगीन ढकिया, डलैया बनाउन, दुना टपरी गाँस्न र बेर्रा, सिह्रट्टा लगायतका सामान बनाउन पनि उनले जानेकी छन् । डेहरी, कुठ्ली, चुलो बनाउन पनि उनलाई नै आउँछ । ढिक्री, जाँर, दारु, खेर्या, फूलौरी, बर्या, अन्डिक भात लगायतका परिकार बनाउन पनि परिवारमा प्रेमालाई अगाडि बढ्नुपर्छ । ‘यस्तो कुनै पनि काम मलाई आउँदैन,’ प्रेमाका श्रीमान् सन्तोषले भने, ‘मेरी श्रीमतीले यी सबै काम सजिलै गर्न सक्छे ।’

प्रेमाको परिवारमा कुनै पनि पुरुषहरुले सांस्कृतिक पोशाक लगाउँदैनन् । तर महिलाहरुले उनले जानेका धेरैजसो काममा सहभागी हुने गरेका छन् । ‘महिलाको काम भनेर हामी उनीहरुकै जिम्मामा छोडिदिन्छौं,’ सन्तोषले भने, ‘परिकार बनाउने, दुना टपरी गाँस्ने, भेषभुषा, गरगहना लगाउने काम महिलाको हो भन्ने सोंच हाम्रो समाजमा छ । त्यसैले पनि पुरुषहरुले हात लगाउँदैनन् र युवाहरुले आफ्नो समुदायको भेषभुषा लगाउन लाज मान्छन् ।’ सन्तोषले आफूलाई पनि थारु पोशाक लगाउन नआएको र त्यो लगाएको भेला असजिलो महसुस हुने गरेको बताए ।

‘छोरीहरुले विवाहमा डेलवा, ढकिया, बेर्रा जस्ता उपहार लिएरै जानुपर्ने बाध्यता छ । त्यसैले पनि महिलाहरुले बनाउने समान अझै पनि गाउँघरमा देख्न सकिन्छ ।’ थारु महिला सभा कैलालीकी अध्यक्ष दुर्गा कुश्मीले भनिन्,

प्रेमाले भनिन्, ‘संस्कृति संरक्षणमा पुरुषको भूमिका नभएको होईन । भूमिका निर्वाह नगरेका मात्रै हुन् । पछिल्ला समयमा पुरुषहरु पनि अग्रसर हुनुपर्ने कुरा उठिरहेको छ । सांस्कृतिक कार्यक्रमहरुमा अब केही थारु अगुवाहरु परम्परागत पहिरनमा देखिन्छन् ।’

थारु समुदायमा पुरुषले पनि गैजा, छत्री, हलो जुवा बनाउने परम्परा थियो । तर अहिले गैजा र छत्री लोप जस्तै भइसकेका छन् । तर महिलाले बनाउने धेरै सामानहरु अझै गाउँ गाउँमा देख्न पाइन्छ । ‘महिलाले धेरै हदसम्म थारु संस्कृति जोगाएका छन्,’ सन्तोषले भने, ‘थारु संस्कृति अहिलेसम्म रहिरनुमा महिलाहरुकै भूमिका महत्वपूर्ण छ । उनीहरु अग्रसर नभए थारु संस्कृति लोप भइसक्थ्यो होला ।’

‘छोरीहरुले विवाहमा डेलवा, ढकिया, बेर्रा जस्ता उपहार लिएरै जानुपर्ने बाध्यता छ । त्यसैले पनि महिलाहरुले बनाउने समान अझै पनि गाउँघरमा देख्न सकिन्छ ।’ थारु महिला सभा कैलालीकी अध्यक्ष दुर्गा कुश्मीले भनिन्, ‘पुरुषले बनाउने समानमा कतै कतै मात्र देख्न पाइन्छ । यस्तो हुनुले थारु पुरुषहरुमा सांस्कृतिक सीप हराउँदै गएको र उनीहरु संस्कृति संरक्षणमा सक्रिय नरहेको देखाउँछ ।’


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook