किरात राई यायोक्खाका बेजोड सारथी दिलीप

बुधवार २९ पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

किरात राई यायोक्खाका बेजोड सारथी दिलीप


पदम राई

दिलीप बान्तावा रुङमाहाङ किरात राई यायोक्खा, काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा गत मङ्सिर १२ गते निर्वाचित भएका छन् । संयोग के प¥यो भने आमा छेत्राकला राई पनि सोही कार्यसमितिको पूर्व अध्यक्ष हुन् । एउटै कार्यसमितिमा अध्यक्ष हुने आमा–छोरा किरात राई यायोक्खाको इतिहासमा सम्भवतः यो नै पहिलो हुन सक्छ ।

उनी किरात राई यायोक्खाको विशिष्ट संरक्षक सदस्य, बान्तावाखिमको केन्द्रीय सदस्य र किरात राई युवा सङ्घको संस्थापक सदस्य पनि हुन् । उनले ‘काठमाडौं उपत्यकाका किरात बान्तावा रुङमाहाङ राई चिनारी पुस्तक’को सम्पादन गरेका छन् ।

सामाजिक अभियन्ता

२०३४ सालमा हङकङमा जन्मिएर लगभग उतै युवाकाल विताएका युवकले नेपालमा आएर सामाजिक सेवामा होमिनु चानचुने कुरा थिएन । नेपाल आएपछि बुबा ब्रिटिस आर्मी हर्कुमान राई, सामाजिक अभियन्ता आमा छेत्राकला राई र साइँला मामा डिल्ली किरातको छत्रछायाँमा रहन पाए । उनी सम्झन्छन्– ‘आमा दिनरात यायोक्खाको काममा दौडिनु हुन्थ्यो । उहाँको काममा बाबाले सघाउनु हुन्थ्यो । उहाँहरूको समाजसेवा गराइले मेरो भित्री हृदय छोयो र म पनि सामाजिक काममै लाग्ने प्रेरित भएँ ।’ त्यतिमात्रै हैन, उनको ठूलो मामा मेजर बालकृष्ण मुकारुङ राई, देवा प्रेम कुमार बान्तावा, ठूलीआमा यशोदा राईजस्ता अभिभावकहरूको सामाजिक काम गराइलाई उनले नजिकबाट नियाले, प्रेरणा पाए ।

सुरुमा हङकङबाट नेपाल आएपछि उनलाई यहाँको चालामाला ठीक लागेको थिएन । हङकङकै पारा र परिवेश उनले खोज्थे । आफूले खोजेको जस्तो नहुने, अरुले गरेकोमा चित्त नबुझ्ने । ‘तैले गरेर देखा न त !’ भन्ने अग्रजहरूको घोचाइले उनलाई कता–कता साँच्चै गरेरै देखाउन मन लागेछ । ‘म को हुँ’ भनेर पहिचानको खोजीमा लागेका दिलीप आमाको ‘कीरा मराइ नमर्ने, मलामीको जोहो गर्ने’ भन्ने प्रेरक भनाइले मन छोएर सोहीअनुसार काम गर्दै जाँदा उनी सामाजिक अभियन्ता बन्न पुगेका हुन् ।\

 ‘म को हुँ’ भनेर पहिचानको खोजीमा लागेका दिलीप आमाको ‘कीरा मराइ नमर्ने, मलामीको जोहो गर्ने’ भन्ने प्रेरक भनाइले मन छोएर सोहीअनुसार काम गर्दै जाँदा उनी सामाजिक अभियन्ता बन्न पुगेका हुन्

वास्तवमै सामाजिक काम भनेकै लिनु हैन दिनु हो । यो कुरामा किरातीहरू अगाडि पनि छन् । किराती समुदायमा भनाइ नै छ कि– ‘मागेर खाने नहुनू, दिएर खाने हुनू ।’ दिलीप दिएरै खाने, ‘सहयोगी मन’ भएकै व्यक्ति भएका छन् ।

सामाजिक काम भनेकै कसैलाई वा समाजलाई सहयोग गर्नु हो । सहयोग अधिकतम आर्थिक हुन सक्छ । किराती समुदायमा कोही विरामी भयो, उपचार खर्च भएन भने आर्थिक सङ्कलन गर्नै प¥यो । यसको लागि दिलीप आफैले सहयोग सङ्कलनको लागि नेतृत्व नै गर्छन् । पहिला सहयोगीहरूको नामावलीमा आफ्नो नाम लेखाउछन् । अरुलाई ‘मैले यत्ति सहयोग गरें’ भन्छन् । त्यसो गरेपछि सहयोग सङ्कलन गर्नको लागि अरुलाई नि नैतिक दबाब पर्छ । यो मामिलामा उनी युवा पुस्ताबीचमा मात्रै लोकप्रिय छैनन्, अग्रजहरूले पनि स्वीकार गरेका छन्, उनलाई मानेका छन् । अभिभावकहरूले उनको काम पत्याएर नै कुनै काम प¥यो कि उनलाई नै सबैले खोज्न थाल्छन् । समुदायको विश्वास जितेका दिलीपले गरेको काम धेरै प्रभावकारी भएको छ । थुप्रैले उपचार खर्च पाएर निको भएका छन् । मर्दापर्दा कोही नभएकाहरूले मलामी पाएका छन् । क्रियाखर्च पाएका छन् ।

साइनो केलाउनमा माहिर

किरात राई समुदायबीच एउटा उखान छ– ‘धेर सोधिखोजी गरियो भने कतै न कतैबाट साइनो लागिहाल्छ । किरातीहरू बीचमा धेरै साइनो खोज्यो भने विवाह गर्ने घरै पाइन्न ।’
दिलीप बान्तावा साइनो केलाउनमा माहिर छन् । कोही नयाँ मान्छेसँग भेट भइहाल्यो कि उनी साइनो केलाउन थालिहाल्छन् । आफूभन्दा अग्रज भए ‘म रुङमाहाङ बान्तावा पाछा, फलानाको छोरा...। मैले तपाईंलाई साइनोले के भन्नुपर्छ ?’ त्यस्तै आफूभन्दा सानोसँग ‘तिमी कसको छोरा, छोरी ?’ भनी सोधखोज गर्दै जाँदा देवा, बाङा, निछा, छोक्छा, निछा, भाञ्जाभाञ्जी आदि साइनो लागिहाल्छ । साइनो केलाउने सन्दर्भमा दिलीप बान्तावाको विशेष गुण नै छ भन्दा हुन्छ । नहोस् पनि कसरी ? आफ्नो थर, पाछामात्रै हैन, सम्बन्धित व्यक्तिको थर, पाछा, सामेत आदिको नालीवेली केलाउँछन् । साइनो खोज्ने चलन सचेत व्यक्तिको परिचय र संस्कार पनि हो ।

अभिभावकहरूले उनको काम पत्याएर नै कुनै काम प¥यो कि उनलाई नै सबैले खोज्न थाल्छन् । समुदायको विश्वास जितेका दिलीपले गरेको काम धेरै प्रभावकारी भएको छ 

विदेशमा जन्मिएर उतै हुर्केकोले कोसँग कुन साइनोले बोल्ने भन्ने सवालमा पहिलो भेटमा ‘फलाना तिम्रो काका, भाइ’ आदि भनिरहनु पर्ने, फेरि अर्कोपटक भेट हुँदा साइनो सम्झाइरहनु पर्ने । जसले गर्दा सुरुमा आमा–बुबाको पटक–पटक गाली खानुपर्ने अवस्था उनलाई आयो । रुङमाहाङ वात्तोङ समितिले पनि उनलाई नै वंशावलीको रेकर्ड राख्ने जिम्मा दिएकोले पनि साइनो कसरी केलाउने भन्ने कुरामा सिक्न पाएको कुरा उनी बताउँछन् ।

साइनोमा ज्यादै संवेदनशील दिलीपको बान्तावा, चाम्लिङ, थुलुङ, दुमी आदि राईहरूसँग अधिकतम नजिकको सम्बन्ध छ । उनको विवाह बाहिङ (खारायल्चा पाछा, मावली सेसोचा) विनु राईसँग भएको हो । बाहिङसँग त्यत्ति साइनो नलाग्ने भएकोले पनि विवाहको मगनी गर्न सजिलो भएको कुरा दिलीप स्वीकार गर्छन् ।

वंशको सेवा

दिलीप बान्तावा वंशीय हिसाबमा रुङमाहाङ हुन् । रुङमाहाङहरूको वंशीय पाछीय संस्था छ, जसको नाम ‘किरात बान्तावा रुङमाहाङ राई वात्तोङ समिति’ हो । २०२६ सालमै स्थापना भएको सो संस्था किरात राई जातिहरूले खोजेको पहिलो जातीय, पाछीय÷वंशीय सामाजिक संस्था भन्दा हुन्छ ।

सामाजिक सञ्जाल फेसबुकमा सोहि रुङमाङहाङ पाछासँग सम्बन्धित द हाउस अफ रुङमाङहाङ नामको समूह छ, जसलाई मुख्यगरी दिलीपले नै सञ्चालन गर्छन् । त्यसमा उनलाई वात्तोङ सचिव सुनिल रुङमाहाङ र पाइलट सराहाङ बान्तावाले पनि साथ दिएका छन् । त्यो समूहमा दैनिक वा आवश्यक्ता अनुसार २÷३ दिनमा रुङमाहाङ पाछासँग सम्बन्धित दुःख, सुख, खुसियाली, सहयोग याचनाका पोष्टहरू प्रकाशित भइरहन्छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोहि रुङमाङहाङ पाछासँग सम्बन्धित द हाउस अफ रुङमाङहाङ नामको समूह छ, जसलाई मुख्यगरी दिलीपले नै सञ्चालन गर्छन् । त्यसमा उनलाई वात्तोङ सचिव सुनिल रुङमाहाङ र पाइलट सराहाङ बान्तावाले पनि साथ दिएका छन्

सम्पूर्ण वंश, छोरीचेली, ज्वाइँचेला, भानाभाञ्जाहरूलाई फेसबुकमार्फत नै महत्वपूर्ण सूचनाहरू उनले दिन्छन् । ती सूचनाहरूमा विशेषगरी कोही विरामी भएर अस्पतालमा बसिरहेको, आर्थिक अवस्था कमजोर भई विरामी भएको वंश वा सम्बन्धितलाई आर्थिक सहयोग गर्नुपर्ने अवस्था भएकोले सहयोग सङ्कलनको सूचना, वनकालीमा मलामी जानुपर्ने सूचना वा कुनै रुङमाहाङ वंशको सुखद् सूचनाहरू त्यसभित्र पर्छन् । यसले रुङमाहाङ बान्तावाहरू र अन्य समुदायलाई पनि सूचना दिने काम गर्दछ । सूचनाले कसैलाई सहयोग गर्नमा प्रेरित गर्ने काम पनि गर्दछ ।

यले संवतको पक्षपाती

किरातीहरूबीच अहिले दुईखाले यले संवतको चर्चा छ । माघ १ गतेदेखि नयाँ यले संवत सुरु हुने भएकोले एकथरीले पुरानो मान्यताअनुसार यो साल ५०७६ को शुभकामना आदानप्रदान गर्नेछन्  । अर्को मान्यता मान्ने समूहले यले संवत ३७९५ सुरु हुने भएकोले सोही शुभकामनाको आदानप्रदान गर्नेछन् । पुरानो मान्यता भनेको करिब ३ दशकअघि देखि मानिल्याएको यले संवत हो, जसलाई चार किरात संस्थाहरूले स्वीकार गरे त्यसलाई नै चलनमा ल्याएका छन् । अर्को नयाँ मान्यता भनेको केही वर्षअघि बैराँगी काइलाको संयोजकत्वमा गठित एक समितिले डा. जगदिशचन्द्र रेग्मीले गरेको अध्ययनले देखाएको यले सम्बत ३७९५ हो ।

यी दुईखाले द्विविधामाथि फेसबुक बहस वा सामुहिक बहसमा खरो रूपमा दिलीप नयाँ मान्यतामाथि टिप्पणी गर्छन् । उनको बुझाइ अनुसार डा. रेग्मीको अध्ययन एक अनुमानजस्तै मात्रै हो । ठोस तथ्यविना नयाँलाई चलनमा ल्याउन नसकिने उनको तर्क छ । उनको भनाइ छ– ‘संवत भनेको लोकले स्वीकार गरी चलनमा ल्याइने कुरा हो । समुदायले ५०७६ लाई मान्न सुरु गरेको त ३० वर्षभन्दा बढी भइसक्यो । त्यसलाई तत्कालै परिवर्तन गरेर अनुमानको आधारमा ल्याइएको नयाँ संवतलाई कसरी स्वीकार गर्न सकिन्छ ?’ ‘लोकले स्वीकार गरिसकेको’ भन्ने दिलीपको तर्कले उनमा व्यवहारिकता र परिपक्वताको झल्को दिन्छ ।

 उनको भनाइ छ– ‘संवत भनेको लोकले स्वीकार गरी चलनमा ल्याइने कुरा हो । समुदायले ५०७६ लाई मान्न सुरु गरेको त ३० वर्षभन्दा बढी भइसक्यो । त्यसलाई तत्कालै परिवर्तन गरेर अनुमानको आधारमा ल्याइएको नयाँ संवतलाई कसरी स्वीकार गर्न सकिन्छ ?’

यायोक्खामा उनको तीन प्रतिबद्वता

किरात राई यायोक्खा काठमाडौंको अध्यक्ष भइरहँदा उनले तीन वटा कुराहरूको प्रतिबद्वता गरेका छन् । पहिलो, किरात राई यायोक्खा, काठमाडौंलाई आर्थिक समस्याबाट टार्नको लागि दीर्घकालीन रुपमा काठमाडौं भरिका राईहरूलाई ‘एक घर एक आजीवन सदस्य’ बनाई आर्थिक सङ्कलन गर्न चाहन्छन् । सो रकमलाई अक्षयकोषको रूपमा स्थापित गरी त्यसको ब्याजबाट यायोक्खा सञ्चालन गर्ने उनको योजना छ ।

दोस्रो, किरात राई यायोक्खा र सम्बन्धित पदाधिकारीहरूलाई समयको महत्व बुझाउन चाहन्छन् । तोकिएको समयमा बैठक बस्ने र तोकिएको समयमा काम गर्ने सवालमा उनी आफै गरेर देखाउछन् । एक जना पदाधिकारीको समयमै अनुपस्थितिले अरुको समय बर्बाद नहोस् भन्ने उनको चाहना छ । यो उनको योजना सफल भयो भने अरुलाई पनि सकरात्मक सन्देश नै दिनेछ ।

किरात राई यायोक्खा काठमाडौंको अध्यक्ष भइरहँदा उनले तीन वटा कुराहरूको प्रतिबद्वता गरेका छन् । पहिलो, किरात राई यायोक्खा, काठमाडौंलाई आर्थिक समस्याबाट टार्नको लागि दीर्घकालीन रुपमा काठमाडौं भरिका राईहरूलाई ‘एक घर एक आजीवन सदस्य’ बनाई आर्थिक सङ्कलन गर्न चाहन्छन्

तेस्रो, काठमाडौंमा रहेका राईहरूलाई सुसूचित अधिकारको प्रत्याभूत गराउने । सूचनाको हक दिने र राईहरूको चाहना के हो भन्ने कुरा यायोक्खासम्म आइपुग्ने संयन्त्रको निर्माण गरेर आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्ने योजना रहेको छ ।

अन्तमा,

सामाजिक काम भनेको भूपूहरूले मात्र गर्ने, बुढ्यौलीले मात्र गर्ने हैन, हामी युवाहरूले पनि गर्ने हो भन्ने दिलीपको बुझाइ छ । उनी त्यहीँअनुसार काम गर्छन् । समाजसेवा गर्नको लागि घरबाट जसरी उनले समय निकाल्न सकेका छन्, यसमा जीवनसाथी विनु राईको सहयोगलाई उनले भुल्न सक्दैनन् । उनी भन्छन्– ‘विनुले आफ्नो व्यवसाय, घरको काम र छोरा रिदुमहाङ बान्तावालाई समाल्दै मलाई सहयोग नगरेको भए म कसरी निर्धक्क समाजसेवी भएर यसरी हिँड्न सक्थें र !’
वर्तमान किरात राई युवा पुस्तामा उनको काम गराइ भनेकै समुदायको भलोको लागि हो । युवावस्थामै सामाजिक अभियन्ताको रूपमा आफ्नो छवि बनाएका छन् । आफ्नो जातिलाई अगाडि बढाउनको लागि सम्पूर्ण उर्जा खर्च गर्ने दिलीप बान्तावा हाम्रो समाजको एक उदाहरणीय व्यक्ति हुन् ।

बुङवाखा मासिकबाट

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook