छन्त्याल जाति र माघे संक्रान्ति (म्हिलाङे सोङ्ती)

विहिवार ३० पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

गोबिन्द छन्त्याल

गोबिन्द छन्त्याल

काठमाडौ, नेपाल

छन्त्याल जाति र माघे संक्रान्ति (म्हिलाङे सोङ्ती)

माघे संक्रान्तिलाई छन्त्यालहरूले महान पर्व ‘म्हिलाङे सोङ्ती’ तथा ’छार (नयाँ) म्हेङ (वर्ष)’को रुपमा मनाउने गर्दछन् । सम्वत् २०६९ पुस २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘माघे सङ्क्रान्ति’लाई छन्त्याल जातिको पनि राष्ट्रिय पर्व भएको निर्णय गरेर मान्यता प्रदान गरेको छ ।

किरात समुदायमा यलम्बरको शासनकाललाई आधार मानेर किरात यले सम्बत् प्रचलनमा छ । माघ १ गतेबाट किरात यले सम्बत्को नयाँ वर्ष सुरु हुन्छ । यस २०७२ सालको माघबाट किरात यले सम्बत् ५०७६ सुरु हुने जनाइएको छ । त्यसैगरी नेवारहरूले ‘घ्यो–चाकू सँल्हू’ (घिउ र चाकु खाने सङ्क्रान्ति) भन्दछन्, फेरि कोहीकोही ‘हामो सँलहू’ (तिलको प्रधानता भएको सङ्क्रान्ति) पनि भन्दछन् । यस पर्वलाई थारु जाति÷समुदायका मानिसहरूले अरु चाडपर्वहरू भन्दा विशेष महत्वका साथ ‘माघी’ पर्वको रुपमा हप्ता दिनसम्म मनाउदछन् । यसै दिन थारुहरूले ‘बडघर’ समेत चुन्ने चलन रहेको छ । मगर समुदायले ‘माघे पर्व’को रुपमा विशेष महत्वका साथ मनाउने गर्दछन् ।

नेपाल सरकारले विसं २०६५ माघ १० गतेदेखि यो पर्वलाई मगर र थारुको राष्ट्रिय पर्वको रुपमा मान्यता दिएको छ । यस दिनमा उराँव जातिका मानिसहरूले तिलको लड्डु, बगिया, भुजा, चिउरको लड्डु, सख्खरखण्ड, तरुल आदि पकाएर पितृ देवतालाई चढाइने भएकोले उराँव जातिले ‘माघे सक्रान्ति’लाई ‘तिले सक्रान्ति भन्दछन् । चेपाङ र माझी आदिवासी जनजातिका मानिसहरूले पनि ‘माघी’ पर्वलाई विशेष महत्वका साथ छोरीचेली, ज्वाइँचेलालाई अनिवार्य रुपमा निम्तो गरेर खुवाउने चलन रहेको छ । तामाङ जातिले यस पर्वलाई ‘हो’ पूजाको नामबाट बौद्ध गुम्बा (घ्याङ)मा पूजाआजा गरी मनाउने परम्परा रहेको छ ।

उराँव जातिले ‘माघे सक्रान्ति’लाई ‘तिले सक्रान्ति भन्दछन् । चेपाङ र माझी आदिवासी जनजातिका मानिसहरूले पनि ‘माघी’ पर्वलाई विशेष महत्वका साथ छोरीचेली, ज्वाइँचेलालाई अनिवार्य रुपमा निम्तो गरेर खुवाउने चलन रहेको छ 

‘माघे सङ्क्रान्ति’सँग ‘छन्त्याल जाति’को सम्बन्ध

परा पूर्वकालदेखि छन्त्यालहरूले विभिन्न चाडपर्वहरू मौलिक किसिमले मनाउँदै आएका छन् । मूलतः छन्त्यालहरूको विशेष महत्वका परम्परागत चाडपर्वहरू ‘माघे (म्हिलाङे) सङ्क्रान्ति (सोङ्ती)’ र साउने सङक्रान्ति, भूमेपूजा र कुलपूजा आदि हुन् । साथै उनीहरूले दसैँ, तिहार, तीज, चैते दसैँ, होली पूर्णिमा, बुद्ध पूर्णिमा, जनै पूर्णिमा आदि पर्वहरू पनि मनाउने गर्दछन् । तथापि यी पछिल्ला चाडपर्व मनाउँदा केही छुट्टै मौलिक शैलीमा आफ्नै रीतिथिति, परम्पराअनुसार मनाउँदछन् । हिन्दू शास्त्रमा उल्लेख भएको विधिअनुसार पुरापुर रुपमा मनाउने चलन भएको पाइँदैन । तथापि यो छन्त्याल समुदायमा देखिएको हिन्दूकरणको प्रभाव हो । विशेषतः आदिवासी जनजातिलगायत गैर–हिन्दू समुदायमामाथि राज्यको एकमना सोँच ‘एउटै भाषा (खस नेपाली), एउटै धर्म (हिन्दू), एउटै संस्कृति (हिन्दू)’ जबर्जस्ती लादिएकाले हिन्दू धर्म, संस्कृति, मूल्य मान्यतामा आधारित चाडपर्वहरू गैर–हिन्दू समुदायले अबलम्बन गर्न पुगेका हुन् ।

‘माघे सक्रान्ति’ पर्वको छन्त्याल जातिसँग ऐतिहासिक, सामाजिक सांस्कृतिक सम्बन्ध रहेको छ । यस पर्वसँग यस जातिको मूख्यतः ‘पित्री पुज्ने’, ‘खानी’ (मूलतः तामाखानी), ‘तारा खेल’, ‘चेलीबेटीलाई तिला सार्ने’ आदिसँग जोडिएको छ । जुन कुरा समग्र छन्त्याल जातिको पहिचानसँग अन्तरसम्बन्धित विषय पनि हुन् । यस सन्दर्भमा छन्त्याल संघका पूर्व अध्यक्ष मनिचन घरब्जा छन्त्याल भन्छन्, ‘छन्त्याल जाति÷समुदायका मानिसहरूले ‘माघे सङ्क्रान्ति’लाई परापूर्वकालदेखि नै मनाउँदै आएकाले खानी खन्ने समावधिमा समेत तत्कालिन राज्य सरकारले एक दिन सार्वजनिक बिदा दिने गरिन्थ्यो ।’ छन्त्याल जातिको ऐतिहासिक पहिचानको आधार भनेको ‘तामाखानी’ नै हो । रातोदिन तामाखानी खन्ने इतिहासको कालखण्डमा समेत छन्त्यालहरूलाई तत्कालिन राज्यसरकारले ‘माघे सक्रान्ति’को दिन सार्वजनिक बिदा दिने गरेको तथ्ययुक्त भनाइले यस चाडसँग छन्त्याल जातिको ऐतिहासिक सम्बन्ध रहेको पुष्टि गर्दछ । तथापि नेपालका अधिकांश आदिवासी जनजातिहरूको जस्तै छन्त्याल जातिको पनि लिखित इतिहास नभएकाले तामाखानी खन्ने समायावधिमा छन्त्याल जातिका मानिसहरूले यस दिनमा पाउने गरको सार्वजनिक बिदाबारे कुनै लिखित प्रमाण छैन ।

नेपालका अधिकांश आदिवासी जनजातिहरूको जस्तै छन्त्याल जातिको पनि लिखित इतिहास नभएकाले तामाखानी खन्ने समायावधिमा छन्त्याल जातिका मानिसहरूले यस दिनमा पाउने गरको सार्वजनिक बिदाबारे कुनै लिखित प्रमाण छैन 

‘ताराखेल÷तारा हान्ने खेल’ छन्त्यालहरूको थातथलोमा अद्यापि लोकप्रिय रहेको छ । छन्त्यालहरूले आफ्नै आदिवासीय ज्ञान, सीपद्वारा इतिहासको कुनै कालखण्डमा विकास÷निर्माण गरेर ‘माघे सक्रान्ति’कै दिनमा ‘तारा, धनु, सर पुज्ने’ विशेष कार्यले यसको महत्वलाई थप पुष्टि गर्दछ । ‘तिला सार्ने’ कार्यले माइती चेलीबीचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वकोे रुपमा लिन सकिन्छ । यस पर्वमा गरिने अन्य कार्यहरू र प्रयोग हुने सामाग्रीहरूको अर्थ, कारण र महत्व पनि सांस्कृतिक पक्षले कुनै न कुनै रुपमा छन्त्याल जातिसँग जोडिएका छन् । त्यसैले छन्त्याल जाति÷समुदायले पनि आप्mनो पहिचानका लागि परापूर्व कालदेखि मनाउँदै आएको ‘माघे सङ्क्रान्ति’लाई विभिन्न समयमा ‘छार म्हेङ’ (नयाँ वर्ष), ‘म्हिलाङे सोङ्ती’ नामाकरण गरी मनाउन थालेका हुन् । सामाजिक, सांस्कृतिक पक्षका परम्परा, रीतिथिति, चालचलन, चाडपर्व आदि पक्षहरू अरु भन्दा पृथक रुपले अभ्यास गर्ने विश्वव्यापी र नेपालमा चलिरहेको पहिचानजनित आन्दोलनको प्रभाव छन्त्याल जाति÷समुदायका मानिसहरूले मनाउँदै आएको ‘माघे सक्रान्ति’मा पनि पर्न गएको देखिन्छ ।

खानी खन्ने समयावधिको ऐतिहासिक कालमा छन्त्यालहरूलाई दिइने सार्वजनिक बिदाको तथ्यगत भनाइलाई नेपाल सरकारको सम्वत् २०६९ पुस २७ गतेको निर्णयले छन्त्याल जातिको पहिचानसँग जोडिएको कुरा पुनरावृति तथा पुनर्निर्माण भएको देखिन्छ । तत्कालिन खानी खन्ने समयमा मनोरञ्जनको रुपमा अरु कुनै साधनहरू नभएकाले छन्त्यालहरूले खेल साधनको रुपमा तारा खेललाई आफ्नै आदिवासीय ज्ञानको शैलीले विकास गरेका हुन् । जुन अहिले एउटा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरको खेलको रुप लिन पुगेको छ । ‘तारा खेल’ ऐतिहासिक धनुष वाणसँग सम्बन्धित खेल हो । पूर्वीय दर्शनअनुसार त्रेता युगदेखि धनुष वाणको प्रयोग शुरु भएको मानिन्छ । हिन्दू धर्म ग्रन्थहरू रामायण, महाभारतजस्ता कथाहरूमा धनुष वाणको प्रयोगको कुरा यत्रतत्र पाइन्छ । युद्धको एउटा सशक्त हतियारको रुपमा धनुष वाणलाई पौराणिक कथाहरूमा उल्लेख गरेको पाइन्छ । संसारभरि लगलभ ४० करोड भन्दा बढी जनसंख्या ओगटेका र ७२ भन्दा बढी देशमा बसोबास गर्ने आदिवासी जनजातिहरूको कुनै न कुनै रुपले धनुष वाणसँग ऐतिहासिक सम्बन्ध भएकाले धनुष वाणलाई कुनै न कुनै विधिप्रक्रियाअनुसार पूजा गर्ने र विशेष अवसरमा प्रयोग गर्ने गरेको पाइन्छ ।

यस दिनमा चेलीबेटी÷छोरीचेलीलाई तिला सार्नाले चेलीबेटीलाई फलदायी हुने विश्वास गरिन्छ । यही विश्वास र आस्थाका साथ चामल, मासको दाल, नगद रुपैयाँ (भएमा तामाको पैसासहित) तिला सार्ने गरिन्छ 

यस दिनमा चेलीबेटी÷छोरीचेलीलाई तिला सार्नाले चेलीबेटीलाई फलदायी हुने विश्वास गरिन्छ । यही विश्वास र आस्थाका साथ चामल, मासको दाल, नगद रुपैयाँ (भएमा तामाको पैसासहित) तिला सार्ने गरिन्छ । यस दिनमा तरुल, भ्याकुर, गिठ्ठा, सख्खरखण्ड आदि विभिन्न कन्दमुलका परिकारहरू विशेष रुपले महत्वपूर्ण हुन्छन् । किनकि यी कन्दमुलका वस्तुहरू मानव इतिहासको प्राचीन जङ्गली, ढुङ्गे युगदेखि नै जीवन बाँच्न प्रयोग गरिएका खाद्यबस्तुहरू हुन् ।

विविधतामा सद्भावको वासना

नेपालमा पहिचानको आन्दोलनको रस्साकस्सी चलिरहेको समयमा अन्तरसम्बन्धित पहिचानजनित प्रश्नको उत्तर ‘माघे सक्रान्ति’जस्ता चाडपर्वहरूभित्र खोज्नुपर्दछ । एउटा जाति÷समुदायले अर्कोलाई निषेध गरेर होइन, विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक पर्वहरूमा पारस्परिक सम्बन्ध स्थापित गर्न जरुरी छ । त्यसका लागि राज्यसरकार सबै जाति, धर्म, क्षेत्र, लिङ्ग, समुदायका जनताप्रति जनउत्तरदायी र न्यायिक बन्नु सबभन्दा बढ्ता आवश्यकता हो । साथै नेपाली समाजजस्तो इन्द्रेणी समाजमा बसिरहेका र बस्न चाहने जनताहरूले पनि एकअर्काका चाडपर्व रीतिरिवाज, चालचलन, मूल्यमान्यतालाई व्यवहारिक रुपले सम्मान र आदर गरेर सभ्य नागरिक बन्ने अर्को आवश्यकता हो । चाडपर्वहरूले ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि महत्व बोकेका हुन्छन् । साथसाथै नेपाल जस्तो विविधतायुक्त समाजमा सामाजिक, सांस्कृतिक, धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सेतुको भूमिका गरिरहेका हुन्छन् । जुनसुकै स्थानविशेष, जाति÷समुदायविशेष, धर्मविशेष तथा राष्ट्रिय स्तरका चाडपर्वहरूले सामरिक महत्व राख्नुका अलवा भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउन समेत भूमिका खेलिरहेका हुन्छन् । जहाँ सद्भावको वासना आइरहेको हुन्छ ।

समाजभित्र सामाजिकीकरण र परसंस्कृतिग्रहणको प्रक्रियामा एकले अर्को समुदाय÷व्यक्तिको देखासिकी तथा नक्कल गर्ने क्रिया प्रक्रिया चलि नै रहन्छ । विज्ञान, प्रविधि र सञ्चारको द्रुत विकासले बदलिदोँ समाजमा पर्ने प्रभावले जुनकुनै जाति÷समुदाय र व्यक्ति अछुतो रहन सत्तैmन । सामाजिक, सांस्कृतिक, भौगोलिक, प्रविधिको सामीप्यताले गर्दा एक ठाउँको शैली अर्को ठाउँसँग र एउटा समुदायको अर्को समुदायसँग थोरबहुत मिल्न जानु स्वभाविक हो । ‘माघे सङ्क्रान्ति’को दिनमा गरिने विधिप्रक्रिया पनि एक जाति÷समुदायका अन्य जाति÷समुदायका मानिसहरूसँग केही न केही मिल्न सक्दछन् ।

 संस्कृति मानवले एक समाजको सदस्यको हैसियतले आर्जन गरेका ती सम्पूर्ण कुराहरूको योग हो जसमा ज्ञान, विश्वास, मूल्य, मान्यता, भाषा, कानून, प्रथा आदि कुराहरूको समावेश भएको हुन्छ 

सिद्धान्ततः संस्कृति मानवनिर्मित हुन्छ । मानवले संस्कृतिलाई एक पुस्तादेखि अर्को पुस्तासम्म निरन्तर हस्तान्तरण गरिरहन्छ । संस्कृति मानवले एक समाजको सदस्यको हैसियतले आर्जन गरेका ती सम्पूर्ण कुराहरूको योग हो जसमा ज्ञान, विश्वास, मूल्य, मान्यता, भाषा, कानून, प्रथा आदि कुराहरूको समावेश भएको हुन्छ । यहाँ भन्न खोजिएको विषय के हो भने समय, युग र परिस्थितिअनुरुप कुनै पनि संस्कृति÷संस्कारका अङ्ग÷भाग÷विधिप्रक्रिया÷शैलीमा पुनःनिर्माण÷विनिर्माण हुन सक्दछन् । तथापि इतिहास, संस्कृति–संस्कार, पहिचान, भाषा, धर्म, राजनीति, आर्थिक, सामाजिक आदि सम्वेदनशील विषयवस्तुसँग जोडिने रीतिथिति, प्रथापरम्परा, चालचलन, मूल्यमान्यता, चाडपर्व, अभ्यास आदि पक्षहरूबारे सबै पक्ष गम्भीर र जिम्मेवार भने बन्नुपर्दछ ।

पृथक र मौलिक बनाउने नाममा  निर्माण÷पुनःनिर्माण÷विनिर्माण गर्दा एकातिर व्यवहारिक कठिनाइ, चुनौति र दुरगामी असरबारे सजग हुनुपर्दछ भने अर्को्तिर सम्बन्धित जाति÷समुदायको पहिचानजनित पक्षमाथि पर्न जाने असरप्रति अत्यन्त सम्देनशील हुनुपर्दछ । आधुनिक राज्यसञ्चालनको युगमा राज्यसरकार नै सामाजिक न्यायको स्रोत मानिन्छ । त्यसैले धर्मनिरपेक्ष राज्यको मूल्यमान्यतामा आधारित सबै जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र समुदायका जनताका चाडपर्वहरूलाई समान हैसियत र सहुलियत दिन सके मात्र नेपाल व्यवहारतः विविधतायुक्त सद्भावरुपी इन्द्रेणी समाजको रुपमा विकसित हुन सक्छ ।

ओपेडपोष्टबाट


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook