गोरखा, चैत १४
एसएलसी परीक्षामा पहिलोपटक बराम जातिका व्यक्ति केन्द्राध्यक्ष भएका छन् । एसएलसी परीक्षामा पहिलोपटक गोरखा गण्डकी माध्यमिक विद्यालय थुमीमा बराम समुदायका एक व्यक्ति केन्द्राध्यक्ष भएका हुन् । सिद्धकाली माध्यमिक विद्यालय आरुचनौटेका प्रधानाध्यापक चेतबहादुर बराम यसवर्षको गण्डकी माविका केन्द्राध्यक्ष भएका छन् ।
देशमै पहिलोपटक बराम जातिबाट केन्द्राध्यक्ष भएकोमा खुसी हुँदै चेतबहादुरले भन्नुभयो, ‘हराउन लागेको समुदायबाट चिन्ने मौका पाएँ, आफ्नो उपस्थिति जनाउन पाएकाले खुसी लागेको छ ।’ गएको वर्ष लोकसेवा आयोगको परीक्षा पास गरेर माध्यमिक तहमा स्थायी भएका बरामले पढाउन थालेको ६ वर्ष भयो ।
२०६८ को जनगणना अनुसार गोरखामा बराम जातिको जनसंख्या झण्डै ७ हजार रहेको छ । यसवर्षको एसएलसी परीक्षामा गोरखामा बराम जातिका ६० जना विद्यार्थी सहभागी हुँदै छन् ।
गएका वर्षहरुमा पार्टीगत आधारमा केन्द्राध्यक्ष भागवण्डा हुने गरेको भएपनि यसवर्ष गोरखामा निश्चित मापदण्ड बनाएर केन्द्राध्यक्ष छनौट गरिएको हो । गोरखामा २६ वटा केन्द्रमा
एसएलसी परीक्षा सञ्चालन हुने छ । लोपोन्मुख जनजातिको रुपमा आफूलाई चिनाउने बराम जातिको बसोबास क्षेत्र मुख्य गरि गोरखा, धादिङ्ग, तनहुँ, मकवानपुर, चितवन, नुवाकोट जिल्ला हो ।
courtesy: ujyaaloonline.com