चित्रबहादुर केसीको अनैतिक यात्रा 

मंगलवार १४ आषाढ, २०७३   |   राजनीति

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

चित्रबहादुर केसीको अनैतिक यात्रा 

नेपाल सरकारले प्रदेश व्यबस्थापिकाको निर्बाचन कार्ययोजना सार्बजनिक गरिरहँदा सरकारकै एक घटक राष्टिय जनमोर्चा भने संबैधानिक व्यबस्थालाई चुनौति दिदै सोही कार्ययोजनाको बिरुद्ध संघीयताको खारेज हुनु पर्ने जिकिर गर्दै सडक आन्दोलनमा उत्रिएको छ । त्यो पनि नेपाली राजनीतिमा इमान्दार र नैतिक व्यक्तित्व भनेर प्रसंशित सरकारकै बरिष्टतम उपप्रधानमन्त्री चित्र बहादुर केसीको नेतृत्वमा । कुनै पनि राजनीतिक दलले आफनो बैचारिक मुद्धालाई स्थापित गराउन जनतामा आफनो एजेन्डा लैजान स्वतन्त्र रहन्छ । यस अर्थमा राष्टिय जनमोर्चा पनि स्वतन्त्र रहेकाले कतैबाट आपत्ती हुने कुरा हुन सक्दैन । अझ त्यो दल संविधान सभामा यही अजेन्डामा चुनाब लडेको  हुँदा त्यसको निरन्तरताका लागि सडकमा जानु स्वभाविक पनि हुन्छ । तर, नेपालको संविधान २०७२ जारी भए पछि बनेको नयाँ मन्त्रिपरिषदको बरिष्ठ सदस्य नै संघीय संविधानको सपथ खाएर त्यही संविधानलाई भष्म पार्ने अभियानमा सक्रिय हुनुु चाही अचम्मको बिषय हुन जान्छ । बास्तबमा यो चित्रबहादुर बाको अनैतिक हरकत र गैरसंवैधानिक क्रियाकलाप मध्ये कै एक हो ।  

नेपालमा धेरै थरीका कम्युनिष्ट छन् । चित्रबहादुर केसी त्यस मध्येका एक संघियता बिरोधी एकात्मकबादी कम्युनिष्ट पार्टीको सदस्य हुनु हुन्छ । त्यस पार्टीका नेता मध्ये एक मोहनविक्रम सिंह सबै नेपाली कम्युनिष्टहरुका गुरुहरुको पनि गुरु हुनु हुन्छ । यसको अर्थ राष्टिय जनमोर्चा वा नेकपा मसालका नेताहरुका महागुरु हुनुहुन्छ । सबैले स्वीकारेको तथ्य केहो भने यो पाटी कम्युनिष्ट उत्पादन गर्ने कारखाना नै हो । तर कस्तो कार्यकर्ता उत्पादन गर्ने कारखाना हो, जहाबाट संघियता बिरोधी कार्यकर्ता उत्पादन गरिन्छ र तिनै कार्यकर्ता संघियताकै घनघोर समर्थक भएर निस्कन्छन् । मैले कतै सुने अनुसार चीनमा एक उद्योगपतिले रक्सीको स्वादको दुध उत्पादन गर्ने कार्यक्रम ल्याएका थिए रे । त्यसप्रकारको रक्सी उत्पादन भए नभएको त थाहा भएन, तर अखबारमा पढिए अनुसार ती उद्योगपतिको अवधारणा अनुसार ग्राहकले पिउँदा रक्सी पिएझै हुने र त्यसको प्रभाव झै दुधको झै पोसिलो र ताकतिलो हुने थियो । कुनै कल्पनाशील ती उद्योगपति झै हाम्रा मेहनबिक्रम सिंहहरु संघीयताबिरोधी कार्यकर्ता बनाउनु हुन्छ, तर कार्यस्थलमा ती सबै संघीयता पक्षधर भएर निस्कन्छन् । अरुको कुरै छोडौ माओबादी केन्द्र कै अध्यक्ष प्रचण्ड नै मोहन बिक्रमका उत्पादन भने पछि, सक्किगो नि !

कुनै कल्पनाशील ती उद्योगपति झै हाम्रा मेहनबिक्रम सिंहहरु संघीयताबिरोधी कार्यकर्ता बनाउनु हुन्छ, तर कार्यस्थलमा ती सबै संघीयता पक्षधर भएर निस्कन्छन् ।

अहिले संघीयताको कार्यन्वयन गर्नु पर्ने आवश्यकता छ कि यसको खारेज गरेर समस्याको समाधान हुन्छ ? यसमा धेरै लामो बहस भई सकेको छ । २०४६ देखि व्यबस्थित बहसको प्रारम्भ भएको यो बिषय २०६२को जनआन्दोलन हुँदै संविधानसभा मार्फत नेपालको संविधान, २०७२ जारी भए पछि समाप्त हुन्छ र मुलुक नयाँ कोर्सतिर जाला भन्ने धेरैको अनुमान थियो र विश्वास पनि छ । तर यही बिषयलाई भाँजो हालेर अब अरु त अरु संघियता नै खारेज हुनु पर्छ भनेर आन्दोलन नै सुरु गर्नु एक प्रकारले राजनीतिक अस्थिरताको बिजारोपण हो भने अर्कोतिर संविधानसभाको मजाक पनि हो । यसमा नेपालको राजनीतिक समस्या गर्ने कुनै गन्ध भेटिन्न । बरु, समस्यालाई बल्झाएर फेरि अस्थिरता र अन्योल कायम राखी मुलुकको राजनीतिक संक्रमणलाई कायम राख्ने मनसाय अरु प्रखरिलो पाईन्छ । यस्तो जोखिमपूर्ण कार्यमा चित्रबहादुर केसी आफै अगाडि सरेको बिश्वास गर्न सकिन्न । किनभने उनको छवि  बिशेष गरेर आर्थिक मामलामा स्वच्छ, मानिन्छ । धेरैको बिश्वास के छ भने कमरेड चित्रबहादुर जे भन्छन् त्यही गर्छन् । हिजोसम्म त्यो सत्य नै थियो । तर जव राजनीतिक स्वच्छताको कुरा आयो, तव सपथ एकातिर खान्छन्, अनि आन्दोलन अर्कोतिर गर्छन् । बास्तबमा यो राजनीतिक मर्यादाको पराकाष्टा नै हो । 

पूर्व इलामतिर के भनाई प्रचलित छ भने आलु कुहिनु र कम्युनिष्ट बिग्रनु एकै कुरा हो, बिग्रे पछि साह्रै नराम्रो ढंगले बिग्रेर जान्छ, । आलुको धेरैप्रकारको प्रयोग हुन्छ, जब आलु कुहिन्छ, त्यसपछि त्यो मलको पनि प्रयोगमा आउदैन रे । त्यस्तै कम्युनिष्टहरु बिग्रे पछि पतनको अधिकतम सीमामा नै पुग्छन् रे । प्रकारान्तरणले यस्तो भनाईको पुष्टि हुँदै आएको पनि छ । दृष्टान्तका लागि टाडा जान नै पर्दैन, कुनैबेलाका नेल्सन मण्डेला भनेर चिनिएका मोहनचन्द्र अधिकारी केही दिन अगाडि सत्संग धर्म प्रचारको पर्चा बोकेर संघीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा पुग्दा उनको पतनको गहिराई नाप्न पनि धौ धौ परेको थियो । कुनै बेला रिभोसनली फोर्सको कुरा गरेर शोषण र बिभेदको माक्र्सबादी लेनीनबादी दर्शनका अन्धभक्त यी लालशाही भिष्मपितामह कुन मोहले १४ बर्ष जेलमा बसे र अहिले त्यो आदर्श र सिद्धान्तलाई तिलान्जली दिदै नाँगा साधु र सन्तले देखाएको मोक्षको मार्गमा आए ? कुरा बुझी नसक्नुको छ । यसलाई भनिन्छ, बिग्रेका कम्युनिष्ट, यसलाई भनिन्छ पतनको बाटो । 

कुनैबेलाका नेल्सन मण्डेला भनेर चिनिएका मोहनचन्द्र अधिकारी केही दिन अगाडि सत्संग धर्म प्रचारको पर्चा बोकेर संघीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा पुग्दा उनको पतनको गहिराई नाप्न पनि धौ धौ परेको थियो ।

यो स्तम्भकार चित्रबहादुर केसीहरु मोहनचन्दकै मार्गमा पुगेका छन् भनेर ठोकुवा त गर्न सक्दैन । तर संकेत चाही त्यतैतिरको छ । नेपालमा प्रयोग भएर असफल भईसकेको एकात्मक राज्य संरचनाको पुनबहाली गर्ने माँग गर्नु, नैतिकता तथा इमान जमानलाई थाती राखेर संविधानले दिएको संविधान कार्यन्वयन गर्ने जिम्मेवारी बिपरित सडक संघर्षको कार्यक्रम प्रकासित गर्नु एकप्रकारले पतनोन्मूख राजनीतिक यात्रा तर्फको प्रस्थान बिन्दू नै हो । 

समस्या अहिले संविधानमा संघियता प्रबेश गरेका कारणले उत्पन्न गरेको कसैले बुभ्mेको छ भने त्यो बुझाई सत्य होइन । संघियता विनाको संविधान अव परिकल्पना पनि हुन सक्दैन । कुनैबेला यो एजेन्डाको औचित्य थियो, जुन बेला संविधान निर्माणको क्रममा मुलुक थियो । अव देशमा संघियता आईसकेको छ । अझ यसमा नेपालको सामाजिक अवस्थति, सास्कृतिक, भाषिक र जातीय विविधताको संवोधन हुन नसकेकोमा देशको ठूलो पङ्ती आन्दोलनमा छ । नेपाल सरकारको बरिष्ठ उपप्रधानमन्त्री भएको नाताले कमरेडकेसी सहितको  मन्त्री परिषदले बार्तामा बोलाएको पनि थाहा भएकै हुनु पर्छ  नेपाल सरकारको मन्त्रीका हैसियतले त यो समस्या समाधान गर्ने जिम्मा उहाँको नै हो । यतातिर पहल र ध्यान दिनुको बदला संघियता खारेजतिर लाग्नु कामकुरा एकातिर कुम्लो बोकी गलकोट तिर भनेजस्तै भएन र ? 

देशमा मधेश आन्दोलन जारी छ । आदिवासी जनजाति आन्दोलन जारी छ । दलित, उत्पीडित, सीमान्तकृत समूदाय नयाँ संविधानप्रति असन्तुष्ठ छन् । तर यो असन्तुष्ठि संविधानमा संघियता नभएर होइन, अपुरो र अधुरो संघियता आयो भनेर हो ।

पुरै देशलाई थाहा छ, देशमा मधेश आन्दोलन जारी छ । आदिवासी जनजाति आन्दोलन जारी छ । दलित, उत्पीडित, सीमान्तकृत समूदाय नयाँ संविधानप्रति असन्तुष्ठ छन् । तर यो असन्तुष्ठि संविधानमा संघियता नभएर होइन, अपुरो र अधुरो संघियता आयो भनेर हो । उनीहरुले स्वायत्त शासनमा अगधिकारसहितको र पहिचानजनित संविधान माँगेका थिए । तर चित्रबहादुरहरु जस्तै पहिचान बिरोधी र स्वायत्तता बिरोधी शक्तिहरु हाबी भएका कारणले अधुरो र अपुरो संघियता हात पारेका छन् । यतिबेला यो अधुरो र अपुरो संविधानको पूर्णताका लागि बिभिन्न ढंगले दवाव सिर्जन ागर्ने काम भएको संघीय गठबन्धन त रिले अनसनमा नै बसेको छ । सो शान्तिपूर्ण र जवाफदेही, मर्यादित आन्दोलनमा  प्राप्त के गरे भने मधेशीेपालका धेरै प्रकारका बुद्धिजीबि र स्वतन्त्र पर्यबेषकहरुले नैतिक समर्थन दिईरहेका छन् । संघियताकै सीमाँकन र नामाँकन लगायत पहिचानका सवालहरु सम्बोधन हुन नसक्दा मधेश आन्दोल। लिम्बुवान आन्दोलनमा धेरै युवाहरु सहिद भएको कुरालाई कसैले बिर्सन हुँदेन । यदि बिर्सने चेष्ट गरेमा त्यसको परिणाम पनि सकारात्मक निस्कदैन । यसैले अव देशमा संविधान लागू गर्ने र संविधानले व्यबस्था गरेरका संरचनाहरु कसरी अधिकतम जनताकेन्द्रीत र उपयोगी बनाउने प्रमूख समस्या हो । यो समस्याको समाधान दाहिने वा देब्रे कुनाबाट झिंगे दाऊ लगाउनु कुनै पनि अर्थमा देशको उन्नती र प्रगतिको कामना गरेको अर्थ लगाउन सकिदैन । 

देशमा आन्दलन गर्नु बिषयलाई राज्यको ध्यान आकर्षित गर्न जो कोही पनि स्वतन्त्र हुन्छ । आजको यो लोकतान्त्रिक युगमा सामन्य प्रक्रिया र लोकतान्त्रिक अधिकारभित्रकै कुरा हो । तर सरकारको जिम्मेवार पदमा बसेर त्यही संस्थापना बिरुद्ध जानु चाही सुहाउने बिषय होइन । अरुहरुलाई ठिकै पनि हुन सक्थ्यो होला, तर चित्रबहादुर केसी जस्ता इमानका रोलमोडल बनेका नेतालाई कमसेकम सुहाउँदैन भन्ने जिकिर मात्र हो । यसो भन्दा अन्यथा भए, गलकोट तिरै भेटौला । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook