पहिचानको खोजीमा आदिबासी महिला

शुक्रवार १० भाद्र, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

कैलाश राई

कैलाश राई

काठमाडौं

पहिचानको खोजीमा आदिबासी महिला

अन्य समुदायमा भन्दा आदिवासी जनजाति समुदायमा लैङ्गिक विभेद कम छ भन्ने कुरामा मतैक्य रहेको पाइन्छ । गैर आदिवासी जनजाति समुदायको लागि अनुकरणीय रहेको, न्यून लैङ्गिक विभेदयुक्त समाज, सामाजिक–सांस्कृतिक रुपमा सशक्त, स्वतन्त्र र निर्णायक महिला छविलगायतका पक्षहरूको आडमा आदिवासी जनजाति समुदायले समानतामा आधारित समुदायको पहिचानमा गर्व गर्ने गर्दछ । 

    राज्यको नीतिले लादेको हिन्दुकरण र नेपाली समाजको पितृसत्तात्मक चरित्रको अकाट्य प्रभावका कारण जनजाति समुदायभित्र रहेको समानताको अभ्यास र व्यवहार क्रमिक रुपमा कमजोर बन्दै गएको कुरा जनजाति समुदाय प्रायःले स्वीकार्ने गर्छन् । तर त्यसले समानताको मान्यता र विश्वासलाई कमजोर पार्न भने सकेन । त्यही कारणले जनजाति समुदायमा बढ्दै गरेको महिला–पुरुषबीचको असमान शक्ति सम्बन्धलाई चर्चा र बहसको दायरामा ल्याउनुपर्ने आवश्यकता महशुश गरिएन । अर्को शब्दमा, समुदायमा बढ्दै गएको विभेद र असमानताहरूलाई जनजाति समुदायले सामान्यतया आफ्नो पहिचानमा गर्ने गरेको गर्व र सांस्कृतिक परम्पराको आडमा ढाकछोप गर्ने ग¥यो भन्न सकिन्छ । त्यस्तो ढाकछोपले उनीहरूको पहिचान र परम्परामा मौलिदै गइरहेको असमान शक्ति सम्बन्धको प्रभाव र परिणामलाई पन्छाउन सक्दैनथ्यो । तर त्यसले समुदायभित्र झाँगिदै गइरहेको विभेद र असमानताको अवस्थालाई बाहिर ल्याउनको लागि आदिवासी जनजाति महिलाहरूलाई सक्रिय र सचेत हुन भने झक्झकायो ।

    
सुषुप्त पहिचान

राज्यले अपनाएको एक जाति, एक भाषा, एक भेष, एक धर्मको नीतिले नेपालमा अन्तरजातीय सम्बन्धमा ठूलो खाडल र असन्तुलन ल्यायो । त्यसले कथित उच्च जात र घरानाका सीमित महिलाबाहेकका महिलाहरूलाई बहिष्करणमा पार्दै ‘नेपाली महिला’को एकीकृत पहिचान निर्माण ग¥यो । नेपाली समाजमा रहेका विभिन्न पृष्ठभूमि र समुदायहरूमा फरक फरक स्थितिमा रहेका महिलाहरूको भिन्नताहरूलाई मेटाइ त्यस्तो पहिचान निर्माण गरिएको थियो । नेपाली महिलाको त्यस्तो पहिचान निर्माण गर्दा लैङ्गिक विभेदरहित समानतामूलक जीवनशैलीमा आफ्नै मौलिक परम्परा, प्रथा र मूल्य मान्यतामा जसोतसो ज्यूँदै आएका स्वतन्त्र र निर्णायक आदिवासी जनजाति महिलाहरूको छवि मेटाईयो । त्यसरी निर्मित पहिचान स्थापित गर्ने क्रममा राज्यको विभेद, नेपाली समाजको पितृसत्तात्मक व्यवस्था र हिन्दु धर्म संस्कृतिको मूलप्रवाहमा आदिवासी जनजाति समुदाय र समुदायका महिलाहरू बाध्यात्मक ढंगले समाहित हुन थाले । त्यही समयमा पितृसत्तात्मक समाजको चपेटामा परेका हदैसम्म शोषित पीडित महिलाको छवि उभ्याइ त्यही अनुरुपको उपचार र समाधानका उपायहरू अपनाउन थालियो । र, आदिवासी जनजाति महिलाहरू सबै हिसाबले प्रायजसो सबै क्षेत्रमा अदृश्य हुन पुगे ।

समुदायमा लैङ्गिक विभेद नरहेको, महिला–पुरुष समान रहेको अझ कतिपय अवस्थामा पुरुष भन्दा महिला शक्तिशाली र निर्णायक रहेको ‘बुझाई’ र ‘मान्यता’लाई आत्मसात गर्दै हुर्किएका आदिवासी जनजातिहरूले त्यही बुझाई र मान्यताका कारण लैङ्गिकताको पक्षलाई ध्यान दिनुपर्ने विषय ठानेनन् ।

    समुदायमा लैङ्गिक विभेद नरहेको, महिला–पुरुष समान रहेको अझ कतिपय अवस्थामा पुरुष भन्दा महिला शक्तिशाली र निर्णायक रहेको ‘बुझाई’ र ‘मान्यता’लाई आत्मसात गर्दै हुर्किएका आदिवासी जनजातिहरूले त्यही बुझाई र मान्यताका कारण लैङ्गिकताको पक्षलाई ध्यान दिनुपर्ने विषय ठानेनन् । त्यस्तो ठम्याई जनजाति पुरुषहरूमा मात्रै हैन महिलाहरूमा पनि उत्तिकै थियो । जनजाति आन्दोलन र जनजाति महासंघमा लैङ्गिकताको सवालले धेरै पछि स्थान पाउनु; पचासको दशकको मध्यतिर आइपुग्दासम्म लिङ्गीयबाहेकका जातीय, भाषिक, क्षेत्रीय, धार्मिक र खासगरी सामाजिक–सांस्कृतिक पक्षहरूभित्रै सवालहरू समेटिने र सोही सवालको बलमा प्राप्त हुने उपलब्धि नै पर्याप्त हुने कुरामा आदिवासी जनजाति महिलाहरु निसंकोच भई जनजाति आन्दोलनमा लागिरहनु त्यसैको उदाहरण हो । 

    सामाजिक–साँस्कृतिक सवालहरूमा केन्द्रित रही शुरु भएको जनजाति आन्दोलनमा जनजाति पुरुषहरूको बाहुल्यता हुने गर्दथ्यो । संख्यात्मक रुपमा कम रहेपनि पुरुषको तुलनामा महिलाहरू प्रायःजसो आ–आफ्ना परम्परागत मौलिक पोशाक, भेषभूषा र गरगहनासहित स्वतस्फूर्त उपस्थित हुने गर्दथे । खासगरी धर्ना, जुलुस, ¥याली, झाँकीहरूमा विशेषत महिलाहरू आ–आफ्नो पहिचान स्पष्ट झल्किनेगरी परम्परागत पोशाक र भेषभूषामा अग्रपंक्तिमा उभिन्थे र कतिपय अवस्थामा उभ्याइन्थे पनि । पुरुषको तुलनामा परम्परागत पोशाक र भेषभूषा उपस्थित महिलालाई विशेष आकर्षणको रुपमा आन्दोलन आफैले पनि प्रस्तुत गर्ने गरेको र बाह्य समाजको लागि पनि त्यो रुचिकर र आकर्षक हुने गर्दथ्यो । छापा माध्यमहरूको छनोटमा पनि त्यस्तै ‘गेटअफ’ नै पर्दथे र अझैपनि पर्ने गरेका छन् । 

  परम्परागत पोशाक र भेषभूषामा संलग्न आन्दोलनकारीहरुले आन्दोलनलाई नैतिक र सामूहिक बल प्रदान मात्रै गरेनन्, सांस्कृतिक पहिचान स्थापनार्थ प्रभावकारी भूमिका समेत निर्वाह गरे ।

  परम्परागत पोशाक र भेषभूषामा संलग्न आन्दोलनकारीहरुले आन्दोलनलाई नैतिक र सामूहिक बल प्रदान मात्रै गरेनन्, सांस्कृतिक पहिचान स्थापनार्थ प्रभावकारी भूमिका समेत निर्वाह गरे । जनजाति आन्दोलनले अपनाएको त्यो शैली पहिचानसहितको सहभागितामार्फत् आन्दोलनलाई अघि बढाउँने एउटा तरिका वा शैली मात्रै थिएन । त्यसभन्दा बढी त नेपाली राज्य र राज्य संयन्त्रको एकात्मक स्वरुप, एक भाषा, एक भेष, एक जाति, एक धर्म, एक लिङ्गको वर्चश्वप्रति प्रतिकात्मक विरोध र चोटिलो प्रहार थियो ।   

सदृश्य पहिचान    

जनजाति आन्दोलनले अपनाएको त्यो शैलीले नेपालका अरु महिलाहरूभन्दा आदिवासी जनजाति महिलाहरू सामाजिक–सांस्कृतिक रुपमा भिन्न छन् भन्ने चिनारी कायम ग¥यो । तर चिनारीभित्र रहेको वास्तविक सवालहरूलाई मिहिन रुपमा खुट्याई बाहिर ल्याउने र स्पष्ट पार्नेतर्फ त्यसबेला कुनै काम भएन । न त अहिलेसम्म पहिचानको लागि संघर्षरत रहेका आदिवासी जनजाति महिलाहरूले नै त्यो काम अपेक्षाकृत रुपमा गर्न सकेका छन् । जनजाति आन्दोलनमार्फत् कायम भएको जनजाति महिलाको एक खालको पहिचान जनजाति आन्दोलनको क्रियाकलापहरूको आकर्षक आवरण र समुदायका चाड, संस्कृति र मनोरञ्जनकेन्द्रित विषयवस्तुहरूको मुखाकृतिको रुपमा मात्रै सीमित रहीरह्यो । आदिवासी जनजातिको सन्दर्भमा राष्ट्रिय स्तरका कहलिएका प्रभावकारी र ठूला मानिएका छापा माध्यममा प्रकाशित साना–छोटा हुन् वा यदाकदा स्थान पाउने ठूला–लामा समाचारको आवरण होस् या आदिवासी जनजाति समुदायकै पहलमा उत्पादित म्यागजिन, पुस्तकलगायतका सामग्रीहरूको आवरणहरूमा देखिने जनजाति महिलाको आकृति÷तस्वीरको तुलनामा उनीहरूको सवालगत छवि र उपस्थिति न्यून हुनु वा हुँदै नहुनु त्यसको उत्तम नमूना हो । 

सवालसहितको पहिचान

पचासको दशकमा आएपछि आदिवासी जनजाति महिलाहरुले नेपाली महिला पहिचान र आदिवासी जनजातिको पहिचानभित्र पनि आदिवासी जनजाति महिलाको बेग्लै समस्या र सवालहरू रहेको कुरालाई बाहिर ल्याए । ती सवालहरु आदिवासी जनजाति र समग्र महिलाहरुको सवालसँगै अन्तरसम्बन्धित भएपनि तिनलाई आदिवासी जनजाति महिलाको दृष्टिकोण र अवस्थाबाट हेर्नु र सोहीअनुरुप सम्बोधन गर्नुपर्नेतर्फ उनीहरुको जोड रहँदै आएको छ । जसलाई उनीहरूले जातीय र लैङ्गिक सवालको रुपमा वर्गीकरण गरेका छन् । आदिवासी जनजाति समुदायको व्यक्तिको रुपमा जातीय सवाल, आदिवासी जनजाति समुदायभित्रको महिलाको रुपमा लिङ्गीय र जातीय सवाल र नेपालको महिलाको रुपमा जातीय, भाषिक, लिङ्गीय, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिकलगायतका अन्तरसम्बन्धित पहिचानका आधारमा उब्जिएका विविध सवालहरूको पहिचान गरे । 

‘नेपाली महिला’ पहिचानको पुनपरिभाषा र पुननिर्माण

प्रायोजित रुपमा निर्मित ‘नेपाली महिला’ पहिचानमाथि उठ्ने गरेका मसिनो स्वरहरू २०६२÷२०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनसँगसँगै चर्को हुन पुगे । नेपालका महिला–महिलाहरूबीचको असमानता र विविधतामाथि प्रश्नहरु उठ्न थाले । र, आदिवासी जनजाति महिलाका सवालहरू पनि केही हदसम्म सुन्ने र सुनाउने माहोल बन्यो । तर उनीहरुको सवाल प्रायजसो प्राथमिकताको सूचीबाहिरै पर्नु वा पुछारमा झुण्ड्याएर गाल टार्ने परिपार्टी रहीरहेको देखिन्छ । अझैपनि हिन्दु परम्परा र पित्तृसत्तात्मक व्यवस्थाअनुरुप नै समस्याहरूको पहिचान गरिने हुँदा जनजाति महिलाहरूको समस्या प्राथमिकतामा पर्न सकेका छैनन् । अझैपनि नेपालका महिला आन्दोलनहरूको पुरानै ढाँचा–ढर्रा कायम रहेको कुराको प्रमाण यसले दिन्छ । त्यो ढाँचा–ढर्रालाई जनजाति समुदायले गर्ने गरेको गर्बलाई तर्कमा परिणत गरेर टेको लाउने समेत गरिन्छ । त्यस्तो तर्कले जनजाति महिलाका सवालहरू कम प्राथमिकताको सूचीबाट माथि ल्याउनुपर्ने बाध्यताबाट उम्किन सहज बनाएको पनि छ । 

    दशबर्षे माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन, जनजाति आन्दोलन, मधेस आन्दोलन, थारु आन्दोलन र पहिचानकेन्द्रित आन्दोलनहरूको पृष्ठभूमिमा समानुपातिक एवं विविधतायुक्त प्रतिनिधित्व र समावेशीकरणको सवाल चर्कियो । असमावेशी चरित्र र एकलकाँटे ‘नेपाली महिला’ पहिचानभित्र समाहित महिलाहरूको पहिचानको खोजी गर्दै पहिचानको पुनर्निर्माण र पुनपरिभाषित गरिनुपर्नेतर्फ ती स्वरहरू केन्द्रित रहे ।

    दशबर्षे माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन, जनजाति आन्दोलन, मधेस आन्दोलन, थारु आन्दोलन र पहिचानकेन्द्रित आन्दोलनहरूको पृष्ठभूमिमा समानुपातिक एवं विविधतायुक्त प्रतिनिधित्व र समावेशीकरणको सवाल चर्कियो । असमावेशी चरित्र र एकलकाँटे ‘नेपाली महिला’ पहिचानभित्र समाहित महिलाहरूको पहिचानको खोजी गर्दै पहिचानको पुनर्निर्माण र पुनपरिभाषित गरिनुपर्नेतर्फ ती स्वरहरू केन्द्रित रहे । संविधानसभामार्फत् नेपालको नयाँ संविधान लेखन कार्यको थालनी भएसँगै आदिवासी जनजाति महिलाहरूले संविधानमा आफ्नो पहिचान दर्ज गर्नुपर्ने अडान लिनु त्यही अवधारणाकै एक अंश हो । 

    दोस्रो जनआन्दोलनपछि सामाजिक र राजनीतिक वृत्तमा लैङ्गिकता, जातीयता, क्षेत्रीयतालगायतका आधारमा प्रतिनिधित्वको सवालमा बारम्बार औँला उठीरहे । परिणामस्वरुप महिलाभित्र रहेको विविधतालाई सम्बोधन गर्नेसम्मको एउटा थितिको थालनी भयो । संविधानसभामा उल्लेखनीय संख्यामा विविध पृष्ठभूमि र समुदायका महिलाहरूको उपस्थिति रह्यो । त्यसले इतिहास निर्माणकर्ताहरूकै दृष्टिकोणअनुरुप नगण्य उपस्थित गराइएका वा उपस्थित नै नगराइएका, अदृश्य राखिएका आदिवासी जनजाति समुदायका महिलाहरूको संख्यात्मक उपस्थिति बढाउँन ठूलै भूमिका खेल्यो ।    त्यस्तो उपस्थिति र प्रतिनिधित्वलाई सिर्फ ‘कोटा’ परिपूर्ति गर्ने वा औपचारिकता निभाउँने मानककै रुपमा मात्रै सीमित राखिदा उनीहरूको अर्थपूर्ण र सवालगत उपस्थिति र प्रतिनिधित्वको पक्ष भने जीर्ण नै रहीरह्यो । 

    ऐतिहासिक कालदेखि नै नेपालको सामाजिक–साँस्कृतिक एवं राजनीतिक प्रवाहमा आदिवासी जनजाति महिलाहरू पनि प्रवाहित थिए र छन् । प्रभावित र समाहित पनि थिए र छन् । कतिपय अवस्थामा उनीहरूको मौलिक पहिचान लुप्त हुनेगरी समेत प्रभावित र समाहित भएका थिए र छन् । आदिवासी जनजाति महिलाका हकमा समाहितीकरण वा अदृश्य रहने कुरा राज्यको नीति निर्माण तहदेखि लिएर ‘नेपाली महिला’ पहिचान निर्माण; कथित मूलधारे नेपाली महिला आन्दोलन र आदिवासी जनजाति आन्दोलनको सवाल निर्माण, उद्देश्य प्राप्ति र उपलब्धि उपभोगसम्मको हकमा लागू हुन्छ । 

नेपालका आदिवासी जनजाति महिलाहरूको चौतर्फी सवाल र समस्याहरू उनीहरूको अस्तित्व र वास्तविक पहिचान छायामा राखिए वा नामेट पारिएसँगै उब्जिएका हुन् । उनीहरूको भाषा मर्नु, भूगोल खोसिनु, धर्म–संस्कृति नासिनु, मौलिक जीवनशैली, प्रथा र परम्पराहरू बलपूर्व मिचिनु वा परिवर्तन हुनु, यी सबैले उनीहरूको अस्तित्व र वास्तविक पहिचानलाई धरापमा पार्दै लग्यो ।

    सबै महिलाहरू लैङ्गिक विभेदको चपेटामा परेको कुरामा दुईमत राख्ने सायदै होलान् । तर राज्यको विभेदकारी व्यवस्था, नीति, नियम, संयन्त्र र संरचना; करिब एक शताब्दी लामो यात्रा तय गरिसकेको मूलधारे महिला आन्दोलनको एकलकाँटे चरित्र र विभिन्न कारणवस आदिवासी जनजाति समुदायमा बढ्दै गइरहेको दृश्य : अदृश्य विभेदहरूका कारण उब्जिएका बहुविभेदहरूभित्र आदिवासी जनजाति महिलाहरूले आफ्नो स्थान र अस्तित्व खोज्नुपर्ने अवस्थाप्रति पनि उत्तिकै सचेत हुनुपर्नेमा भने धेरैको ध्यान पुग्न सकेको छैन ।

निष्कर्ष

नेपालका आदिवासी जनजाति महिलाहरूको चौतर्फी सवाल र समस्याहरू उनीहरूको अस्तित्व र वास्तविक पहिचान छायामा राखिए वा नामेट पारिएसँगै उब्जिएका हुन् । उनीहरूको भाषा मर्नु, भूगोल खोसिनु, धर्म–संस्कृति नासिनु, मौलिक जीवनशैली, प्रथा र परम्पराहरू बलपूर्व मिचिनु वा परिवर्तन हुनु, यी सबैले उनीहरूको अस्तित्व र वास्तविक पहिचानलाई धरापमा पार्दै लग्यो । गुमेका, खोसिएका, नासिएका र परिवर्तन भएका वा गराईएका तिनै पक्षहरूको उत्खनन् र जगेर्ना गर्दै आदिवासी जनजाति समुदायले आफ्नो पहिचानको खोजी गर्दै आइरहेको छ । यी सबै पक्षहरूलाई आदिवासी जनजाति महिलाको हक र दृष्टिकोणबाट पनि खोजी गर्नु, अध्ययन मनन् र विश्लेषण गर्नु उत्तिकै जरुरी छ । यसो भनिरहँदा स्पष्ट हुनुपर्ने महत्वपूर्ण कुरा, आदिवासी जनजाति महिलाहरूको पहिचानको संघर्ष र उनीहरूले उठाएका सवाल आदिवासी जनजाति समुदाय वा जनजाति आन्दोलनको सवालभन्दा बेग्लै वा अलग्गै हैन । न त नेपालका महिलाहरूको सवाल र समस्याभन्दा भिन्न नै हो । मूलधारे महिला आन्दोलन र जनजाति आन्दोलनले उठाउँन बाँकी रहेका आदिवासी जनजाति महिलाकेन्द्रित सवाल र समुदायले लैङ्गिकताका दृष्टिले समयसापेक्ष अभ्यास र कार्यान्वयनमा ल्याउन नसकेका व्यवहारिक पक्षहरूमा जोड दिँदै आफू सचेत हुन र अरुलाई पनि त्यसप्रति संवेदनशील र सचेत बनाउनुपर्ने दायित्वबोधसँगै उनीहरू अघि बढेका हुन् । 

(११ भदौ शनिबार विमोचन हुने “पहिचानको खोजी ः आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६–२०७३)” नामक पुस्तकको परिचय खण्डको सम्पादित अंश । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook