आदिबासी थारुले दशैंमा किन सेतो टीका ग्रहण गर्छन् ?

बुधवार २६ आस्विन, २०७३   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

आदिबासी थारुले दशैंमा किन सेतो टीका ग्रहण गर्छन् ?

लक्की चौधरी

सेतो रङ्गलाई प्राकृतिक रङ्ग भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङ्गकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङ्गले रंगाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी भएको छ । चाडपर्वमा विभिन्न रङ्गीविरङ्गी चिजवस्तुको निर्माण र खपत हुनेगर्छ । यहाँसम्मकी मान्छेले चाडपर्वमा लगाउने टीकाको रङ्ग पनि विभिन्न रङ्ग मिसाएर बनाउने प्रचलन शुरुभएको   छ । नेपाली समाजमा अधिकांशले रातो रङ्गको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् । प्राकृतिक सेतो रङ्गकै टीका ग्रहण गर्दछन् । थारु समुदायले दशैंमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । चामलको पीठोको टीकासहित जमरा, बेबुरी (बाबरी) को फूल दशैंमा थारुले ग्रहण गर्छन् । अरुबेला दौनाबेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैंमा टीकासँगै विशेषरुपले ग्रहण गर्छन् । थारु समुदायकाले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस् भन्ने मनोकामना गरिन्छ ।

थारु समुदायकाले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस् भन्ने मनोकामना गरिन्छ ।

सेतो नै किन ? 
 

थारु बुद्धिजिवीहरुले थारु समुदायलाई प्रकृतिपूजक मान्छन् । प्रकृतिसँग लडीबुडीगर्दै हुर्केबढेकाले परापूर्वकालमा रङ्गको उत्पादन नहुँदा सेतो रङ्गसँगै लहसिए । त्यही रङ्गको प्रयोग गर्दै अहिलेसम्म सेतो टीका लगाउने प्रचलन कायमै रहेको मानिन्छ । थारु संस्कृतिकका जानकार अशोक थारुले सेतो टीकाबारे भन्नुहुन्छ, “प्रकृति र आदिमजातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारुहरुको प्यारो रङ सेतो नै बन्यो । देवीदेवताको पूजागर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो । सेतो रङसँग थारुको प्राकृतिक सम्बन्ध छ । त्यही सम्बन्धलाई कायम राख्न थारुलगायतका आदिबासीहरु सेतो रङको प्रयोग गर्दछन् ।”

प्रकृति र आदिमजातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारुहरुको प्यारो रङ सेतो नै बन्यो । देवीदेवताको पूजागर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो ।

अर्का अगुवा तथा संस्कृतिका अनुसन्धानकर्ता सुशील थारुको भनाइमा सेतो रङ शान्तिको प्रतीक हो । थारु जाति शान्तिकामी जाती हो । लडाई झगडा र छलछाममा विश्वास गर्दैन । प्राचीनकालदेखि थारु जातिले आफ्नो देवीदेवतालाई गाईको दुधले पूजागर्ने गर्दथ्यो । गाईको दुध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन भयो । देवताका लागि गाईको दुध र स्वच्छ पानी सबैभन्दा पवित्र मानिने हुनाले थारुले त्यसको उपयोग गर्दैआए ।

उसो त सेतो रङलाई शान्तिको प्रतिक पनि मानिन्छ । गौतमबुद्धलाई थारु अगुवाले थारु परिवारकै सदस्य मान्छन् । त्यही भएर गौतमबुद्धले शान्तिकामी अभियानको अगुवाई गरेको कतिपयको विश्लेषण छ ।

पहिरन र परिकार पनि सेतैः

थारु चेलीबेटीले सेतो रङको फरिया र गुन्यू लगाउने गर्छन् । चोली रंगीन हुने गरेपनि फरिया सेतो नै पहिरिने उहिल्यैदेखिको प्रचलन हो । दशैंमा नाचिने विशेषनाच सखियामा समेत नचनिया चेलीहरुले सेतो फरिया र गुन्यूको प्रयोग गर्छन् । आजभोलिका युवतिहरुले पुरानो संस्कारलाई खासै महत्व नदिएर पश्चिमा संस्कृतिको अनुशरण बढी गरेको देखिन्छ । अरु समुदायको देखासिकी गरेर रंगीविरंगी पहिरन लगाउन थालिएको छ । यद्यपि गाउँघरका अगुवाले अझै थारु सेतो पहिरनमै विशेष जोड दिनेगरेका छन् । सम्भवः भएसम्म सेतो फरियामै नचनियाहरुलाई सजाउने गरिन्छ ।

दशैंमा नभइनहुने परिकार हो ढिक्री । घरका सदस्यले परिकार खानुभन्दापहिले देवीदेवतालाई चढाउने प्रचलन छ । पितृ, देवतालाई पूजा गरिसकेपछिमात्र प्रसादकोरुपमा त्यसलाई ग्रहण गरिन्छ ।

दशैंमा नभइनहुने परिकार हो ढिक्री । घरका सदस्यले परिकार खानुभन्दापहिले देवीदेवतालाई चढाउने प्रचलन छ । पितृ, देवतालाई पूजा गरिसकेपछिमात्र प्रसादकोरुपमा त्यसलाई ग्रहण गरिन्छ । ढिक्री परिकार नयाँ चामललेमात्र तयार पारिन्छ । दशैंमा बनाउने ढिक्रीकालागि चाँडै फल्ने धान रोपिन्छ । सबैको घरमा नयाँ चामल उपलब्ध नभए सापटी, पैंचो मागेर पनि काम चलाउने प्रचलन थारु गाउँमा छ । थारु समुदायको देवीदेवता पनि काठ, फलाम र माटोले निर्माण गरिन्छन् । मैया (भगवती), शिव पार्वती, घोडाको आकारसमेत काठ र माटाले निर्माण गरिएका हुन्छन् । त्यसैले थारु समुदायले आफूलाई प्रकृतिपूजक मान्छ ।

 

दशैंमा बली दिइदैनः
 

थारु समुदायमा जीव जनावरको बध गरेर देवतालाई बली चढाइदैन । घरबारीमै फलेको कुपिण्डोको बलीदिने प्रचलन छ । अद्यापि धेरै गाउँमा कुपिण्डोकै बली दिइन्छ । दशैंको पूजा गर्नुअघि बारीमा फलेको कुपिण्डो खाने प्रचलन थारु समुदायमा छैन । पूजा गरेपछि मात्रै तरकारीकोरुपमा खानेगरिन्छ । तर अरुको देखासिकीमा अहिले कुखुरासम्मको बली चढाउने प्रचलन शुरु भइसकेको छ । थारु समुदायले दशैंलाई सम्बन्ध जोड्ने संगमकोरुपमा लिन्छन् । दशैंपूजा प्रकृतिसँग जोडिएको छ । धर्मशास्त्रीको विचारमा पृथ्वीका सबै जीवजन्तु बरावर हुन् । सबैको पीडा र दुःख समान छ । एकले अर्कोलाई मारेर, बधगरेर आफ्नो स्वार्थ पूरागर्नु सेवा होइन, कल्याण होइन । मानवले बनाएको त्यो त स्वार्थीभावना हो । त्यसले कहिल्यै चराचरजगतको कल्याण गर्दैन । शक्तिकीस्वरुपा जगतमाताले बली मागेकी थिइनन् । मानिसको स्वार्थ र अज्ञानताले बलीदिने प्रचलन शुरुभयो । यसको दोसी हामी मानव स्वयम् हौं । शास्त्रीय मान्यतामा ‘बली’ को अर्थ ‘उपहार’ हुन्छ । उपहारमा खीर, फलफूल, मिठाई, नरिवल, ढिक्री जे पनि हुनसक्छ ।

उनीहरुको जीवन प्रकृतिमै निर्भर थियो । माछामारेर जीवन धान्नेसँग माछामात्रै थियो । वनजंगलमा शिकार गर्नेसँग शिकार मात्रै र अन्न उब्जाउने किसानसँग अन्नमात्रै थियो । त्यसैले उनीहरु भगवानलाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गर्थे ।

भगवानको पूजागर्ने अधिकार धनी र गरिब सबैलाई समान छ । जोसँग जे छ, उसले त्यही उपहार देवतालाई चढाउन पाउँछ । उहिले मानिस जंगलमा घुम्थे । शिकार गरी जीवन निर्वाह गर्दथे । माछा मारेर जीवनगुजारा गर्दथे । त्यतिबेला उनीहरुसँग भगवानलाई चढाउने आजकोजस्तो चिजवस्तु थिएन । त्यसैले उनीहरु आफूसँग भएको सामान चढाएर देवताको पूजापाठ गर्दथे । उनीहरुको जीवन प्रकृतिमै निर्भर थियो । माछामारेर जीवन धान्नेसँग माछामात्रै थियो । वनजंगलमा शिकार गर्नेसँग शिकार मात्रै र अन्न उब्जाउने किसानसँग अन्नमात्रै थियो । त्यसैले उनीहरु भगवानलाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गर्थे । तर त्यसैलाई आधार मानी देवीदेवतालाई बली चढाउने प्रचलन मान्नुलाई मानवीय अज्ञानताकोरुपमा कतिपयले अथ्र्याउँछन् ।

थारुको देवीदेवताः
 

गुर्वावा (शीव) लाई सृष्टिकर्ताकोरुपमा मानिन्छ । मैया (भगवती), खेखरी (मैया), लागुबासु (नागदेवता), सौंरा (गणेश), डहरचण्डी (पार्वती), लटौ महादेव, ढमरज्वा (धर्मराज), मुराहा देवता (कृष्ण), जगन्नठ्या, धनचोर्वा, घोडा र भेडाको आकारको देवताको प्रतिक पनि थारुको मर्वा (देवता बस्ने घर), देहुरारको पातामा राख्ने प्रचलन छ । थारु गाउँको देवताहरु साझारुपमा बस्ने ठाउँलाई रजमर्वा भनिन्छ । जहाँ गाउँ भरिका सदस्यले दशैंमा सामुहिकरुपमा पितृपूजा गर्छन् । धुपबत्ती, ढिक्री प्रसाद चढाएर पूजा गरेर परिकारलाई प्रसादकोरुपमा चढाईन्छ । साझा देवतालाई पूजागर्दा सबैचिज नयाँ र चोखो चाहिन्छ ।

थारु गाउँमा दशैंकाबेला देवताको पातामा चढाउने सबै सामान नयाँ प्रयोग हुन्छ । दशैंमा चढाएको सामान बेटको लठ्ठी, बहर्नी (सिरुको कुचो), झोला, फलामको काँटा, माटाका घोडा, दियो, भित्तामा लगाउने पञ्जाको छाप एकवर्षसम्म कायम रहन्छ । त्यसलाई अर्को दशैंमा परिवर्तन गरिन्छ ।

Coutesy:hamarpahura.com


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook