सहरिया ‘स्पेस’ र आदिवासी जनजाति पहिचान

सहरिया ‘स्पेस’ र आदिवासी जनजाति पहिचान

आईतवार २३ बैशाख, २०७५   |   राजनीति

Print This   |   Font Size + -

कैलाश राई

कैलाश राई

काठमाडौं

सहरिया ‘स्पेस’ र आदिवासी जनजाति पहिचान

अहिले मुलुकको अधिकांश जनसंख्या र भूगोल शहरीकृत जीवनशैलीमा भिज्दै छ । आधुनिकता र विश्वव्यापीकरणको विशाल प्रक्रियामा समाहित हुने क्रम वेगवान् छ । सहरी ढाँचामा रुपान्तरण हुने तीब्र वेगमा मौलिक परम्परा र संस्कृतिहरुले पनि आधुनिकतामा मौलिकता मिश्रित वर्णशंकर स्वरुप ग्रहण गर्नु अस्वभाविक होइन । उपभोक्तावादी संस्कृति र अभ्यासमा मौलाउनु सहरको विशेषता हो । सहरको यस्तो विशेषतासँग तालमेल राख्ने दिनचर्याहरुमा आफ्नो मौलिक पहिचान, संस्कृति रअभ्यासलाई समेत जीवन्त राखीराख्ने चुनौतीसँग आदिवासी जनजातिहरु सँधै जुँधीरहेका छन् ।

 

आदिवासी जनजातिको साँघुरिदो ‘स्पेस’

आदिवासी जनजाति पहिचानबहुरुपी निश्चित फरकपन (भाषा, भेषभूषा, संस्कृति आदि) सहितको सामूहिकता, साझापन र प्रकृति (भूमि, जल, जमिन, जंगल आदि)को अन्तरसम्बन्धको मियोमा उनिएको हुन्छ । रोजगारी, शिक्षा, भौतिक सेवा सुविधा वा ‘राम्रो जीवन’ जिउने आदिका खातिर अनेक कारणवस गाउँबाट सहरतर्फको बसाईसराई बढ्दै गएको छ । उनीहरुको पहिचानजनित सामाजिक-सांस्कृतिक क्रियाकलाप र अभ्यासहरुको उपभोगको भौतिक, सामाजिक र राजनीतिक ‘स्पेस’ साँघुरिदै गएको छ ।

सहरी परिवेशमा ‘बाहिरीया’हरुका लागि त्यस्ता ‘स्पेस’हरु सहज रुपमा निर्माण र उपलब्ध हुन सकेका छैनन् । स्थानीय बासिन्दाका रुपमा रहीआएका नेवारहरुको समेत विभिन्न कारणवस निजी र सार्वजनिक, भौतिक र सामाजिक-सांस्कृतिक-राजनीतिक ‘स्पेस’हरु अतिक्रमणमा पर्दै खुम्चिदै गएका छन् ।

राज्यको शासकीय संयन्त्र, भौतिक वा सामाजिक-सांस्कृतिक संरचना र सोहीअनुकूलको मूलधारे अभ्यासको वर्चश्वले सहरी परिवेशमा ‘बाहिरीया’हरुका लागि त्यस्ता ‘स्पेस’हरु सहज रुपमा निर्माण र उपलब्ध हुन सकेका छैनन् । स्थानीय बासिन्दाका रुपमा रहीआएका नेवारहरुको समेत विभिन्न कारणवस निजी र सार्वजनिक, भौतिक र सामाजिक-सांस्कृतिक-राजनीतिक ‘स्पेस’हरु अतिक्रमणमा पर्दै खुम्चिदै गएका छन् । सहरी जीवनशैलीको तीब्र विकासक्रममा आदिवासी जनजातिहरुको स्वायत्ततामा ह्रास हुँदै गएको छ । तर स्वप्रेरित अवस्थामा रहेर आफ्नो पहिचान र सामूहिकतालाई धान्ने प्रयत्नमा रहेका छन् ।

 

पहिचान विस्तारको सार्वजनिक थलोको रुपमा टुँडीखेल

सहरी परिवेशमा काठमाडौँको मुटुमा रहेको टुँडीखेल एउटा यस्तो भौतिक र सामाजिक-राजनीतिक ‘स्पेस’ हो, जुन आदिवासी जनजातिहरुको साझापन वा सामुहिकताको पहिचानको एउटा अवयव (सामुहिक रुपमा चाड मान्ने)लाई अभ्यास गर्ने एउटा सार्वजनिक थलोको रुपमा उपलब्ध छ । आ-आफ्ना थातथलोबाट टाढा रहेकाहरुले यस्ता सार्वजनिक थलोहरुको प्रयोग सामुहिकताको पहिचानलाई विस्तार गर्ने गरेका छन् । आफ्ना सांस्कृतिक अभ्यासहरुका लागि एकतृत भइ आफ्नै एउटा समुदायको विकास गर्ने गरेका छन् । विश्वव्यापीकरण, राज्य र मूलधारको भारी प्रभावका प्रकोपको सामना गर्ने एउटा विकल्पको रुपमा त्यसलाई प्रयोग गर्ने गरेका छन् ।

जात-जातीयता विशेषको संस्कृतिकेन्द्री चाडमा सार्वजनिक बिदा हुनु र सहरको मुटुमा उपलब्ध सार्वजनिक थलोमा वर्षको केही दिन भेला भएर (औपचारिकदेखि अनौपचारिक विविध कार्यक्रम र क्रियाकलापहरुसहित)भव्यताका साथ चाड मान्नु उनीहरुको सामाजिक सांस्कृतिक सम्बन्ध वा पूँजी नवीकरण गर्ने एउटा कडी बनेको छ ।

त्यो थलो उनीहरुको लागि व्यक्ति र उपभोगवादी जीवनशैलीको प्रभुत्वमाझ आफ्नो अस्तित्व र पहिचानको मौलिकतालाई जीवन्त राख्ने; आफ्नो पहिचानजनित सांस्कृतिक-सामाजिक अभ्यासहरुको भोगचलन गर्ने र ‘आफू हुनु’को बोध गर्ने एउटा माध्यम बनेको छ । जात-जातीयता विशेषको संस्कृतिकेन्द्री चाडमा सार्वजनिक बिदा हुनु र सहरको मुटुमा उपलब्ध सार्वजनिक थलोमा वर्षको केही दिन भेला भएर (औपचारिकदेखि अनौपचारिक विविध कार्यक्रम र क्रियाकलापहरुसहित)भव्यताका साथ चाड मान्नु उनीहरुको सामाजिक सांस्कृतिक सम्बन्ध वा पूँजी नवीकरण गर्ने एउटा कडी बनेको छ । रुपान्तरण प्रक्रियाका अभ्यासकर्ताहरुको रुपमा उनीहरुको त्यस्ता अभ्यासहरुमार्फत् संस्कृतिको आन्तरिकीकरण तथा केही हदसम्म पुस्तान्तरण र बाह्यकरण वा समाजमा एक तहको पहिचान विस्तार गर्ने काम गर्दै आएका छन् ।

 

पहिचान आन्दोलनले बनाएको सामाजिक-राजनीतिक ‘स्पेस’ र ‘स्पेस’ भर्ने प्रवृत्ति

त्यस्तै प्रायः सहरकेन्द्री आदिवासी जनजातिका सामाजिक संघसंस्था र त्यसैको बलमा चलेको आन्दोलनले बनाएको सामाजिक-राजनीतिक ‘स्पेस’ उनीहरुसँग छ । आदिवासी जनजातिहरुको पहिचानको आन्दोलन, क्रियाकलाप र अभ्यासहरु विविधतालाई पनि समरुपी भएको बुझाई राखेर गरिने व्यवहारको विरुद्धमा र विश्वव्यापीकरण प्रक्रियाको विपरित भएको देखिन्छ । तर कतिपय उनीहरुका सामूहिक क्रियाकलापहरु मौलिक र समानतामूलकभन्दा बढी यान्त्रिक, लैंगिक र ‘हाइरार्किकल’ संरचना उन्मुख हुँदै गएका छन् । रुपान्तरण प्रक्रियाका जोसुकै अभ्यासकर्ताले नेपाली समाजको विविधतालाई फरक-फरक तह र स्वरुपमा भएपनि स्वीकार गर्ने गरेका छन् । तर, त्यही विविधताकै चक्रभित्र जकडिएको होचो-अर्घेलो सामाजिक संरचनागत धरातललाई गहन, विस्तृत र सुक्ष्म रुपमा नबुझी यस्ता ऐतिहासिक-सामाजिक-सांस्कृतिक अभ्यासहरु फूर्सदमा गरिने मनोरञ्जनात्मक क्रियाकलाप वा ‘रिफ्ररेसमेन्ट’ को रुपमा मात्रै लिने प्रवृति अझैँ बलियो छ ।

टुँडीखेलमा मनाइने चाडबारे छापाले उपलब्ध गराउने स्थान र त्यो स्थान पूर्तिको लागि प्रयोग गरिने सामाग्रीमा अधिकतर एक हरफको क्याप्सन, केही हरफको समाचारसहित मौलिक भेषभूषा पहिरिएकी युवती वा महिला हुनु त्यस्तै प्रवृतिको देन हो ।

त्यस्तो प्रवृतिमा उनीहरुको पहिचानको वास्तविक धरातल र सवालहरुसम्म पुग्ने थुप्रै तह र पक्षहरुबारे सचेत हुन आवश्यक ठानिदैन । टुँडीखेलमा मनाइने चाडबारे छापाले उपलब्ध गराउने स्थान र त्यो स्थान पूर्तिको लागि प्रयोग गरिने सामाग्रीमा अधिकतर एक हरफको क्याप्सन, केही हरफको समाचारसहित मौलिक भेषभूषा पहिरिएकी युवती वा महिला हुनु त्यस्तै प्रवृतिको देन हो । विविधा वा समावेशीको नाममा उपलब्ध भएको ‘स्पेस’मा आउने त्यस्ता संस्कृति झल्किने सामाग्रीहरुको रुपमा प्रयोग गरिने महिलाका तस्बीरहरुले उनीहरुको वास्तविक सवालहरुलाई ढाकछोप गर्ने आवरणको काम गर्ने गरेको छ । त्यस्तै सहरकेन्द्रीत पहिचानवादी क्रियाकलाप वा आन्दोलनहरुमा समुदायका महिलाहरुलाई उनीहरुको विशिष्ट सवालगत धरातलबाट हैन संस्कृतिको जगेर्ना र प्रदर्शन गर्ने ‘कल्चरल एमबास्डर’ वा मौलिक संस्कृति जोगाउने उत्तरदायित्व ‘बोक्ने’हरुको रुपमा अघि सार्ने प्रवृति देखिन्छ ।

सामाजिक न्याय र लैंगिक समताको सिद्धान्त अवलम्बन गर्ने क्षेत्र र जमातवीच समेत समावेशीताको प्रक्रियागत औपचारिकता निर्वाहको औजारका रुपमा त्यो जनसंख्याको उपयोग गरेर सामाजिक-राजनीतिक ‘स्पेस’ भर्ने प्रवृति छ । यस्ता प्रवृत्तिले पितृसत्ता, लैंगिक असमानतालाई दह्रोसँग बल दिने र उपभोक्तावादलाई समेत मलजलगर्ने गर्छ । यो आदिवासी जनजाति पहिचानको केही हदसम्म स्वीकार्यको संकेत हो । तर, यो उनीहरुको पहिचानकेन्द्री सहरी वा आधुनिकतावादी यथार्थको सन्दर्भमा एउटा खतरनाक कुरा पनि हो ।

 

आदिवासी जनजाति पहिचानको सीमितता र चुनौती  

धेरै अभियान र आन्दोलनहरु सहरबजारकेन्द्री भए भन्ने चर्को स्वरहरु सुनिन्छन् । त्यसको एउटा पक्ष, सहर र गाउँबीचको सम्बन्धसेतु निर्माणको कडी अझै झिनो छ । त्यो झिनो कडीले गाउँले विशेषता सहरमा भित्र्याउने अनुपातभन्दा कैयौँगुणा बढी सहरीकृत विशेषताहरुको प्रभावहरु गाउँमा फैलिन सहज भएको छ । अथवा, अभियान र आन्दोलनहरुको माध्यमहरुबाट आदिवासी जनजाति पहिचान र सांस्कृतिक अभ्यासहरुको न उचित आन्तरिकीकरण भइरहेको छ न त बाह्यकरण नै ।

पछिल्लो समय खासगरी नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वको प्रभावस्वरुप सहरीकरणको विकासमा मात्रै हैन आन्तरिक र बाह्य बसाइसराइ, युवा बेरोजगारी र सहरी गरिबीको व्यापक वृद्धि हुन पुग्यो । बसाइसराइ, बेरोजगारी र शहरी गरिबीबाट प्रभावित एउटा ठूलो जमात वैदेशिक रोजगार र, वेचविखनमा पारिने र पर्नसक्ने उच्च जोखिममा पनि सँधै रहँदैआएकादेखि मनोरञ्जनका क्षेत्र (लोक दोहोरी, रेष्टुरेन्ट, डान्सबार आदि)मा संलग्न हुन पुगे । यी क्षेत्रहरुमा संलग्नहरुको ठूलो संख्या राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आदिवासी जनजाति पहिचानको भागीदार र विस्तारकर्ता दुबै हुन् । असमान र विभेदित राज्य र सामाजिक संरचनाहरुमा पहिचान अंकित गरि देखाइदा वा नदेखाइ पनि जनजाति पहिचानको राम्रा नराम्रा दुबैखाले प्रभावको भागीदार हुनुको विकल्प उनीहरुसित छैन ।

गाउँले विशेषता सहरमा भित्र्याउने अनुपातभन्दा कैयौँगुणा बढी सहरीकृत विशेषताहरुको प्रभावहरु गाउँमा फैलिन सहज भएको छ । अथवा, अभियान र आन्दोलनहरुको माध्यमहरुबाट आदिवासी जनजाति पहिचान र सांस्कृतिक अभ्यासहरुको न उचित आन्तरिकीकरण भइरहेको छ न त बाह्यकरण नै ।

सहरी जीवनशैली र आधुनिक मापदण्ड अनुरुप उनीहरु कम योग्यता भएका अशिक्षित, व्यवसायिक एवं राजनैतिक चरित्र, चेत र खुबी कम भएका निम्त स्तरका वा स्तरहीन श्रमिकको कोटीमा पारिइन्छन् । त्यस्तो स्तरीकरणले आदिवासी जनजातिहरु मूलतः सहरी आधुनिक राजनीतिक-सामाजिक परिवेशमा अशिक्षित, कम योग्य वा सीपविहिन श्रमिक (जसले मालिकले अह्राएको काम मात्रै गर्ने खुबी राखे पुग्छ) र मनोरञ्जन कार्यको लागि (पितृसत्तात्मक सोचबाट हेर्दा विशेषतः महिलाहरु यौनको मामिलामा स्वतन्त्र हैन स्वच्छन्द हुन्छन् भन्ने सोचका कारण पनि)उपयुक्त हुन्छन् भन्ने सोच राखेर सोहीअनुरुपको छवि निर्माण र विस्तार गरिइएको छ । त्यस्तो छवि विस्तारको कामलाई आधुनिक जीवनशैलीमा गरिँदै आएको उनीहरुको वस्तूकरण प्रक्रियाले निकै टेवा दिँदै आएको छ । बडो चुनौतीपूर्ण कुरो, यी सबै प्रक्रियामा अकाट्य ढंगले समाहित आदिवासी जनजाति समुदायको कुनैपनि खालको आन्दोलन भने यी पक्ष र समूहहरुसँग जोडिन सकेकै छैन । 

 

बढ्तै चुनौती

सहरको जुनसुकै क्षेत्र र निकायमा उपलब्ध भएका अवसर र ‘स्पेस’हरुको दाँजोमा उनीहरुले बेहोर्नुपर्ने कठिनाई, चुनौती, विभेदहरुलाई राज्य संयन्त्र र संरचनागत तवरले नै संस्थागत गरि दह्रोसँग स्थापित गरिएको छ । त्यसैले धेरथोर उपलब्ध ‘स्पेस’हरुको बाबजुद ठोस उपलब्धी र अपेक्षाकृत नतिजा प्राप्त गर्न सहज भने छैन । उपलब्ध सेवा सुविधाभन्दा आवश्यकता र बाध्यताहरु उनीहरुसँग बढ्तै छन् । सामुदायसँग रहेको समानता, स्वायत्तता र सामूहिकताविरुद्धमा संरचनागत विभेद, उनीहरुको व्यक्तिगतदेखि सामूहिक जीवनलाई अंकुश लगाउने राज्यको शासकीय स्वरुप र ‘फुटाऊ र राज गर’को नीति दह्रोसँग उभिइएको छ । विकल्प र योजनाहरुभन्दा बढी चुनौती र अलमलपन हावी छ ।

पहिचान आन्दोलनका अभियन्ता उपलब्ध ‘स्पेस’ र त्यसको उपयोगबारे सचेत हुन जरुरी छ । सहरमा आएपछि नयाँ सामाजिक-सांस्कृतिक सम्बन्धहरु बन्छन् । ती सम्बन्ध आफैमा पूँजी हुन् । त्यसले आधुनिक वर्णशंकर सांस्कृतिक अवयव निर्माण गर्ने मौका त दिन्छ । तर, आन्दोलनका अभियन्ताले आफुले प्राप्त गरेको पूँजीलाई वर्णशंकर संस्कृति निर्माणमा सीमित राखे भने त्यो आत्मघाती हुनेछ ।

 

(साभारः अन्नपूर्ण पोष्ट, १६ औँ वार्षिकोत्सव सहर विशेष परिशिष्टाङ्क, २० वैशाख २०७५, पृष्ठ-४२ )


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook