खशहरुमा रहेको भ्रम र यथार्तता

आईतवार २५ कार्तिक, २०७५   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

खशहरुमा रहेको भ्रम र यथार्तता

कृष्ण बहादुर थापा

 

जब जब खशहरुले आफ्नो जातीय पहिचानका, धर्म, भाषा तथा सांस्कृतिक परम्पराको संरक्षण तथा खश आर्यको टोकरी बाट खशलाई पृथक गरेर संविधानले दिएको आरक्षणको अधिकार खशले पाउनु पर्छ भन्ने कुराको उठान गर्छन तब तब सत्तामा संधै कब्जा जमाउदै आएका केहि टाठा बाठा आर्यहरुले महान वाणी फलाक्न थाल्छन ! जातीय राज्य राम्रो हैन यसले बिखण्डन ल्याउँछ भन्ने गर्छन ! त्यहि फटाँई कुराको पछि लागेर केही खशका स्वघोषित विद्वानहरु त्यस फटाँईलाई सोझासाझा खशहरुको माझ जोरसोर साथ फैलाउने कार्यमा व्यस्त हुन् सुरु गर्छन ! विभिन्न स्वार्थ बोकेर ठुला दलका दासत्व स्वीकार गरेका केही खशका विद्वानहरु मुख खोल्न सक्दैनन् ! रोजेको वा खोजेको पद पाइन्न भन्ने डरले उनीहरुको मुखमा ताल्चा लागेको छ ! यस सन्दर्भमा नेपालका प्रसिद्ध विद्वान र राजनीतिज्ञ प्रदिप नेपालले आफ्नो रचना “हाम्रो इतिहासको आरम्भ हिमवत्खण्ड” मा निम्न अनुसार वर्णन गर्नु भएको छ :

“पछिल्ला दिनमा नेपाली विद्वानको विद्वता पढ्दा मलाई लाज लाग्न थालेको छ ! यिनीहरू के साँच्चिकै नेपाली इतिहासकार हुन् ? मेरो विश्वास हो – यिनीहरूलाई आफ्नो देशको इतिहास थाहा छैन ! यिनका ज्ञानका स्रोत भएका छन् सिल्वाँ लेभी लगायतका पश्चिमा इतिहासकारहरू ! हाम्रो देशको इतिहास के पश्चिमाहरूले लेखिदिएको चौहद्दीभित्र मात्र छ ? तिनैबाट ज्ञान लिएका हाम्रा विद्वानहरूले त्यसैले राष्ट्रिय एकीकरणपछिका सबै नेपाली आदिवासी हुन् भनेर संविधानसभाले तोकेको होला ! योभन्दा लज्जाजनक ज्ञान अरु के हुन्छ ? हाम्रै देशका विद्वान र राजनीतिक पण्डितका कारण हामी नेपालीको पाँच हजार वर्षको इतिहास पाँच सय वर्षमा झारियो (नेपाल, प्रदिप : वि.स. २०७५ : पृष्ठ १-२) !”

अन्तराष्ट्रिय कानुनी मान्यता अनुसार आदिवासी वा जनजातिमा सुचिकृत हुन् ६ वटा मापदण्ड हुन् आवश्यक पर्छ ! जुन सिद्धान्तलाई चर्चित विद्धवान स्मिथ, एन्थोनीले सन् १९८६ मा लेख्नु भएको पुस्तक “द इथ्निक ओरिजिन्स अफ नेसन्स” मा प्रतिपादन गर्नु भएको थियो ! ती ६ वटा मापदण्ड निम्न अनुसार रहे को छ :

“१. एक सामूहिक जाति , २. वंशक्रम भएको जाति , ३. विशेष संस्कृति भएको जाति, ४. लिखित वा अलिखित इतिहास भएको जाति, ५. आफ्नो विशेष भूमि वा क्षेत्र भएको जाति, ६. हामी भन्ने (एकजुटताको) भावना भएको जाति (स्मिथ, एन्थोनी : सन् १९८६ : पृ. ३२) !”

जब जब खशहरुले आफ्नो जातीय पहिचानका, धर्म, भाषा तथा सांस्कृतिक परम्पराको संरक्षण तथा खश आर्यको टोकरी बाट खशलाई पृथक गरेर संविधानले दिएको आरक्षणको अधिकार खशले पाउनु पर्छ भन्ने कुराको उठान गर्छन तब तब सत्तामा संधै कब्जा जमाउदै आएका केहि टाठा बाठा आर्यहरुले महान वाणी फलाक्न थाल्छन !

यस मापदण्डको बारेमा अक्सफोर्ड यूनिवर्सिटीका विख्यात प्रोफेसर डी.एन. गेलनरले पनि आफ्नो चर्चित पुस्तक “नेसंलिजम एंड इथ्निसिटी इन् नेपाल” मा ६ वटा मापदण्ड मध्ये कम्तिमा ४ वटा (वंशक्रम भएको, विशेष संस्कृति भएको, लिखित वा अलिखित इतिहास भएको,  आफ्नो विशेष भूमि वा क्षेत्र भएको) मापदण्ड भएमा पनि आदिवासी वा जनजातिमा सुचिकृत हुन् सक्छन भनि वर्णन गर्नु भएको छ (गेलनर, डी.एन. : सन् २००८ : पृ. १४) !”

त्यस्तैकिसिमले नेपाल सरकारको कानुन “आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८” द्वारा मान्यता प्राप्त “आदिवासी जनजाति महासंघ (NEFIN)” को विधान अनुसार आदिवासी वा जनजाति को रुपमा सुचिकृत हुन् “हिन्दु वर्णाश्रमका चार वर्ण भित्र नपर्ने जाति” मात्रै सुचिकृत हुन् पाउने प्रावधान छ !

अन्तराष्ट्रिय कानुनी मान्यता अनुसारको ६ वटै मापदण्ड पुग्ने एकमात्र जाति “खश” हो ! जसले गर्दा “खश”हरुले आदिवासी जातिमा सुचिकृत हुन् “प्राचिन इतिहास काल देखिको हामि खश जाति, वंशक्रम भएको, विशेष धर्मसंस्कृति (मष्टोपूजक) र धामी परम्परा भएको, प्राचिन लिखित इतिहास भएको, प्राचिन इतिहास काल देखिको आफ्नै विशेष भूमि वा क्षेत्र (खशान राज्य) भएको तथा हामी भन्ने (एकजुटताको) भावना भएको कुराको उठान गर्ने पर्ने हुन्छ !

स्वदेशीय कानुनी मान्यता अनुसार पनि सबै मापदण्ड पुग्ने जाति “खश” भएकोले तथा आदिवासी जातिको रुपमा सुचिकृत हुन् “आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८” द्वारा मान्यता प्राप्त “आदिवासी जनजाति महासंघ (NEFIN)” को सिफारिश आवश्यक पर्ने हुनाले खसहरुले आफूहरु “प्राचिन इतिहास काल देखिको हामि खश जाति, वंशक्रम भएको, विशेष धर्मसंस्कृति (मष्टोपूजक) र धामी परम्परा भएको, प्राचिन लिखित इतिहास भएको, प्राचिन इतिहास काल देखिको आफ्नै विशेष भूमि वा क्षेत्र (खशान राज्य) भएको तथा हामी भन्ने (एकजुटताको) भावना भएको कुराको उठान गर्ने पर्ने हुन्छ !

खशहरुले “आदिवासी जाति” मा सुचिकृत हुनको निम्ति खश, खशान र मष्टो धर्म धामी संस्कृति भएको सत्य कुरा गर्दा “जातिय राज्य र बिखण्डनवादका कुरा” भनेर उनीहरुको मागलाई राज्यले लत्याउन न्यायसंगत हुदैन ! खशहरुले खशान क्षेत्रको पहिचान खोज्दा जातीय राज्य माग्यो भन्न मिल्दैन I

अब खशहरुले “आदिवासी जाति” मा सुचिकृत हुनको निम्ति खश, खशान र मष्टो धर्म धामी संस्कृति भएको सत्य कुरा गर्दा “जातिय राज्य र बिखण्डनवादका कुरा” भनेर उनीहरुको मागलाई राज्यले लत्याउन न्यायसंगत हुदैन ! खशहरुले खशान क्षेत्रको पहिचान खोज्दा जातीय राज्य माग्यो भन्न मिल्दैन I स्वायत्तता, परराष्ट्र, रक्षा र अर्थ केन्द्र कै मातहत रहने गरी आफ्नो पहिचान खोज्नु बिखण्डन हुदैन ! बेलायत लगायत थुप्रै देशमा यो पद्दति लागु छ ! स्कटल्याण्ड, वेल्स र नोर्दन आएरलेन्ड मा स्वायत्तता, परराष्ट्र, रक्षा र अर्थ केन्द्र कै मातहत रहने गरी जातीय पहिचान दिइएको छ ! खशहरुले छुट्टै जातीय राज्य खोजेको हैन ! वर्तमान संविधान को धारा ५६ (५) मा उल्लेखित “सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने छ” को कानुन अनुसार खशहरुले आफ्नो जातिय पहिचान, खश भूमिको पहिचान खोजे को हो (साभारः नेपालको संविधान २०७२) ! आफ्नो क्षेत्र, आफ्नो धर्म, आफ्नो संस्कृति तथा परम्परा को पहिचान तथा संरक्षण खोजे को हो !

जातीय राज्यको कुरा गर्ने हो भने २००७ साल देखि वर्तमान सम्म एउटै आर्य जातिले जातीय राज्य गर्दै आएको तथ्य सबैले बुझेर पनि बुझ पचाई रहेका छन् ! विगत देखि वर्तमान सम्म समावेशीको नाम जप्दै आआफ्नो दल को साथसाथै नेपाल राज्यमा एउटै जातिले जातीय राज्य कायम गरेको कुरा छर्लंग छ ! ४४१ जना सदस्यीय भएको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा १६० जना आर्यहरु छन् ! ४५ जना सदस्यीय भएको स्थाई समितिमा २६ जना आर्यहरु छन् र ९ जना सदस्यीय भएको सचिवालयमा ७ जना आर्यहरु मात्रै छन् ! कानुन बमोजिम ३३% महिलाहरु केन्द्रीय समितिमा सहभागिता हुनु पर्ने तर १६% मात्र महिलाहरुलाई राखिए को छ ! कानुनले सुरक्षित गरेको महिला अधिकार कहाँ छ ! (साभार: वेभसाइट – नेपाल कम्युनिष्ट पार्टी) ! कहाँ छ विधि विधान ले दिएको समावेशिता र जातीय जनसंख्या अनुसारको प्रतिनिधित्व यहाँ ! यही कथा नेपाली कांग्रेसमा पनि दोहोरिएको छ (साभार: वेभसाइट – नेपाली कांग्रेस पार्टी)! नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको संरचनाबारे केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले निम्न अनुसार प्रष्ट पार्नु भएको छ :

“कांग्रेसको ८० सदस्यीय केन्द्रीय कार्यसमितिमा ११ जना आदिवासी जनजाति छन्, उनीहरुमध्ये चार जना गुरुङ छन् भने नेवार तीनजना छन् । तामाङ र लिम्बू एक/एक जना छन् । थकाली एकजना छन् । तर, जनजातिमा सबैभन्दा ठूलो हिस्सा (७.१२ प्रतिशत जनसंख्या) भएको मगर समुदायका एकजना पनि छैनन् कांग्रेसमा । पूर्वमा बाहुल्य रहेको राई समुदायको पनि कांग्रेस केन्द्रीय कार्यसमितिमा उपस्थिति शून्य छ (आङदेम्बे, भीष्मराज : वि.स. २०७५ : पृ. १) !”

पूर्व एमालेमा पनि आर्यहरुको बहुमत रहेको र पूर्व एमालेलाई आर्यहरुको पार्टी भनेर चिनिन्थ्यो (साभार: वेभसाइट – एमाले पार्टी) !

विगत ११ वर्ष देखि खशहरु आदिवासीमा सुचिकृत हुन् आन्दोलित छन् तर राज्यले लत्याएको लत्याई राखेको छ ! त्यसैले खशहरु राज्यको सबै भन्दा उत्पीडनमा परेको छन् ! केहि राहत पाउन खश आर्यको टोकरीबाट खशहरुलाई मुक्त गरेर आफ्नो जनसंख्या अनुसारको १६.६% को भाग छुट्टयाइ देउ भन्दा पनि जानाजान अटेर गर्ने काम आर्यहरुबाट भै रहेको छ ! खश र आर्य बेग्लाबेग्लै जाति हो तर आर्यहरु बलजफ्ती खशको आवरण भिरी रहेका छन् ! यस सत्यतालाई नेपालका प्रसिद्ध विद्वान र राजनीतिज्ञ प्रदिप नेपालले आफ्नो रचना “हाम्रो इतिहासको आरम्भ हिमवत्खण्ड” मा दरो-खरो रुपमा खश र आर्य बेग्लाबेग्लै भएको निम्न अनुसार निष्पक्षतापूर्वक पुष्टि गर्नु भएको छ :

पूर्व एमालेमा पनि आर्यहरुको बहुमत रहेको र पूर्व एमालेलाई आर्यहरुको पार्टी भनेर चिनिन्थ्यो

“नेपाली विद्वानहरूले छरेको अर्को भ्रम हो खशआर्य । अर्थात्, उनीहरूको विश्लेषणमा खश र आर्य एकै हुन् । योभन्दा ठूलो अज्ञान नेपालमा केही पनि छैन । नेपालका थोरै र भारतका धेरै विद्वानहरूले खश आर्यबीच आकास जमिनको फरक भएको ज्ञान पस्किएका छन् । ककेसियाबाट झण्डै छ हजार वर्ष पहिले एउटा समूह मानसरोवरको बाटो हुँदै जुम्ला झरयो । त्यसलाई नेपाली खश र त्यहाँको भूमिलाई खशान भनियो । यिनीहरूको कुनै धर्म थिएन । उनीहरू वर्षको एकपल्ट मस्टो पूजा गर्थे । मस्टो निराकार सत्य हो । आफ्नो फरक अस्तित्वलाई जनाउन उनीहरू वर्षको एकपल्ट गोठधूप गर्थे । यसलाई कुलपूजा पनि भनिन्छ । यो कुलपूजामा पनि कुनै देवी देवता हुँदैनन् । समूहमा भेला भएर, लोहोरो जस्तो लाम्चो ढुंगाको पूजा गरेर उनीहरू कुलपूजा मनाउँछन् । किराँतसँगै यिनीहरूको नेपाल बसोबासको इतिहास पनि पाँच हजार वर्षभन्दा पुरानो छ । किराँत र खशहरूको नेपालमा उपस्थिति वैदिक कालभन्दा धेरै पुरानो छ । आर्यहरू इरानबाट पूर्वदक्षिण लागेका हुन् । सिन्धु घाँटीको उन्नत सभ्यतालाई पराजित गरेर दक्षिण लागेको समूह नै अहिलेका आर्य हुन् । इशाको पाँचौं शताब्दीमा आर्यहरू आफ्ना महागुरु शंकराचार्यसँग कैलाश दर्शन गर्दा पश्चिम नेपालको बाटो उत्तर लागे । शंकराचार्य आफ्नै पिठतिर फर्किए । तर बाठा आर्यहरूलाई नेपालको सुन्दर, शीतल, जडिबुटी र रसिला फलफूलहरूले लोभ्यायो । युद्ध त उनीहरूको रगतमै थियो । आफूभन्दा बलिष्ठ शक्तिलाई हराउने इन्द्रका सन्तानहरूले खश राज्य पटापट खाइदिए । खशहरू उनीहरूका लागि अनार्य थिए । शत्रु थिए । त्यसैले आर्यावर्त भन्ने शब्दले नेपाललाई वेष्टित गर्दैन । नेपालमा आर्य पनि छन् । अहिलेसम्म शक्तिशाली पनि छन् । राज्य गर्न राजाको सल्लाहकार या पुरोहित हुन सजिलो हुने भएकोले उनीहरूले आफूलाई राजगुरुमा पदासिन गराउँदै राज्यको उपभोग गरे । यो परम्पराले सत्र शताब्दी खाइसकेको छ । आर्यहरूले नेपाल भित्रिँदासम्म एक डङ्गुर देवदेवीहरू जन्माइसकेका थिए । धर्मको आडमा शासन गर्न सजिलो हुन्छ भन्ने ज्ञान उनीहरूसँग थियो । भक्तिमार्गमा लाग्नेहरू स्वर्गमा बास पाउँछन् भन्ने शिक्षा यिनै आर्यजनले दिएका हुन् । हिन्दू धर्मका तेत्तीस कोटी देवता जन्माउने पनि यिनै आर्यपुरुष हुन् । चित्त नदुखोस् कसैको । सत्य तीतो हुन्छ । खशहरू ककेसियाबाट पूर्व लागेर जुम्ला छिरेका हुन् भने उपत्यकाबाट पूर्व खेदिएका किराँतहरू ह्वाङ्हो सभ्यताका उपज हुन् । ...............। नेपाल भारतवर्षको अंग होइन । जतिबेला भारत थिएन, त्यतिबेला पनि नेपाल थियो भन्ने सत्य महाभारतले पनि पुष्टि गर्दछ । महाभारतमा गान्धार थियो जो अहिले अफगानिस्तानमा पर्दछ । कुरुक्षेत्र भारतभित्रै थियो होला तर नेपाल भन्ने राज्य त्यतिबेला पनि एउटा स्वतन्त्र र आत्मनिर्भर राज्य थियो । किराँत त्यो राज्यको शासक थियो । अर्थात् आर्य र खशहरू एकापसमा गाभिने जाति समुदाय होइनन् । यिनी एकआपसमा जुध्ने शत्रु समुदाय हुन् । यिनलाई एकैठाउँ मिसाउनु भनेको घाम र हावा एउटै हुन् भन्नुजस्तै हो (नेपाल, प्रदिप : वि.स. २०७५ : पृष्ठ १-२) I”

यसै सन्धर्भमा प्रख्यात इतिहासकार प्रा.डा. सुरेन्द्र के.सी. ले पनि आफ्नो लेख “नेपालको जातीय प्रश्न र अहिलेका चुनौती" मा स्पष्ट रुपले "खश-आर्य समानान्तर हुन् कि पृथक ?  भन्ने शीर्षक अन्तर्गत निम्न सत्य तथ्य कुराहरुको वर्णन गर्नु भएको छ :

देशको समग्र इतिहास हेर्दा आर्य र खश समानार्थी होइनन्, बेग्लाबेग्लै हुन् ! यसरी नै तिनको नेपाल आगमन प्रक्रिया पनि बेग्लाबेग्लै कालावधि र प्रक्रियाबाट सम्पन्न भएको देखिन्छ !

“देशको समग्र इतिहास हेर्दा आर्य र खश समानार्थी होइनन्, बेग्लाबेग्लै हुन् ! यसरी नै तिनको नेपाल आगमन प्रक्रिया पनि बेग्लाबेग्लै कालावधि र प्रक्रियाबाट सम्पन्न भएको देखिन्छ ! आर्य (बस्तुत: क्षत्री-ब्राह्मण) कम्तिमा इश्वीको आरम्भिक शताब्दीमा काठमाडौँ उपत्यका छिरे भने खशहरु पाँचौं-छैटौं शताब्दीतिर मात्र कर्णाली उपत्यकामा प्रवेश गरे I समयक्रममा अघिल्लोले उपत्यकामा लिच्छवी वंशको आर्य सभ्यता निर्माण गरे भने खशहरुले सुदूरपश्चिममा बिशाल खश साम्राज्यको जग बसाले  ! आर्यहरु हिन्दु पूजाविधि र संस्कार-संस्कृतिका उपासक थिए भने खशहरु प्रकृति र मष्टोपूजक धामी परम्पराका उपासक थिए ! जसको आफ्नै भाषा, भेग, मस्टो धर्म, धामी संस्कार र  इतिहास छ र महत्वपूर्ण कुरा तिनीहरु मद पनि ग्रहण गर्ने भई मतवाली खशपनि कहलिइन्थे I समयक्रममा बिशाल खश साम्राज्य बाइसे र चौबीसे राज्यमा विखण्डित भयो भने यस हिमाली भूभागमा हिन्दुकरणको प्रक्रिया तीव्र बन्यो I यही कुरा भाषा र धर्मको हकमा पनि तीव्र बन्यो I कालान्तरमा यी दुई समूहबीचको लक्ष्मण-रेखा नै मेटिन जाँदा आजको स्थिति उत्पन्न भएको हो I प्राचिनताको दृष्टिले निश्चय नै क्षत्री-ब्राह्मण (आर्य) सर्वप्राचिन अर्थात किरात पछिको समूह देखिन्छ I तर यसको तात्पर्य आर्य र खश एउटै वा समानान्तर समूह हुन् भन्ने चाहिँ सत्य नजिक देखिन्न I यस्तोमा राज्यमा सहभागिताको सन्दर्भमा यिनलाई एउटै 'खश-आर्य' को टोकरीमा नराखी पृथक खश र ब्राह्मणको श्रेणीमा राखेर समावेशीताको पृथक मापदण्ड अपनाउनु पर्ने देखिन्छ I व्यवहारिकतामा जाँदा खश र क्षत्रीलाई एकै ठाउँमा राखेपनि खश-आर्य लाई चाहिँ कदापि एउटै टोकरीमा राख्नु उचित हुने छैन I यसको तात्पर्य सेवाका सम्पूर्ण तहमा खश-क्षत्री १६.५९ प्रतिशत अनि ब्राह्मण १२.१७ प्रतिशत, टनटै साफ (के.सी. सुरेन्द्र : वि.स. २०७४ : पृष्ठ १२ र १३) !”

आइ.एल.ओ. १६९ को धारा १ को उपधारा २ ले दिएको हक बमोजिम“खश समुदाय ‘आदिवासी’ हो भन्ने स्व-पहिचान को अधिकार प्रयोग गर्न पाइन्छ त्यसलाई मध्येनजर गर्दै खश,खशान, मष्टो धर्म र धामी परम्पराको पहिचानको माग गर्नु उचित तथा जायज ठहरिन्छ ! आइ.एल.ओ. १६९ को धारा १५ को उपधारा १ ले दिएको हक अनुसार खशहरुको जल, जमिन, जङ्गल र जडिबुटीमाथिको अधिकार सुनिश्चित हुनु पर्छ ! आइ.एल.ओ. १६९ को धारा १५ को उपधारा २ले दिएको हक अनुसार खशान क्षेत्रभित्र रहेका प्राकृतिक सम्पदा (जल, जमिन, जङ्गल र जडिबुटी) राज्यले आफ्नो स्वामित्वमा लिइ अन्य पार्टीसित सन्धि सम्झौता गर्दा खशहरुको प्रतिनिधत्व गराइ, छलफल गरी उनीहरुले पाउनु पर्ने सम्पूर्ण सुबिधा उपलब्ध गराउनु पर्ने हुन्छ तर दुर्भाग्य अझसम्म खशहरुलाई पूर्णरुपले बेवास्ता गरिएको छ !

आदिवासी जातिको रुपमा सुचिकृत नभई आरक्षण, आफ्नो जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायत जल, जमिन, जङ्गल र जडिबुटीमा पाइने सुविधा बाट वन्चित भएकोले खशहरु राज्यको उत्पीडनमा परेका छन् !

आदिवासी जातिको रुपमा सुचिकृत नभई आरक्षण, आफ्नो जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायत जल, जमिन, जङ्गल र जडिबुटीमा पाइने सुविधा बाट वन्चित भएकोले खशहरु राज्यको उत्पीडनमा परेका छन् ! बाबु-आमाले दुख कष्ट सहेर छोरा-छोरीहरुलाई राम्ररी पढाएको व्यर्थ भै रहेको छ ! ८०% (मेरिट) भन्दा बढी अंक ल्याएर पनि खश आर्यको आरक्षण एउटै टोकरीमा राखेको हुँदा आर्यहरुले मात्र त्यो आरक्षणको एकलौटी प्रयोग गरेको हुँदा खसका छोराछोरीलाई डाक्टर, इन्जिनियर तथा उच्च शिक्षा बाट वन्चित हुनु परेको छ तर यो सत्यतालाई खशहरुले बुझ्दा बुझ्दै पनि बुझ पचाई रहेका छन् ! खश आर्यको आरक्षण एउटै टोकरीमा राखेको हुँदा तथा आर्यहरुले मात्र त्यो आरक्षणको एकलौटी प्रयोग गरेको हुँदा जागिर पाउन, पदोन्नती तथा राजनैतिक समावेशिताबाट पनि खशहरु वन्चित हुनु परेको छ ! समावेशी सिद्धान्त सम्बन्धी वर्तमान संविधान को धारा २८३ मा उल्लेखित “संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने छ” तथा समानुपातिक प्रतिनिधित्व सम्बन्धी संविधानको धारा ८४ (२) मा उल्लेखित कानुन अनुसार खशहरुले, खश तथा आर्यलाई एउटै समूहमा राखेको न्यायसंगत छैन त्यसैले खशलाई आफ्नो जनसंख्या १६.६% को भागअनुसार छुट्टयाइ देउ भनेर मांग गर्नु संविधान बमोजिमनै हो (साभारः नेपालको संविधान २०७२)  !

सम्पूर्ण खशहरुले बुझ्न पर्ने के जरुरि छ भने ‘धान खाने मुसो, चोट पाउने भ्यागुता’ को स्थितिमा हामि खशहरु छौं ! जनसंख्याको आधारमा खशहरु १६.६%, आर्य १२.२%, ठकुरी १.६% र सन्यासी/दशनामी ०.८६% गरेर जम्मा ३१.२% भएकोले संविधानको धारा ८४ (२) अनुसार खश, आर्यलाई एउटै टोकरीमा राखी समानुपातिक प्रतिनिधित्व ३१.२% छुट्याईएको छ ! खशको पोल्टामा आफ्नो जनसंख्याको समानुपातिक प्रतिनिधित्व १६.६% हुनु पर्ने तर यसमा आर्यहरुको चलखेल भएकोले खशले आफ्नो जनसंख्याको प्रतिशत अनुसार कहिल्यै हिस्सा पाएनन् र नछुटिन्जेल पाँउदैनन पनि ! तर संविधान, कानुन, रिसर्च पेपर, लेख तथा अन्य सरकारीस्तरका कागजातहरुमा तथ्यांक देखाउन्दा खशको १६.६%, ठकुरीको १.६% र सन्यासी/दशनामीको ०.८६% लाई संधै सामेल गरिन्छ ! खशहरुलाई एउटै टोकरीमा राख्ने कारण अरु उत्पीडित जात–जाति र दलित को भाग पनि खाएर आफ्नो वर्चस्व कायम गर्नु हो ! यसै सत्यतथ्यलाई प्रतिभाशाली युवा लेखक श्रेय पौडेलले आफ्नो लेख “खश–आर्यलाई किन चाहियो समानुपातिक प्रतिनिधित्व?” मा निम्न अनुसार स्पष्ट रुपमा वर्णन गर्नु भएको छ :

“खश–आर्यको जनसंख्या नेपालको कुल जनसंख्याको ३१ दशमलब २ प्रतिशत छ ! तर, 'रेकर्ड नेपाल' नामक वेबसाइटमा निर्वाचन परिणामको विश्लेषण अनुसार सम्पूर्ण प्रदेशसभामा खश आर्यको प्रतिनिधित्व ४४ प्रतिशत छ ! त्यस्तै, अहिलेको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको हिसाब निकाल्दा, केन्द्रीय संसद्‌मा खश–आर्यको प्रतिनिधित्व ४५ प्रतिशत छ ! समानुपातिक प्रतिनिधित्वमा खश–आर्यका लागि ३१ दशलमलब २ प्रतिशत सिट सुरक्षित गरिएकाले, यस समूहको प्रतिनिधित्व समग्रमा भने आफ्नो जनसंख्याको अनुपातभन्दा बढी नै हुन पुग्यो ! एउटा समूहको प्रतिनिधित्व आफ्नो जनसंख्याको अनुपातभन्दा बढी हुँदा, अर्को समूहको प्रतिनिधित्व त घट्ने नै भयो ! उदाहरणका लागि, दलित जनसंख्या नेपालको कुल जनसंख्याको १३ दशमलब ८ प्रतिशत छ, तर केन्द्रीय संसद्‌मा दलितको प्रतिनिधित्व ८ प्रतिशत मात्र छ ! खश–आर्यको यस किसिमको राजनीतिक वर्चस्व अहिलेको संसद्‌मा मात्र होइन, पहिले पनि छँदै थियो ! दोस्रो संविधानसभामा खश–आर्यको प्रतिनिधित्व ४२ प्रतिशत थियो ! त्यतिखेर पनि दलितको प्रतिनिधित्व ७ प्रतिशत मात्र थियो ! खश–आर्यको यस खालको वर्चस्व राजनीतिक प्रतिनिधित्वमा मात्र होइन, राज्यका प्रायः अंगमा देख्न सकिन्छ ! सेना, प्रहरी, कर्मचारीतन्त्र, राजनीतिक नियुक्ति, मिडिया लगायत हरेक क्षेत्रमा खस–आर्यकै बाहुल्यता रहँदै आएको छ ! तराई–मधेस कांग्रेस पार्टीदेखि माओवादी आन्दोलनमा उठेका पहिचानका मुद्दा र तत्‌पश्चात् भएका मधेस आन्दोलनको मुख्य माग पनि लगभग यही खश-आर्य वर्चस्वको विरोध गरेर अन्य सीमान्तकृत जात–जातिको पक्षमा आवाज उठाउनु थियो ! खश–आर्यको विरोध नहोस् पनि कसरी?  उनीहरुकै भाषा, धर्म, भेषभुषा, चाडवाड र सौन्दर्य नेपालको मुख्यधार हुनुपर्ने संकीर्णताको तार्किक निष्कर्ष आखिरमा नश्लवाद नै हो ! भलै पहिचानको आन्दोलनद्वारा सिर्जित चेतनाबाट राजनीतिक दलहरुमा 'पोलिटिकल्ली करेक्ट' हुनुपर्ने बाध्यताका कारण, उग्र खालका नश्लवाद नसुनिएलान् ! तर, खश–आर्य वर्चस्व तोड्नलाई केही नगर्ने, समस्यालाई चुपचाप पचाइदिने र भरसक सिमान्तकृत पहिचानबारे कुरै नउठाउने लक्षण पनि नश्लवादकै सुसुप्त रुप हो (पौडेल, श्रेय : वि.स. २०७४ : पृ. १-२) !”

पहिचानको आन्दोलनद्वारा सिर्जित चेतनाबाट राजनीतिक दलहरुमा 'पोलिटिकल्ली करेक्ट' हुनुपर्ने बाध्यताका कारण, उग्र खालका नश्लवाद नसुनिएलान् ! तर, खश–आर्य वर्चस्व तोड्नलाई केही नगर्ने, समस्यालाई चुपचाप पचाइदिने र भरसक सिमान्तकृत पहिचानबारे कुरै नउठाउने लक्षण पनि नश्लवादकै सुसुप्त रुप हो !”

उपरोक्त तथ्यांकलाई तथा सत्यतालाई विद्धवान पत्रकार भोला पासवानले पनि आफ्नो लेख “स्थानीय चुनावका सबै ठुला पदहरुमा खश आर्यहरुको वर्चस्व” मा स्पष्ट रुपमा निम्न अनुसार पुष्टि गर्नु भएको छ :

“उच्च न्यायालयको न्यायाधिशहरुमा खश-आर्यको ८३.७५% (६० जना) नियुक्त्त हुनु भएको छ ! आज सम्मका प्रधानमन्त्री हरुमा खश-आर्यको ९५.५% वर्चस्व रह्यो ! खश-आर्यहरुले आफ्नो जनसंख्याको समानुपातिक प्रतिनिधित्व ३१.२% प्रतिशत भएपनि त्यस भन्दा तीन गुणा बढी हिस्सा ओगटे का छन् ! त्यस्तैकिसिमले खश-आर्यहरुको अत्यधिक वर्चस्व कर्मचारीतन्त्र, न्यायालय, जनप्रशासन कार्यालय, सुरक्षा निकायहरु तथा पार्टीमा पनि छ (पासवान, भोला : सन् २०१७ : पृ. १) !”

पहिचानको आन्दोलनको आँधीबेहरीले ल्याएको सामाजिक न्यायको आधारमा समानुपातिक प्रतिनिधित्वलाई पनि आफ्नो समूहको स्वार्थका लागि प्रयोग गरेर, मुख्य आर्य नेताहरुले सरासर आफ्नो वर्चस्वलाई (जातिय राज्य) कायम गरेका छन् ! खशहरुको जनसंख्या १६.६% लाई सामेल नगरेर आर्यहरुले आफ्नो जनसंख्या १२.२% को मात्र भाग खाने हो भने उनीहरुको वर्चस्व (जातिय राज्य) कायम हुन् गार्हो हुन्छ ! उनीहरुको यस चलाखीले  नेपालको सामाजिक–राजनीतिक भेदभावलाई निरन्तरता दिएको छ ! उक्त गलत कदम सच्याउने उपाय खश तथा आर्यको समूह बेग्ला बेग्लै गर्नु पर्छ तथा अरु उत्पीडित जात–जाति र दलित को भाग खाने कुनियत को अन्त्य हुनु पर्छ !

अहिले सम्म “खशहरुमा” आफूहरु ‘क्षत्री’ भएको भ्रम र अन्योलता छ जबकी “क्षत्री” भन्ने शब्द एउटा पदवी (Title) हो ! यो सत्यतालाई सम्पूर्ण खशहरुले यथाशिघ्र बुझ्न अत्यन्त जरुरि छ ! सन् १८५४ को मुलुकी ऐनमा एउटा सनद (decree) जारी गरियो जसअनुसार खशहरुले आफ्नो थर लेख्दा “खश” भनेर लेख्न निषेध गरियो र उनीहरुलाई आफ्नो थर लेख्दा “क्षत्री” लेख्न बाध्य गराइयो ! सन् १८५४ को मुलुकी ऐन एक वैध यन्त्र बन्यो, ब्रह्मास्त्र जस्तै जसले सम्पूर्ण खशहरुलाई संहार गर्यो ! यस कुराको सत्यतालाई पश्चिमा इतिहासकार विद्धवान रिचार्ड बुर्घार्ट ले आफ्नो पुस्तक मा निम्न अनुसार वर्णन गर्नु भएको छ :

“जङ्गबहादुर राणाले सन् १८५४ को मुलुकी ऐनमा एउटा सनद (decree) जारी गराए जसअनुसार खशहरुले आफ्नो थर लेख्दा “खश” भनेर लेख्न निषेध गरियो र उनीहरुलाई आफ्नो थर लेख्दा “क्षत्री” लेख्न बाध्य गराइयो ! खशहरु लगायत संस्कृतिकरण द्वारा स्तरोन्नति गराइएका तथा बाहुन पिता र तिब्बतोबर्मन आमा बाट जन्मिएकालाई पनि आफ्नो थर लेख्दा “क्षत्री” लेख्नु अन्यथा कानुनी कार्यवाही हुनेछ भनि बाध्य गराइयो (बुर्घार्ट, रिचार्ड : सन् १९९६ : पृ. २५४-२५५) !” 

सन् १८५४ को मुलुकी ऐन जारी भएको बारे न्यायसम्बन्धी विज्ञ र विद्धवान कनक बिक्रम थापाले आफ्नो रचनामा निम्न अनुसार वर्णन गर्नु भए को छ:

“पौष सुदी ७, रोज ५, वि.स. १९१० (५ जनवरी १८५४) का दिन मुलुकको पहिलो मुलुकी ऐन को रुपमा सन् १८५४ को मुलुकी ऐन लागु गरियो ! यो मुलुकी ऐन मा १६३ वटा अध्याय थियो र करिब १४०० पृष्ठ को थियो (थापा, कनकबिक्रम : सन् २०१० : पृ. ९२४) !”

यस सन् १८५४ को मुलुकी ऐनको पृष्ठ ३९३ मा रहेको बिशेष धारा ८९:५० बारे प्रस्टाउन्दै विद्धवान प्रयाग राज शर्माले आफ्नो रचनामा निम्न अनुसार वर्णन गर्नु भएको छ :

“आजकल क्षत्रिहरुलाई खश भनेर सम्बोधन गर्नु अपमानजनक बोध हुन्छ त्यसैले यस धारा अनुसार महत्वका साथ तागाधारी खश जातका मानिसहरुलाई क्षत्री जातको पदवी (title)  प्रदान गरिएको छ ! अब उपरान्त खशहरुले आफ्नो नाम पहिला लेख्ने त्यसपछि आफ्नो थर लेख्दा क्षत्रीको पदवी (title) लेख्न पर्ने छ (शर्मा, प्रयागराज : सन् १९७७ : पृ. २८३) !”

आजकल क्षत्रिहरुलाई खश भनेर सम्बोधन गर्नु अपमानजनक बोध हुन्छ त्यसैले यस धारा अनुसार महत्वका साथ तागाधारी खश जातका मानिसहरुलाई क्षत्री जातको पदवी (title)  प्रदान गरिएको छ !

यसै सत्य तथ्यलाई विद्धवान रिचार्ड बुर्घार्टले उपरोक्त कुरालाई पुष्टि गर्दै आफ्नो लेखमा निम्न अनुसार वर्णन गर्नु भएको छ :

“जङ्ग बहादुर जन्मले खश थिए ! उनले आफ्नो जातलाई ‘राणा (ठकुरी-उच्च वर्गका क्षत्री)’ को रुपमा परिणित गरे तथा मुलुकी ऐनमा ‘खश’ लाई ‘क्षत्री’ लेख्न लगाए (बुर्घार्ट, रिचार्ड : सन् १९९६ : पृ. २५४-२५५) !” 

यसरी नेपालका सम्पूर्ण खश जातिका मानिसहरुलाई सन् १८५४ को मुलुकी ऐनको धारा अनुसार आफ्नो खश जात छोड्न बाध्य गराइयो अनि थर लेख्दा ‘क्षत्री’ लेख्न बाध्य बनाइयो त्यसैले ५ जनवरी १८५४ को दिन सम्पूर्ण ‘खश’हरुको निम्ति कालो दिनको रुपमा स्थापित भयो !

त्यसको साथसाथै केहि टाठाबाठाहरुले ‘खस’ भने को ‘खस्नु, खसेको’ भन्ने अफवाह पनि फैलाए जसलेगर्दा पनि ‘खश’ जातिका मानिसहरुले आफ्नो ‘खश’ जात नलेखेर ‘क्षत्री’ नै लेख्न सुरु गरे त्यसरी ‘खश’ को अस्तित्व नै लोप हुने संकटमा छ !

यसै सन्धर्भमा योगी, नरहरिनाथले आफ्नो रचना ‘इतिहासप्रकाशमा सन्धिपत्र संग्रह’ मा खशहरुलाई ‘क्षत्री’ बनाएको अर्को उदाहरण निम्न अनुसार प्रस्तुत गर्नु भएको छ :

“राजा सुरेन्द्रविक्रम शाहले सम्पूर्ण ठाकुर राजपुत हरुलाइ सम्बोधित गर्दै संवत् १९२० साल कार्तिक वदी ६ रोज १ को मितिमा लेखेको पत्रमा निम्न बमोजिम उल्लेख छ ;

“प्राइम मिनिष्टर कमान्डर इन चिफ जङ्गबहादुर ले १९११ सालमा भोटको लडाईंमा र १९१४ सालमा लखनउको लडाईंमा मदत गरे बापत खशहरुलाई “क्षेत्री” तुल्याई बराबरको दर्जा बढाई बक्सनु भएको छ (योगी, नरहरिनाथ : २०१२ वि.स. : पृ. ६११) I”

खशहरुलाई अब आइन्दा “खश” नभन्नु, ‘क्षत्रि’ भन्नू सन्धर्भमा इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तक “नेपालको सांस्कृतिक परम्परा” मा निम्न अनुसार वर्णन गर्नु भएको छ;

आर्यहरुले किराँत, हूण, यवन र शक हरुलाई जस्तै खशहरुलाई पनि आफूभन्दा तल्लो तहमा राख्ने गरेकाले यसैको प्रभाव परी पछि-पछि बाइसी र चौबीसी राज्यका खश राजाहरुले पनि आफूहरुलाई खश भन्न आनाकानी गरि "ठाकुर" वा "ठकुरी" भनाउन थालेको स्पष्ट देखिन्छ I

“आर्यहरुले किराँत, हूण, यवन र शक हरुलाई जस्तै खशहरुलाई पनि आफूभन्दा तल्लो तहमा राख्ने गरेकाले यसैको प्रभाव परी पछि-पछि बाइसी र चौबीसी राज्यका खश राजाहरुले पनि आफूहरुलाई खश भन्न आनाकानी गरि "ठाकुर" वा "ठकुरी" भनाउन थालेको स्पष्ट देखिन्छ I यही नै अवस्था राजवंशभन्दा बाहिरका अन्य खशहरु पनि रहेको पाइन्छ I तैपनि वर्तमानकालका जनरल भीमसेन थापा जस्ता शक्तिशाली अधिनायक सम्मले पनि आफूलाइ "खश" भन्नमा सङ्कोच मानेको देखिदैन ! तर प्रधानमन्त्री जङ्गबहादुर कुँवरले भने आफ्नो परिवारलाई मात्र होइन, परिवारबाहेकका आफ्ना नातेदार थापा, बस्नेत, कार्की आदिलाई पनि "अब आइन्दा खश नभन्नु, ‘क्षत्रि भन्नू" आदेश जारि गरिदिएका हुनाले हालसम्ममा "खश" शब्दमा हीनताबोधको अनुभव हुन् थालिसकेको छ (आचार्य, बाबुराम : वि. स. २०५४ : पृष्ठ ५४) !”

राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहले सुरु गरेको राष्ट्रिय एकताको नीति “नेपाल सबै जातजातिको साझा फूलवारी” को अनुशरण गर्दै खशहरुले नेपालमा बसोबास गर्ने १२६ जातिहरुसँग समन्वय गरी, भावनात्मक सम्बन्ध कायम गर्दै सम्पूर्ण जातिहरुको पहिचान, धर्म-संस्कृति तथापरम्पराको आधिकारिकमान्यता राज्यबाट सुनिश्चित होस् अनि राज्यका हरेक अङ्ग र तहमा जातीय जनसंख्या को आधार मा प्रतिनिधित्वहोस् भन्ने भावना राख्दै “हाम्रो र राम्रो नेपाल” निर्माणगर्ने अभियानमाखशहरु लागेको हो यसलाई बिखण्डनको दृष्टिले हेर्न मिल्दैन ! राष्ट्रिय एकता बलियो गर्ने एकमात्र उपायर आधार यही नै हो !

लेखक -  विद्यावारिधि अध्ययनरत

सन्दर्भ सामग्री:

आइ.एल.ओ. १६९, available at:-http://ilo.org/dyn/normlex/en/f?p=NORMLEXPUB:12100:0::NO::P12100_ILO_CODE:C169

आङदेम्बे, भीष्मराज (वि.स. २०७५) “शेरबहादुरलाई भीष्मराजको प्रश्नः नेतृत्वमा जनजाति खोई ?

'कांग्रेसका नेताले संवेदनशीलता बुझ्न सक्नुभएन'”, अनलाइनखबरडटकम्, २०७५ भदौ २० गते, काठमाडौँ, नेपाल

Available at : https://www.onlinekhabar.com/2018/09/704272

आचार्य, बाबुराम (२०५४) “नेपालको सांस्कृतिक परम्परा”, काष्टमंड़प प्रिन्टिंग प्रेस, पुतलीसडक हाईट, नेपाल

के.सी., सुरेन्द्र (वि.स. २०७४). “नेपालको जातीय प्रश्न र अहिलेका चुनौती". क्षत्री  उद्गार पत्रिका. क्षत्री समाज राष्ट्रिय महासंघ. केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौँ  

गेलनर, डी.एन. (सन् २००८) “नेसंलिजम एंड इथ्निसिटी इन् नेपाल”, वज्र प्रकाशन, काठमाडौँ, नेपाल 

थापा, कनक बिक्रम (सन् २०१०) “रिलिजन एंड ला इन् नेपाल”, Available at: http://digitalcommons.law.byu.edu/lawreview/vol2010/iss3/12

नेपाल, प्रदिप (वि.स. २०७५) “हाम्रो इतिहासको आरम्भ हिमवत्खण्ड”

गोरखापत्र अनलाइन डट कम्, अशौज १२ गते, वि.स. २०७५, available at :

http://www.gorkhapatraonline.com/news/60435

पासवान, भोला (सन् २०१७) “In local government, Khas Arya men dominate all major posts”, रिकर्डनेपालडटकम, काठमाडौँ, नेपाल, available at:

https://www.recordnepal.com/wire/news-analysis/in-local-government-khas-arya-men-dominate-in-all-major-posts/

पौडेल, श्रेय (वि.स. २०७४) “खस–आर्यलाई किन चाहियो समानुपातिक प्रतिनिधित्व?”, नेपालीलाईभडटकम, काठमाडौँ, नेपाल, चैत २०, २०७४ मा  प्रकाशित – available at :- 

http://nepallive.com/story/20840

बुर्घार्ट, रिचार्ड (सन् १९९६) “द कन्डिसनस अफ लिसेनिंग”, अक्सफोर्ड : अक्सफोर्ड यूनिवर्सिटी प्रेस, बेलायत

योगी, नरहरिनाथ ( २०१२ वि.स.)  “इतिहास प्रकाशमा सन्धिपत्र संग्रह” , अंक १, इतिहास प्रकाश मण्डल, काठमाडौं

वेभसाइट – नेपाल कम्युनिष्ट पार्टी, available at:-  https://en.wikipedia.org/wiki/Nepal_Communist_Party

वेभसाइट– नेपाली कांग्रेस पार्टी,available at:-

https://www.nepalicongress.org/

वेभसाइट – नेकपा (एमाले) पार्टी,available at:-

http://www.cpnuml.org/

राष्ट्रिय जनसंख्या प्रतिवेदन :- National Population Census 2011. Kathmandu, Nepal: Central Bureau of Statistics.

शर्मा, पी.आर. (सन् १९७७) “कास्ट, सोसल मोबिलिटी एंड सँसकृटाइजेसन: अ स्टडी अफ नेपालस ओल्ड लिगल कोड”. Available at: repository.cam.ac.uk

स्मिथ, एन्थोनी (सन् १९८६) “द इथ्निक ओरिजिन्स अफ नेसन्स”, अक्सफोर्ड, ब्लेक्वेल, बेलायत

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook