किरात धर्म र धार्मिक सम्प्रदायहरुको उदय

मंगलवार ०१ माघ, २०७५   |   कला र साहित्य

Print This   |   Font Size + -

किरात धर्म र धार्मिक सम्प्रदायहरुको उदय


 

प्रवीण पुमा

धर्म भनेको एकखालको लोकविश्वास हो । धर्ममा शक्ति सर्वमान्य हुन्छ । त्यसैले धर्मले संसारिक मार्ग निर्देशन गरेको विश्वास गर्ने गरिन्छ । धर्म स्वार्थमा होइन, विश्वासमा अडिएको मानिन्छ । जहाँ नियम, कानुन, अनुशासन, दर्शन र सभ्यता आदि हुन्छन् । आदिमकालमा समुदायहरु धर्ममा चलेका थिए । आदिमकालमा राज्यहरु पनि धर्ममा नै चलेका थिए । वर्तमान राज्यहरु पनि घोषित–अघोषित रुपमा धर्मकै आधारमा चलेका छन् । संसारमा तीन दर्जनभन्दा धेरै प्रकारका धर्महरु प्रचलित छन् । नेपालको सन्दर्भमा किरात, बुद्ध, मुस्लिम, जैन, क्रिश्चियन, हिन्दु आदि धर्महरु प्रचलित छन् । यो आलेख किरात धर्ममा केन्द्रित छ ।

किरात धर्म

“किरात” शब्दले किराती जाति वा भाषा वा लिपि वा संस्कृति वा संस्कार वा सभ्यता वा धर्म वा राष्ट्र आदिलाई बुझाउँछ । यस आलेखमा भने किरात शब्दलाई किरात धर्मको रुपमा लिइएको छ । किरात सभ्यता धार्मिक विश्वास र दर्शनसँग जोडिदा किरात धर्म मानिएको हो । यो किरात धार्मिक विश्वासबाट चलेको हुन्छ । यस धर्ममा “माङ” सर्वश्रेष्ठ मानिन्छ । माङ निराकार, निरञ्जन, अदृश्य, आत्माज्ञानी, सर्वव्यापी, सर्वश्क्तिमान, सर्वज्ञानी, सर्वज्ञाता, आदि हुन्छ । मुन्दुमअनुसार माङले इच्छाएअनुसार सम्पुर्ण वस्तुहरुको सृष्टि भएको विश्वास गरिन्छ । परशुराम राईको शोधअनुसार माङले सारा सृष्टिको लागि विभिन्न प्रकारको जीव प्राणीहरुको उत्पति, विकास र नियन्त्रण गरेको हो । राईकै शोधमा उल्लेख छः किरात धर्ममा माङ–साम्माङ, आत्मा–प्रेतात्मा, धर्ती–आकाश, हावा–पानी–आगो, उज्यालो–अँध्यारो, आस्था–विश्वास, मूल्य–मान्यता, नीति–उपदेश, बुद्धि–विवेक–ज्ञान, कल्पना–चेतना, सवल–दुर्बल, जीव–प्राणी, जीवन–जगत, अलौकिक–चमत्कार, संरचना–सन्देश, तथ्य–रहस्य, अचेतन–अकल्पनीय, पौराणिक–आध्यात्मिक–धार्मिक, प्रकृति–पूर्र्खा, धर्म–संस्कार, संस्कृति–समाज, जीवन–दर्शन, पाप–धर्म, भाग्य–कर्म, आख्यान–मिथक, मुल्य–मान्यताहरुको उत्पति, विकास र उपयोगिताहरुका बारेमा बर्णन गरिएका हुन्छन्  ।

किरात धर्मको धर्मशास्त्र मुन्दुम हो । मुन्दुम अनुसार किरात धर्मको उत्पति, प्रारम्भ र विकास किराती सभ्यताबाटै भएको हो ।

किरात धर्मको धर्मशास्त्र मुन्दुम हो । मुन्दुम अनुसार किरात धर्मको उत्पति, प्रारम्भ र विकास किराती सभ्यताबाटै भएको हो । मञ्जुल कुमार याक्थुङबाका अनुसार मुन्दुमअनुसार सृष्टि अगाडि नै माङ थियो । किरात धर्मको उत्पति किरातीको उत्पतिसंगै भएको हो । किरात धर्ममा आदिमकालीन सभ्यता पाइन्छ । किरात धर्म मुन्दुमी, वैज्ञानिक र ऐतिहाक जगमा निर्माण भएको आदिमकालीन धर्म हो । चतुरभक्त राईको अनुसार किरात धर्म संसारकै जेठो धर्म हो । दक्षिण एसियाली सभ्यतालाई सांस्कृतिक आधारलाई मान्दा पनि किरात धर्म जेठो नै देखिन्छ । तर ऐतिहासिक आधारमा किरात धर्म जेठो देखिँदैन । त्यसको तथ्यको लागि थप अनुसन्धानको खाँचो छ । जी. पी. सिंहका अनुसार किरात धर्ममा तन्त्रमन्त्र र चमत्कारी शक्ति हुन्छ । यो चमत्कारी कार्यहरु मुन्दुममा पाईन्छ । पारुसेवा, होप्माछाम, तङसिङ, आदिका मुन्दुमहरु चमत्कारी कार्यका प्रमाणहरु हुन् । यी चमत्कारी मुन्दुमहरु अहिले पनि किरात धर्मलम्वीहरुमाझ अस्तित्वमा छन् ।   

किरात धर्ममा आधारित किरातकालिन शासक

किरात धर्म आदिमकालदेखि प्रचलनमा थियो । किरात धर्मकै आधारमा ३२ पुस्तासम्म नेपालमा किरात शासन चलेको थियो । किरात शासनको प्रथम राजा यलम्वर हो । यलम्वरकै सम्झनामा यलम्वर सम्वत् प्रचलित छ । किरात यले संवत् अध्ययन समिति–२०१० को रिपोर्ट अनुसार नेपालमा किराती शासनको अवधि ३७८९ वर्ष ८ महिना हो ।

नेपालका किराती राजाहरु


क्र.सं.    किराती राजाहरु             क्र.सं.    किराती राजाहरु
१    यलम्बर                               २    श्रीपल
३    श्रीमल                                 ४    श्रीचेमी
५    श्रीधस्कं                               ६    श्रीवलुंच
७    श्रीहुंति                                ८    श्रीर्हुमा
९    श्रीतुस्क                               १०    श्रीप्रसफं
११    श्रीपर्व                                १२    श्रीदास्ती
१३    श्रीचम्ब                              १४    श्रीश्रीकंकं
१५    श्रीस्वन्नद                            १६    श्रीफुर्को
१७    श्रीशिंषु                              १८    श्रीजुलं
१९    श्रीलुकं                              २०    श्रीथोरम
२१    श्रीथुंको                              २२    श्रीवम्र्म
२३    श्रीजुंजं                              २४    श्रीपुस्क
२५    श्रीस्त्यपमी                          २६    श्रीमुगम्म
२७    श्रीधसकं                            २८    श्रीजुणां
२९    श्रीखिंबु                             ३०    श्रीगिरिर्ज
३१    श्रीखुराज                            ३२    श्रीखिगु

स्रोतः नायनाथ पौडेलको भाषा वंशावली (२०२०), योगी नरहरिनाथको इतिहास प्रकासमा (२०२२), कोलोनेल कर्कपेट्रिकको एन एकाउन्ट अफ द किङडोम अफ नेपाल (सन् १९९६), के.पी. जयसवालको क्रोनोलोजी एण्ड हिष्ट्री अफ नेपाल (सन् १९७६), धनवज्र वज्रचार्य र कमल प्रकाश मल्लको द गोपालराज (सन् १९७६), स्वामी प्रपन्नार्चायको बेदमा के छ ? (२०६०) ।

दुर्गाहाङ याक्खा राईका अनुसार किरात शासनकालमा किरात धर्म बाहेक अन्र्य धर्मको नाम निशान थिएन । किरातकालमा किरात धर्मको चौतर्फी विकास भएको प्रमाणहरु किरातकालीन संस्कृतिहरुमा पाइएको मानिएपनि किरात शासनको पतनपछि किरात धर्म लोप हुन पुग्यो । तर किरात धर्मका अवशेषहरु मासिएनन् । मुन्दुम त्यसैको प्रमाण हो ।

किरात धर्ममा बन्देज

किरात शासनको पतनपछि नेपाल एक राज्यको रुपमा शासकहरुले हिन्दुकृत गर्दै ल्याए । वि.सं. १९९० मा जंगवहादुर राणाले गाई काट्नुलाई कानुनी अपराध करार गरे । गाईको मासु खाने किरात धर्मावलम्वीलाई नेपाल सरकारले भारी कर तिरायो । जसलाई त्यसबेला मेचमा भनिन्थ्यो । उक्त मेचमा गाइको मासु खाए वापत सरकारलाई तिरिने कर थियो । यो कर २०४६ सालसम्म तिरिएको थियो । तर किरात धर्मालम्वीहरुले परम्परादेखि गाई काटेर पूर्खालाई चढाउन छाडेनन् ।

वि.सं. १९९० मा जंगवहादुर राणाले गाई काट्नुलाई कानुनी अपराध करार गरे । गाईको मासु खाने किरात धर्मावलम्वीलाई नेपाल सरकारले भारी कर तिरायो ।

सन् २०११ म खोटाङको चिसापानीमा आफ्ना पूर्खालाई चढाउनको लागि किरात धर्मावलम्बीहरुले कोरली गाई काटेको यही पंक्तिकारले प्रयत्क्ष देख्ने मौका पाएको थिए । तर त्यसरी गाई काटेर पूर्खालाई चढाएवापत उनीहरुले कानुनी सजाय भोगीरहेका छन् । वि.सं. २०४६ को राजनैतिक परिवर्तनपछि धर्मनिरपेक्ष राज्य नेपाल भनिएपनि यस्ता कानुनी बन्देज कायमै छ ।

किरात धर्मावलम्बी धार्मिक सम्प्रदायहरुको उदय

लामो समयको अन्तरालपछि वि.सं. २०३६ पछि नेपालमा पुन किरात धर्म परिदृश्यमा आयो । धर्मावलम्बीहरुको वर्गीकरण गरिदा किरात धर्मको रुपमा भारतको दार्जेलिङमा सन् १९९० र  सिक्किममा सन् १९९५ र नेपालमा सन् १९९१ देखि जनगणनाको तथ्याङकमा अंकित हँुदै आएको छ । त्यस्तै भुटान, बर्मा, हङकङ, वेलायत, अमेरिका आदि देशहरुमा पनि किरात धर्मावलम्बीहरु रहेका छन् सरकारी तथ्याङहरुमा किरात धर्मको स्पष्ट किटान भएको छैन । तर किरात धर्मलम्वीहरुमा आएको धार्मिक चेतनाले संसारभरिका सरकारी तथ्याङकमै किरात धर्म लेखिने कार्य जारी छ ।

एकातिर किरात धर्मलाई राज्यले नियोजित रुपमै ऐतिहासिक कालदेखि नै दबाउदै ल्याएको थियो भने अर्कोतिर पछिल्लो अवधिमा आइपुग्दा किरात धर्मको विभिन्न स्वरुपमा विभिन्न प्रकारका धार्मिक सम्प्रदायहरुको जन्म हुन पुगेको छ । त्यसमध्ये “युमा धर्म” (सन् १९९०, भारत), “सत्यहाङमा” (सन् १९३०, नेपाल), “सत्य मार्ग” (सन् १९८८, नेपाल), “स्वार्गिक मार्ग” (सन् २००३, भारत), आदि नाम प्रचलित छन् । जे. आर. सुब्बाको अनुसार आदिम किरात परम्परामा आधारित धर्म नै युमा धर्म हो । युमा धर्मको मुख्य धार्मिक दर्शन पूर्खावाद हो । युमा धर्ममा याक्थुङ माङहरुलाई प्राथमिकता दिइएको छ । युमा धर्मलाई भारतको सिक्किममा सन् १८९१ बाट सरकारी तथ्याङकमा लेखिदै आइएको छ ।

जे. आर. सुब्बाको अनुसार आदिम किरात परम्परामा आधारित धर्म नै युमा धर्म हो । युमा धर्मको मुख्य धार्मिक दर्शन पूर्खावाद हो । युमा धर्ममा याक्थुङ माङहरुलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, महागुरु फल्गुनन्द (सन् १८८५–१९४८)को अनुसार किरात सभ्यता, धर्म, कर्म, संस्कार, संस्कृति, समाज र बंश रक्षाको लागि सत्यहाङमा मार्गको विकास भएको हो । यो महागुरु फाल्गुनन्दले दिनुभएको माङवाणी हो । यो माङवाणी महागुरु फाल्गुनन्दले बि.स. १९८८, बैशाख २४ गते किरात हाङसाम लोब्रे, नेपालमा दिनुभएको थियो । महागुरु फल्गुनन्द लिङदेनद्वारा प्रतिपादित सत्यहाङमाको मुख्य धार्मिक दर्शन अहिंसा हो । किरात र हिन्दु धर्मको मिश्रणबाट सत्यहाङमा मार्ग निर्देशित छ । सत्यहाङमालाई ज्योतिनन्द, आत्मानन्द लिङदेन, देउवहादुर तुम्बापो आदिले आप्mनै समूह बनाएर अघि बढाइरहेका छन् ।

प्रभुदासीद्वारा प्रतिपादित अर्को किरात धर्मसँग निकट रहेको धर्म हो सत्य मार्ग । प्रभुदासीको अनुसार किरात धर्म रक्षाकै लागि सत्य मार्गलाई विकास गरिएको हो । किरात र हिन्दु धर्मबाट निर्देशित सत्य मार्गको मूल कुरा धार्मिक सत्य हो । त्यस्तै, हिज होलिनेस मास्टर गड् एयाञ्जलद्वारा प्रतिपादित धर्म स्वार्गिक मार्ग हो । संसारका सबै धर्महरुको मिश्रणबाट स्वार्गिक मार्ग विकास गरिएको हो । स्वार्गिक मार्गको मुख्य धार्मिक दर्शन प्रेम हो, धर्म होइन ।

किरात धर्म प्राचीन धर्म हो । तर २०३६ पछि किरात धर्मअन्तर्गतका थुप्रै धार्मिक सम्प्रदायहरुको विकास भएको छ । यिनको नाम र अभ्यासमा फरकपन भएपनि मूल स्वरुप भने प्राचिन किरात धर्म दर्शन र सभ्यतामा आधारित रहेका छन् । यद्यपि यिनले समय अन्तरालमा किरात धर्ममा आएको परिवर्तनको संकेत गर्दछ । मार्टिन ग्यान्सजलेको अनुसार किरात धर्ममा आएको परिवर्तनपछि किरात धर्मलाई पुनपरिभाषा गर्नुपर्ने देखिन्छ ।


क्रमश....


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook