छन्त्यालः पहिचानका आयाम

Author:   Admin

Published:   2015

छन्त्यालः पहिचानका आयाम

आजसम्मका शासकहरूले इतिहासलाई एकतर्फी रुपमा आफ्नो पक्षमा प्रयोग गर्दै आएको मार छन्त्याल जातिले पनि खेप्नुप¥यो । जसले गर्दा छन्त्याल जातिका ऐतिहासिक तथ्यहरू कि त लोप भए कि त नासिने अवस्थामा छन् । तिनको लेखोट वा अभिलेखीकरण गर्ने काम सरकारले न आफ्नो दायित्व ठान्यो, न अहिलेको राज्य संरचनामा त्यसको अपेक्षा नै गर्न सकिन्छ । यसर्थ अहिलेसम्म मौजुद तथ्य र ज्ञानलाई लिपिबद्ध गरेर यो जातिको इतिहासलाई उत्खनन गर्ने कार्य अहिले अपरिहार्य बनेको छ ।

चाम्लिङ जर्नल (चाम्लिङ, २०१२ः५)मा इतिहासलाई शासकको पाइताला बिछ्याउने रातो कार्पेट कि समाजले हिँड्ने मूलबाटो बनाउने ? इतिहासलाई शासकको तबेला कि सामाजिक उन्मुक्तिमा रुपान्तरण गर्ने ?’ भन्ने प्रश्न गरिएको छ । यो राज्यबाट बहिष्करणमा पारिएका सबै समुदायको साझा प्रश्न हो । हामीले पढिआएको इतिहास अथवा अहिले ‘इतिहास’ भनिने इतिहासको ब्याख्याको विपक्षमा छौँ हामी । लेखिएको इतिहासको पुनर्परीक्षण र जनता नअटाएको इतिहासको पुनब्र्याख्या हुनुपर्छ भन्ने अभिमतबाट यो पुस्तकको जन्म भएको हो ।
सभ्यता निर्माणको चरणदेखि अहिलेसम्म पनि छन्त्याल जातिको पहिचान नेपालभित्रै पनि उति धेरै चर्चाको विषय बन्न सकेन । यो जातिको पहिचानका आयाम इतिहासका विषय बनेनन् । बरु समुदायको पहिचानमाथि नै प्रहार गरिए, र कतिपय अनुसन्धाताले समेत वास्तविक तथ्यमा नटेकी यो जातिका बारेमा ब्याख्या गर्दा भ्रम सिर्जना भएका छन् । त्यसलाई चिर्ने र जातिको पहिचानका तथ्यहरूलाई उजागर गर्ने प्रयत्न यो पुस्तकले गर्नेछ । यस पुस्तकमा इतिहास, भाषा, पहिचान, तामाखानीसँग सम्बन्धित ७ वटा लामाछोटा लेखहरू छन् ।
‘छन्त्याल जातिको इतिहासः एउटा पाटो’ शीर्षकको लेखले छन्त्याल जातिको उत्पत्ति र पहिचान निर्माणका सन्दर्भमा जोडिने मूलतः दुईवटा दृष्टिकोणहरू; छन्त्यालहरू ‘ठकुरीवंशका हुन’् कि ‘मङ्गोल नश्लका हुन्’ भन्ने कुरालाई तथ्यपरक विश्लेषण गरेको छ ।

‘छन्त्याल भाषाको अभिलेखीकरण’ लेख स्वीकृतिमा यहाँ पुनः प्रकाशन गरिएको छ । यसमा छन्त्याल भाषाको वंशरेखा र व्याकरणीय पद्धतिको स्वनिम, रुप
र वाक्य ब्यवस्थाबारे बयान गरिएको छ । पाठकीय बोधमा सहायता पुगोस् भनेर त्यसको टिप्पणी लेखलाई पनि त्यसपछि राखिएको छ ।
‘नेपालमा खानीसँग छन्त्याल जातिको सम्बन्ध’ लेख छन्त्यालहरूको परम्परागत पुख्र्यौली पेसा तामाखानीसँग सम्बन्धित छ । तामाखानी र छन्त्याल जातिबीच केवल जीविकाको मात्र होइन; ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको कुरालाई यसले वर्णन गरेको छ ।
‘पहिचानको आन्दोलनः छन्त्याल जातिको सन्दर्भ’ लेखले छन्त्याल जातिले आफ्नो पहिचानका लागि गरेको सङ्घर्षको सुरुवात, कर्ताको भूमिका र उपलब्धिलाई समीक्षात्मक रुपले विश्लेषण गरेको छ ।
‘छन्त्याल जातिको पुख्र्यौली पेसा खानी र ऐतिहासिक नालीबेली’ लेखमा छन्त्याल जाति र खानीको सम्बन्ध अलग गर्न नसकिने तथ्यहरू उजागर गरिएको छ ।
‘छन्त्याल जाति सम्बन्धी प्रकाशनको झलक’ लेखमा यो जातिसम्बन्धी देशीविदेशी र छन्त्याल स्वयम्ले प्रकाशित गरेका सामग्रीहरूको एकसरो इतिहासलाई विश्लेषणात्मक रुपले वर्णन गरिएको छ ।

गोबिन्द छन्त्याल


Please contact at to purchase this book.

Helping Hands

Like us on Facebook