लिम्बू

लिम्बू

को हुन् लिम्बू ?

लिम्बू जाति
आफूलाई याक्थुङ भन्ने लिम्बू जातिलाई विजातीय मानिसहरू वा अन्य जातिकाले लिम्बू भनेर (क्याम्बेल, १८४० ः४९५; हज्सन पाण्डुलिपिको भो. ६०, पृ. २४०) सम्बोधन गर्न थालेका हुन् । र, आज पनि त्यसै भनेर सम्बोधन गर्दछन् । तर, तिब्बतका भोटे र सुखिमका लाप्चेहरूले भने तिनलाई चोङ (हुकर १८५४, १९०५ ः १२८; रिस्ले १८९४, १९८९ ः ३७; हज्सन पाण्डुलिपिको भो. ६०, पृ. २४०) भन्दथे र भन्दछन् । लिम्बू जातिलाई किरात भनेर पनि चिनिन्छ ।

लिम्बू भूगोल
मुन्धुमअनुसार याक्थुङ लाजे अर्थात् लिम्बू भूमि उत्तरमा साया मुदेÞन (चीन—तिब्बत), दक्षिणमा तेमेÞन वलङ (भारतवर्ष), पूर्वमा सुम्रोती उम्रोती (ब्रह्मपुत्र) र पश्चिममा थोसु वरुम्मा परुम्मा ओनु योसु पारामावा ककामावा (माथि अरुन बरुनदेखि तल कोशी)भित्रको भूगोल भएको उल्लेख भएको पाइन्छ ।
आर्येतर किरातवंशका विभिन्न जातिहरूमध्ये लिम्बू जाति हिमालयको दक्षिणमा नेपाल, सिक्किम अथवा पूर्वोत्तर भारतको कतिपय क्षेत्रमा बसोबास गर्दछन् । यी किरात जातिमध्ये अरुणनदीदेखि पूर्व, मेचीनदीदेखि पश्चिमको भौगोलिक क्षेत्रमा लिम्बू जाति आदिमकालदेखि नै बसोबास गर्दै आएको जाति हो । लिम्बूहरूको यो बसोबास क्षेत्र लिम्बुवानलाई पहिले पल्लो किरात भनिन्थ्यो । बर्मा, भोटाङ (भुटान), थाइल्याण्ड, हङकङ, वेलायत, अमेरिका, अस्ट्रेलिया, रसियाजस्ता देशमा पनि लिम्बू जातिको बसोबास रहेको पाइन्छ ।

लिम्बू जनसङ्ख्या
जनगणना २०६८ अनुसार नेपालमा हिमाली, पहाडी र तराई (मधेश) गरेर १२६ जातजाति छन् । जसमध्येका हालसम्म ५९ जातिलाई नेपाल सरकारबाट आदिवासी जनजाति भनेर सूचिकृत गरिएको छ । नेपाल सरकारबाट सूचिकृत यी ५९ आदिवासी जनजातिहरूमा लिम्बू एक हो । नेपालभित्र मात्र जातिगतरूपमा लिम्बू जातिको जातिगत जनसङ्ख्या ३,८७,३०० (जनगणना, २०६८) छ । यो कुल जनसङ्ख्याको १.४६ प्रतिशत हो ।

लिम्बू धर्म र संस्कृति
नेपालका जनजातिहरूमा आफूलाई किरात भन्ने लिम्बू जातिले किरात धर्म मान्दछन् । लिम्बूहरू प्रकृतिपूजक हुन् । लिम्बू जातिले अनादिकालदेखि मौखिक परम्परामा रहेको मुन्धुमअनुसार आफ्नो सामाजिक र सांस्कृतिक जीवनयापन गर्ने गरेको पनि पाइन्छ ।

लिम्बू भाषा
नेपालमा बोलिन १२३ भाषाहरू (जनगणना २०६८)मध्ये लिम्बू भाषा लेख्य परम्पराको लामो इतिहास भएको एउटा प्रमुख भाषा हो । लिम्बू भाषा चिनी–तिब्बती भाषापरिवारको भोट–बर्मेली उपशाखाको प्राचीन किराती भाषामध्ये सार्वनामिक भाषा (जी.ए. ग्रियर्सन, १९०८ः २८३–३०४)हरूमा पूर्वीय उपसमूहभित्रको एक भिन्न भाषा हो । नेपालका बसोबास गर्ने लिम्बू जातिको जातिगत जनसङ्ख्या ३,८७,३०० (जनगणना, २०६८) छ । मातृभाषी वक्ताको सङ्ख्या भने ३,४३,६०३ रहेको छ । यो कुल जनङ्ख्याको १.२९ प्रतिशत हो ।

लिम्बू भाषाका भाषिकाहरू
लिम्बू जातिको विभिन्न भौगोलिक क्षेत्रमा बसोबासका कारण लिम्बू भाषाको रूप केही फरक हुन गएको पाइन्छ । लिम्बू भाषाको फरक–फरक यी रूपलाई लिम्बू भाषाको भाषिका भनिन्छ । सबैभन्दा पहिले हज्सनले सङ्कलन गरेको लिम्बू भाषाको विभिन्नरूपमा फागु (तमोरखोले), पान्थरे, चौबीस, फाकफोक (इलाम), छथरे तथा खजुम बोलीका भनेर नमुनाका १८८ शब्दहरू दिएर हज्सन पाण्डुलिपि भो. ७४, पृ. १३३ देखि १४८ भित्र लिम्बू भाषाको विविध भाषिका भएको देखाइएको छ । त्यसबेलै हज्सन पाण्डुलिपि ७४, पृ. १४३ देखि १४४ मा १८८ शब्द दिँदा नै पान्थरे र चौबीसे, इलामको फाकफोक क्षेत्रभित्र बोलिने (चारखोले) लिम्बू भाषा एउटै भाषाका भाषिका हुन् भनेर पहिचान गरिएको समेत देखिन्छ । त्यसरी नै मैवा क्षेत्रमा बसोबास गर्ने सिरिङ, साम्बा र फागु तीन थरभित्रका तेह्र थरका लिम्बूले बोल्ने बोली एउटै हो भनेर फागु बोली वा भाषा आजको तमोरखोेले लिम्बू भाषिका नै भएको कुरा प्रस्ट्याइएकोे छ । पछि जी.ए. ग्रियर्सन (१९०८ इ. ः२८८) ले मेजर डब्लु.एच्. सिनियर (१९०८ इ.) को हवाला दिँदै लिम्बूका फेदाप्पे, फागुराय र तमोरखोले तथा पान्थरे भाषिकामा थोरैथोरै भिन्नता हुन्छ भनेर लेखेका छन् ।

पछिल्लो समयमा अध्ययन गर्ने विद्वान्हरूका अनुसार लिम्बू भाषाका मुख्य चार भाषिका छन्, जस्तैः पान्थरे, फेदाप्पे, तमरखोले र छत्थरे (हेर्नुहोस् वाइडर्ट र सुब्बा १९८५ इ., भ्यान ड्रिम १९८७, इ. काइँला २००२ इ.) । त्यसरी नै तमोरखोले भाषिकालाई थप ताप्लेजुङे र याङ्रोक्के भाषिकामा पनि विभक्त गरेको पाइन्छ । फेदाप्पे र छत्थरे लिम्बू भाषिकालाई फेदापे भाषिकाभित्र राख्नेहरू पनि छन् । त्यसरी नै पान्थरे भाषिकालाई थप चौबीसे र चारखोले भाषिकामा पनि विभक्त गरेको पाइन्छ । यी भाषिकाहरूमा शब्दहरूमा मात्र भिन्नता पाइन्छ । तर, छत्थरेमा भने शब्दहरूका साथै रूपायनमा पनि भेद पाइन्छ ।

लिम्बू लिपि
लिम्बू भाषा लेखिने लिपिलाई किरात सिरिजङ्गा लिपि भनिन्छ । पहिले कतिले यसलाई किरात लिपि मात्र भन्ने गरेको देखिन्छ । पछिबाट सन् १९२५ मा भारतको कालेबुङमा याक्थुङ्हाङ चुम्लुङ स्थापना भएपछि यसको नाम पुनःप्रयोग गर्ने अवतारी सिरिजङ्गाको नाम चिरस्थायी गर्ने गरी सिरिजङ्गा लिपि राख्ने निर्णय भएयता यस लिपिलाई सिरिजङ्गा लिपि भन्न थालिएको हो ।

लिम्बू वर्णमाला
हाल प्रचलित लिम्बू वर्णमालामा १६ वर्ण र ९ संवर्णहरू प्रयोगमा रहेका छन् । यसरी नै १२ वटा स्वरवर्णहरूका साथै स्वरवर्णको दीर्घताका लागि केःम्फ्रेङ् ( : ) र विवृत ए का लागि पेत्च (.) को उपचिह्नको प्रयोग गरिएका छन् । यसरी नै ८ वटा आधा अक्षर र ३ वटा संयुक्ताक्षर प्रयोगमा रहेका छन् ।

लिम्बू साहित्य
लेख्य साहित्य भएका नेपालमा बोलिने भाषाहरूमध्ये एउटा मुख्य भाषा लिम्बू भाषा हो । यस भाषाको लेख्य परम्पराको अध्ययन गर्दा हामी त्येअङ्सी सिरिजङ्गा (सन् १७०४—१७४१) मा पुग्दछौँं । उनका पालादेखि व्यापक प्रचलनमा आएको किरात लिपिमालामा लेखिएका धेरै पाण्डुलिपिहरू हज्सनले (१८४६— १८५८) गरेको संकलनमा पाइन्छन् । त्यसपछिका दिनमा भने धेरै वर्षपछि कालेबुङमा याक्थुङ्हाङ चुम्लुङको स्थापना (१९२५) भएपछि लिम्बू भाषाको द्रुत गतिमा विकास हुन थालेको देखिन्छ । सन् १९३८ देखि कालेबुङमा लिम्बू भाषा औपचारिक पठनपाठनका लागि विद्यालय स्थापना भएको थियो भने सन् १९६८ देखि सिक्किमका प्राथमिक विद्यालयहरूमा लिम्बू भाषाको पठनपाठन आरम्भ भएको थियो ।
आज लिम्बू साहित्यको सबैजसो विधाहरू जस्तैः कविता, कथा, निवन्ध, खण्डकाव्य, महाकाव्य, नाटक, समालोचना आदिमा प्रसस्त कृतिहरू लेखिएका छन् । श्रुतिपरम्परा, मुन्धुम, लोकसाहित्यका क्षेत्रमा पनि प्रसस्तै शोध र अनुसन्धानका अनेकन् कार्य भएर प्रकाशनहरू प्रशस्त मात्रामा भएका छन् ।


Like us on Facebook