माझी

माझी

को हुन् माझी जाति ?

माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने जाति हुन् । माझी जाति आफ्नो छुट्टै भाषा, धर्म, संस्कार, संस्कृति र परम्परा भएको नेपालको आदिवासी जनजाति हुन् । यो जाति मूलतः सप्तकोशीका सहायक नदीहरूका छेउछाउ, मध्य तथा पूर्वी क्षेत्रका भित्रीमधेश र मधेशमा बसोबास गर्दछन् । हाल आएर तराईका सहनी, गोडी, मलाहा, थारू, दुषाद, हल्खोर, डुम, हाडी, मुसहर, भित्रिमधेशका बोटे, पश्चिम नेपालका केही खस क्षेत्री, रायमाझी इत्यादिले पनि माझी लेखेका हुनाले वास्तविक माझी जातिको पहिचानमा संकटमा परेको छ । माझी जाति अतिसीमान्तकृत समूहमा पर्दछन् । २०५८ सालको जनगणनाअनुसार माझीहरूको कुल जनसङ्ख्या ७२,६१४ रहेको छ । जसमध्ये पुरूष ३६,३६७ र महिला ३६,२४७ थिए । २०६८ सालको जनगणना अनुसार माझी जातिको कुल जनसङ्ख्या ८३,७२७ रहेको छ ।

भाषा
माझी जातिले बोल्ने भाषालाई माझी जातिले ‘माझी कुरो’ भने पनि यस जातिबाहेकका जातिले माझी भाषा भन्दछन् । माझी भाषा भारोपेली भाषा परिवारमा पर्दछ ।
माझी कुरोका वक्ताहरु विशेषतः तामाकोशी, सुनकोशी र दूधकोशी गडतिरमा रहेका छन् । माझी भाषाको केही क्षेत्रीय भाषिकाको भेदहरू पाइन्छन् । प्रत्येक जिल्ला र गाउँहरूमा केही भिन्नता छन् । उदाहरणका लागि नेपाली शब्द ‘खानु’लाई तामाकोशीमा ‘खा’, ‘खाइ’ र सुनकोशी र दूधकोशीमा ‘खारा’ भन्दछन् । यसमध्ये मुख्य भाषा कुन हो भन्नेबारे अध्ययन अनुसन्धान हुन बाँकी छ । दूरीको आधारमा दूधकोशी र तामाकोशीको भाषामा एकरूपता हुनु पर्ने भएपनि दूधकोशी र सुनकोशी क्षेत्रमा बोलिने माझी कुरोमा एकरूपता पाइन्छ । यी तीन क्षेत्रबाहेक अन्यत्र थोरैरूपमा माझी कुरोको वक्ता रहेका छन् ।

भाषा बोल्नेहरूको सङ्ख्या
माझी कुरोका वक्ता मुख्य तीन क्षेत्रमा रहेका छन् । सबैभन्दा बढीमा तामाकोशी, दोस्रोमा सुनकोशी र तेस्रोमा दूधकोशी क्षेत्र हो । ती तीन क्षेत्रबाहेकका क्षेत्रमा बसोबास गर्ने माझीहरूमध्ये थोरैले मात्र माझी कुरो बोल्दछन् । विभिन्न अध्ययनअनुसार माझी कुरो २५ किसिमले बोल्दछन् । २०५८ सालको जनगणनाअनुसार माझी कुरोको वक्ता २१,८४१ जना रहेको थियो । जसमध्ये महिला ११,०१४ र पुरुष १०,८२७ थिए । २०६८ सालको जनगणनाअनुसार माझी कुरोका वक्ता २४,४२२ छन् ।
माझी भाषा अन्य भाषाको अतिक्रमणले लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाहेक कुनै पनि निकायबाट पहल भएको छैन । यो भाषा बोलीचालीमा मात्र सीमित छ । माझी कुरोका वक्ताहरू नेपालबाहेक भारत तथा भुटानमा पनि रहेका छन् ।


Like us on Facebook