नेवार

नेवार

को हुन् नेवार ?
काठमाडौं उपत्यकामा आदिकालदेखि नै बसोवास गर्दै आएका आदिवासी समुदाय हुन् नेवार । नेवार आदिवासी समुदायलाई नेवाः भनिन्छ । नेवाः हुँदै पछिल्लो समयमा नेवार भएको हो । नेपालको नाम नेवाः भाषाबाटै अप्रभंष भएर भएको भन्ने भनाइ रहेको छ । नेवाः भाषामा काठमाडौं उपत्यकालाई ने भनिने र पछि त्यो ने अप्रभंष भएर नेपाल भन्ने गरिएको भन्ने पाइन्छ । किंवदन्तीअनुसार मञ्जुश्रीले चोभारको गल्छीमा खड्गले छेदन गरी काठमाडौं उपत्यकाको पानी बाहिर पठाएर मानव वस्ती बसालेदेखि उपत्यकामा नेवारहरूको बसोबास रहेको हो भन्ने मान्यता रहेको छ । ऐतिहासिक प्रमाणको आधारमा अहिलेसम्म सबैभन्दा पुरानो अभिलेख अर्थात् काठमाडौंको चाबहिल स्तुपमा अशोककालीन समय अर्थात् ईसा पूर्व तेस्रो शदाब्दीदेखि नै मानव वस्ती भएको ब्राह्मी लिपिमा लेखिएको ईँटा भेटिएको छ । त्यसैले ईसा पूर्व तेश्रो शताब्दीदेखि नै उपत्यकामा मानिसको बसोबास भइसकेको देखिन्छ । त्यसबेलादेखि नै नेवारहरूको बसोबास भएको ऐतिहासिक प्रमाण हो । काठमाडौं उपत्यकामा राज्य सञ्चालनको आधारलाई वंशावलीमा उल्लेख भएअनुसार सबैभन्दा पहिला गोपालवंशी त्यसपछि क्रमशः महिसपाल, अभीर किरात, लिच्छिवि हँुदै मल्लहरूले समेत राज्य सञ्चालन गरेको पाइन्छ । त्यसरी राज्य सञ्चालन गरेकाहरू सबै नेवार भएकाले गोपलवंशीको राज्य सञ्चालनभन्दा अघिदेखि नै उपत्यकामा नेवार भएको अनुमान गर्दै आइएको छ ।

नेवाःहरूको बसोबास नेपालको ७५ जिल्लामा रहेको छ । उनीहरू विभिन्न कालखण्डमा काठमाडौं उपत्यकाबाट बाहिर बस्न गएका हुन् । पछिल्लो समयमा नेवाःहरू विभिन्न मुलुकमा पनि बसोबास गर्दै आएका छन् ।

नेवाः समाजमा प्रमुख संस्कृतिको रूपमा म्हपूजा रहेको छ । म्ह भनेको शरीर हो । म्हपूजा आफ्नो शरीरलाई नै पूजा गर्ने नेवारी संस्कृति हो । म्हपूजा आजभन्दा २ हजार वर्षअघिदेखि नै विकसित हुँदै आएको अनुमान गरिएको छ । त्यसैगरी रातो मच्छिन्द्रथानको जात्रा कलिगत सम्बत् ३६ सय अर्थात् आजभन्दा १६ सय वर्षअधिदेखि नेवार समुदायले चलाउँदै आएको हो । नेवाः संस्कृति भनेको मानिसलाई अर्थात् मानवलाई नै देवताको रूपमा पूजा गर्ने विशेषता भएको संस्कृति हो । त्यसैले नेवाः संस्कृतिभित्र विविधता र विशेषता रहेको पाइन्छ । कुमारी देवता यसको अर्को उदाहरण हो । कुमारी भनेको जीवित देवी हुन् ।

नेवाःभित्र रहेको धार्मिक, सांस्कृतिक, भौगोलिकरूपमा रहेको विविधता नै यस समुदायको विशेषता हो । त्यसैले यस समुदाय अन्य आदिवासी जनजातिभन्दा फरक रहेको छ । नेवाः समुदायभित्र विभिन्न प्रकारका संस्कृति रहेका छन् । विविध संस्कृति रहेका कारण यो समुदाय भाषागत समुदाय हो । किरातकाल, लिच्छविकाल र मल्लकालमा उत्तर र दक्षिणतिरबाट जति पनि मानिसहरू उपत्यकामा आए, उनीहरू सबै नेवाः भएर नेपाल भाषा अर्थात् नेवाः भाषा बोल्दै आइरहेको देखिन्छ । नेपाल सम्बत् शुरुहुनुभन्दा अगाडि करिव एक हजार वर्षअघिदेखि नै नेपाल लिपि र नेवाः साहित्यको विकास भएको पाइन्छ । नेपाल लिपि नेवाः समुदायको आफ्नै लिपि हो ।

भाषा र भाषिका

नेवारहरूले बोल्ने भाषा ‘नेपाल भाषा’ अर्थात् ‘नेवाः भाषा’ हो । काठमाडौंमा बोलिने नेवाः भाषालाई विकसित भाषाको रूपमा लिइएको छ । नेवाः भाषाका वक्ता काठमाडौंबाहेक दोलखा, पोखरा, प्युठान, पाल्पा, नेपालगञ्ज, सुनसरी (धरान), झापा (दमक, बिर्तामोड), धनकुटा, रामेछापलगायत अन्य जिल्लामा पनि रहेका छन् ।
काठमाडौं उपत्यकामा नेपाल भाषा बोल्ने नेवारहरूको सङ्ख्या बढी रहे तापनि नेपाल भाषालाई दुई भाषिकामा विभाजन गर्नु पर्छ । एउटा भौगोलिक भाषिका र अर्को सामाजिक भाषिका हो । काठमाडौं, भक्तपुर र दोलखामा बोलिने नेपाल भाषालाई भौगोलिक भाषिकाको रूपमा लिइन्छ भने सामाजिक भाषिकाको रूपमा बलामी भाषा, पहरी भाषा र गोपाली भाषालाई लिइन्छ ।
पछिल्लो तथ्याङ्कअनुसार नेवारहरूको जनसंख्या १३ लाखभन्दा बढी रहेको छ । तीमध्ये आधा जनसंख्या काठमाण्डौं उपत्यका रहेको छ । १३ लाख नेवारहरूमध्ये ६३ प्रतिशत नेवारहरूले नेपाल भाषा बोल्दछन् ।


Like us on Facebook