राजवंशी

राजवंशी

को हुन् राजवंशी ?

पूर्वी नेपालको कोच समुदाय राजवंशी नामले परिचित छ । उनीहरू लामो समयदेखि मोरङ र झापा जिल्लाका विभिन्न भागमा बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ ‘राजपरिवार’ अर्थात् ‘राजपरिवारसँग आवद्ध’ हुन्छ । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनिएको हो भन्ने भनाइ छ । राजवंशी जातिलाई कोच अर्थात् कोचे पनि भनिन्छ । आफूलाई क्षेत्रीय राजकूलको ठान्ने उनीहरू प्रारम्भमा विराटराजाले आश्रय दिएको मान्दछन् । पूर्वी नेपालमा शासन गर्ने किचक उनीहरूकै आदिपूर्खा भएको विश्वास गर्दछन् । यही कारणले उनीहरूले आफूलाई राजाका सन्तानका रूपमा राजवंशी भनेका हुन् ।

समाजशास्त्री डोरबहादुर विष्टका अनुसार हालको आसाममा अवस्थित सन्कोशनदी, कोश र कोशीनदी भौगोलिक क्षेत्रभित्र प्राचीनकालदेखि बसोबास गर्दै आएका मानिसहरूलाई कोच भनिन्छ । सत्रौं र अठारौं शताब्दीमा दक्षिणको बिहार र उत्तरको मोरङदेखि भारतको आसामसम्म फैलिएको कोच साम्राज्य भारतमा अंग्रेजहरूले र झापा, मोरङ र सुनसरी जिल्लालाई नेपाल अधिराज्यले गाभेपछि कोचहरूको राजनीतिक इतिहासको अन्त्य भएको थियो । आर्यहरूको आगमनभन्दा अगाडिदेखि नै आफ्नै संमृद्ध संस्कृति र गौरवशाली परम्परा चलाएर राज्य गर्दै आएका कोच आफूभन्दा शक्तिशाली र समुन्नत ठह¥याएका जाति र वर्गहरूका अगाडि आफ्नो आत्मसम्मान र मर्यादामा क्रमशः पतन हुन थाल्यो । धेरैजसो कोच ब्राह्मण पुरोहितहरूका जजमान बन्न थाले । उनीहरूले लुकिछिपी जात बदल्न थाले । सभ्य बन्नका लागि आफ्नो जातको नाम बदलेर आफूलाई राजपूत सरहको राजवंशी भन्न थाले । फलस्वरूप राजपरिवार तथा सम्पन्न कोचहरू राजपूत सरह राजवंशी हुन सफल भए भने कोही मुसलमान धर्म ग्रहण गर्न पुगे । कोच राज्यको पतनपछि हिन्दू वर्णाश्रम व्यवस्थाले यस जातिको परम्परागत संस्कृतिमा प्रभाव पारेको र सांस्कृतिकरूपमै सामाजिक विविधतालाई प्रश्रय मिलेको देखिन्छ । अहिले राजवंशीलाई सामाजिकरूपमा हिन्दू राजवंशी, मुसलमान राजवंशी र कोच गरी तीन समूहमा बाँडिएको पाइन्छ । राजवंशीको सामाजिक अवस्था निकै जटिल छ । आदिवासी जनजाति प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचिकृत ५९ आदिवासी जनजातिहरूमध्ये सीमान्तकृत आदिवासी समूहमा पर्ने राजवंशीहरूको जनसङ्ख्या २०६८ को जनगणनाअनुसार १,१५,२५२ छ । जसमध्ये महिलाहरूको सङ्ख्या ६२,४९१ र पुरुषहरूको सङ्ख्या ५२,७६१ रहेको छ । राजवंशीहरूको जनसङ्ख्या विश्वभर ६६,०६,००० रहेको छ ।

यस जातिको प्रमुख पेशा खेती हो । हाल आएर मजदुरीलगायतका अन्य पेशामा पनि संलग्न छन् । आफ्नो संस्कृति, परम्परा, भाषा र साहित्यमा यो जाति धनी छ । राजवंशीहरू सिधा, सोझा स्वभावका हुन्छन् । झंै झगडा, अड्डा अदालतको कानुनी झन्झटबाट टाढा रहन मन पराउँछन् । राजवंशीहरू प्रायः ठूलो गुजुमुज्ज परेर रहेको गाउँवस्तीमा बस्छन् । प्रमुख पेशा खेतीपाती रहेतापनि अहिले कृषिमा निर्भरता घट्दो र युवा पुस्ताहरू शिक्षा, रोजगारीको अभावमा वैदेशिक रोजगारीतिर पलायन भएको पाइएको छ ।

राजवंशीहरूको प्राचीन मौलिक पहिरनका रूपमा महिलाले लगाउने पेटानी, गजी, बर्हती र पुरुषहरूले लगाउने पाझल, धुती, गन्जी र कमिज हो । उनीहरूको खानेकुरामा दाल, भात, तरकारी, अचार, पन्ताभात, खरखराभात, गाजीमुरी, बरी, भाका, पिठ, पेरपेरी, प, बेनी रुटी, छेका–पेल्का, सुकाती, फोदगो, खारी, कान्जि, रसिया, दरकच, पोए साग, लाफ साग, घोटोल, सातसागी, सिदल, सुकटा, काखर(गंगटो), गुन्ज्री (घुंगी), सितु आदि हुन् ।

भाषा
राजवंशीहरूले बोल्ने भाषालाई राजवंशी भाषा भनिन्छ । यो भाषा भारोपेली परिवारअन्तर्गत पर्दछ । राजवंशी भाषाको छुट्टै लिपि रहे पनि यिनीहरूले लेख्य परम्पराको रूपमा देवनागरी लिपि नै प्रयोग गर्दछन् । राजवंशीे भाषामा विभिन्नता रहेको पाइन्छ । पूर्व भागमा बोलिने पूर्वीया (भडङिया), बीच भागमा बोलिने ठेट (मध्य) राजवंशी र पश्चिम भागमा बोलिने पश्चिमा गरी तीन प्रकारको लवज (भाषिका)हरू पाइन्छन् । झापामा बोलिने र मोरङमा बोलिने राजवंशी भाषामा पनि फरक पाइन्छ । प्राध्यापक डा. माधवप्रसाद पोखरेलका अनुसार राजवंशी भाषाका चार भाषिका छन् । तिनीहरूमा ताजपुरिया, गन्गाई, सुरजापुरा र केवरत हुन् ।

नेपालको तराई क्षेत्रका झापा, मोरङ र सुनसरीका स्थानीय गाउँहरूमा राजवंशी भाषालाई स्थानीय भाषाको रूपमा अथवा बोलिचालीको भाषाको रूपमा प्रयोग गरिँदै आइएकाले नेपालभित्र राजवंशी भाषीहरूको सङ्ख्या राजवंशीको जनसङ्ख्याभन्दा बढी रहेको पाइएको छ । यस क्षेत्रमा राजवंशीबाहेक थारु, गन्गाई, ताजपुरिया, माझी, गिरि तथा मुसलमानले पनि राजवंशी भाषामा बोल्दछन् । पहिला पहिला व्यापारी माडवारी, पश्चिममा (यादव, राजपूत, कायस्थ, डुम, मुसहर आदि)हरूले पनि राजवंशी भाषाको प्रयोग गर्थे । केही स्थानमा अहिले पनि राजवंशी भाषा नै प्रयोग गर्दछन् । नेपालमा मात्र यो भाषा बोल्नेहरूको सङ्ख्या २ लाख ५० पचास हजारको हाराहारीमा रहेको छ ।  यस भाषा नेपालबाहेक भारत, बंगलादेश र भुटानमा बोलिन्छ ।
भारतमा राजवंशी भाषा बोल्नेहरूको सङ्ख्या ४८,७८,०००, नेपालमा १,२३,०००, बंगलादेशमा १६,०५,००० र पाकिस्तानमा ३०० जना रहेका छन् । विश्वमा राजवंशीहरूको जनसङ्ख्या आदिवासी जनजातिहरूमा सबैभन्दा पहिलो स्थानमा रहेको पाइन्छ ।


Like us on Facebook