शेर्पा

शेर्पा

को हुन् शेर्पा ?

नेपालका ५९ आदिवासी जनजातिहरूमध्ये परापूर्वकालदेखि नेपालको उच्च हिमाली, भू–भागमा बसोबास गर्दै आएका शेर्पा जाति इमान्दार, परिश्रम, अहिंसावादी छवी तथा कुशल पर्वतारोहणका कारण विश्वभरि परिचित छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा पहिले आरोहण गर्ने, कम उमेरमा आरोहण गर्ने, सबैभन्दा बढी पटक आरोहण गर्ने, बिनाअक्सिजन आरोहण गर्ने तथा सामान्य नेपाली पहिरनमा सगरमाथा आरोहण गर्नेजस्ता अतुलनीय काम गरी गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल शेर्पाहरू सदियौंदेखि हिमालको काखमा जन्मेर हुर्केका नेपालका आदिवासी हुन् ।

शेर्पा शब्दको उत्पत्तिका सम्बन्धमा विज्ञहरूबीच मतभेद छ । शेर्पा शब्द शेर्पा भाषाको श्यार र पा मिलेर बनेको हो । शेर्पा भाषामा ‘श्यार’को अर्थ ‘पूर्व’ तथा ‘पा’को अर्थ बासिन्दा हुन्छ । युगौंदेखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका कारण उनीहरूलाई श्यारपा अर्थात् शेर्पा भनिएको विश्वास छ । शेर्पाहरूको बारेमा पहिलोपटक अध्ययन गर्ने विद्वान मानवशास्त्री हाइमेनडोर्फले सन् १९६४ मा शेर्पाहरू पूर्वी तिब्बतको खाम क्षेत्रबाट बसाइँ सरेर नेपाल प्रवेश गरेको उल्लेख गरेका छन् । उनका अनुसार शेर्पाहरूका पुर्खा रोलवालिङ हिमालको पश्चिमपट्टिबाट रोङश्यार छयु हँुदै दक्षिणतर्फ र त्यसपछि पूर्वी क्षेत्रको सोलुमा आएर बसोबास गरी क्रमशः उत्तरतर्फ पर्ने खुम्बु क्षेत्रतिर लागेका हुन् । त्यसैगरी नेपाली लेखक जाम्याङ वाङमोका अनुसार शेर्पा जातिका पुर्खाहरू तिब्बतको खाम क्षेत्रको साल्मोगाङ (हाल चीनको सिचुवान प्रान्त)बाट बसाई सरी आएको उल्लेख गरेका छन् । शेर्पाबारे अनुसन्धान गर्ने प्रायः विद्वानहरूले करिव ५०० वर्ष पहिले शेर्पाहरू तिब्बतको खाम क्षेत्रबाट नेपाल प्रवेश गरेको तर्क अगाडि सारेको छन् । जातीय संग्राहलयले सन् २००१ मा गरेको अध्ययनअनुसार शेर्पाहरू कतिपय विद्वानहरूले भने जस्तो ५०० वर्षअघि तिब्बतको खाम प्रदेशबाट बसाइँ सरेर आएका नभएर उनीहरू धेरै अघिदेखि नै नेपालको पूर्वी क्षेत्रमा विशेष गरी सोलुखुम्बुको खुम्बु क्षेत्रमा पशुपालन गर्दै आएको जाति हुन् । र, कालान्तरमा शेर्पाहरू विभिन्न स्थानमा बसाइँ सर्न थालेका हुन् । तर, यसरी विभिन्न स्वदेशी तथा विदेशी विद्वानहरूले शेर्पा जातिको उत्पत्ति, नामकरण र बसाइँसराइको सम्बन्धमा अगाडि सारेका मतहरूलाई पुष्टि गर्ने बलियो आधार भने कतै भेटिँदैन । विद्वानहरूका मत जे भएपनि शेर्पाहरू नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासीहरूमध्ये एक हुन् । शेर्पाहरूको आफ्नै विशिष्ट जातीय, भाषिक, धार्मिक र सांस्कृतिक पहिचान छ । उनीहरूले बौद्ध धर्म र त्यससँग सम्बन्धित सांस्कृतिक परम्परामा आधारित जीवनशैली अपनाउँदै अएका छन् । बौद्ध धर्मको महायानाअन्तर्गत सबैभन्दा पुरानो सम्प्रदाय ङिङमपाका अनुयायी रहँदै आएका शेर्पाहरूको अधिकांश संस्कृति, परम्परा र व्यवहार वौद्ध दर्शनमा आधारित छ । उनीहरू तिब्बत–बर्मेली भाषा परिवारअन्तर्गतको सेरवी ताम्ङे अर्थात् शेर्पा भाषामा बोलचाल गर्दछन् । लेखनमा सम्बोटा लिपि प्रयोग गर्दछन् ।

शेर्पाहरूको पुख्र्यौली थलो सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्र विशेषत खुम्बु क्षेत्र र दूधकोशी तथा सुनकोशीनदीको उपत्यका र त्यस आसपासका भू–भाग हो । ती क्षेत्रमा अवस्थित हिमाल, पहाड, खोलानाला, जंगल र ठाउँहरूको नामसमेत शेर्पा भाषामा रहेका छन् । शेर्पाहरू हिमाली क्षेत्रमा बसोबास गर्दै आएका कारण हिमालसँग उनीहरूको अन्योन्याश्रित सम्बन्ध रहेको छ । उनीहरूको लोकगीत र लोककथाहरूमा हिमाल र पहाडहरूको चित्रण गरिएको पाइन्छ । शेर्पाहरू हिमाल र पडाडमा देवीदेवताको बासस्थान रहेको विश्वास गर्दछन् । त्यसैले प्राचीनकालदेखि नै उनीहरूले हिमाल तथा पहाडको पूजाअर्चना गर्दै आएका छन् । उनीहरू आफ्नो देवीदेवताहरूलाई खुशी पार्न हिमाल, पहाड र खोलानालाहरूमा लुङता र तच्र्यो लगाउने गर्दछन् । शेर्पाहरू कतिपय रुख र वनलाई समेत पूजा गर्छन । त्यसैले जथाभावी वन फडानी समेत गर्दैनन् । प्रकृतिलाई खुशी पार्न सकिएको खण्डमा मात्र आफू, आफ्ना परिवार र समुदायमा शान्ति, समृद्धि कायम हुने शेर्पाहरूको विश्वास छ । बहुसंख्यक शेर्पाहरूले पर्यटन र व्यापारलाई मुख्य पेशा बनाएका छन् । शेर्पाहरूको हक अधिकारलाई सुनिश्चित गर्न नेपाल शेर्पा संघ स्थापना भई सक्रिय रूपमा कार्यरत छ ।

धार्मिक, चाडपर्व र संस्कार
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको शेर्पा जातिको चिनारीअनुसार शेर्पाहरू बौद्ध धर्मअन्तर्गत ञिङमापा सम्प्रदायका अनुयायी हुन् । ञिङमापा सम्प्रदायलाई बौद्ध धर्मको महायानाअन्तर्गतको सबैभन्दा पुरानो सम्प्रदायको रूपमा लिइन्छ । धर्म, संस्कृति, चाडपर्व तथा संस्कारका धनी शेर्पाहरू विभिन्न समयमा विभिन्न किसिमका चाडपर्व, मेला, धार्मिक उत्सव मनाउने तथा पूजाआजा गर्ने गर्दछन् । शेर्पाहरूको मूल्यमान्यता, रीतिरिवाज र परम्परागत संस्कृति बौद्ध दर्शनमा आधारित छन् । शेर्पाहरू धार्मिक र सांस्कृतिक गरी दुई प्रकारको चाडपर्वहरू मनाउने गर्दछन् । मनिरिम्दु, ञ्युङने, डुम्जी, चिरीम, ओशो आदि उनीहरूको धार्मिक चाडपर्व हुन् भने ल्होसार, फाकङयी र यारच्याङ सामाजिक चाडपर्व हुन् । शेर्पाहरू आफ्ना धार्मिक चाडपर्वहरू लामा र आनीहरूको उपस्थितिमा गोन्पामा मनाउने गर्दछन् । तर, सामाजिक चाडपर्वहरू भने स्थानीय समुदायहरूको संलग्नतामा सामुहिकरूपमा भेला भई मनाउने गर्दछन् ।

शेर्पा भाषा
कुनै पनि जातीय समुदायको पहिचान र उनीहरूको अस्तित्वको परिचय उनीहरूले प्रयोग गर्ने भाषाले दिने गर्दछ । शेर्पाहरूको आफ्नै मातृभाषा र लिपि रहेको छ । शेर्पाहरूले बोल्ने भाषालाई श्यर्वी ताम्ङे भनिन्छ । शेर्पा भाषा चिनियाँ भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । भाषाविद्हरूका अनुसार त्यो परिवारभित्र पनि यो भाषा बोडिश शाखाअन्तर्गत पर्दछ । बोडिश शाखामा पर्ने शेर्पाहरूको प्रमुख ध्वनि वैज्ञानिक विशेषता नाल हो ।

शेर्पाहरू घरपरिवारमा आफ्नै भाषामा बोल्ने हुनाले उनीहरूको भाषाको प्रचलनमा कमी आएको छैन । तर, बढ्दो बसाइँसराइसँगै यो भाषा बोल्ने क्रममा कमी आउने प्रवल सम्भावना रहेको छ । शेर्पा भाषाअन्तर्गत कुनै भाषिका नभए पनि भौगोलिकरूपमा फरक–फरक ठाउँमा बसोबास गर्ने शेर्पाहरूको ठाउँ विशेष केही शब्द र उच्चारणमा सामान्य भिन्नता भने रहेको पाइन्छ ।

शेर्पा भाषाको लिपि, लेख्य परम्परा र मानकीकरण
शेर्पाहरू सम्बोटा लिपि प्रयोग गर्छन । सम्बोटा लिपिको विकास सातौं शताब्दीमा नेपालमा नै भएको र नेपालबाट तिब्बतमा भित्रिएर विकसित भएको भन्ने भनाइ छ । शेर्पाहरूले प्रयोग गर्ने सम्बोटा लिपिमा ३० वटा सल्जेत (व्यञ्जन वर्ण), चारवटा याङ (स्वरवर्ण) र ञेवियक (उपस्वर वर्ण) रहेका छन् । त्यस्तै, पाँचवटा ङोन्ज्यूक (पूर्वाक्षर), १० वटा जेज्युक (पराक्षर), दुईवटा याङज्युक (पुनःपराक्षर) तथा २० वटा मिङमी (मुलाक्षर) रहेका छन् ।

नेपालमा शेर्पा भाषाको अध्ययन ई. १९७० को दशकमा Summer Institute of Linguistics ले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेपछि सुरुवात भएको देखिन्छ । यस संस्थाले शेर्पा भाषाको ध्वनि र त्यस सम्बन्धमा अध्ययन गर्नुको अतिरिक्त शेर्पा भाषा शब्दावली समेत सङ्कलन गरेको छ । तर, हालसम्म यसको प्रकाशन भएको छैन । शेर्पा भाषामा भएका अध्ययनहरूमा पनि बढी मात्रामा व्यक्तिगत शब्द सङ्कलनका रूपमा मात्र काम भएको छ । त्यस्तै, भाषाको विभिन्न पक्षहरूमा केही अध्ययन–अनुसनधानहरू भए तर सरकारी तहबाट हालसम्म पनि शेर्पा भाषाको अभिलेखीकरण हुन सकेको छैन । शेर्पा समुदायका केही विज्ञहरूले शेर्पा भाषासम्बन्धी पुस्तक तथा शब्दकोशका किताबहरू प्रकाशित गरेका छन् । ई. १९७० कै दशकमा नेपालमा शेर्पाहरूको भाषासम्बन्धी अध्ययनमा केन्ट गोर्डेनले महत्वपूर्ण योगदान पु¥याएको पाइन्छ । उनले शेर्पा भाषाको उच्चारण र ध्वनिका साथै वाक्य, वाक्यांश र बोल्ने शैली सम्बन्धमा अध्ययन गरेका छन् । त्यस्तै, ई. १९८० को दशकमा वर्खुडाले पनि शेर्पा भाषाको वाक्य, शैली, क्रियापद, स्वरवर्ण सम्बन्धमा अध्ययन अनुसन्धान गरेका छन् । अस्टिनीले ई. १९६९ मा शेर्पा भाषा उच्चारणमा भिन्नता सम्बन्धमा अध्ययन गरेका थिए । यसरी विभिन्न विदेशी भाषाशास्त्री र अनुसन्धानकर्ताहरूले शेर्पा भाषा सम्बन्धमा विभिन्न समयमा अध्ययन अनुसन्धान गरी भाषिक विकास र भाषा लिपिवद्ध गराउनमा योगदान पु¥याएका छन् । पछिल्लो समयमा विदेशी भाषाविद् र अनुसन्धानकर्ताहरूले थप काम गरेको पाइन्छ । उनीहरूले शेर्पा शब्दावली सङ्कलन र शब्दकोश तयारी गरी प्रकाशनमा समेत ल्याएका छ ।

शेर्पा भाषाको भाषिक जनसङ्ख्या र तिनको भौगोलिक वितरण
नेपालका विभिन्न जिल्लाहरू सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, भोजपुर, सिन्धुपाल्चोक, दोलखा, इलाम, खोटाङलगायतका जिल्लाहरूमा बसोबास गर्ने शेर्पाहरूको भाषा वि.सं. २००९÷११ को राष्ट्रिय जनगणनामा उल्लेख भएका ५४ वटा भाषाहरूमध्ये एक हो । २०४८ को राष्ट्रिय जनगणनामा उल्लेख ९२ वटा भाषाहरूमध्ये शेर्पा भाषाका वक्ता १,२९,७७१ जना (१.५८ प्रतिशत) रहेको छ । २०४८ सालको जनगणनाअनुसार शेर्पाहरूको कुल जनसङ्ख्यामध्ये ९९.१ प्रतिशतले शेर्पा भाषा बोल्ने गरेको पाइए तापनि २०५८ को राष्ट्रिय जनगणनामा त्यो सङ्ख्या घटेर ८३ प्रतिशतमा झरेको तथ्याङ्कमा उल्लेख छ । २०६८ को जनगणनाअनुसार शेर्पाहरूको जनसङ्ख्या १,१२,९४६ रहेको छ । जसमा शेर्पा भाषाका वक्ताका सङ्ख्या १,१४,८३० जना रहेको तथ्याङ्कमा छ । यहाँ शेर्पा जातिभन्दा शेर्पा भाषाका वक्ताका सङ्ख्या बढी देखिन आएको छ ।
शेर्पा भाषाका वक्ताहरूमध्ये १५,०९४ जना सहरी क्षेत्रमा बसोबास गर्दछन् भने ९९,७३९ जना ग्रामीण क्षेत्रमा बसोबास गर्दछन् । भौगोलिक क्षेत्रका हिसाबले हिमाली क्षेत्रमा ६४,७१५, पहाडी क्षेत्रमा ४५,८०४ र ४,३०६ शेर्पा भाषी वक्ताहरू रहेका छन् ।

शेर्पा भाषाको प्रयोग
वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि शेर्पाहरूको भाषिक विकासमा केही सुधार भएको छ । २०५१ सालबाट रेडियो नेपालमा बिहान ९ः४५ बजे दैनिक शेर्पा भाषाको समाचार प्रसारणको सुरुवात भएको हो भने २०५४ सालदेखि प्रत्येक सोमबार विहान १० बजेदेखि ११ बजेसम्म हप्ताको एक घण्टा रेडियो नेपालमै शेर्पा भाषाको कार्यक्रम सञ्चालन हुँदै आएको छ । त्यसैगरी हाल आएर विभिन्न एफएम स्टेसनहरूमार्फत पनि शेर्पा भाषाका आधा दर्जन कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । त्यसरी २०६५ सालदेखि गोरखापत्र दैनिकको नयाँनेपाल पृष्ठमा शेर्पा भाषाको समाचार र लेखरचनाहरू प्रकाशन हुँदै आइरहेको छ भने शेर्पा सञ्चार समूहद्वारा प्रकाशित ‘नासम’ मासिक पत्रिकामार्फत पनि शेर्पा भाषामा समाचार र लेख रचनाहरू प्रकाशित हुँदै आएको छ । शेर्पा भाषा समृद्ध भए पनि यसको विकास, संवद्र्धन, संरक्षण र प्रवद्र्धनमा राज्यको तर्फबाट हालसम्म कुनै प्रयास भएको छैन । तर, व्यक्तिगत र गैरसरकारी संघ संस्थाहरूमार्फत भने शेर्पा भाषाको संरक्षण र संवद्र्धनमा केही काम भएका छन् ।


Like us on Facebook