तामाङ

तामाङ

को हुन् तामाङ ?

तामाङ जाति नेपालका विभिन्न आदिवासी जनजातिहरूमध्ये एक हो । यस जाति आफ्नै साझा भूगोल भएको जाति हो । तामाङहरूको साझा भूगोललाई ताम्सालिङ भन्ने गरिन्छ ।
तामाङ जाति नेपालका प्राचीन जातिहरूमध्ये एक हो । यो जातिले काठमाडौं उपत्यकालाई आफ्नो प्राचीन मूलथलोको रूपमा मान्दछ । नेपाल सरकारले सूचिकृत गरेको विभिन्न ५९ आदिवासी जनजातिहरूमध्ये तामाङ एक हो । यस जातिको आफ्नै भूगोल, धर्म, इतिहास, भाषा, भेषभूषा, रहनसहन, सामाजिक संरचना, संस्कार एवं सांस्कृतिक मान्यता रहेका छन् । यस जातिको मुख्य बसोबास क्षेत्र काठमाडौं उपत्यका र यसको आसपासका जिल्लाहरू रसुवा, मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली हो । यसका साथै मुलुकका विभिन्न क्षेत्रमा तामाङहरूको बसोबास रहेको छ ।
तामाङहरू नेपालबाहे भारतको सिक्किम, दार्जिलिङ, आसाम, नागालैन्डका साथै भुटान र बर्मालगायतका मुलुकमा बसोबास गर्दछन् ।

जनसङ्ख्या
वि.सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा तामाङहरूकोे जनसङ्ख्या १५, ३९,८३० रहेको देखाएको छ । तर, तामाङहरूले आफ्नो जातिको जनसङ्ख्या २० लाखभन्दा बढी रहेको दाबी गर्दै आएको छ । २०६८ सालको जनगणनाअनुसार यस जाति पाँचौ स्थानमा पर्दछ । तामाङहरुको जनसङ्या नेपालबाहेक भारतको सिक्किम, पश्चिम बंगाल तथा पूर्वोत्तर राज्यहरूमा मात्र १५ लाख, आसममा ६ लाखभन्दा बढी रहेको छ । सिक्किममा मात्र ५० हजार तामाङ रहेका छन् ।
तामाङहरूको बसोबास हिमालदेखि मधेशसम्म रहेको पाइन्छ । तामाङ बसोबास क्षेत्रभित्र विभिन्न आदिवासी जनजातिहरूको समेत बसोबास रहँदै आएको पाइन्छ । विशेषगरी जिरेल, सुनुवार, हायु, दनुवार, वनकरिया, गुरुङ, कुमाल, बोटे, ह्योल्मो, शेर्पा, सुरेल, थामी, माझी, चेपाङ, नेवार, पहरी, मगरका साथै बाहुन, क्षेत्री, दलितलगायतका समुदायको बाक्लो बसोबास रहँदै आएको छ ।

भाषा
तामाङ जातिलाई चिनाउने सशक्त माध्यम भाषा नै हो । नेपालको विभिन्न जीवित भाषाहरूमध्ये तामाङ भाषा अन्य भाषाको तुलनामा निकै अगाडि छ । तामाङ भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ ।
भोट–बर्मेली भाषा बोल्नेहरूमा तामाङ भाषी अग्रस्थानमा रहेको छ । २०६८ को जनगणनाअनुसार ९० प्रतिशतभन्दा बढी तामाङहरूले आफ्नो मातृभाषा बोल्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
राज्यको एक भाषा र एक संस्कृतिको नीतिका कारण खस–नेपाली भाषाबाहेक अन्य कुनै पनि भाषाको विकास हुने अवस्था थिएन । जसले गर्दा नेपालका अन्य भाषाहरूजस्तै तामाङ भाषाको पनि विकास हुन सकेन । तर, २०४६ सालको परिवर्तनपछि विभिन्न भाषाहरूले राज्यबाट मान्यता पायो । त्यही परिवर्तनको फलस्वरूप नेपाल अधिराज्यको संविधान २०४७ ले तामाङ भाषालाई पनि राष्ट्रिय भाषाको रूपमा मान्यता प्रदान ग¥यो । नेपालको अन्तरिम संविधान २०६३ ले पनि खस–नेपाली भाषालगायतका नेपालमा बोलिने सबै भाषालाई राष्ट्र भाषाको मान्यता प्रदान गरेको छ ।

धर्म तथा संस्कार
तामाङ जाति बौद्ध धर्म मान्दछन् । तामाङहरूले आफ्नो विभिन्न चाडपर्वमा बौद्ध धर्म र परम्पराअनुसार गुम्बा, माने र छ्योर्तेनमा पूजाआज गर्दछन् । तामाङहरू बौद्ध धर्मको महायानी सम्प्रदायभित्र पर्दछन् । उनीहरूकोे विभिन्न महत्वपूर्ण धार्मिक चाडपर्वहरूमध्ये बुद्धजयन्ती, सांस्कृतिक एवं धार्मिक पर्व अर्थात् नयाँवर्ष ल्होछारलगायत पर्दछन् । तामाङ समाजमा प्रत्येक वर्षलाई एउटा एउटा जीवले प्रतिनिधित्व गरेको हुन्छ । ल्हो परम्पराको आधारमा उमेरको गणना गर्ने र आफ्नो बालबच्चाको ल्हो राख्ने परम्परा रहँदै आएको छ ।
तामाङ समाजमा न्वारान अर्थात् बच्चाको नाउँ राख्ने, नाक, कान छेंड्ने, भात खुवाइ, छेवार, गुन्युचोलो दिने, विवाह र घेवा अर्थात् मृत्युपछिको अन्तिम संस्कारजस्ता संस्कार रहेका छन् । बालबच्चाको नाम राख्ने काम लामाले गर्दछ भने खाना खुवाउने काम घरमुलीबाट गर्ने गरिन्छ । तामाङ समाजमा छोराको छेवार अर्थात् कपाल काट्ने काम मामाले गर्ने परम्परा छ । त्यस्तै, यस समुदायको अर्को महत्वपूर्ण संस्कारको रूपमा गुन्युचोलो रहेको छ । यो कर्म आमाबुबाबाट सम्पन्न हुने गर्दछ । त्यसैगरी विवाहमा मूलतः ताम्बाको भूमिका महत्वपूर्ण हुन्छ । घेवा लामाबाट हुने गर्दछ । तामाङ समाजमा कुनै पनि सामाजिक कार्य सम्पन्न गर्न ताम्बा, बोन्बो र लामाको आवश्यकता पर्दछ । बालबच्चाको नाम राख्नेदेखि लिएर मृत्यु संस्कारमा लामाको महत्वपूर्ण भूमिका रहन्छ ।


Like us on Facebook