थकाली

थकाली

को हुन् थकाली ?
मुस्ताङ जिल्लाको दक्षिणी भेगमा अवस्थित १३ गाउँ क्षेत्र थाकखोला, थासाङ वा थाक सातसय नामले प्रख्यात छ । यो थकाली आदिवासीहरूको पुख्र्यौली थलो हो । यस क्षेत्रमा करिव दुई हजार थकालीहरू बसोबास गर्दछन् । हिजोआज थासाङ नामले परिचित यस ठाउँमा बसोबास गर्दै आएका आदिवासी जातिलाई थकाली भनिन्छ । थकालीहरू नेपालका अन्य आदिवासी जनजातिहरूको तुलानामा सांस्किृतिक, शैक्षिक र आर्थिकरूपमा सम्पन्न छन् ।

मौलिक भाषा, संस्कृति, रीतिरिवाज तथा इतिहास भएका थकालीहरू पहिले थासाङ क्षेत्रलाई परिचय गराउँदा ‘था’ अर्थात् किनारा वा सीमान्त क्षेत्र भन्ने गर्दथे । त्यस क्षेत्रमा बसोबास गर्ने जातिलाई ‘थावा’ वा ‘थाक्पा’ भन्ने पनि गरिन्थ्यो । उनीहरू एकापासमा कुरा गर्दा एकअर्कालाई चिनाउन तम्हाङ भन्ने पनि गर्दथे । यस क्षेत्र तिब्बतको राजधानीदेखि पश्चिम–दक्षिणको दूर इलाकामा भएको र भोटको सभ्यता खासगरी बुद्ध धर्मको ज्ञान र ज्योति पुग्न नसकेको ठाउँका रूपमा उल्लेख गर्न सीमान्त दूर र धर्मको ज्योति कम भएको अँध्यारो ठाउँ भनेर था वा था–खोव पनि भन्ने गरिएको थियो ।

सामान्यतः थकाली भनेर चिनिने ताम्हाङ थकालीअन्तर्गत छ्योगी, ढिमचन र भुर्गी पर्दछन् । जो २०आंै शताब्दीको प्ररम्भदेखि क्रमशः गौचन, शेरचन र भट्टचनजस्ता थरहरूले चिनिन्छन् । वर्तमान समयमा थकालीहरू आफ्नो पुख्र्यौली थलो थासाङ्का १३ गाउँ क्षेत्रबाट बसाइँ सर्दै नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्दछन् । २०६८ सालको जनगणनाअनुसार थकालीहरूको जनसङ्ख्या १३,२१५ रहेको छ ।

थकाली आदिवासीहरूको परम्परागत वा प्रथाजनित संस्थालाई तेह्रमुखिया प्रणाली भनिन्छ । थासाङको १३ गाउँ क्षेत्रमा अवस्थित तेह्रमुखिया प्रथा वा प्रणालीले सिङ्गो थकाली समुदायलाई न्यायिक, प्रशासनिक, आर्थिक, सामाजिकलगायत हरेक दृष्टिले संगठित गर्ने, उनीहरूको हकहित र गाउँको विकासका लागि आवश्यक नीति, नियम र विधिहरू तयार गर्दछ । यसरी नै जन्मदेखि मृत्युसम्मको सम्पूर्ण कर्मकाण्डहरू मौलिक ढंगको मौलिक प्रणाली, रीतिथितिअनुसार गर्नका लागि सम्पूर्ण नीतिहरू सोही तेह्रमुखियाले समेट्ने, निर्देशित गर्ने र सञ्चालित गर्ने काम गर्छ ।

ल्हा फेवा थकालीहरूको ठूलो पर्व हो । यस पर्वलाई १२ वर्षे मेला पनि भनिन्छ । थकालीहरू फागुन महिनाको पूर्णिमाका बेला अर्को ठूलो पर्व तोरनल्ह पर्व मान्दछन् । उनीहरू बोन धर्म र बुद्ध धर्म दुवै मान्दछन् । थकालीहरूको चार थर छन् । छयोकी (गौचन), साल्की (तुलाचन), ढिमचेन (शेरचन) र भुर्की (भट्टचन) यिनीहरूको थरहरू हुन् ।

भाषा
थकालीहरूको भाषालाई ‘थकाली भाषा’ भनिन्छ । थकाली झाँक्रीले मन्त्र उच्चारण थकाली भाषामा नै गर्छन् । चाडबाड र विभिन्न अवसरमा गाउने गीत पनि थकाली भाषामा नै गाउँछन् । यो भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । यो भाषाका वक्ता करिव पाँच हजार रहेको छ । यस भाषा नेपालका विभिन्न ठाउँमा बोलिन्छ ।


Like us on Facebook