छन्त्याल

छन्त्याल

को हुन् छन्त्याल ?

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ (२००१) अनुसार नेपालका सूचिकृत ५९ आदिवासी जनजातिमध्येको अल्पसङ्ख्यक तथा सरकारी मानवीय विकास सूचाङ्क–२०५८ को आधारमा नेपाल आदिवासी जनजाति महासंघद्वारा वर्गीकृत ‘सुविधा बञ्चित समूह’मा पर्ने एक आदिवासी जनजाति हो, छन्त्याल । छन्त्यालहरूले इतिहासको लामो कालखण्डदेखि धौलागिरि हिमालको शिरदेखि पूर्व–दक्षिण–पश्चिम भिरालो भू–भागमा सदियौँदेखि आवाद गरेर तामाखानी खन्ने र कृषि तथा पशुपालन पेशा अँगालेर राष्ट्र–राज्य निर्माणमा योगदान पु¥याउँदै आएका छन् । छन्त्यालहरूको आदिम थातथलो पश्चिम नेपालको धौलागिरि अञ्चलमा पर्ने धौलागिरि हिमालको पूर्व–दक्षिण–पश्चिम र काली गण्डकीनदी उपत्यका भू–भाग भएको देखिन्छ । छन्त्यालसम्बन्धी अध्ययन गर्ने विभिन्न लेखक–अध्येताहरूले ‘छन्त्याल’, ‘छन्तेल’, ‘छंतेल’, ‘छन्यल’ ‘चन्तेल’, ‘चँतेल’ र ‘चन्त्याल’ शब्दहरू छन्त्याल जातिको सन्दर्भमा प्रयोग गरेका छन् । छन्त्याल जातिको मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति रहेका छन् ।

छन्त्याल र तामाखानी
छन्त्याल जाति र तामाखानीबीच ऐतिहासिक सम्बन्ध रहेको छ । किनकि, छन्त्यालहरूको इतिहास तामाखानीसँग जोडिएको छ । खानी पेशा प्राचीन समयदेखि वि.सं. १९८१ सम्म सञ्चालन गरेको देखिन्छ । नेपालको इतिहासमा खानीबारे पश्चिम नेपालको ‘तल्लो बाइसखानी’ र ‘उपल्लो बाइसखानी’का नामले परिचित छन् । जसमध्ये उपल्लो बाइसखानी छन्त्यालहरूले सञ्चालन गर्दथे । छन्त्यालहरूको बस्तीहरूमा तामाखानी खनेका÷चलाएका सुरुङ (खानीको दुलो)का अवशेषहरू अद्यापि छन् । साथै, अधिकांश छन्त्याल गाउँबस्तीहरूको नामको पछाडि ‘खानी’ शब्द जोडिएर छन् । जस्तैः छन्त्यालहरूले सञ्चालन गरेका ‘उपल्लो बाइसखानी’ र त्यस वरिपरिका छन्त्याल गाउँबस्तीहरूः मल्कबाङखानी, मलम्पारखानी, कुइनेखानी, चौरखानी, झिङ्खानी, मच्छिमखानी, मङ्गलेखानी, ठाडाखानी, गुर्जाखानी, अर्मनखानी, लामेलाखानी, नर्जाखानी, बोङ्खानी, खुङ्खानी, घोसाखानी, हाँडीखानी–घैयाखानी, खानीखोला, लेखानी, देउरालीखानी, झुलेखानी, धम्जा र कालापातल आदि ।

थर र थातथलो
छन्त्याल जातिमा १२ वटा थरहरू (घरब्जा, तथप्जा, भलञ्जा, पोत्लाङ्गे, पुराने, डाँडामारे, घ्याप्चन, सिङ्गे, घर्ती, भिंङ्राजा, खड्का र बुढाथोकी) रहेका छन् । छन्त्यालहरूको सघन बसोबास म्याग्दी जिल्लाको कुइनेमङ्गले, मल्कबाङ, गुर्जाखानी, पाखापानी, भकिम्ली, बञ्रजा, अर्थुङ्गे, ताकम, ओखरबोट, दर्बाङ, अर्मन र निस्कोट हो । यसरी नै बागलुङ जिल्लाको दमेक, खुङ्खानी, तमान, बोङ्गादोभान, देविस्थान, बुर्तिबाङ, अधिकारीचौर, दर्लिङ, धम्जा, अमरभुमी, खुंगा, निसी, जलजला, दगातुन्डाँडा, लेखानी र धुल्लुबाँस्कोट, गुल्मी जिल्लाको भार्से, भुर्तुङ्ग (धुवाँखोला), वामी (मालारानी), बडागाउँ, विसुखर्क, तम्घास खानीगाउँ र दुवीचौर (भङ्गेरी) हो । यस्तै, सुर्खेत जिल्लाको साताखानी, रातु र गर्पन गाविसहरू रहेका छन् । रुकुम जिल्लाको बिर्गुमखानी, फल्नेखानी र प्यूठान जिल्लाको स्याउलीवाङ (खारखोला) र खवाङ, एकराते गाउँहरू पनि सघन बासोबास भएका गाउँ हुन् । र, पछिल्लो समय आप्mनो मूल थलोबाट बसाइँं सरेर रूपन्देही जिल्लाको बुटवल, तामनगर, धावा, सालझण्डी, कालिका नगर, मनिग्राम । काठमाडौंको सामाखुसी, गोङ्गबु, मनमैंजु । कास्कीको पोखरास्थित नदीपुर, बगर र दाङको तुल्सीपुरलगायत ठाउँहरूमा रहेको छ ।

सामाजिक, सांस्कृतिक, आर्थिक र शैक्षिक स्थिति
छन्त्याल जातिको सामाजिक सांस्कृतिक पक्ष अरुको भन्दा पृथक हुनु नै यस जातिको मौलिक पहिचान हो । यस जातिको मौलिक सामाजिक व्यवस्था हालसम्म कायम छ । यस जातिमा संयुक्त परिवारमा बस्ने चलन बढी पाइन्छ । यस जातिमा कुनै वर्ण व्यवस्था र छुवाछुतलगायत अन्य विभेद छैन । यस समुदायका कुनै व्यक्तिलाई समस्या आइपर्दा सामुहिक र व्यक्तिगत दुवै तरिकाले सहयोग गर्ने चलन रहेको छ । छन्त्याल जातिको परम्परागतरूपमा आस्था रहँदै र मान्दै आएको धर्म प्राकृतिक धर्म हो । किनकि, प्रत्येक छन्त्याल वस्तीहरूमा वायु, भूमि, पानीको मूल, खानी, कुलदेवता, शिद्धशिकारी, चुरेनी आदिको पूजाआजा गर्ने चलन छ । जसले छन्त्यालहरू प्रकृतिपूजक भएको कुरा पुष्टि गर्दछ । छन्त्यालहरूको विशेष महत्वका परम्परागत चाडपर्वहरूमा माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति, भूमेपूजा र कुलपूजा आदि हुन् । साथै, उनीहरूले दसैँ, तिहार, तीज, चैते दसैँ, होली पूर्णिमा, बुद्ध पूर्णिमा, जनै पूर्णिमा आदि पर्वहरू पनि मनाउने गर्दछन् । तथापि, यी चाडपर्व मौलिक शैली, आप्mनै रीतिथिति, परम्पराअनुसार मनाउँछन् । तरपनि यो छन्त्याल समुदायमा देखिएको हिन्दूकरणको प्रभाव हो । विशेषतः आदिवासी जनजातिलगायत गैरहिन्दू समुदायमाथि राज्यको एकमना सोंच ‘एउटै भाषा (खस–नेपाली), एउटै धर्म (हिन्दू), एउटै संस्कृति (हिन्दू)’ जबर्जस्ती लादिएकाले हिन्दू धर्म, संस्कृति, मूल्यमान्यतामा आधारित चाडपर्वहरू गैरहिन्दू समुदायले अबलम्बन गर्न पुगेका हुन् ।

परम्परा
छन्त्यालहरुको पृथक परम्परागत संस्कारहरू छन् । छन्त्यालहरूको संस्कारमा छैंठी र धुप गर्ने (न्वारन), भात खुवाई (पास्नी), पुतपुराऊ, छेवर (छोराको कपाल काट्ने) र गुन्युचोली दिने (छोरी), विवाह (चोरी विवाह, प्रेम विवाह, मागी विवाह) र विवाह चरण (दुलही भित्र्याउने, सोधनी जाने, माइती भेट्ने), मृत्युसंस्कारः दाहसंस्कार तथा अन्त्येष्टि, काजक्रिया आदि पर्दछन् ।
छन्त्याल जातिको आप्mनै किसिमको परम्परागत भेषभूषा रहेको छ । खासगरी पुरुषले सुतीको भोटो र फेटा, चौबन्दी, धोती, काजबन्दी र हातले बुनेको पटुका, भेंडाको ऊनबाट बनेका हादुला, बाख्राको ऊनबाट बनेको घुम, टोबे लगाउँछन् । महिलाले घलेक, छिट्को गुन्यू, मजेत्रो, चोलो, पटुका, टीका आदि लगाउँछन् । त्यसैगरी महिला र पुरुष दुवैले पुवाबाट बनेको दोचा (जुत्ता) लगाउने गर्दछन् भने ओढ्नका लागि ऊनबाट बनेको राडी, पाखी र काम्लो आदि बनाइन्छ । छन्त्याल महिलाले कानमा ढुङ्ग्री, मारुली, यालुङ, रिङ, नाकमा पूmली, टुकी, बुलाकी, घाँटीमा ठ्याङ्ग्रा, चारआने, नौगेडी, तिलहरी र हातमा रैयाँ, बालो, चुरा र औंलामा औंठी लगाउँछन् । तर, वर्तमान समयमा महिला र पुरुष दुवैमा मौलिक पोसाक र गरगहना विरलै देख्न पाइन्छ । यसरी परम्परागत भेषभूषामा देखिएको परिवर्तन भूमण्डलीकरण र आधुनिकीकरणको प्रभाव हो ।

छन्त्याल जातिले मनोरञ्जन गर्ने र परम्परागत चलेको रीतलाई जोगाउनका लागि पिउरा, खैँचडी, मुजुरा, मौरी बाजा, पैचन, मादल, मुरली र बाँसुरीजस्ता लोकबाजा तथा संगीतका साधनहरू प्रयोग गरेको पाइन्छ । छन्त्याल समुदायका बीचमा झाम्रे, लालै, सोरठी, मारुनी गीत, लस्के सालैजो र यानीमाया आदि गीतहरू प्रचलित छन् । हाल छन्त्यालको ऐतिहासिक नाचहरू मारुनी तथा पुरुसिङ्गे नाच, डाँफे नाच देख्न पाइँदैन ।

ताराखेल (तोरन्लो तथा आर्चरी) छन्त्यालहरूको परम्परागत खेल हो । धनु, वाण (सर) र कोठले आदि प्रयोग गरेर यो खेल खेल्ने गरिन्छ । आन्तरिक र बाह्य दुवै संस्कृतिको प्रभावले भेषभूषा मात्र नभई अन्य सामाजिक, सांस्कृतिक मूल्य–मान्यता पनि क्षिण हँुदै गएको छ । यी परम्परागत संस्कारहरू प्रायः छन्त्याल गाउँहरूमा मात्र जीवित रहेको छ । तर, स्थान र गाउँ विशेषअनुसार केही विधिहरू भिन्न रहेका हुन सक्दछन् । छन्त्याल समुदायभित्र चलनचल्तीमा रहेको सामाजिक, सांस्कृतिक, धार्मिकसँग विधि प्रक्रियाहरू ज्वाइँ (पाँरे÷पुरोहित)बाट सम्पन्न गर्ने गरिन्छ ।

छन्त्यालहरूको परम्परागत पेशा तामाखानी भएकाले तात्कालीन समयको प्रमुख आयस्रोत र जीवन निर्वाह खानीमा नै आधारित थियो । खानी खन्ने प्रमुख पेशा हुँदाहुँदै कृषि र पशुपालन पेशामा पनि छन्त्यालहरू आंशिकरूपमा संलग्न रहेका थिए । खानी बन्द भएपछि पूर्णरूपमा कृषि र पशुपालन व्यवसाय अपनाउनुपर्ने बाध्यता बन्न पुग्यो । तर, उत्पादनयोग्य जमिन तथा पशुपालनका लागि उपयुक्त चरनहरूमा गैरछन्त्यालहरूले कब्जा जमाइसकेका थिए । खानी खन्ने इजाजत खारेज भएपछि एकातिर छन्त्यालहरूको आर्थिक चक्रमा ठूलो परिवर्तन देखा प¥यो भने अर्कोतिर सुकुम्बासीसरहको जीवन बाँच्नुपर्ने बाध्यता आइलाग्यो । जसले गर्दा छन्त्यालहरू आर्थिकरूपले विपन्न हुँदै गए । छन्त्यालको वस्ती पहाडी क्षेत्रको उच्च भागमा भएकाले जौँ, गहँु, मकै, फापर, कोदो, आलु, पिँडालु, औवा, सक्कली र कुनै क्षेत्रमा धान आदि बाली उत्पादन हुने पाइन्छ । गाई, भैसी, भेंडा, बाख्रा आदिबाट बनेको दूध, दही र मही प्रयोग गर्दछन् । वर्तमान समयमा यस जातिको अधिकांश मानिस कृषि र पशुपालनमा आश्रित रहेका छन् । केही प्रतिशत स्वदेशी तथा विदेशी रोजगारीमा आश्रित भएको पाइन्छ भने न्यून प्रतिशत मात्र विभिन्न व्यवसायमा संलग्न रहेको पाइन्छ । सन् १९९० को परिवर्तनपछि जागिरको खोजीमा विदेशी मुलुकहरूमा जाने लहरको प्रभाव छन्त्याल जातिमा उच्च रहेको छ । छन्त्याल जातिमा परम्परागत आर्थिक संस्था भएको पाइँदैन । तर, विभिन्न सामुहिक कार्यहरू गर्न आर्थिक तथा खाद्य संकलन गर्ने परम्परा विद्यमान छ । पछिल्लो समयमा परम्परागत पशुपालन, प्राकृतिक स्रोत साधनको उपयोग र व्यवस्थापन प्रणालीमा परिवर्तन आएको देखिन्छ । साथै, विज्ञान र प्रविधिको विकास, सहर केन्द्रित विभिन्न सुविधाहरूको उपलब्धता, मानिसको सुविधाभोगी चाहना आदि कारणले छन्त्यालहरू प्रायः सहरी क्षेत्र तथा तराईतिर बसाइँसराई गरेको देखिन्छ । जसले गर्दा छन्त्यालहरूको जीवनपद्धतिसँग जोडिएको परम्परागत ज्ञान, सीप, कला, प्रविधिहरू पनि दिनानुदिन लोप हुँदै गएको छ ।

छन्त्याल जातिमा शैक्षिक चेतनाको आरम्भ सन् १९९० को राजनीतिक परिवर्तनपछि मात्र छिटफुटरूपमा देखिन थालेको पाइन्छ । सन् २०११ को तथ्याङ्कअनुसार नेपालको साक्षरता प्रतिशत ६५.९ रहको छ भने यस जातिको साक्षरता प्रतिशत ७२.७ रहेको देखिन्छ । जबकि, सन् २००१ मा साक्षरता प्रतिशत ६४.० थियो ।

छन्त्याल भाषाको अवस्था
छन्त्याल भाषालाई ‘खाम कुरा’, ‘खाम भाषा’, ‘छन्त्याल खाम’ ‘छंतेल÷छन्तेल÷छन्त्यल खाम’, ‘चन्त्याल÷चन्तेल÷चेन्तेल÷चँतेल खाम’ भाषाका रूपमा पनि लिने र बुभ्mने गरिन्छ । छन्त्याल भाषा भोट–बर्मेली परिवारसँग साइनो गाँसिएको भाषा हो । छन्त्यालहरूले बोल्ने भाषा ‘सिनो–तिबेतन’अन्तर्गतको ‘तिबेतो–बर्मान (भोटबर्मेली)–‘बोडिक’–‘बोडिश’–‘तामाङ्गिक’ समूहको थकाली, गुरुङ, तामाङ र थामी भाषाहरूसँग नजिकको सम्बन्ध भएको देखिन्छ भने त्यसैगरी ‘तामाङ्कि’ समूहकै ‘गुरुङ्गिक’ शाखाको गुरुङ र थकालीसँग नजिकको सम्बन्ध भएको पनि देखिन्छ । छन्त्याल भाषा थकाली भाषासँग सबैभन्दा नजिकको सम्बन्ध भएको रूपमा देखिन्छ । छन्त्याल भाषाका वक्ताहरूले छन्त्याल भाषाको साथसाथै समाज, गाउँबस्ती वरिपरि रहेका अन्य भाषाहरू पनि बुझ्ने र बोल्ने गर्दछन् । आईआईडीएस (२००२) को रिपोर्ट र केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना २००१ को आधारमा छन्त्याल भाषालाई ‘लेख्य परम्परातर्पm उन्मुख भाषा’को रूपमा वर्गीकरण गरिए तापनि छन्त्याल भाषामा लेखन पद्धति विकास हुन सकेको देखिँदैन । यस भाषाको सीमितरूपमा अहिलेसम्म देवनागरी लिपि र अंग्रेजीमा लेख्य परम्परा रहेको देखिन्छ । ‘इथ्नोलग ल्याङ्ग्वेजेज अफ द वल्र्ड’का अनुसार नेपालका भाषाहरूको अवस्थाको आधारमा छन्त्याल भाषालाई लोपोन्मुख भाषाको रूपमा वर्गीकरण गरिएको छ । छन्त्याल भाषाको आप्mनै लिपि छैन । त्यसैले छन्त्याल भाषालाई प्रस्तुत गर्ने माध्यम देवनागरी लिपिलाई नै अपनाउनुको विकल्प छैन । देवनागरी लिपिमा नै लेखिएका छन्त्याल भाषाका अक्षर, शब्दहरू खस–नेपाली भाषीले उच्चारण गरे जस्तो नभई छन्त्याल भाषीले फरक ढङ्गले उच्चारण गर्दछन् । देवनागरी लिपिमा छन्त्याल भाषाको लेखन पद्धति पछिल्लो समयमा विकास भएको हो । यसअघि बोलीचालीमा मात्र सीमित रहेको थियो । तथापि, अपवादबाहेक छन्त्याल भाषामा लेखन पद्धति शून्यप्रायः रहेको छ ।

छन्त्याल भाषीहरू मुख्यतः पश्चिम नेपालको म्याग्दी जिल्लामा रहेका छन् । सम्बन्धित समुदाय र सरकारको तर्पmबाट छन्त्याल भाषामा व्याकरण, पाठ्यपुस्तक, पाठ्यक्रम अभैंmसम्म निर्माण हुन नसक्नु दुःखद् मात्र होइन भाषाप्रतिको उपेक्षासमेत हो । छन्त्याल भाषामा बाल, लोक, लेख्य साहित्य लेखनको अवस्था पूmटकररूपमा अत्यन्त कम मात्रामा रहेको छ भने सञ्चार माध्यममा प्रयोग र बिस्तारको अवस्था दयनीय र कमजोर रहेको छ । मातृभाषामा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी आधारभूत तहसम्म सञ्चालन गर्ने सरकारको नीति भए पनि सोबमोजिम हालसम्म छन्त्याल भाषामा हुन सकेको छैन । छन्त्याल भाषामा माध्यम र विषयको रूपमा सम्भव हुन सक्ने इलाका÷क्षेत्रहरूमा अविलम्ब पठनपाठनको शुरुवात गरेर मात्र यस भाषालाई बचाउन सकिन्छ । साथै, भाषालाई बचाइराख्ने र समृद्ध बनाउने लेखन पद्धतिप्रति अविलम्व ध्यान जानु आवश्यक छ ।

जनसङ्ख्या
छन्त्यालहरूको मूल थातथलो बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू १९ भन्दा बढी जिल्लाहरूमा छरिएर रहेको देखिन्छ । छन्त्यालको जनसङ्ख्या ६,५६५ महिला र ५,२४५ गरी कुल ११,८१० रहेको छ । जसमध्ये बागलुङमा ३,९७८ (३५.४१) र म्याग्दीमा ३,८८९ (३४.६१) गरी ७,८६७ को सङ्ख्यामा ७०.०२ प्रतिशत बसोबास गर्दछन् । छन्त्याल भाषा बोल्ने वक्ताको सङ्ख्या महिला २,४५८ र पुरुष १,८२५ गरी ४,२८३ रहेका छन् । उक्त सङ्ख्या कुल जनसङ्ख्याको ३६.२७ प्रतिशत हो । जबकि, सन् २००१ मा कुल ९,८१४ मध्ये २७३३ पुरुष र ३१७९ महिला गरी ५,९१२ (६०.२४ प्रतिशत)ले भाषा बोल्ने तथ्याङ्कले देखाएको थियो । दश वर्षको अवधिमा जनसङ्ख्या वृद्धि हुँदा पनि छन्त्याल भाषा बोल्ने वक्ताको सङ्ख्या र प्रतिशत दुवै घट्नुले भाषा लोपोन्मुख अवस्थामा रहेको संकेत गर्दछ । आर्थिकरूपले गरिव भए धनी हुन सकिन्छ । तर, भाषा, संस्कृति नै लोप भए पुनः भाषा, संस्कृतिको धनी र समृद्ध कदापि हुन सकिँदैन । अन्यथा प्रचलित कथन ‘भाषा हराए, संस्कृति हराउँछ, संस्कृति हराए, मानव जाति नै हराउँछ’ भनेजस्तै समुदायको अस्तित्वमाथि नै पहाडजस्तो प्रश्नचिह्न खडा हुनेछ । र, त्यतिबेला पुर्पुरोमा हात लाएर पश्चाताप गर्नुको विकल्प हुने छैन ।


Like us on Facebook