थाङमी

थाङमी

को हुन् थाङमी ?

थाङमीहरूले लामो समय पहिचानको अन्यौलताबाट गुज्रनु प¥यो । एकाधिकारवादी सामाजिक संरचना र अतिवादको कारण थाङमीहरूले आफ्नो पहिचान ‘थाङमी’ भनी गराउन समेत अप्ठ्यारो महसुस गर्न गरे । अहिले प्रचलनमा रहेको थामी शब्दको प्रारूप थाङमी हो । केहीले थामी नै मुल शब्द हो भन्दै अथ्र्याउन थालेका छन् । थाङमी शब्दलाई प्राज्ञिक स्तरमा स्थापित र प्रचलित गराउन मार्क टुरिन र सारा स्नाईडरम्यानको योगदानलाई भूल्न मिल्दैन । थाङमीहरूको पहिचान संकटमा पर्नुमा किपट छाडेर अन्यत्र छरिएर बस्ने प्रवृत्ति र नयाँ परिवेशमा घुलमिल हुन स्थानीय जातिको नाममा आफूलाई चिनाउनु प्रमुख कारण हो ।

थाङमी नेपालको एक आदिवासी जनजाति समुदाय हो । थाङमीको अपभ्रंष रूप थामी हो । २०६८ सालको जनगणनाअनुसार यस समुदायको जनसङ्ख्या २८,५८४ रहेको छ । जसमध्ये १४,७१३ महिला र १३,८७१ पुरुष रहेका छन् । दोलखा जिल्लामा यस समुदायको मुख्य बसोबास रहेता पनि नेपालका ३० भन्दा बढी जिल्लामा उनीहरूको बसोबास रहेको छ । यस जाति नेपाललगायत भारत र चीनको केही क्षेत्रमा बसोबास गर्दछन् ।

बसोबास क्षेत्र
दोलखा जिल्लाको राङराङथलीलाई थाङमीहरूको प्रमुख किपट थलोको रूपमा मानिन्छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोक थाङमीहरूको मुख्य बसोबास क्षेत्र हो । दोलखाको आलम्पु, लापिलाङ, थामी चागु, टुङापा, सिन्धुपाल्चोकको चोकटी, पिस्कर र रामेछापको डढुवा थाङमीको घनाबस्ती भएको ठाउँ हुन् । नेपालको ५८ नगरपालिकामध्ये २७ नगरपालिकामा थाङमीहरूको बसोबास छ ।

विशेषता
महिला र पुरुषको समानान्तर थर हुनु थाङमी जातिको मौलिक विशेषता हो । अर्थात् थाङमी महिला र पुरुषको पहिचानका छुट्टछुट्टै थरहरू रहेका हुन्छन् । जुन थर आमाको छोरीमा बाबुको छोरामा प्रसारित हुन्छ । घरमुलीको रूपमा महिलालाई मानिनुले पनि थाङमीमा लैङ्गिक विभेद नरहेको तर हिन्दू धर्मको कारण अहिले लैङ्गिक विभेद देखिन थालेको थाङमीहरूको बताउँछन् । थाङमी महिलाहरूको २५ भन्दा बढी थरहरूमध्ये आल्तासिरि, आपानसिरि, यान्तेसिरि, खाट्टासिरि, जिमिसिरि, शिवासिरि, चाल्दासिरि मुख्य हुन् ।

जनसङ्ख्या
२०६८ सालको जनगणनाअनुसार थाङमीहरूको जनसङ्ख्या २८,६७१ रहेको छ । थाङमीहरूको घना बस्ती रहेको दोलखा जिल्लामा उनीहरूको जनसङ्ख्या १३,९३६, रामेछापमा १,५११ र सिन्धुपाल्चोकमा ३,९९३ रहेको छ । यस जातिको बसोबास भारतको दार्जिलिङ, सिक्किम, कर्णाटकलगायत भुटान, बर्मा, फिलिपिन्स आदि मुलुकमा रहेको छ ।

भाषा
थाङमीहरूले आफ्नो भाषालाई खाम भन्छन् । थाङमी भाषा नेपालमा बोलिने भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । नेपालको विशेष गरी दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाहरूमा यो भाषा बोलिन्छ । २०६८ सालको जनगणानाअनुसार थाङमी भाषा बोल्नेको सङ्ख्या २३,३७१ रहेको छ । जसमध्ये ११,९८३ महिला र ११,३८८ जना रहेका छन् । यो सङ्ख्या थाङमीहरूको कुल जनसङ्ख्याको ८२ प्रतिशत हो । तर, नयाँ पुस्तामा देखिएको भाषाप्रतिको उदासिनताका कारण खाम भाषा लोप हुने खतरा पनि उत्तिकै छ । यस भाषा बोल्नेहरू नेपालको ३० भन्दा बढी जिल्लामा रहेका छन् । यसका साथै भारत र चीनको केही स्थानमा समेत यो भाषा बोल्ने समुदाय रहेका छन् ।

यो भाषामा हालसम्म लेख्य परम्पराको विकास भएको छैन । तथापि, पछिल्लो समयमा लेख्य परम्परको शुरुवात भएको छ । हालसम्म नेपालबाट दुई र नेपालबाहिरबाट एक गरी तीन वटा थाङमी शब्दकोष लेखिएको भए पनि ‘थाङमी’ शब्दलाई भने ती पुस्तकमा परिभाषित गरिएको छैन । नेपालबाट प्रकाशित दुवै शब्दकोषले दोलखाको सुस्पा क्षेत्रको थाङमी भाषालाई मात्र समेटेको र भारतबाट प्रकाशित शब्दकोषले भने दोलखाका विभिन्न गाउँलगायत अन्यको समेत प्रतिनिधित्व गर्नुका साथै भारतीय प्रभाव परेको देखिन्छ ।


Like us on Facebook