थारू

थारू

को हुन् थारू आदिवासी ?

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । यस जाति नेपालका आदिवासी जनजातिमध्ये बढी जनसङ्ख्या भएको जाति हो । २०६८ सालको जनगणनाअनुसार नेपालमा थारू जातिको जनसङ्ख्या १७,३७,४७० छ । थारू समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास रहेको छ । समाजशास्त्री डोरबहादुर विष्टका अनुसार थारूहरू विशेषतः दक्षिणको थार मरुभूमिबाट आएको हुनाले थारू नाम रहन गएको हो । थारूहरूको बसोबास रहेको तराईको क्षेत्रलाई थारूवान वा थरुहट भन्ने चलन उहिलेदेखिकै हो ।

थारूहरूको स्थान विशेष अलग नाम, थर, भाषा र सभ्यता छन् । थारू नामका आधारमा एउटै जाति भए पनि भाषिक र सांस्कृतिक दृष्टिकोणले एकापसमा भिन्नता रहेको पाइन्छ । मेचीदेखि महाकालीसम्म थारूहरूको पचासौं थर रहेको पाइन्छ । यीमध्ये मोरङ जिल्लामा बसोवास गर्ने थारूहरूलाई मोरङ्गिया, कोशीनदीको तटमा बस्नेलाई खौसिया (कौशिया) भनिन्छ । त्यस्तै, अन्य थारुका अन्य थरहरूमा चितौनिया, लालपुरिया, डंगौरा, गच्छदार, राना, महतो, विश्वास, सुनादा, सरदार, महन्थ, वाँठ, वाँतर, भझौरा, भगत आदि हुन् । त्यसैगरी दाङदेखि पश्चिम कञ्चनपुरसम्मका थारू थरहरूमा दहित, कुशुम्या, सतगौंवा, चमार, राना, डंगौरा, कठरिया, करिया मघरिया आदि रहेको छ ।

थारू सांस्कृतिक सम्पदाले सम्पन्न जाति हुन् । उनीहरूको आख्यान परम्परा साहित्य समृद्ध छ । उनीहरूको आफ्नै भेषभूषा, गरगहना, परम्परागत शैली छ । थारूहरूले विभिन्न भौगोलिक क्षेत्रअनुसार फरक–फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रीतिरिवाज आदि अँगालेको पाइन्छ । थारूहरू प्रकृतिपूजक हुन् । उनीहरू वनदेवीलगायत वनका अनेक प्रेतात्माहरू र देवीदेवताहरू मान्दछन् ।

उनीहरू विशेष गरी जंगलको छेउछाउमा र नदी किनारमा बस्न रुचाउँछन् । जंगलको छेउछाउ बस्ने भएकाले प्रायः पशुपालन व्यवसाय गर्ने गर्दछन् । र, नदी किनारमा रहेकाले माछा मार्ने पनि गर्दछन् । उनीहरूको प्रमुख पेशा भने कृषि नै हो । तर, यस पेशा संलग्न थारू समुदाय अधिकांश भूमिहीन छन् । त्यसकारण अधिकांश थारूहरू कमैया, कमलहरीका रूपमा काम गर्नु परेको अवस्था छ । उनीहरू घरेलु काममा प्रयोग हुने सामग्रीहरू आफ्नै परम्परागत सीप प्रयोग गरी आफंै तयार गर्दछन् । उनीहरूको प्राकृतिक स्रोत साधनसँग अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । यस समुदायको मुख्य पर्व माघी हो । यसलाई उनीहरू नयाँ वर्षको रूपमा मान्ने गर्दछन् । यही अवसरमा उनीहरूले आफ्ना मुखिया (बरघर) चुन्ने गर्दछन् । उनीहरू परम्परागत संस्था बरघर प्रणालीमा अनुशासितरूपमा बस्ने गर्दछन् । यिनीहरूले माघीको साथै अन्य विभिन्न पर्वहरू समयानुसार मनाउँछन् । ती पर्वहरूमा विभिन्न किसिमका गीत शुर, लय र ताल मिलाई नाचगान गरी रमाउने गर्दछन् ।

थारू भाषा
थारू भाषा भारोपेली परिवारअन्तर्गत पर्दछ । मेचीदेखि महाकालीसम्म फैलिएका तराईका विभिन्न जिल्लामा बसोबास गर्ने थारूहरूले प्रयोग गर्ने भाषा थारू भाषा हो । जनगणनामा पूर्वीया र पश्चिमा थारूलाई डंगौरा थारू तथा पश्चिम नेपालकै अर्को समूहलाई राना थारू गरी जम्मा दुई समूहमा मात्र थारू भाषालाई वर्गीकरण गरेको छ ।
हाल थारू भाषामा पनि विभिन्न पत्रपत्रिका, पुस्तकहरू र साहित्यिक कृतिहरू प्रकाशित छन् भने रेडियो कार्यक्रम, वृत्तचित्र र चलचित्रहरू निर्माण समेत भएका छन् । २०६८ सालको जनगणना अनुसार करिव १५,२९,८७५  जनाले (डंगौरा र राना थारू समेत) थारू भाषा बोल्दछन् । नेपालबाहेक भारतमा पनि थारू भाषा बोलिन्छ । तर, त्यहाँ थारू भाषा बोल्नेहरूको सङ्ख्या यकिन छैन ।

थारू भाषाका भेद
थारू भाषा भारोपेली परिवारअन्तर्गत पर्दछ । मेचीदेखि महाकालीसम्म फैलेका तराईका विभिन्न जिल्लाहरूमा बसोबास गर्ने थारूहरूले व्यवहार गर्ने भाषा नै थारू भाषा हो । सरकारले जनगणना लिंदा पूर्वीया र पश्चिमा थारूलाई डंगौरा थारू तथा पश्चिम नेपालकै अर्को समूहलाई राना थारू गरी जम्मा २ समूहमा मात्र थारू भाषालाई वर्गिकरण  गरेको देखिन्छ । तर भाषा सम्बन्धमा अध्ययन गर्नेहरूका अनुसार थारू भाषाका विभिन्न भेद छन् । सुदुरपश्चिमाञ्चलदेखि पूर्वाञ्चलसम्म थारूहरूको वसोवास रहेकोले भाषामा विविधता आउनु स्वाभाविकै हो । भाषा विज्ञानको अनुसार प्रत्येक दश कोशको फरकमा एउटै भाषामा पनि फरक पर्दै जान्छ । त्यसको अनुसार थारू भाषामा पनि परिवर्तन देखा पर्नु स्वाभाविकै हो । थारू–नेपाली–अंग्रेजी शब्दकोशका सम्पादन समेत  गरेका गोपाल दहितले थारू भाषालाई ९ भाषिकामा वर्गिकरण गरेका छन् । (१) दङगहा  (२) देशौरी  (३) राना (४) सप्तरिया (५) चितौनिया (६) देउखरिया  (७) भौंरहिया (८) नवलपुरिया (९) सुनसरिया (दहित, २०६२) । तर डा. गणेश खरालले पूर्वी, मध्यपश्चिमी तथा पश्चिमी गरी थारू भाषालाई मुख्य ३ भागमा मात्रै वर्गिकरण गरेका छन् (चौधरी, २०६४) । जसको छोटो चिनारी तल दिइन्छ ।
१) पूर्वी थारू भाषा : नेपालको पूर्वी तराईमा बोलिने थारू बोली पूर्वी थारू भाषा हो । यसलाई ‘मोरङ् सप्तरिया’ पनि भन्न सकिन्छ । यस भाषिकामा मोरङिया, सप्तरिया र राजवंिशया तीन प्रमुख उपभाषिका छन् ।
२) मध्यपश्चिमी थारू भाषा : चितवन, बारा, पर्सा, रौतहट, र नवलपरासी जिल्लामा मध्यपश्चिमी थारू भाषा बोलिन्छ । यस भाषिकामा चितवनीयाँ र नवलपुरिया दुई प्रमुख उपभाषिका छन् ।
३) पश्चिमी थारू भाषा : दाङ्देउखुरी, सुर्खेत, बर्दिया, बाँके, कैलाली र कन्चनपुर जिल्लामा पश्चिमी भाषिका बोलिन्छ । यसका डंगौरा, डेउखुरिया, राना, कठरिया र डेसौरी गरी पाँच भेद छन् । डंगौराको मूल क्षेत्र दाङ् उपत्यका हो । यहाँबाट बसाइ–सराइ गरेर गएका व्यक्तिहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रूपन्देही तथा कपिलबस्तु जिल्लामा छरिएर रहेका छन् । वक्ताका दृष्टिले थारू भाषामा डंगौरा पहिलो स्थानमा छ । भाषा बैज्ञानिक अध्ययन गर्ने हो भने राईहरूको झैं थारूहरूको पनि दर्जनौ छुट्टाछुट्टै भाषा हुने देखिन्छ ।

थारू भाषा बोल्नेको संख्याः
२०६८ सालको जनगणना मुताविक नेपालमा थारू जातिको जनसंख्या १७,३७,४७० देखाइएको छ भने २०५८ सालमा थारूहरूको कूल जनसंख्या १५,३३,८७९ लाख थियो । यो नेपालको कूल जनसंख्याको क्रमशः ६.६ तथा ५.८ प्रतिशत देखिन्छ । २०६८ को जनगणना अनुसार थारू भाषा (राना थारू समेत) बक्ताको संख्या १५,२९,८७५ (५.७७ प्रतिशत) छ भने २०५८ मा १३,३१,५४६ (५.८६ प्रतिशत) थारू भाषाका बक्ता थिए । पछिल्लो जनगणनामा पनि थारूहरूको जनसंख्याले चौथो स्थान ओगट्नु महत्वपूर्ण मान्न सकिन्छ ।

थारू भाषा बोलिने देशः
छिमेकी मुलुक भारतमा समेत लाखौंको संख्यामा थारू जातिको बसोबास छ । तर भारतीय थारूहरू थारू भाषा बोल्दैनन् । सघन बस्ती भएको बिहारको पश्चिम चम्पारनका थारूहरू भोजपुरी भाषा बोल्छन् । कतारमा थारू कल्याणकारिणी सभाको स्थापना भएको छ भने अमेरीकाबासी थारूहरूले थारू अराण्ड वल्र्ड संस्था स्थापना गरेका छन् । तर त्यहाँ लगायत अन्य देशमा थारू बोल्नेहरूको संख्या यकिन गरिएको छैन । 


Like us on Facebook