दनुवार

दनुवार

को हुन् दनुवार ?

ऐतिहासिक तथ्यहरूअनुसार मंगोलियन मूलका आदिवासी जनजाति दनुवार मध्यकालीन नेपालको समयमा (चौधौं शताब्दीताका) मध्यतराईमा शासकीय सत्ता चलाउने एक संगठनात्मक जाति हो । जसलाई दनुवार, दुनवार, दोनवार, द्रोनवार भनिन्छ । तिरहुतिया राजा हरसिंहदेव दनुवार थिए । मैथली कवि विद्यापतिलाई शरण दिने बनौलीका राजा पुरादित्य सिंह पनि दनुवार थिए । यस प्रसंगबाट यस समुदाय रजाखलक भएको पाउन सकिन्छ ।

नेपाल सरकारद्वारा सूचिकृत आदिवासी÷जनजातिमध्ये अतिसीमान्तकृत आदिवासी÷जनजातिको समूहमा पर्ने दनुवार नेपालको तराई, भित्री मधेश र पहाडी गरी ६२ वटा जिल्लाहरूमा छरिएर बसोबास गर्दछन् । इतिहासकारहरूका अनुसार यस जाति नेपाल मण्डलको शुरुवातबाट नै नेपालमा बस्दै आएका हुन् । दनुवार जातिको इतिहास अध्ययन गर्दा उनीहरू सिम्रौनगढ राज्यशासन सतासंगहीसँग जोडिएको दनुवारसँग सम्बन्धित पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । विभिन्न दस्तावेजका अनुसार नेपालमा दनुवारहरू २ हजार वर्षअघिबाट बसोबास गरेको पाइन्छ । अहिलेसम्म पाइएको दस्तावेजहरूमध्ये दनुवार जातिको बारेमा उल्लेख गरिएको पुरानो अभिलेख वि.सं १८२७ मा पृथ्वीनारायण शाहबाट सिद्ध भगवन्तनाथलाई पण्डत्याई प्रदान गरिएको लालमोहर हो । यस लालमोहरमा दनुवार जातिबारे उल्लेख छ । राष्ट्रिय जनगणना २०६८ अनुसार दनुवारहरूको जनसङ्ख्या ८४,११५ रहेको छ ।
दनुवार शब्दको उत्पत्तिबारे विभिन्न मत रहेको छ । केहीका अनुसार दुईवटा पहाडको बीचमा बस्ने भनी ‘द«ोणीवार’ शब्दबाट दनुवार भएको मत छ भने केहीको ‘दोन’ शब्दबाट दनुवार मत छ । त्यसरी नै केहीले द«ोणाचार्यको सन्तानको रूपमा उल्लेख गरेका छन् त केहीले दलवार( लडाकु) शब्दबाट दनुवार भएको कुरा उल्लेख गरेका छन् ।

दनुवार जातिको भाषालाई ‘दनुवारी’ भनिन्छ । दनुवारी भाषा मागधि प्राकृत भाषाबाट विकासित भाषा हो । दनुवारहरूले बोल्ने हुनाले यस भाषाको नाम दनुवारी रहन गएको हो । नेपालवर्गका मागधेलि भाषाहरूमा दनुवारीहरूलाई निकट मानिन्छ । यो भाषा नेपालको पूर्वदेखि पश्चिमसम्मका भित्री मधेश तथा महाभारत पर्वतका लहरमा बस्ने दनुवारहरूले बोल्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा दनुवारी भाषाका वक्ताहरूको सङ्ख्या ४५,८२१ रहेको छ । दनुवारी भाषा दनुवार जातिले बोल्ने भाषा भनी नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंको पुनर्मुद्रण २०५० मा भएको नेपाली बृहत् शब्दकोशको पृष्ठ सङ्ख्या ६३१ म उल्लेख गरिएको छ ।

दनुवारहरूको आफ्नै रीतिरिवाज, संस्कार, संस्कृति, भाषा, चालचलन भएपनि यिनीहरूमा आफ्नो बसोबास नजिक रहेका समुदायको प्रभाव परेको पाइन्छ । दनुवारी भाषा भौगोलिक बासस्थानअनुसार त्यहाँका समुदायबाट प्रभावित भएको पाइन्छ । तराईका दनुवारहरू मैथिलीको भाषाबाट प्रभावित छ भने पहाडतिर बसोबास गर्ने दनुवारहरू पहाडीया भाषासित प्रभावित छन् । दनुवारी भाषाको मौलिक स्वरूप सिन्धुली, उदयपुर, सर्लाही, सिराहा, धनुषा जिल्लामा बसोबास गर्ने दनुवारहरूमा पाउन सकिन्छ । एक समय तिरहुत क्षेत्रको शासकीय भाषा रहेको दनुवारी भाषा मैथिल ब्राह्माणहरूको तत्कालीन समयमा दरबारिया रजगजको कारणले छायामा पर्न थाले । त्यो क्रम अहिले पनि बढ्दो छ ।

दनुवारी भाषाका सामग्री गोरखापत्र दैनिकको नयाँनेपाल पृष्ठमा महिनाको दुई पटक प्रकाशन हुन्छ । यस भाषामा सिन्धुली जिल्लाको कमलाखोज क्षेत्रमा प्राथमिक तहमा पढाई हुने गरेको छ । यस भाषा बोल्नेहरूमा नेपालमा पाउन सकिन्छ ।


Like us on Facebook